७ वैशाख २०८१ शुक्रबार
अन्य

समकालीन समयको आवाज

कथाकार रत्न प्रजापति मानवीय मनका हार्दिक पक्षलाई चित्रण गर्न मन पराउने सर्जक हुन् । उनको हालै प्रकाशित ‘स्वच्छन्द साँझ’ नामक कथासंग्रहका अधिकांश कथामा पनि त्यही कुराको पुष्टि पाइन्छ । यो पच्चीसवटा कथाको सँगालो हो । यी कथामा उनले मानवीय मनका प्रेम र यौन जस्ता भावनालाई केन्द्रीय विषयवस्तुका रूपमा चित्रण गरेका छन् । साथै विसंगतीमय र सांस्कृतिक पक्षका चित्रणमा पनि उनले यहाँ आफ्नो खुबी देखाएका छन् । मूलतः प्रस्तुत कथासंग्रह समकालीन समयलाई अभिव्यक्त  गर्ने दरिलो प्रयास हो।

‘स्वच्छन्द साँझ’ कथासंग्रहमा कथाकार रत्नले आफ्ना समयको समाज र मानवीय विसंगतीहरूको प्रतिबिम्बित रूपलाई स्पष्ट पार्ने प्रयत्न गरेका छन् । समकालीन राजनैतिक विकृतिलाई बाह्य रूपमा र प्रेम एवं यौनलाई आन्तरिक विषयवस्तुका रूपमा चयन गरेर उनले विभिन्न कथा पस्केका छन् । म तिमीलाई माया गर्छु, बोध, तरङ्ग, उफान, बेतुक जस्ता कथाहरूमा उनले यौनलाई केन्द्रीय कथ्य बनाई रोचक पारामा प्रस्तुत गरेको पाइन्छ । उनले यी कथामा मूल रूपमा यौनलाई पेस गरेता पनि त्यसलाई विविध सन्दर्भ र विविध दृष्टिकोणबाट अभिव्यक्ति दिएकाले पुनरुक्तिको आभास पाइँदैन । उनले मानवीय जीवनका नितान्त निजी अनुभवजन्य सम्पत्ति ठहरिने यौनको अनुभूतिलाई सैद्धान्तिक र प्रयोगपरक ढङ्गमा पेस गर्ने प्रवृत्ति देखाएका छैनन् । कथानकको बगाइका क्रिममा पात्रगत क्रियाकलापका आधारमा यौनजन्य भावनाको चुहाइलाई चित्रण गरेकाले उनको सिर्जनकुशलता परिलक्षित हुन्छ।

प्रजापतिले मानव जीवन र त्यससित सम्बन्ध जोडिन आएका विषयलाई विभिन्न कथामा पर्गेल्ने प्रयास गरेका छन् । यसका लागि उनले मानवीय संवेदना र युगीन चेतनालाई माध्यमका रूपमा उपयोग गरेका छन् ।

उमेरमा यौन भोकको पनि तुष्टि आवश्यक छ भन्ने निष्कर्षलाई ‘अकस्मात्’, ‘रिस’, ‘फागुको रङले तङ्गिएको मन’ शीर्षकका कथाहरूमा रोचक कथानकका माध्यमबाट अभिव्यक्त गरिएको पाइन्छ । तीनवटै कथामा पुरुषका स्पर्शको अभावमा युवतीको कुण्ठित मनोदशाको स्वभाविक चित्रण छ । यस्ता मनोदशाबाट अघि बढेर निकासका लागि नारीले आफ्नो अतृप्त चाहना पूर्तिका लागि वैवाहिक सम्बन्धको घेरा नाघेर परपुरुषबाट काम निकालेको प्रसंग ‘धोका’ कथामा छ । त्यस्तै, यौनतृप्ति प्राकृतिक आवश्यकता हो भन्ने तथ्यलाई अभिभावकको भूमिका निर्वाह गर्दै गरेको युवक र एक किशोरीबीचका रोचक प्रसंगबाट ‘बोध’ कथामा व्यक्त गरिएको छ । ‘तरंग’ कथामा यौनेच्छाले सहज निकास नपाउँदा थुप्रने कुण्ठा र यौनतुष्टिपछि देखा पर्ने आनन्दतिरेक भावको तुलनात्मक अभिव्यक्तिको नाटकीकरणमा पनि कथाकारले आफ्नो कुशलता देखाएका छन् । यस कथामा लोग्नेको वियोगमा परपुरुषसित सम्बन्ध राखेपछि युवतीको अनुहारमा झल्किएको सन्तुष्टिको विशेष चित्रण छ।

