२० जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्य

खेली गीतका नायक

‘खेली गीत’ लोकगायनको एउटा प्रकार हो । विशेषतः बाहुन र क्षेत्री समुदायमा रमाइलो पारामा मायाप्रेम, धार्मिक र साँस्कृतिक विषय गाइन्छ । बाह्रैमास गाउन मिल्ने खेली गीतलाई कतैकतै ख्याली पनि भनिन्छ ।  

खेलीमा सवाल जवाफ गरिन्छ जसमा भजन, प्रेमगीत, चुड्का र लोकजीवन गुञ्जिन्छ । धर्म कमाउन, संस्कार धान्न र मनोरञ्जन गर्न गाउँघरमा सदियौंदेखि खेली गाउने चलन छ बसेको हो । गामबेसीमा खेली गायकहरुको सम्मान छ तर, राष्ट्रियस्तरमा कतै चर्चा हुँदैन । त्यस्तै एक जना प्रतिभा हुन्– चन्द्रदत्त पाण्डे ।जीवनभर खेली गाए उनले । वालिङ नगरपालिका–१४ बायाँखोला, स्याङ्जामा जन्मे-हुर्केका पाण्डेबासँग लोकगीतका अनगिन्ति लय, तुक्का र गीति गेडा छन् । यसो भनौं खेलीका ढुकुटी नै हुन् ८६ वर्षे पाण्डेबा।  

किशोर वयमा टेकेदेखि नै गाउँघर, डाँडापाखा र मेलापर्वमा गाउँदै हिँड्थे उनी । खैंजडी र मुजुराको तालमा दोहोरी गाउँथे । दुई पुरुष र दुई महिला भएर सवाल जवाफ गर्थे । हेर्नेहरु÷सुन्नेहरु हौसिएर थपडी बजाउँथे । जन्मथलोमा मात्र होइन, पोखरासम्म पुगेर गाए उनले ।उनका दौंतरी थिए दण्डपाणी तिवारी जो अहिले छैनन् । तिवारी र उनी एकातिर, अर्कातिर मगर र बाहुनी युवती हुन्थे । घन्टौंसम्म गाउँथे उनीहरु । कहिलेकाहिँ त गाउँदा गाउँदै छयाङै उज्यालो हुन्थ्यो ।जति गायो उति रस बस्दै जान्थ्यो । विशेषतः तिज, कृष्णाष्टमी, जनैपूर्णिमा, शिवरात्री, माघे संक्रान्ति र वैशाखे संक्रान्तिमा खेली गाइन्थ्यो । तिनताका उनीहरुले राम्रै ख्याती कमाएका थिए ।  

पाण्डेका अनुसार जुनसुकै भाकामा मायाप्रेम, धर्म, संस्कृति र जीवनशैलीका गीत गाइन्छ । उनी रामायण, महाभारत, बालन, कृष्ण चरित्र आदिका कथा मिठो भाकामा गाउन सिपालु छन् । आफूले मायाप्रेमका भन्दा बढी धर्म, संस्कृति र जीवनशैलीका गीत गाएको सुनाउँछन् उनी । उनी २४ वर्षको हुँदा गाउँमा वालन गायन समूहमा सहभागी भएका थिए । त्यतिबेला पनि रातभरी बालन गाइन्थ्यो, भजनकिर्तन हुन्थ्यो । गाउँ गाउँजस्तै थियो, त्यहाँ आत्मियता, संगीत र अग्र्यानिक जीवनको त्रिबेणी थियो । विविध रंगहरुको इन्द्रधनुष देखिन्थ्यो । तर अचेल गाउँ सहर बन्दैछ।    

पैसा कमाउने लोभले होइन, रमाइलो गर्न र धर्म कमाउन गाए उनले । आशा नगरे पनि कहिलेकाहिँ सुन्नेहरु पारिश्रमिक दिन्थे । एकपटक श्रीमतीका आँखाको उपचार गराउन काठमाडौं आउनु पर्ने भयो । तर, उनीसँग खर्च थिएन ।  उनी स्याङ्जाबाट गीत गाउँदै, चन्दा बटुल्दै काठमाडौं आइपुगेछन् । असारको महिना थियो, पशुपतिनाथ र गुहेश्वरीतिर गाउँदै हिँडेका बेला काठमाडौंका एक जना नेवारले तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य सूर्यप्रसाद श्रेष्ठलाई भेट्न सुझाएछन् । जब श्रेष्ठकोमा पुगेर पाण्डेबाले गाउँदै आफ्नो दुखेसो सुनाए तब श्रेष्ठ प्रभावित भए । उनले तुरुन्तै एउटा सिफारिसपत्र लेखिदिए।

जिन्दगीभर खेली गाएर रनवन घन्काएका स्याङ्जाली गायक चन्द्रदत्त पाण्डे अचेल काठमाडौं बस्छन् । बुढेसकालमा फेरी दोहोरी गाउने धोको पलाएको छ ।  

त्यो पत्र बोकेर श्रीमतीसँग बीर अस्पताल पुगे । त्यहाँ मोतिबिन्दुको सफल उपचार भयो । त्यही सिफारिसकै कारण अस्पतालमा पैसा तिर्नु परेन । अहिले पनि श्रेष्ठको गुन सम्झिरहन्छन् पाण्डेबा ।उनी लोक गायक हुन्, लोकमा प्रख्यात बने । तर, उनको स्वरमा रेडियोमा कुनै गीत रेकर्ड भएका छैनन् । जीवनमा त्यो मेसो नै मिलेन । बरु लोकबाजा संग्रहालयले उनलाई ‘संगीत दीर्घ सम्मान–२०७४’ अपर्ण गरेको छ । ‘पाण्डेबा लोकगीतका भण्डारै हुन्’, संग्रहालयका प्रमुख रामप्रसाद कँडेल भन्छन्, ‘यस्ता लोकस्रष्टाको भिडियो प्रोफाइल बनाउने काम पनि हामी गरिरहेका छौं ।’जीवनमा एउटा धोको बाँकी छ । ‘एकचोटी दोहोरी गाउने रहर छ’, उनले भने, ‘कहिले मौका मिल्ला खोई, यो सहरमा गाउने दाँवली छैनन्।’

 उनका पालामा सानै उमेरमा विहे गर्ने चलन थियो । उनको चाहिँ बल्ल २७ वर्षको उमेरमा बिहेको साइत जु¥यो आफू भन्दा ८ वर्ष कान्छी गोमतीसँग । उनका दुई छोरा नन्दलाल र भेषराज काठमाडौंमा बस्छन् । बुढेसकालमा जिन्दगी गाह्रो हुँदै गएकाले विगत ५ वर्ष यता पाण्डेबा दम्पत्ति पनि काठमाडौंको बालुवाटार बस्दै आएको छ ।
जता बस्यो उतै रमाइलो हुन्छ । ‘अब गाउँ फर्किन्नौ होला’,  पाण्डेबाले सुनाए, ‘यता पनि इष्टमित्र धेरै भए, यताउता गर्दै दिन बित्छ ।’मन कहाँ रमाउँछ र शहरमा ? वनपाखामा कोइलीले गाएको, झरनाको चिसो पानी खाएको, खेतीपाती गरेको झल्को आइरहन्छ हरपल ।

 

प्रकाशित: १२ श्रावण २०७५ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App