२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कर्पोरेट

महाराजगञ्जमा दिपलको नयाँ शोरुम सञ्चालनमा, उद्घाटनकै दिन २० वटा इभी ग्राहकलाई हस्तान्तरण

नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन (इभी) बजारलाई लक्षित गर्दै दिपल ब्रान्डले काठमाडौंको महाराजगञ्जमा आफ्नो नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले नयाँ सोरुम उद्घाटनसँगै राजधानीमा आफ्नो बजार उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ।

कम्पनीले एपोलो मोटर्सलाई नयाँ आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै नेपाली ग्राहकसम्म विश्वस्तरीय तथा आधुनिक प्रविधियुक्त इभी सहज रूपमा पुर्‍याउने लक्ष्यलाई थप विस्तार गरेको बताएको छ।

नयाँ सोरुमको उद्घाटन कार्यक्रममा दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली, महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाको संयुक्त सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यक्रममा अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगको समेत प्रदर्शन गरिएको थियो। यसले उपस्थित अतिथिलाई कृत्रिम बुद्धिमत्ता र स्वचालन क्षेत्रमा चांगानको आधुनिक दृष्टिकोण प्रत्यक्ष अनुभव गराएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु अग्रवालले नेपाली इभी बजार अहिले महत्वपूर्ण परिवर्तनको चरणमा पुगेको उल्लेख गर्दै दिपल ब्रान्डले भविष्यमा नेपाली बजारमा दीर्घकालीन पहिचान बनाउने विश्वास व्यक्त गरे। साथै, देशका विभिन्न शहरमा सोरुम तथा सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको जानकारी पनि उनले दिए।

एपोलो मोटर्सका निर्देशक सुयश ज्ञवालीले काठमाडौंमा दिपलको आधिकारिक डिलर बन्न पाउँदा खुसी लागेको बताउँदै यो सोरुम केवल बिक्री केन्द्र नभई ग्राहकले आधुनिक इभी प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्ने गन्तव्य भएको बताए।

उद्घाटन कार्यक्रमकै अवसरमा २० जना ग्राहकलाई दिपलका विद्युतीय सवारी हस्तान्तरण गरिएको थियो। ब्रान्ड एम्बेसेडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल तथा विनोदराज ज्ञवालीले संयुक्त रूपमा ग्राहकलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए। निर्देशक ज्ञवालीले शोरुम उद्घाटन अघि नै दीपलका २४ गाडी बिक्री गरेको जानकारी दिएका थिए। 

प्रकाशित: १२ असार २०८३ १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App