‘हजुरआमा आउनुहोस्, आज म हजुरलाई किसानको रहर कविता पढेर सुनाउँछु ।’ यसो भन्दै रामु हजुरआमाको नजिक गयो । अनि पिँढीको खटियामा बस्नुभएको हजुरआमालाई कविता सुनाउन थाल्यो-
‘सानो छ खेत, सानो छ बारी, सानै छ जहान,
नगरी काम पुग्दैन खान साँझ र बिहान ।।’
‘बिहानपख झुल्किन्छ घाम देउराली पाखामा,
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।।’
कक्षा चार पढ्ने रामु आफ्नो हजुरआमालाई असाध्यै खुसी थियो । उनी दिदीको पाँच कक्षाको नेपाली किताबको पाठ चारमा रहेको ‘किसानको रहर’ कविता वाचन गरेर सुनाउँदैछ।
‘हजुरआमा कस्तो छ कविता ?’ रामुले हजुरआमालाई सोध्यो । ‘आहा ! धेरै राम्रो छ बा ! मेरो नाति त यस्तो राम्रोसँग कविता सुनाउन सक्ने भईसकेछ, स्याबास् बाबु । भोलिदेखि मलाई भागवत् गीता पनि पढेर सुनाउनुपर्छ है ।’ हजुरआमाले भन्नुभयो । ‘आमा गीता त हिन्दीमा लेखेको हुन्छ मैले कसरी पढ्नु नि ?’ रामुले भन्यो । ‘हैन बा तेरा बुवाले मलाई नेपाली मै लेखेको गीता ल्याइदिएका छन् ।’ आमाले भन्नुभयो । ‘त्यसो भए मेरो होमवर्क सकिएपछि म पढेर सुनाउँछु है आमा ?’ रामुले भन्यो । ‘हुन्छ बा ।’ हजुरआमाले भन्नुभयो।
०००
‘आमा हामी पनि किसान त हो नि है ?’ रामुले सोध्छ । ‘हो रामु, हामी किसान हौँ, यी हेर त यीनै कुटो, कोदालो, हलो, जुवा मेरा साथी हुन् ।’ रामुले हजुरआमालाई सोधेको प्रश्नको जवाफ रामुका बुवा गोपालले जवाफ दिनुभयो।
‘ल सुन बर्खाको बेला आउने कीरा, फट्याङ्ग्रा, लामखुट्टे, झिङ्गा, उडुस, भ्यागुता, गड्यौँला जस्ता जीवहरूलाई बर्खाको पाहुना भनिन्छ ।’ यिनीहरू गर्मी मौसममा आउँछन् र जाडो मौसममा हराउने गर्छन् । बर्खा भनेको पानी पर्ने मौसम हो । पानी धेरै पर्ने भएकोले यो मौसममा धेरै किसिमका कीराहरू आउने गर्छन् । यी बर्खाका पाहुनाले हामीलाई फाइदा पनि गर्दछ र हानी पनि गर्दछ।’
रामु पछाडी फर्केर हे-यो, काँधमा हलो बोकेर भर्खरै आँगन उक्लिँदै गरेका बुवालाई देख्यो । ‘रामु, जाऊ त एक गिलास पानी र भुटेर राखेको मकै भटमास लिएर आऊ ।’ आफ्नो काँधको हलोलाई भुईँमा बिसाएर निधारको पसिना पुछ्दै बुवाले भन्नुभयो । रामु कुद्दै गएर पानी र खाजा ल्याउँछ र बुवालाई दियो।
‘उफ ! यो बर्खाको काम सधैं भ्याईनभ्याई हुन्छ,’ रामुले ल्याइदिएको अम्खोराको पानी घट्घट पिएपछि बुवाले भन्नुभयो, ‘बल्ल गैरी खेतमा रोपाइँ सकियो, यही बर्खाको त हामी किसानले वर्ष दिनसम्म प्रतीक्षा गरेका हुन्छौँ । के गर्नु, बर्खामा पनि धान रोपिएन भने एक वर्षसम्म के खानु!’
