२३ असार २०७७ मंगलबार
अन्य

लघुकथा लेखनमा छलाङ्

सुमन सौरभको नाम नेपाली लघुकथा क्षेत्रबाट निकाली दियो भने नेपाली लघुकथा क्षेत्र नै अपुरो रहन्छ । उनका हरेक लघुकथा पढेर नै मैले यति भन्ने साहस जुटाएको हुँ । उनले कहिले देखि लेखे भन्दा पनि कस्तो लेखे भन्ने कुरा महत्वपूर्ण हुन्छ । उनी वर्तमान पुस्ताका होनहार लेखक र, लघुकथा समाजका कोषाध्यक्ष पनि हुन । ०५२ सालमा आधुनिक लघुकथाहरु शिर्षकको पुस्तक लिएर नेपाली साहित्यको क्षेत्रमा दर्ज भएका सौरभले पराई विचार, चौथो लिङ्गी, मृत्युसंग्रह र भर्खरै स्वप्निस्तान लघुकथासंग्रह लिएर आएका छन्।

एउटै विषय र शीर्षकमा अनेक लघुकथा लेख्न सक्ने खुवी छ उनको । मृत्युसंग्रहमा मृत्युसंग सम्वन्धित विषयमा लेखिएका लघुकथा छन् भने स्वप्निस्तानमा मान्छेका सपनासंग सम्वन्धित लघुकथा छन् । स्वप्निस्तानले नेपाली लघुकथाको क्षेत्रमा एउटा नयाँ अध्याय शुरुवात गरेको छ । डिकुरा पब्लिकेसनद्धारा प्रकाशित प्रस्तुत पुस्तक लघुकथाकै क्षेत्रमा एउटा विशिष्ठ कृति हो । सतचालिस ओटा लघुकथा समेटिएको यो पुस्तकमा मान्छेका सपनासंग जोडिएका विविध प्रसंग छन् । उनका लघुकथाहरु पढ्दा कताकता फिल्म हेरे जस्तो झस्याङ् पार्ने गर्दछन् । कुनै हरर मुभि जस्ता विविध अर्थहरु बोकेका सुन्दर शैलिका सरल र शालिन भैकन पनि आम मान्छेका भोगाईका हरेक पाटाहरु कथामा समेट्न सफल भएका छन्।

मैले अहिलेसम्म यस्ता लघुकथाहरु पढेको छैन भन्दा पनि हुन्छ, र, पछि लेखिन्छन कि लेखिदैनन भन्नेमा पनि शंका छ किनकी यस्ता एउटै विषयमा विविध स्वादमा लेख्ने लेखकहरुको कमि नै देखिन्छ, नेपाली साहित्यमा।

सुमन भन्छन, मैले सतचालिस ओटा लघुकथा लेख्न तीन वर्ष लगाएँ । मृत्युसंग्रह लेख्दा पनि त्यस्तै भएको थियो अब यो भन्दा राम्रो पुस्तक लेख्न सक्छु कि सक्दिन भनेर, यसका बाबजूद पनि मैले स्वप्निस्तान लेखें । यो पुस्तक आम पाठकले भन्दा पनि बौद्धिक वर्गको लागि लेखेको हुँ । नयाँ कुरा त केही गरेको छैन तर लघुकथा मार्फत नयाँ फ्लेवरमात्र दिन खोजेको हुँ।’

सौरभ नेपाली साहित्यको भिडबाट टाढैबाट चिनिने फरक किसिमका स्रस्टाको परिचय बनाउन सफल भएका छन् स्वप्निस्तान मार्फत । उनी भन्छन्–आम मान्छेले गरिरहेका काम गर्न त सजिलो नै हुन्छ नि त्यसैले फरक कार्यहरु गर्दाको मज्जा बेग्लै हुन्छ।

मूलतः उनी नेपाली लघुकथामा मात्रै कलम चलाउने गर्छन । अरु विधामा उनको रुचि नै छैन जस्तो गर्छन तर पढ्न भने सबै विधाका पुस्तक पढ्ने गर्छन । वर्तमान समयमा हामीले जे जस्तो भोगिरहेको छौ, त्यो हाम्रो दुर्भाग्य हो, संसार कताबाट कता पुगिसक्यो हामी भने बिहान के खाने र बेलुका के खाने भनेर चिन्तित छौं । गरिबहरु खान नपाएर मरिरहेका छन्, हामी खाना फ्याँकी रहेका छौं । क्रमशः गुम्दै गएको मानविय संवेदनाहरुलाई जोड्ने काम सुमनका लघुकथाहरुले गरेका छन् । मृत्यु सास्वत सत्य हो तर मर्ने पर्दैन जस्तो गरेर मान्छे भ्रष्टाचार गरेर अहंम्को पहाड उक्लिरहेको मान्छेलाई मृत्यु चेतनाको सास्वत सत्य सिकाउँन उनको लघुकथाहरुले सिकाएको पाठ हो।

