१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

उज्यालो भविश्य

निर्मला न्यौपाने
साहित्यिक–राजनीतिक लेखनमा ताते गर्दै गरेकी म नाटकबारे मठ्ठै छु। तर, ‘पोखरा थिएटर’ निर्माणका बेलादेखि लहसिएर त्यहाँ प्रदर्शित नाटक प्रायः हेर्छु। त्यही सीमित ज्ञानसितै म खोजिपस्न थालेँ। बाल्यअवस्था सम्झिएँ। पर्वत, वहाकीको कुनो मेरो जन्म थलो। ४/५ वर्षकी हुँदी हुँ, दाइले मलाई बोकेका थिए। मैले ‘राजा त नांगै छ त !’ भनेकी थिएँ। आमा–सानीमाका साडी र तन्नाहरूले हाम्रै गोठमा मञ्च बनाइएको थियो।

मेरै दाइले ‘राजाको नयाँ लुगा’ निर्देशन गरेका रहेछन्। अलि पछि स्कुलमा ‘कोही किन बर्बाद होस्’ को रिहलसल गरिएको थियो। सम्झिन्छु, ‘युद्धको मोर्चाबाट फर्किंदा’ का केही तरंग अझै टाउकोमा छ। खुला समाजमा आएपछि ‘मालती–मंगले’ नेटमा हेरेकी हुँ। त्यसको कलात्मकता बेजोड छ। प्राचीन ग्रिसेली नाटक र शेक्सपियरबारे क्याम्पसमा गुरुहरूकै मुखारबिन्दबाट सुनेँ। हृदयचन्द्रसिंह प्रधान, तिवारी, गोठाले, रिमाल आदिलाई सामान्य अध्ययन गरेँ। समप्रति निकै श्रद्धाभाव छ। पृथ्वीनारायण क्याम्पसमा प्रवेश (०६५) गरेपछि ‘मुटुको व्यथा’ पढेँ। कपिला शनकसितको बिहे बन्धनमा बाँधिई तर माधवसितको बौद्धिक प्रेममा परी। माधव कपिलालाई भुतुक्कै माया गर्छ। कपिलाको शरीरसँग खेले पनि शनकचाहिँ रण्डो छ। ताना शर्माले उसलाई ‘रण्डीदास’ भनेका छन्। म मुटुको व्यथा पालेरै बाँचेकी थिएँ। छोयो। कपिलाकै आँट बटुलेर मैले आफ्नाे जिन्दगीको शनकलाई पार दिएकी हुँ। मान्छेलाई स्वतन्त्रता र स्वाभिमान प्राणभन्दा प्यारो हुन्छ। 

पार्टीसितको सानिध्यमै कृष्ण उदासीलाई नाटककार भनेर चिनेकी हुँ। ०६५ कै समयावधि हो, बगरमा हिँडिरहँदा दिदीले ‘ऊ सरुभक्त, प्रख्यात नाटककार–उपन्यासकार !’ भनेर टाढैबाट देखाइदिइन्। 

संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग बोल्ने मौका पाएँ। टिभीमा ‘दलन’ हेर्दा देखेकी प्रकाश घिमिरेलाई भेटें। प्रकट पगेनी असाध्य सहज भावमा भूमिका निर्वाह गर्छन्। 

‘दिदी, पोखरेली नाटकबारे केही सुनाउनुस् न !’ म अनेसासका गीता तिवारीसँग नजिकिन्छु। 

‘नाटककैे अध्ययन छैन, त्यसैले कमै थाहा छ। ०३० को दशकमा सरुभक्तले पीएन क्याम्पसमा अर्जुनजंग शाही, माओत्से गुरुङ आदिलाई साथमा लिएर पोखरामा आधुनिक नाटकको थालनी गरेछन्। बीचको केही ग्यापपछि सोमनाथ खनालको निर्देशनमा सरुभक्तकै ‘सिरुमारानी’ को प्रदर्शनले फेरि क्रम र गति बढेको भन्ने बुझेकी छु !’

 क्रिङ क्रिङ फोनको घण्टी बज्छ। पुुस ३ को राति ८ बज्न थाल्दा तारा सरलाई फोन गर्छु। 

‘नमस्ते निर्मला, के छ ?’ सर आफैले मायालु स्वरमा सोधे।

‘पोखरेली नाटकबारे थोरै लेख्न खोजेकी, केही बताइदिनु हुन्थ्यो कि?’ 

