७ वैशाख २०७८ मंगलबार
अन्य

घर पनि रोजगार पनि!

कोही आँगनमा विद्युतीय करौंती (कटर)मा काठ चिर्न व्यस्त थिए त कोही छानोमाथि जस्ताका पाता ठोकिरहेका थिए। अर्थात् उनीहरू नयाँ घर निर्माणमा व्यस्त थिए। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, देउरालीस्थित दलित वस्तीमा केही दिनअघि दिउँसो देखिएको दृश्य हो यो।

चर्काे घाम नभनिकन त्यसरी काम गरिरहेका उनीहरू ज्यालामा कसैको घर बनाउन खटिएका कामदार वा मिस्त्री थिएनन्। अर्थात् उनीहरू भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराएको अनुदान रकमबाट आफ्नै घर बनाउँदै थिए।

स्थानीय ६० वर्षीय नारायण विश्वकर्माका पाँच बाउछोरा यसरी घर निर्माणमा जुटिरहेका थिए। एकै टोलमा रहेका उनका भाइ र छुट्टिएका छोराहरूको गरेर अहिले त्यहाँ सरकारी अनुदानबाट भूकम्पप्रतिरोधी छवटा घर निर्माण भइरहेका छन्। जस्ताको छानो र ढुंगाको गारो लगाइएका तीन घर पूरा भइसकेका छन् भने तीन घर पूरा हुने चरणमा छन्।

घर निर्माण गर्दा निर्माण सामग्री खरिदसहित सिकर्मी र डकर्मीका लागि पनि टन्नै खर्च छुट्याउनुपर्ने हुन्छ। तर उनीहरूले भने निर्माण सामग्री खरिदमा लाग्नेबाहेक अरू एक पैसा पनि खर्च छुट्याइरहनु पर्दैन। किनभने नारायण विश्वकर्माका सन्तानै सीपदारी भएकाले घर निर्माण गर्दा अन्य कामदार वा मिस्त्री लगाइरहनु पर्दैन।

आपसमा मिलेर घर बनाइएकाले कामदार वा मिस्त्रीलाई दिनुपर्ने रकम अन्त नजाने नारायणका माइला छोरा गोकुल विश्वकर्माले बताए। ‘हामी आफै मिस्त्री हौं, अरूका घर त हामी बनाउँछौं,’ हास्दै उनले भने, ‘घर पनि आफैलाई रोजगार पनि आफैलाई।’

उनका अनुसार  सिमेन्ट, गिटी, बालुवा, रड, जस्तापाता, काठ किन्नभन्दा पनि हिसाब गर्दा घर बनाउँदा मिस्त्री खर्च ज्यादा जान्छ। त्यसैले सिकर्मी, डकर्मीका लागि छुट्याउनुपर्ने ठूलो रकम आफ्नै हातमा रहेको उनले सुनाए। अर्थात् अहिले नारायणसहित उनका भाइ र छोराहरू गरेर सात जनाले घरमै रोजगारी पाइरहेका छन्।

‘यो पनि रोजगारी त हो नि,’ नारायणका साईंला छोरा विवेक विश्वकर्माले भने, ‘यदि अरू मिस्त्री लगाउनु परेको भए उनीहरूले दैनिक ज्याला लगिहाल्थे, जुन  हामी आफै काम गरेर जोगाइरहेका छौं।’

यति मात्र हैन, गाउँका अरूले पनि आफ्ना घर बनाउन उनीहरूलाई नै बोलाउने गरेका छन्। यसकारण अहिले उनीहरूलाई भ्याउन मात्र मुस्किल छ, घरआँगनमै रोजगारी नै रोजगारी छ। यसअघि फर्निचर कामका लागि गाउँ बाहिर बस्ने गरेका विवेक घरआँगनमै भ्याइनभ्याइ रोजगारी पाउने भएपछि अहिले घरमै बसेका छन्।   

‘अरूका घर पनि हामीले नै बनाइदिनुपर्ने भएकाले यहाँ आफ्नो घर बनाउन चैं ढिला भइरहेको छ,’ नजिकै रहेको काठको थुप्रो देखाउँदै गोकुलले भने, ‘उ हेर्नुस् न, भ्याउँदिनँ भन्दा पनि घरमै काठ ल्याएर थुपारिदिएका छन्।’

घरमै फर्निचर सञ्चालन गरेर बसेका गोकुललाई दसैंयता गाउँमा विद्युत आएपछि अझ सहज भएको छ। हातैले तान्नुपर्ने करौंती, रन्दा लगायतका मेसिन अहिले विद्युतबाट सञ्चालन गरेका छन्।

गोकुलले फर्निचर सम्बन्धी सबै सीप जानेका छन् भने उनीसँग घर बनाउने ‘आइडिया’ पनि राम्रै छ। त्यसैकारण भूकम्पप्रतिरोधी घर निर्माणका लागि सरकारले खटाएका प्राविधिकले पनि उक्त गाउँका निर्माणाधीन घरहरूका रेखदेख गर्ने जिम्मेवारी उनैलाई दिएका छन्।

२०७२ वैशाख १२ गते गएको महाभूकम्पले घर क्षतिग्रस्त भएका पीडित परिवारलाई सरकारले नीजि आवास निर्माणका लागि किस्ता किस्तामा अनुदान रकम उपलब्ध गराइरहेको छ।

आफूहरूले पहिलो र दोस्रो गरी अहिलेसम्म दुई लाख रूपैयाँ लिइसकेको र अब अन्तिम किस्ताबापत एक लाख लिन बाँकी रहेको नारायणकै ठाईंला छोरा महनहरी विश्वकर्माले बताए। उनले पनि आपसमा मिलेर घर बनाउँदा मिस्त्री खर्चबापत जाने ठूलो रकम आफ्नै हातमा रहेको सुनाए।

प्रकाशित: २२ वैशाख २०७५ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?