१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

चल्तीमा स्वदेशी ब्याग

नेपाली बजारमा स्वदेशीभन्दा बिदेशी उत्पादनका सामग्रीले स्थान ओगटेको पाइन्छ । तर, ब्यागमा भने ठिक उल्टो छ । नेपाली प्रयोगकर्ताले स्वदेशमै उत्पादन भएका ब्याग रुचाउने गरेका छन्।

स्वदेशमा उत्पादन भएका हेम्प, अल्लो, ढाका, कटन, उलनबाट तयार पारिएका ब्यागको माग बढी रहेको व्यापारी बताउँछन् । यी ब्याग थरिथरि डिजाइन, साइज र रङमा पाइन्छन् । तर, मल्टी कलरसँगै कालो, खैरो र सेतो रङको ब्याग धेरैको रोजाइमा परेको व्यापारी बताउँछन्।

युवापुस्तामा स्वदेशी उत्पादनप्रतिको मोह बढेको देख्न सकिन्छ । भिन्न डिजाइनकै कारण धेरेले नेपाली ब्याग रुचाउने गरेको व्यापारी बताउँछन् । ढाकाका कपडा प्रयोग गरिएको, एनिमल ट्याग तथा गणेश भगवानको फोटो भएका र सोल्डर ब्यागको माग बढी रहेको व्यापारीको भनाइ छ।

कुपन्डोलकी श्रेया महर्जन विद्यार्थी हुन् । उनी हेम्प र सिल्कबाट बनेको सोल्ड ब्याग बोक्छिन् । उनले यस्तो ब्याग बोक्न थालेको दुई वर्ष भयो । उनले कालो, निलो र खैरो मिक्स ब्याग बोक्छिन् । ‘कलेज जाँदा होस् वा अन्य काममा म त यही ब्याग बोक्छु,’ उनले भनिन्।

स्वदेशमा उत्पादन भएका हेम्प, अल्लो, ढाका, कटन, उलनबाट तयार पारिएका ब्यागको माग बढी रहेको व्यापारी बताउँछन् । यी ब्याग थरिथरि डिजाइन, साइज र रङमा पाइन्छन् । तर, मल्टी कलरसँगै कालो, खैरो र सेतो रङको ब्याग धेरैको रोजाइमा परेको व्यापारी बताउँछन्।

फेसनको दुनियाँमा स्वदेशी ब्याग निकै चलेको उनी बताउँछिन् । स्वदेशी ब्याग प्रयोग गर्ने आफू मात्र नभएर आफ्ना साथीहरू पनि रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘नेपालको पहिचान झल्किने, हेर्दा पनि अन्य फेन्सी ब्यागभन्दा युनिक र स्मार्ट देखिने भएर यो ब्याग बोक्छु।’

काठमाडौंमा ब्याग बोक्नु पनि फेसन भएको बताउँछिन्, सुविना शाही । कपडा र मेकअपजत्तिकै ब्यागले पनि भूमिका खेल्ने उनको भनाइ छ । कक्षा ११ मा पढ्दै गरेकी उनी ब्यागले निकै प्रभाव पार्ने बताउँछिन्।

‘कलेज जाने दिन आयो भनेपछि ब्यागकै चिन्ता थियो मलाइ,’ उनले भनिन् । कलेज लान पनि आपत्ति नहुने, फेसनेबल पनि देखिने ब्याग किनेको उनले बताइन्।

उनी भन्छिन्, ‘म हरेक समान फेसनेबल खोज्छु, ब्याग पनि फेसनमा चलेको नै किन, फेसनबिना मेरो स्टाइल नै पूरा हुँदैन जस्तो लाग्छ।’

ठाउँ तथा लुक्स अनुसार ब्यागको कम्बिनेसन मिलाएर बोक्ने उनी बताउँछिन्।

रवि दहालले ठमेलमा दहाल ह्यान्डिक्राफ्ट सञ्चालन गरेको १२ वर्षभन्दा बढी भइसक्यो । आफै उत्पादन गर्ने, बजारमा बिक्री बितरण समेत गर्ने दाहाल बजारमा हेम्पको ब्यागको माग राम्रो रहेको बताउँछन् । उनी भन्छन्, ‘स्वदेशी उत्पादनलाई माया गरेर किन्नेमा विदेशीभन्दा स्वदेशीको संख्या बढ्दो छ, जुन निकै राम्रो पक्ष हो ।’ बजारमा उत्पादन गर्ने उद्यमहरूको संख्या निकै बढेको उनी बताउँछन्।

साना उद्योग सञ्चालन गरी बजारमा व्यापार गर्न आउनेको संख्या दिनानुदिन बढेको उनी अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘बजार सानो छ, व्यापार सीमित छ, प्रतिस्पर्धा गर्दा गुणस्तरीयता खस्केको अनुभव भएको छ ।’ व्यापार गर्न सुरु गरेको समयमा स्वदेशी उत्पादनको मोह भएजस्तो अहिले नभएको उनी बताउँछन् । ‘अहिलेका युवापिढीमा स्वदेशी उत्पादनमा रुचि बढेको छ, कलेज पढ्ने भाइबहिनीले अधिक प्रयोग गरेको पाइन्छ।’  