‘सोँच्नु–सम्झिनुपर्छ। हतारमा खै के भनूँ ! हाम्रो पोखरा–१६ का धर्मराज थापा, चेंकबहादुर बरुवाल, उदय, प्यासी, कुलबहादुर केसी, नरेन्द्र पौडेल, कृष्ण थापा, राम बानियाँहरूको घर भएको गाउँ। झलकमान, धनबहादुर गायक आदिको ‘गायक थर’ भएको ठाउँ। नाटक खेलिने हिसाबमा बाटुलेचौरको अर्काे नाउँ बालनचौर हो भन्दा फरक पर्दैन नानू !’ 

अलि मियाँको पोखरा, सर्वज्ञमान श्रेष्ठ, किञ्जलक, गणेश श्रेष्ठ, रमेश श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, श्यामलाल श्रेष्ठ, हरिदेवी कोइराला, बाबा राणा, अभिमन्यूविक्रम राणा, मिलन शेरचन, सञ्जीव पौडेल ... मनको मिटर जोडले घुम्छ। सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठ, अम्बिका भण्डारी, लक्ष्मी थापा, छन्दिका, सरला सरु... अरु अनेक अनुहार आँखामा नाँच्छन्। प्रतिभा स्कुलका विश्व पराजुली, कल्याण पन्त, शिव लामिछाने, घनश्याम लामिछाने, यामबहादुर पौडेल क्षेत्री, देशभक्तसिंह कुँवर आदि नाटकसित नजिकिएकाहरूलाई फोन गर्छु। केहीसित कुरा हुन्छ, कतिको फोन उठ्दैन। पोखरेली नाटकमा गोर्खाली लाटा स्मरणीय नाम हो भन्ने सुनेँ। भूपी शेरचन, भैरव अर्याल, नारायण गोपाल, चेतन कार्कीको लामै समयको पोखरा बास र अशेष मल्लको आवातजावत बेलाका अनौपचारिक कुराकानीले पनि पोखरामा नाटकप्रति चासो बढेको तर्क गर्नेहरू फेला परे। कृष्णप्रसाद बाँस्तोला, नवराज बराल, जोजिजू परिवार, अनुराग अधिकारी, विनोद बाँनियाहरू कुनै न कुनै रूपमा नाट्य विधामा योगदान गरिरहेका छन्। 

कल्पना पाण्डेलाई भेट्छु। भन्छिन्, ‘बाहिरबाट पोखरा आकी। मलाई खासै थाहा छैन ! दिलिप श्रेष्ठ, मणिचन्द्र कँडेल, माधव सुवेदी, तीर्थ गुरुङ, नवीन लामा, कल्पना थापा, पूजा श्रेष्ठ आदिले भूमिगत शैलीमै यहाँका कृष्णगोपाल श्रेष्ठसँग नजिकिएर नाटक क्षेत्रमा काम गरेका हुन्। अमर तमु पनि हुटहुटी छर्ने गर्थे !’ 

नाटकको जन्ममिति पत्तो पाउन असम्भवजस्तै छ। प्राचीन ग्रिसेली नाटकले विश्वमा विशेष योगदान दिएको मानिँदो रहेछ। जर्मनका बर्टाेल्ट ब्रेख्त (१८९८–१९५६) र भारतका उत्पल दत्त (१९२९–१९८३) प्रगतिवादी नाटक फाँटमा प्रशिद्ध छन्। चीनको ‘रातो लालटिन’लाई अझै पनि नेपालमा बिम्बका रूपमा लिइन्छ। पोखरामै मैले जीवन शर्माको ‘ठूली’ हेर्न पाएकी थिएँ – 

‘लडाई हाम्रो रोकिन्न अब अनन्त चल्नेछ

लुटपाटको भरमा टिकेको शासन अवश्य ढल्नेछ

हारेमा हाम्रो क्यै छैन जाने हत्कडी गुम्नेछ 

जितेमा अब गरीबको सारा संसार हुनेछ !’ 

