७ वैशाख २०८१ शुक्रबार
अन्य

चर्चमा ‘पवित्र विवाह’

तुलसीपुरस्थित चर्चमा विवाह गर्दै गरेका एक जोडी ।

दाङ– ब्राह्मणको ठाउँमा चर्चका पास्टर । उनै पास्टरले विवाहको विधि पु-याइदिन्छन् । न सिन्दुर, न त टिकाटालो । ‘प्रभु’का अगाडि गरिने ‘कहिल्यै नछुट्ने बाचा’ नै बलियो ‘लगनगाँठो’ सरह हुन्छ । क्रिश्चियन धर्मका अनुयायीहरुको वैवाहिक रीतिलाई यसका अनुयायीहरु हिन्दुको भन्दा खासै फरक मान्दैनन् । क्रिश्चियन परम्पराअनुसार विवाह गरेका घोराहीका सुरज (नाम परिवर्तन) भन्छन्, ‘सिन्दुर हालिन्न, अनि टिकाटालो हुन्न बाँकी त हिन्दुकै जस्तै हो ।’ 

क्रिश्चियनको वैवाहिक परम्परामा पनि युवायुवतीहरुले एकअर्कालाई मन पराएको खण्डमा सुरुमा ‘मगनी’ गर्ने परम्परा छ । यो बेला एकले अर्कालाई कुनै न कुनै उपहार दिने प्रचलन रहेको छ । मगनीका लागि घर या चर्चमा पुग्ने गरिन्छ । ‘मगनी चर्चमा भए झनै पवित्र मानिन्छ, घरमा पनि हुन्छ,’ उनी भन्छन्, ‘यो बेलामा एकले अर्कोलाई उपहार दिने प्रचलन छ ।’ विवाहको मिति केटा र केटी पक्षबीच यही मगनीकै बेला तय हुन्छ, हिन्दु परम्पराजस्तै । विवाहको मिति तय भएपछि दुवै पक्ष (केटा र केटी) मा विवाहको तयारी सुरु हुन्छ । आफ्ना आफन्तीहरुलाई विवाहको निमन्त्रण गर्ने, खानपान तथा गरगहनाको जोहो दुवै पक्षमा भव्य रुपमा हुने गर्छ । ‘विवाहका लागि चाहिने सबै कुराहरुको तयारी भव्य रुपमा गरिन्छ,’ सुरज भन्छन्, ‘आफ्ना आफन्तीहरुलाई विवाहका लागि निम्ता गर्ने लगायतका सबै कुराहरुको तयारीमा परिवार जुट्छन् ।’ 

यो तयारीपश्चात् विवाह हुने दिन चर्च सजिसजाउ पारिन्छन् । दुलहीलाई सेतो पोशाकमा सजाइन्छ । ‘सेता पोशाक पवित्रताको प्रतीकको रुपमा रहने भएकाले दुलहीलाई पूरै सेतो पोशाकमा सजाइन्छ,’ तुलसीपुरकी मिलन थापा भन्छिन्। दुलहीलाई घरबाट चर्च (विवाह हुने स्थल) सम्म पु-याइँदा एक कन्याले बाटोभरि फूलले स्वागत गर्ने गर्छिन् । ‘एउटी कन्या बाटोमा फूल छर्दै हिँड्ने र दुलही त्यही फूलको बाटोमा हिँड्ने परम्परा रहेको छ,’ मिलनले भनिन्, ‘त्यो दृश्य असाध्यै रमणीय लाग्छ ।’ यता कालो कोट र पाइन्टमा सजिने दुलहाका पक्षबाट जन्तीको लावालस्कर लाग्छ । हिन्दु परम्पराअनुसार हिन्दु युवायुवतीको विवाहमा शुभविवाह लेखिएको तुल टाँगिन्छ तर क्रिश्चियन परम्परामा ‘पवित्र विवाह’ नामकरण गरिएको हुन्छ । चर्चमा पुगिसकेपछि विवाह प्रारम्भ हुन्छ । चर्चका पास्टरले बाइबलमा उल्लेखित वैवाहिक विधि उच्चारण गर्छन् । दुलाहा र दुलही दुवै जनालाई प्रभुलाई साक्षी राखेर विवाहका लागि राजी भए नभएको सोधिन्छ । ‘पास्टरले दुलाहा र दुलहीलाई विवाहको लागि राजी भए नभएको भनेर सोध्छन्,’ मिलन भन्छिन्, ‘अनि दुवै जनाले आ–आफ्नो उत्तर दिन्छन्, राजी भएको खण्डमा वैवाहिक कार्यक्रम अगाडि बढ्छ ।’ 

