७ पुस २०८१ आइतबार
image/svg+xml
अन्य

शक्ति–राजनीतिको होड

सन् २०१८ को नयाँ वर्षको शुभकामना बाँड्दै उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले भनेका थिए, ‘अमेरिकाको सम्पूर्ण भौगोलिक क्षेत्र उत्तर–कोरियाको आणविक अस्त्रको सहज पहुँचभित्र छ र सम्पूर्ण आणविक अस्त्रको स्विच मेरो टेबुलमा छ ।’ यसले एकखाले त्रासदिपूर्ण समयको संकेत गरेको थियो ।

तर, पछिल्लो समय उत्तर र दक्षिण कोरियाबीचको दूरी घट्ने क्रममा रहेको, अनि उत्तर–कोरिया स्वयंले देखाएको आफ्नो नरम रबैयाले तत्काल कुनै युद्धको खतरा नरहेको वा तत्कालका लागि त्यो जोखिम टरेको सुरक्षा जानकारको तर्क छ।

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प ‘ह्वाइट हाउस’ प्रवेश गरेपछि विश्व राजनीतिमा धेरैखाले सामरिक–राजनीतिक तरंग उठे र त्यस्ता तरंगले विश्वलाई बाँधेर राखेर ‘बन्ड’लाई कमजोर बनाउन सहायक भूमिका पनि खेले । सँगै विश्वका विभिन्न मुलुकसित रहेका आणविक अस्त्रको दबदबाले समग्र विश्वलाई नै लपेटेको छ । ‘इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी’को पछिल्लो तथ्यांकअनुसार विश्वमा २३ हजारभन्दा बढी हाइड्रोजन बम तयारी अवस्थामा छन् ।यसैबीच, उत्तर–कोरिया एक्लैले २००६ अक्टोबर ९ देखि २०१७ सेप्टेम्बर ३ सम्म ६ पटक आणविक परीक्षण गरिसकेको छ ।

अमेरिका र रुससँग पनि विश्वका कुनै पनि कुनामा मार हान्न सक्ने पर्याप्त मात्रामा हजारौँ क्षेप्यास्त्र मौज्दात छन् । सायद यही कहालीलाग्दो अवस्थाबाट अत्तालिएर होला, तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा स्वयंले पनि २००९ मा ‘मलाई आणविक अस्त्रविनाको विश्वको तस्बिर हेर्ने मन छ’ भनेका थिए । हुन त, पछिल्लो दशक इरानलगायत मुलुक पनि यस चासोको घेरामा तानिएका छन् । संयुक्त राष्ट्रसंघको ‘सुरक्षा परिषद्’मा यही सवालमा धेरै बहस भएका छन् । नतिजा भने शून्यतिर गइरहेको देखिन्छ ।‘एक्सप्लेनिङ हिटलर’ लेखेर चर्चित बनेका रोन रोजेनबमले आफ्नो पुस्तक ‘हाउ दी इन्ड बिगिन्स : दी रोड टु अ न्युक्लिअर वल्र्ड वार थ्री’ मा सिंगो विश्वको राजनीतिक सामरिक आयामलाई विश्लेषण गरेका छन् ।

उनले औँल्याएको खतरा कुनै नेताको लहडमा विश्वमा रहेका आणविक अस्त्रको दुरुपयोग हुने त होइन भन्ने हो । किनभने, विश्व आज पनि शक्ति प्रदर्शनको जर्जर होडबाजीबाट पछि हटिसकेको छैन । यही सन्दर्भमा लेखकको तर्क छ– हामी आफैँ आफ्नो अन्त्यको सुरुआत आफैँ गर्दै छौँ ।लेखकले आणविक युद्धको ‘रातो बत्ती’ दक्षिण एसियामा पनि बलिसकेको तथ्य र तथ्यांक किताबमा दिएका छन् । अल–कायदा फस्टाउँदै गरेको अनि भारत र पाकिस्तानको विवादित सीमारेखा कस्मिरको तनावले थप आयतन आकार ग्रहण गर्दै गरेको पृष्ठभूमिमा क्षेत्रीय राजनीति समेत थप पेचिलो बनेको छ ।

भारत–पाकिस्तानबीचको आणविक तनाव तथा तालिवान, अल–कायदास“गको भनिएको पाकिस्तानको सम्बन्धले पनि यसलाई मलजल गरेको तर्क लेखकको छ, (पृ.१६) । सन् २००५ मा भारतीय संसद् भवनमा भएको भयानक बम आक्रमण अनि २००८ को मुम्बई आक्रमणलाई लेखकले क्षेत्रीय रूपमा आतंकवाद फस्टाउँदै गरेको संकेतको रूपमा अथ्र्याएका छन् ।आणविक हतियारका अलावा नेताको मानसिकता अनि शक्ति प्रदर्शनको प्रतिस्पर्धालाई ‘तेस्रो विश्वयुद्ध’ निम्त्याउन सक्ने बलियो कारणका रूपमा रोजेनबमले व्याख्या गरेका छन् ।