‘अनि गोपाल अब ठूलाफाँटको रोपाइ चाहिँ कहिले छ नि ? बुढेसकाल लागेपछि खेतको काम सघाउन पनि सकिनँ । रोपाहार (धान रोप्ने खेताला) कति जना छन् रे ?’ आमाले सोध्नुभयो । ‘अब तीनचारमा दिनमा पानी लगाउने पालो आउँछ आमा, त्यसपछि बल्ल रोपाइँ सुरु हुन्छ । अहिलेलाई रामुको आमासहित सात जना रोपार छन् ।’ बुवाले भन्नुभयो।
‘अनि होमवर्क सक्यौ त रामु ? दिदी खोई त ?’ बुवाले सोध्नुभयो । ‘दिदी त पानी लिन जानुभएको छ बुबा ।’ रामुले भन्यो।
‘बुवा आज हरिमाया मिसले बर्खाको पाहुनाको बारेमा लेखेर ल्याउनु भनेर होमवर्क दिनुभएको छ । मैले त बुझ्दै बुझिनँ । के हो बर्खाको पाहुना भनेको बुवा ?’ रामुले सोध्यो।
‘ल सुन बर्खाको बेला आउने कीरा, फट्याङ्ग्रा, लामखुट्टे, झिङ्गा, उडुस, भ्यागुता, गड्यौँला जस्ता जीवहरूलाई बर्खाको पाहुना भनिन्छ ।’ यिनीहरू गर्मी मौसममा आउँछन् र जाडो मौसममा हराउने गर्छन् । बर्खा भनेको पानी पर्ने मौसम हो । पानी धेरै पर्ने भएकोले यो मौसममा धेरै किसिमका कीराहरू आउने गर्छन् । यी बर्खाका पाहुनाले हामीलाई फाइदा पनि गर्दछ र हानी पनि गर्दछ।’
‘तिमीलाई थाहा छ रामु ? हाम्रा यी पाहुनाले त हामीसँग दोहोरी पनि खेल्छन् नि ।’ बुवाले भन्नुभयो । ‘हो र ? कीराले पनि गीत गाउँछ त बुवा ?’ रामुलाई अचम्म लाग्यो । ‘गाउँछ नि, सुन्छौँँ ?’ बुवाले सोध्नुभयो । ‘वाह ! सुन्छु बुवा ।’ रामुले उत्साहित हुँदै भन्यो।
‘ल सुन, यस्तो हुन्छ पाहुनासँगको हाम्रो दोहोरी । जब राति हुन्छ भ्यागुताले ट्वारट्वार गर्दै भन्छ, ‘अब पानी पर्छ, तिमीहरू कुटो, कोदालो ठीक पार, भोलि त रोपाइँ गर्नुपर्छ ।’ हामी आज त भ्यागुता कराएको छ, भोलि त पक्कै पानी पर्छ भनेर खुसी हुँदै सुत्छौँ।’
बुवाले भन्नुभयो ‘अनि फेरि लामखुट्टेले भन्छ, ‘आऊ साथीहरू आज यिनीहरूलाई टोक्नुपर्छ, रगत प्युनुपर्छ, रोग सार्नुपर्छ।’
हामी के भन्छौ ल सुन, ‘कसरी टोक्छस् लामखुट्टे ? हामीले झुल हालेका छौँ, झुलभित्र कसरी पस्न सक्छस् र टोक्छस्?’