एक पट्टिको साइड ब्याग बोक्छन्, बिजेस मालाकार ।  उनी पाटन कलेजमा स्नातक तहमा अध्यनरत छन् । सेतो रङको साइड ब्यागमा खैरो आउटलेटको ब्याग बोकेका बिजेसले हेप्प र कटन मिसिएको साइड ब्याग बोक्न थालेको ६ महिना भएको छ । ब्यागको फेसनमा साइड ब्यागलाई पनि स्टाइल ब्यागको रूपमा धेरैले प्रयोग गरेको पाइन्छ । ‘मलाई ब्यागको फेसनको बारेमा त्यति जानकारी भने छैन । तर, यो साइड ब्याग बलियो र राम्रो लागेर किनको हुँ,’ उनले भने । स्कुलदेखि कलेजसम्म, बजार घुम्नेदेखि हाइकिङ गर्ने अधिकांशले स्वदेशी ब्याग नै प्रयोग गरेको पाइएको छ।

कुपन्डोलस्थित दिकोन फेसनका विनोद शाक्यले २४ वर्षदेखि डिकोन ‘द हेम्प कम्पनी’ सञ्चालन गर्दै आएका छन् । उनी वसन्तपुर, ठमेल हँुदै कुपन्डोलमा व्यापार गरिरहेका छन्।

‘देशको पर्यटन आउने क्रम २० प्रतिशतबाट घटेर ६ प्रतिशतमा हुँदा स्वदेशी उत्पादनमा निकै गिरावट आएको छ,’ उनले भने । हेम्पबाट उत्पादन गरेको सामानबारे नेपालीलाई जानकारी नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिला हेम्पबाट बनेका समानबारे नेपालीभन्दा बिदेशीलाई जानकारी हुन्थ्यो। तर, समयसँगै रोजाईमा पनि परिवर्तन आएको छ । अचेल ग्राहकको रोजाइ हेम्प, उलन, कटनका ब्याग परेका छन्।’

कुपन्डोलस्थित पसल डिकोनबाट हेम्पबाट बनाइएका सोल्डर तथा साइड ब्याग, पर्सहरू बिक्री हुने गरेको उनले बताए । कलेजका विद्यार्थीहरूले पसलबाट ब्याग किन्ने गरेको उनी सुनाउँछन्।

भारतीय नाकाबन्दीपछि नेपाली युवा स्वदेशी उत्पादन किन्न लागेको उनले बताए । उनी भन्छन्, ‘नेपाली सामान किन्नेहरूमध्ये युवा नै हुन्, उनीहरू स्वदेशी उत्पादनलाई माया गर्न थालेको पाइएको छ ।’ सामान्यतया एउटा ब्यागको मूल्य ११ सयदेखि ३ हजार रूपैयाँसम्म पर्ने उनी बताउँछन्।

बझाङका गणेश अइडिले फरेस्टी हेम्प ब्याग उद्योग सञ्चालन गरेको दुई वर्षभन्दा बढी भइसक्यो । उनी विभिन्न थरिका ब्याग उत्पादन गर्छन् । ब्याग बनाउन आवश्यक कच्चा पदार्थहरू बझाङबाट मगाउने उनी बताउँछन् ।  उनी भन्छन्, ‘कच्चा पदार्थको समस्याले नेपाली बजारमा स्वदेशी उत्पादनको माग अनुसार ब्याग उत्पादन गर्न सकेका छैनौं, जुन निकै दुःखको कुरा हो।’

नेपाली गाउँघरमा नै पाइने कच्चा पदार्थको कलेक्सनमा धेरै समस्या रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले कच्चा पदार्थको लागि प्रयोग गर्नेमध्ये १७ प्रजातिका बिरुवाहरूमध्ये दुई प्रजातिका मात्र प्रयोग हुन्छ, जसलाई चिन्न नै समस्या छ।’

समय समयमा हुने उद्योग व्यवसायको प्रदर्शर्नीले स्वदेशी उत्पादनमा मद्दत गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘ठाउँठाउँमा गरिने प्रदर्शनीले हाम्रो उत्पादनको प्रचारप्रसारमा निकै मद्दत गरेको छ, जसले उद्योगीलाई प्रोत्साहन भएको छ ।’ फरेस्टी उद्योगमा ७० भन्दा बढी महिला कामदार कार्यरत छन् । यहाँ उत्पादित सामान विदेश निर्यात गर्ने गरेको गणेश सुनाउँछन् । नेपालमा स्वदेशी उत्पादनको महत्व निकै बढेको उनले बताए।

प्रकाशित: २८ श्रावण २०७५ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App