‘साहित्य शृंखला’सँग आवद्ध संगम सांगीतिक मञ्च र रक्तिम परिवारका कलाकारहरू प्रत्येक महिनाको पहिलो शनिबार आफ्ना आवाजहरू यसरी नै बुलन्द गर्छन्। ‘युद्धको मोर्चाबाट फर्किँदा’ सम्झिइन्छ। 

०३५/०३६ सालतिर पोखराको डाँफे कला मन्दिरमा मञ्चित ‘मातृभूमिको व्यथा’ नाटकले यहाँ निकै गहिरो प्रभाव पारेको पाइन्छ। ‘हिमाली सांस्कृतिक परिवार’का सिनियरहरू सुनाउँछन्– यसले सशक्त ढंगले स्वरोजगारको माग गरेको थियो। अहिले पनि मेन गुरुङको मुखबाट सुन्न पाइन्छ– 

‘लौ न हजुर ! नजानुस् लाहुर 

नेपालैमा पाइन्छ जागिर 

आँठोपीठो मिलेर खाए 

त्यही मीठो हुन्छ

हजुरले छोडेर जाँदा

यो मन कत् रुन्छ !’

यही ताका काठमाडौंबाट पोखरा ल्याइएको ‘मुना–मदन’ पिएन क्याम्पसमा हेरेर धेरै पोखरेलीहरू हर्षित भए अरे। त्यसपछि नै पोखरामा प्रगतिशील नाट्य साहित्य बढ्न थालेछ। डा. रविलाल अधिकारी, नारायण परिश्रमी, पद्मराज ढकाल, धनबहादुर नेपाली, राजेन्द्र चापागाइँ, छवि सुवेदी, लीला पण्डित, धनप्रसाद तामाङ्, स्ट्रगल राना, पूर्ण लामाहरू यतातिर उद्यत भएछन्। मोदनाथ प्रश्रितका प्रायः सबै नाटकहरूले त्यो वृत्तमा ठाउँ पाएछन्। प्रश्रितको ‘सपनाहरू : उपहार देशलाई’ हेर्न मात्र होइन, पढ्न पनि लेखिएको नाटक हो। यहाँको गीत – 

‘रगतको तेल हालेर, मुटुको दीयो बालेर 

म मर्न पाउँ देशको थोरै अँध्यारो फालेर !’ 

पूर्ण लामा सुनाउँछन्, ‘यही नाटकको आधारमा ‘बलिदान’ फिल्म बनाइएको हो। फिल्ममा प्राविधिक पक्ष बढी, नाटकमा मानवीय पक्ष बढी हुने हुँदा नाटकले मन चाँडो छुन्छ।’

नाटकले जीवनको कलात्मक चित्रण गर्छ। मानव मनलाई उच्चतातिर उकास्छ। संस्कृतका प्राचीन नाटकहरू संयोगान्त हुन्थे र काव्यात्मकताले थिचिन्थे भन्ने विद्वानहरूको अभिमत छ। शेक्सपियरका नाटकहरू महान् वियोगान्त हुन थालेपछि आम मान्छेको ध्यान त्यतै खिँचियो। नेपालमा १९३२ सालमा ‘अटलबहादुर’ छापिएपछि  वियोगान्त नाटक सुरु भएको उल्लेख भेटिन्छ। वियोगान्त नाटक हेरिँदा पीडाले रन्थनिँदै मान्छेले लुछाचुँडी छाडेर आत्मिकताको बाटो खोज्छ। निनु चापागाई भन्छन्, ‘भौतिक संस्कृति र आत्मिक संस्कृति अभिभाज्य हुन्छन् !’ माक्र्स भन्छन्– सांस्कृतिक क्रान्ति निरन्तर चलिरहन्छ। क्रान्ति जारी राख्न संकल्पितहरूले पोखरामा ‘पोखरा थिएटर’(२०७४ फागुन ०२) निर्माण गरे। परिवर्तन, शंकरनाथ कोइराला र दिलप्रसाद गुरुङहरू संस्थापक हुन्। यसले हालसम्म २३ नाटक प्रदर्शन गरिसकेको छ। यही पुस २७ देखि माघको दोस्रो सातासम्म परिवर्तनको निर्देशनमा सरुभक्तको ‘निर्माया’ प्रदर्शनको तयारी भइरहेको बताइँदैछ। परिवर्तनकै निर्देशनमा ‘भम्रर’का पिता, दार्जिलिंगे रूपनारायणसिंहको ‘बितेका कुरा’ देखाइएको थियो। सौगात संघर्ष, कपिल, प्राञ्जल, एनिका सापकोटा आदि अब्बल अभिनय गर्ने ठानिँदैछन्।  