‘आज मान्छेले खाने खानामा फोहोर बनाइदिनु पर्छ, झाडापखाला लगाइदिनुपर्छ,’ भन्दै झिँगा हाम्रो खानेकुरामा बस्न खोज्छ । त्यसपछि हामी झिँगालाई के भन्छौ – हामीले खानेकुरालाई छोपेर राखेका छौँ । फोहोर चलाइ सकेपछि राम्रोसँग हात धोएका छौँ । तिमीले झाडापखला कसरी लगाउन सक्छौ ? यसरी नै गीत गाउँदै, दोहोरी खेल्दै हामीले बर्खाका पाहुनालाई स्वागत गरेका हुन्छौँ । बुझेउ रामु ?’ बुवाले सोध्नुभयो।
‘कस्तो रमाइलो है आमा ?’ बुवाका कुरा सुनेर आमातिर हेर्दै रामुले भन्यो।
‘बुवा हामी यिनीहरूको भाषा कसरी बुझ्न सक्छौँ ?’ रामुले सोध्यो । ‘यिनीहरूको भाषा बुझ्न यिनीहरूलाई ध्यान दिएर सुन्नुपर्छ, साथी बनाउनुपर्छ ।’ बुवाले भन्नुभयो।
‘गड्यौँलाले के गर्छ बुवा ?’ रामुले सोध्यो । ‘गड्यौलाले माटोलाई मलिलो बनाउँछ । तिमी गड्याँैलालाई कुल्चिदैँ हिड्छौँ नि, त्यसो गर्नुहुन्न है रामु ? हरेक किसिमका किराको आफ्नै महत्व हुन्छ, बुझ्यौ रामु ?,’ बुवाले भन्नुभयो । ‘हवस्, राम्रोसँग बुझे बुवा । अब म गड्यौँलालाई कहिल्यै पनि कुल्चिन्नँ ।’ रामुले भन्यो ।
‘यसरी बर्खाका पाहुनालाई स्वागत गर्दै, गीत गाउँदै, पानीमा भिजेर धान रोप्दै, हिलोसँग खेल्दै हामी बर्खालाई रमाइलोसँग मनाउने गर्दछौँ ।’ बुवाले भन्नुभयो।
‘किसानको लागि बर्खे झरीको ठुलो महत्व हुन्छ । यो समयमा किसानले खेतभरि धान रोप्ने गर्दछन्, चारैतिर हरियाली हुन्छ । बर्खामा रोपेको धानलाई मङ्सिरमा घर भित्र्याइन्छ । धान त हाम्रो लागि लक्ष्मी माता हुन् । अन्नलाई खानयोग्य बनाउनको लागि किसानले धेरै मेहनत गरेका हुन्छन्, त्यसैले खानेकुरालाई कहिले खेर फाल्नुहुन्न ।’ बुवाले भन्नुभयो।
‘अरु बेला धान रोप्न मिल्दैन बुवा ?,’ रामुले सोध्यो । ‘तिमी अहिले बाक्लो लुगा लगाएर बस्न सक्छौँ ?’, बुवाले सोध्नुभयो । ‘यस्तो गर्मीमा कसरी बाक्लो लुगा लगाउन मिल्छ ? गर्मी भइहाल्छ नि बुवा ।’ रामुले भन्यो । ‘हो, हरेक कामको लागि छुट्टै मौसम बनेको हुन्छ । त्यो कामलाई त्यही मौसममा गर्दा मात्र राम्रो हुन्छ । जसरी हामी गर्मीमा जाडोको कपडा लगाउन सक्दैनौँ, त्यसैगरी बर्खाको बेलाबाहेक अरु बेला धान रोप्न सक्दैनौँ । अरु मौसममा पानीको अभाव हुन्छ, धान राम्रोसँग फल्दैन । बुझ्यौ रामु ?’ बुवाले सोध्नुभयो।
‘बुझे बुवा । अब म बर्खाको पाहुनाको विषयमा राम्रोसँग लेख्न सक्छु । बुवा भोलि त शनिवार हो नि । म पनि खेतमा जान्छु, म पनि धान रोप्छु । हजुरलाई काम सघाउँछु । हुन्छ बुवा ?’ रामुले भन्यो । ‘हुन्छ रामु । ल है अब म खेतमा पानी लगाउन जान्छु । होमवर्क सकिएपछि बाख्रालाई घाँस हाल्देऊ है रामु । अनि दिदी आएपछि होमवर्क सकेर आमालाई खाना बनाउन सघाउन भन्नु है ।’ यति भन्दै कोदालो बोकेर रामुका बुवा खेततिर लाग्नु भयो । ‘हवस् बुवा ।’ भन्दै रामु पनि होमवर्क गर्न थाल्यो।
प्रकाशित: २६ श्रावण २०७५ ०६:३९ शनिबार





