वासिङ्टन राज्यको सुदूर उत्तरपश्चिममा एउटा सेमी ट्रेलर ट्रक दुर्घटनामा परेपछि २५ करोड मौरी भागेका छन्। यो घटनापछि प्रहरीले स्थानीयलाई मौरीको झुण्डबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ।
ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले २५ करोड मौरी एकसाथ भागेका छन्। भाग्ने क्रममा बाधा पर्दा मौरी आक्रामक हुन सक्छन्, एकै ठाउँमा झुम्मिन सक्छन् र टोक्न सक्छन्। त्यसैले यस क्षेत्रमा सावधानी अपनाउनुहोस्।’
क्यानाडाको सीमानजिक र भ्यानकुभरबाट ३० माइल दूरीमा रहेको यो क्षेत्रमा मौरी विशेषज्ञहरूले सफाइको काम गरिरहँदा सडकहरू बन्द गरिएका छन्।
पश्चिमी अमेरिकामा केही मौरीपालकहरूले मह उत्पादनमा ध्यान दिन्छन् भने केहीले बालीमा परागणका लागि किसानहरूलाई आफ्ना घार भाडामा दिएर राम्रो आम्दानी गर्छन्।
प्रकाशित: १७ जेष्ठ २०८२ १४:०४ शनिबार