०७४ चैत ०८ गते ‘राष्ट्रिय नाटक महोत्सव’ गरियो। ‘थाङ्ला’, ‘एन्टिगोना’ र अरु नाटकहरू प्रदर्शित भए। सरुभक्तद्वारा लिखित ‘थाङ्ला’ हिमाली जीवनको मनोविश्लेषणात्मक प्रस्तुति थियो। ‘सान्नानीको सन्ते राजा’ कृष्ण उदासीद्वारा लेखिएको हो। यसमा उदासीले नयाँ नयाँ कलाकारहरूलाई जिम्मेवारी सुम्पेका थिए। 

‘पोखरा थिएटर’ जस्तै समवयको अर्काे संस्था ‘युथ क्रिएसन थिएटर’ पनि यहाँ क्रियाशील छ। यसले ०७५ मंसिर २१ देखि पुस ४ सम्म छैटौँ प्रस्तुति ‘घेरो’ प्रदर्शन ग-यो। यसलाई कपिल शर्माले निर्देशन गरेका थिए। 

सेती बगिरहन्छ। माछापुच्छ्रे फेवामा ऐना हेर्दै गर्छ। पोखरा गण्डकी प्रदेशको केन्द्र। विश्वकै सुन्दरतम् मध्येको ठाउँ। सपूतहरू यसलाई अझ राम्रो बनाउने ध्याउन्ना राख्दा रहेछन्। खगेन्द्र लामिछाने भन्छन्, ‘मेरो सपना थ्यो पोखराँ दिनदिनै नाटक देखाम्नलाई नाटक घर बनाम्ने !’ परिवर्तन थप्छन्, ‘हाम्रा साझा सपनाले त्यो सँजोग जुट्यो !’ पोखरामा ०७५ साउन ७ देखि १६ सम्म ‘अटलबहादुरको आतंक’ चल्यो। यसका लेखक तथा निर्देशक खगेन्द्र लामिछाने थिए। ‘तिम्रो मुटुभित्र एउटा ठाउँ छ, म जान्छु त्यो प्रेम हो !’ कक्षा ७ का नानीहरुको कवितामा भनिए जस्तै ‘अ प्लेस इन् माई हार्ट’ ०७५ कात्तिक ३० देखि मंसिर ८ सम्म चलाइएको थियो। जीवनमा विविधता छ, यसैले नाटकमा विविधता पाइन्छ। 

पाका समाजसेवी विश्व गौचन भन्छन्, ‘चलचित्रको क्रेज घट्दै गए पनि पोखरामा नाटकको क्रेज बढ्दैछ। राज्यले कलाकारको सम्मान गर्न जान्नुपर्छ। मेरो भाइ विनोद पनि नाटक भनेपछि हुरुक्कै हुन्थ्यो। सोम, सरोज बज्राचार्यहरू सँगै काम गर्थे...!’ बूढाको स्वर पीडाले भरिएको थियो। वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकको भनाई रह्यो, ‘सिनेमाभन्दा पोखरेलीहरू नाटक रुचाउँदैछन्। यसको स्वाद छुट्टैछ।’ कृष्ण उदासीले ‘दर्शककै माग अनुसार पुस ६ र ७ गते ‘जय गान’ दोहा¥याएर देखाइने’ बताए। सदावहार मुस्कानसँगै गनेस पौडेलले भने, ‘मोटरसाइकल भन्दा साइकल ठीक। म त टिभीमा नेता देखिने डरले पनि नाटकतिर धाउँछु।’

विषयविज्ञहरूसँग माफी चाहन्छु। छोटो समयको सानो प्रयासमा सारतः यस्ता अभिमत भेटिए– १९९७ सालमा धन शमशेर बडाहाकिम भएर पोखरा आएदेखि यहाँ नाटकले गति लिन थालेको हो। हाल परिवर्तनकामीहरूले सकारात्मक परिवर्तनको चाहना राख्दा पोखरामा नाटकको भविष्य उज्यालो देखिँदैछ। 

प्रकाशित: ७ पुस २०७५ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App