मानौ हामी सपना देख्नमात्र जन्मेका हौं, विपनाको हक हामीलाई छैन जस्तो गर्दछन् यहाँका शासक वर्गहरु र यिनिहरुकै चेतनामा केही गुदी भर्नका लागि पनि उनका यी लघुकथा सार्थक बन्न सक्छन जस्तो लाग्छ।

वर्तमान समयको मान्छेमा एउटा अह्म छ म सबै काम गर्न सक्छु र सक्षम पनि छु, यस्तै अहंमले नै चिप्लिरहेका छन्, आजका मान्छेहरु । नेपाली साहित्यमा पनि त्यो प्रभाव परिरहेको छ । सिद्धान्त एकातिर र लेखनी अर्कोतिर एकदुई ओटा पुस्तक निस्कदैमा वरिष्ठ कहलाउनु पर्ने रोगको शिकार बनेका छन् । समाजका लागि लेख्ने साहित्यकारहरु समाजबाटै घृणित बन्नु पर्ने दुर्भाग्य छ । किनकी उनीहरु आफैंमा भ्रष्ट आचरण भएका लेखक महोदयहरु हुनुहुन्छ । यी र यस्ता मान्छेलाई बालै नगन्ने र टाढै रहेर सुमन सौरभ सिर्जना गर्छन एउटै विधा लघुकथामा । उनी भन्ठान्छन– सपना मात्र सपना होइन सपनाहरुमा पनि विपनाको सुगन्ध छरिएको अवस्य हुनु पर्छ।

यस्तै सुगन्ध फैलाएर उनले पुस्तक बनाए–स्वप्निस्तान । भविश्यमा उनले कथा, कविता र नियात्रा पनि लेख्लान तर अहिलेको अवस्थासम्म उनी लघुकथामा विषेश भिटो प्रयोग गरेर पाठक र अन्वेषकहरुको मथिङ्गल रन्थन्याउने  लघुकथाहरु लेखिरहेका छन्।

उनका कथाहरुमा युद्धग्रस्त मानसिकता बोकेमा मान्छेहरुका यथार्थता, जीवनभर सपनाको पोका सजाए पनि अन्तिम अवस्थामा आवस्यकता नभएको, वर्तमान नेपाली राजनीतिको यथार्थ चित्रण, प्रेमका केही नमूनाहरु, शैक्षिक क्षेत्रमा देखिएका विकृति, मातृवात्सल्यताको प्रेम, छिमेकीसंगको बैमनष्यताको परिणाम, नेपाली नेताहरुले जनतालाई कसरी गोटी बनाएर खेलिरहेका छन् भन्ने प्रमाण, नेपाली साहित्य, कलाका क्षेत्रमा देखिएको विकृति, मान्छेले प्रकृतिसंग जोरी खोजेको कारण प्रकृतिले देखाएको ताण्डव, मान्छेले नै बनाएको पैसाले मान्छेलाई नै मूर्ख बनाएको रहस्य, जनताकै नाममा भैरहेका आन्दोलनले जनतालाई नै दिएको दुःख, छोरी भए पछि गर्भपतन गराउँने हाम्रो समाजमा भएको विकृतिको नमूना लगाएत थुप्रै विषयवस्तुलाई समेटेर लेखिएका यी कथाहरु सपनामा भएको जस्तो लागे पनि यी विपनामा भैरहेका विकृतिका चाङहरु हुन्।

उनको कथा प्रस्तुतीकरण मिठासपूर्ण छ, जीवनमा भएका रहस्यमय कुराहरुलाई सपनीमा लगेर जोडे पनि विपनामा उनका कथाहरु प्रतिनिधि घटनाहरु भएर सामाजमा पोखिएका छन् । समग्रमा सुमनका लघुकथाहरु मानविय जीवनका मूल दस्तावेज हुन् । मानविय संवेदनाका मूल मर्मलाई आत्मसात गर्दै लेखिएका उनका यी लघुकथाहरु आम पाठकले निकै सोचेर मनन गरेर जीवनका सारतत्वहरुलाई बुझ्न सक्नेछन् । यस्ता लघुकथा लेख्नु पर्ने रहेछ भन्ने ज्ञात लेखकहरुलाई बनाउने कुरामा ढुक्क हुन सकिन्छ । साधारण पाठक भएर यी लघुकथाहरु पढ्दा भने कतै कुनै भेउ पाउन नसक्नु र चारै तिर छरिएका व्यङ्ग्य बाणहरुले कता चाहिँ ताकिरहेका छन् भनेर अलमलिन सक्छन्, तर बौद्धिक पाठकहरुले भने सिधै बुभ्mन सक्ने छन्, उनका कथाहरुमा कमजोरी भन्दा पनि मेरो मनमा लागेका कुराहरु मात्र हुन् । लेखकले जब पाठकका मथिङ्गल रन्थन्याउने गरि लेख्छन्, त्यो लेखक सफल भएको ठान्नु पर्दछ, यसकारण सुमन सौरभ लघुकथा लेखनमा अब्बल ठहरिका छन्।

प्रकाशित: १० कार्तिक २०७५ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App