यौनतृप्तिका लागि मानिस नैतिक–अनैतिक जस्ता सबै बन्धन तोड्न उद्यत रहन्छ भन्ने सन्दर्भ ‘उफान’ कथामा उपस्थित छ । धर्मपुत्रका रूपमा हुर्काइएको छोरो जवान हुँदा अविवाहित आमाले आफ्ना दबिएको यौनचाहना ह्वात्तै प्रकट हुन थालेको अनुभव गर्नु र तिनबाट देखा पर्ने तत्सम्बन्धी व्रिmयाकलापका माध्यमबाट मानिसका आदिमपनाको पहिचान गर्ने काम यस कथामा भएको छ । सामाजिक जीवनमा पति पत्नीबीच पनि यौनसम्बन्धमा दैहिकभन्दा आत्मिक सन्तुष्टिको महत्वपूर्ण भूमिका हुन्छ, तर बढ्दो आधुनिकीकरणले यस्तो सन्दर्भमा कृत्रिमता बढाउँदै गएको असत्य होइन । कथाकार प्रजापतिले यसै तथ्यलाई विचार गरेर ‘म तिमीलाई माया गर्छु’ कथा पस्केका छन्।

बोल्ने बोलीमा मात्र मायाप्रेमको उच्चारण हुने, तर मद्यपान र यौनलाई मात्र स्वार्थको केन्द्र बनाउने सहरिया गृहिणीका स्थितिलाई यस कथाले चित्रण गरेको छ । यसरी कथाकारले धेरैजसो कथामा यौनको पक्षलाई कुनै न कुनै रूपमा निरीक्षण गरेका छन् । यसका विविध रूपको अभिव्यक्तिमा विभिन्न घटना र चरित्रको सिर्जना गर्नु उनको लेखन क्षमता हो।

प्रस्तुत कथासंग्रहमा समकालीन जीवन र समाजका विसंगति र विद्रूपतालाई पनि अभिव्यक्त गर्ने कथाकारको ध्येय देखिन्छ । यसका लागि उनले सहरी परिवेश चयन गरेका छन् । यहाँ मानसिक, व्यवहारिक, सामाजिक, राजनैतिक क्षेत्रमा व्याप्त कुप्रवृत्तिहरूलाई केन्द्रीय कथ्य बनाएको पाइन्छ । पत्नीपीडित दुई पतिहरूको सन्दर्भ कोट्ट्याइएको ‘सदृश पीडा’ कथामा सहरी परिवेशमा नारी स्वतन्त्रताको दुरुपयोग पनि हुने गरेको सन्दर्भ प्रकट गर्न खोजिएको छ । ‘काले काले मिलेर खाऔँ भाले’ भन्ने निष्कर्षमा रुमलिरहेको वर्तमान नेपाली राजनीतिमा कुनै नेता पनि चुनिन योग्य छैनन् भन्ने तीतो यथार्थलाई ‘पछुतो’ कथामार्पmत संकेत गरिएको छ । एकदमै योग्य ठानेर चुनावमा मत दिइएको नेताको चरित्र बुझेपछि मतदातालाई पर्ने पछुतोको यहाँ रोचक प्रसंग पस्कने काम भएको छ । भ्रष्टाचार, दुई नम्बरी धन्धाबाट बन्न पुगेको धनाढ्य वर्गका सन्तानहरूमा देखा पर्ने गरेका जिम्मेवारीविहीनता, संवेदनहीनता, छाडापनालाई ‘पिँढी’ कथामा चित्रण गरिएको छ।

जीवनको क्षणभङ्गुरतालाई पनि मर्मस्पर्शी पारामा ‘ऐँठन’ कथामा दर्शाइएको छ । यस कथामा एक निर्दोष युवकको मृत्यु प्रसंग कोट्ट्याउँदै नेपाल र लोकतन्त्रको अवस्थालाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरिएको छ । सर्जक आपूm बाँचेको युगप्रति बढी संवेदनशील मात्र होइन, सचेत पनि रहने गर्छ । यही कुरालाई प्रजापतिले ‘झट्का’ कथामा पुष्टि गरेका छन् । वर्तमान समयमा आर्थिक उन्नतिका लागि घरखेत बेचेर विदेसिने नेपाली युवाको विवशता स्पष्ट पार्दै यो कथा उनिएको छ।