राजी नभएको कुनै एक जनाले जवाफ दिएमा विवाह नहुने परम्परा रहेको यो धर्मका अनुयायीहरु बताउँछन् । दुलाहा र दुलहीबीच त्यो बेला विभिन्न बाचा–कसम खुवाइन्छ । ‘मृत्युले अलग नबनाउँदासम्म तिमीसँग अलग हुने छैन भनेर दुलाहादुलही दुवैजनालाई बाचा गराइन्छ,’ मिलन भन्छिन्, ‘सधैँभर खुशी भएर सँगै बाँच्नेछु भन्ने जस्ता प्रेमिल कसमहरु खुवाइन्छ ।’ यति मात्रै हैन, विवाहपश्चात् दुलहीले अन्य पुरुषलाई आँखा नलगाउने र दुलाहाले अन्य युवतीलाई आँखा नलगाउने भनेर पनि चर्चमा कसम खुवाइन्छ । ‘कहिल्यै अपमान गर्ने छैन, अन्य पुरुष या महिलालाई आँखा नलगाउने भनेर दुलाहादुलहीले बाचा गर्छन्,’ मिलन भनिछन्, ‘यी बाचा कसमपछि विवाह अन्तिम चरणमा पुग्छ ।’ 

जीवनभर एकअर्कासँगै बस्ने यी बाचापछि दुलाहादुलहीले एकअर्कालाई औँठी लगाइदिने प्रचलन छ । चर्चमै दुलाहादुलहीलाई अँगालोमा बाँध्न लगाइन्छ । औँठी लगाइदिएपछि दुलहीको पोशाक परिवर्तन हुन्छ । उनलाई रातो पहिरनमा सजाइन्छ । अन्त्यमा एकअर्कालाई बरमाला लगाइदिने गरिन्छ । ‘अन्तिममा दुलाहादुलहीले बरमाला पहि-याइदिने प्रचलन छ,’ उनले भनिन्, ‘त्यसपछि दुलाहादुलहीले एकअर्कालाई उपहार दिन्छन् ।’ यति मात्रै हैन, हिन्दु परम्पराअनुसार सम्धी सम्धिनीलाई पनि दुलही पक्षबाट सुनका गहना (औँठी) दिने चलन हुन्छ ।  

क्रिश्चियन समुदायमा पनि विवाहमा दाइजो निषेध हुँदैन तर दाइजो दिनैपर्ने भन्ने बाध्यता भने हुँदैन । आर्थिक स्तर बलियो भएका परिवारले मनग्य दाइजो दिने गर्छन् । ‘दाइजो नदिने भन्ने हुँदैन, सक्नेले धेरै पनि दिन्छन्, नसक्नेले दिँदैनन्,’ उनले भनिन्, ‘यो धर्मले दाइजोलाई निषेध गरेको छैन तर दिनैपर्ने बाध्यता पनि हुँदैन ।’ यसैगरी विवाहमा ठूल्ठूला भोजभतेर चलाउने परम्परा पनि छ । विवाहमा आफन्तलाई बोलाएर भोजमा सरिक गराउने परम्पराअनुसार आर्थिक अवस्था राम्रो भएकाहरुले ठूल्ठूला होटेल तथा पार्टी प्यालेसहरुमा भोज चलाउने गर्छन् । ‘भोजभतेर सबै चल्छ, राम्रो हुनेखानेले त ठूल्ठूला पार्टी प्यालेसहरुमा भोज चलाउने गर्छन्,’ मिलन भन्छिन्, ‘आ–आफ्नो क्षमताअनुसार भोजभतेर चलाइन्छ ।’

आर्थिक अवस्था अत्यन्त कमजोर भएकाहरुको विवाह चर्च आफैँले समेत आफ्नै खर्चमा गरिदिने गर्दछन् । केही दिनअघि मात्रै आर्थिक अवस्था कमजोर भएको एक जोडीको विवाह चर्च आफैँले गरिदिएको थियो । ‘आर्थिक अवस्था निकै कमजोर भएकाहरुको विवाह चर्चले आफ्नै खर्चमा पनि गराइदिने गरेको छ,’ मिलन भन्छिन्, ‘आर्थिक अभावका कारण कसैको पनि विवाह रोकिने अवस्था हुँदैन ।’ क्रिश्चियनहरुले मूलतः चर्चमै विवाह गर्छन् । तथापि पछिल्लो समय पुरानो यो संस्कार बदलिँदै पनि जान थालेको छ । चर्चमा मात्रै सीमित नभई अहिले ठूल्ठूला होटेल तथा पार्टी प्यालेसहरुमा समेत विवाह गर्ने क्रम बढ्दै जान थालेको छ ।

प्रकाशित: २५ मंसिर २०७५ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App