भारत–पाकबीचको थप चिसिँदै गएको राजनीतिक सम्बन्धको पिँधसम्म पुगेका छन्, लेखक । त्यसैगरी, सन् २००७ को सिरियामाथि इजरायलले गरेको भयावह आक्रमणले ‘तेस्रो विश्वयुद्ध’को निम्तो पत्र छापेको तर्कमा उनी बलियो लाग्छन् । ‘तेस्रो विश्वयुद्ध’ यही समयमा थालनी हुन्छ भन्नेमा त उनी स्वयं पनि जानकार छैनन् । भलै  उनको विश्लेषण त्यति आधारहीन पनि होइन । उनले गरेका विश्लेषणले विश्व राजनीतिमा नयाँ बहसको बीजारोपण पनि गरेको छ । किताबको अर्को बलियो पक्ष के हो भने, ‘शक्तिशाली’ राष्ट्रले शक्तिहीन भनिएका राष्ट्रमाथि आजसम्म दमन गर्दै आएका छन् र त्यसलाई टार्न संयुक्त राष्ट्रसंघलगायत कुनै पनि विश्व संस्था कुनै पनि कोणबाट कामयाब भएका छैनन्।

अमेरिकी प्रशासनप्रति पनि उनी खरो टिप्पणी गर्छन् । उनको तर्कले भन्छ– संसारलाई आजको आणविक दलदल र राजनीतिक संकटमा ल्याइपुर्याउन तत्कालीन बुस प्रशासन सबैभन्दा बढी जिम्मेवार छ । बुसले अमेरिकी राष्ट्रपतिको चुनाव नजितेको भए सम्भवतः आजको विश्वले यति धेरै आणविक जोखिमको भारी खेप्नुपर्ने अवस्था सिर्जना हुँदैनथ्यो। भारत, चीनलगायत विश्वका उदाउ“दा आर्थिक–सामरिक शक्ति राष्ट्रको भू–राजनीतिक यथार्थका साथै सुरक्षा चुनौतीबारे पनि उनले गहन टिप्पणी गरेका छन्।

अमेरिकाको ‘आतंककारी’ आक्रमण र यसका आयामबारे पनि लेखक तर्क गर्छन् । यसबाहेक अन्तर्राष्ट्रिय राजनीतिक द्वन्द्व र यसले थप्दै गरेको जोखिम र जटिलताबारे पनि उनले विश्लेषण गरेका छन् । तुलनात्मक रूपमा मध्यपूर्वले अधिक आणविक हमलाको जोखिम अधिक वहन गरेको छ । यसै सन्दर्भमा लेखक भन्छन्, ‘नेटो सेना’को ‘युद्ध रणनीति’ नै विश्वलाई विध्वंश धुलो चटाउने कारकमध्ये एक हो । यसले जोखिमको न्यूनीकरणभन्दा पनि बढी बढाउने कार्यका लागि योगदान गरेको छ । यसतर्फ, आमविश्व समुदाय सचेत बन्न आवश्यक छ।

समकालीन विश्वको सबैभन्दा बढी टाउको दुखाइको विषय नै आणविक हातहतियारको सम्भावित दुरुपयोग हो । किनभने, त्यसो भएमा त्यसले निम्त्याउन सक्ने ‘तेस्रो विश्व युद्ध’को जोखिम मूल्यांकन नगर्न नसकिने खालको हुनेछ ।
शीतयुद्धको अन्त्यदेखि आजसम्मका विध्वंशकारी युद्धका घटनाको चिरफार गर्दै प्रविधिका कारण विकसित युरेनियम प्रशोधनको तीव्र गतिले यो खतराको आयतनलाई थप तन्काइदिएको तर्क उनको हो । साथै, २१औँ शताब्दीमा ‘साइबर युद्ध’को पनि उस्तै खतरा छ।

खासगरी, विश्वलाई आणविक खतराबाट निकास दिनका लागि अबेर भइसकेको उनको तर्क मजबुत छ । औपचारिक रूपले शीतयुद्ध सकिएपछि आजसम्मका आणविक आक्रमण र आणविक अस्त्रस“ग साइनो रहेका उत्तर–कोरिया, पाकिस्तान, चीन, अमेरिका, रुस, भारतजस्ता मुलुकको सुरक्षा संवेदनशीलताबारे पनि लेखकले चासो व्यक्त गरेका छन्, जुन सबै कोणबाट जायज नै मान्न सकिन्छ ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App