‘स्वच्छन्द साँझ’ कथाले सहरी जीवनमा व्याप्त आडम्बर, कृप्रवृत्तिको चिरफार गरेको छ । यौनको उद्देश्यलाई प्रेमको आवरण ओढाई सहरी परिवेशमा देखिने अश्लील गतिविधि गलत संस्कारका रूपमा विकसित हुन थालेको चिन्तन पनि यस कथामा गरिएको छ । सहरी परिवेशमा हुने यौनको छाडापनलाई ‘आकस्मिक लाभ’ नामक कथा पनि वर्णन गरिएको छ । उच्छृ्ङ्खलता र विसङ्गतिको पराकाष्ठा नाघ्न थालेको हाम्रो समाजका सन्दर्भहरूको प्रस्तुतिसँगै सहरी जीवनमा बढ्दो यान्त्रिकीकरण, कुण्ठा, संवेदनहीनता, नैराश्यतम रूपहरूलाई कथाकारले सजीव चित्रण गर्न पुगेका छन्।

कथाकार रत्नले यहाँ सर्वसाधारण नेपालीको जटिल आर्थिक अवस्था र त्यसबाट उत्पन्न दयनीय स्थितिमाथि पनि दृष्टि लगाएको पाइन्छ।

‘अब के हुन बाँकी छ ?’ र ‘एउटा अर्को अध्यायको सङ्घारमा’ कथाले द्वन्द्वकालीन समाजको स्मरण गरेको पाइन्छ । जनताको हितमा गरिने द्वन्द्वले जनतालाई नै सताएको सत्यलाई ‘अब के हुन बाँकी छ ?’ कथामा स्पष्ट पारिएको छ ।    
कथासंग्रहमा अर्को पक्ष सांस्कृतिक चेतना पनि हो । विशेषतः काठमाडौँ उपत्यकाका नेवारी संस्कृतिका विभिन्न पक्षहरू केलाउने कथाकार प्रजापतिको लेखनको एउटा प्रवृत्ति नै हो । उनले यहाँ पनि यस प्रवृत्तिलाई कायम राख्तै ‘पाहाँचह्रे’, ‘आड’ जस्ता कथा सिर्जना गरेका छन्।

उनले यसमा नारी मनोदशाप्रति पनि विशेष सहानुभूति राखेको पाइन्छ । यहाँ नारीवर्गको मानसिक स्थिति र जटिलतापूर्ण जीवनसङ्घर्षलाई मार्मिकताको तहबाट प्रस्तुत गरेका छन् । नारीहरूको व्यथा, जटिलतम अवस्था, बाह्य तथा आन्तरिक सङ्घर्षलाई समेटेर रोचक कथानक बुन्दै ‘हैसियत’, ‘चङ्गा’, ‘आफ्नो बाटो’ जस्ता कथाहरूको सिर्जना भएको छ । विशेषतः यस प्रकारका कथाहरूमा कथाकारले हाम्रो समाजमा जतिसुकै आधुनिकता आए पनि नारीजीवनका बिब्ल्याँटाहरू घटेका छैनन् भन्ने निष्कर्ष निकालेका छन्।

समग्रमा ‘स्वच्छन्द साँझ’ जीवनबोध र युगबोधका अतिरिक्त सामाजिक सांस्कृतिक चेतना र मनोसंवदेनालाई केन्द्रीय महत्ता दिई तयार पारिएको आख्यान हो । कथाकारले मानव जीवन र त्यससित सम्बन्ध जोडिन आएका विषयलाई यहाँ विभिन्न कथामा पर्गेल्ने प्रयास गरेका छन् । यसका लागि उनले मानवीय संवेदना र युगीन चेतनालाई माध्यमका रूपमा उपयोग गरेका छन् । फलतः नेपाली उत्तरवर्ती कथाको शृङ्खलामा यस सङ्ग्रहका कथा पृथक् पहिचान बनाउन समर्थ छन्।
पुस्तक    : स्वच्छन्द साँझ
विधा    : कथा
लेखक   : रत्न प्रजापति
प्रकाशक   : साझा प्रकाशन
मिति   : २०७४ फागुन
मूल्य   : रु. २९०/-

प्रकाशित: १६ भाद्र २०७५ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App