२० चैत्र २०८१ बुधबार
image/svg+xml १३:२९ अपराह्न
अन्य

रेकर्ड गतिमा पग्लँदै विश्वका हिमनदी: अध्ययन

<br>

युरोपको आल्पस पर्वतीय शृंखलामा खुम्चिँदै गरेको एक हिमनदी। तस्बिर स्रोत: गेटी इमेजेज

जलवायु परिवर्तनका कारण विश्वका हिमनदीहरू पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। हालसम्मकै बृहत् मानिएका उक्त वैज्ञानिक अध्ययनका अनुसार सन् २००३ देखि २०२३ सम्म हरेक वर्ष विश्वका हिमनदीहरूले सरदरमा २७३ अर्ब टन बरफ गुमाएका छन्। यसरी २१औं शताब्दीको सुरुआतदेखि यी हिमनदीहरूले कुल ६५ सय अर्ब टन बरफ गुमाइसकेको पाइएको छ।

विश्वका ३५ अनुसन्धान टोलीहरूले गरेको उक्त अध्ययनको नतिजा विश्वप्रसिद्ध नेचर जर्नलमा हालै प्रकाशित भएको हो। विश्वभरमा दुई सय ३० भन्दा बढी क्षेत्रीय अनुमानहरू संयोजन गरेर वैज्ञानिकले हिमनदीहरू कति छिटो पग्लिरहेका छन् र भविष्यमा तिनीहरू कसरी विकसित हुनेछन् भन्ने विषयमा अध्ययन गरेका थिए। हिमनदीहरू जलवायु परिवर्तनका उत्कृष्ट सूचक हुन्।

हिमाली हिमनदीहरू विश्वभरका लाखौं मानिसको ताजा पानीका स्रोत हुन्। यी हिमनदी पूर्ण रूपमा पग्लिँदा विश्वव्यापी रूपमा समुद्री सतह ३२ सेन्टिमिटर (१३ इन्च) ले बढ्न सक्ने वैज्ञानिक मत छ। समुद्री सतह एक सेन्टिमिटरले बढ्दा विश्वका २० लाख मानिस बाढी र डुबानको जोखिममा पर्ने आकलन छ।

सन् १९०० यता समुद्री सतह २० सेन्टिमिटरले बढिसकेको छ। यो कुल बढोत्तरीमध्ये सन् १९९० पछिको अवधिले आधा हिस्सा लिएको छ। आगामी दशकमा हिमनदी झन् तीव्र गतिमा बढ्ने देखिएको छ। अध्ययनअनुसार सन् २०००÷२०११ को अवधिको तुलनामा पछिल्लो एक दशक वा सोभन्दा केही बढी समयमा हिमनदीको पग्लने तीव्रता तीन गुणाले बढेको छ।

हिउँ पग्लिनु र जम्नुको अनुपात समान रहँदा सामान्य अवस्थामा हिमनदीहरू लगभग उस्तै आकारमा रहन्छन्। तर पछिल्ला २० वर्षमा मानव गतिविधि र मुख्यतया जीवाश्म इन्धन उपयोगका कारण हिमनदीहरू खुम्चिने क्रम तीव्र भएको मानिन्छ। केही क्षेत्रमा हिमनदी पग्लने क्रम झन् बढी छ।

उदाहरणका लागि २० वर्षभन्दा कम समयमा मध्य युरोपले आफ्ना हिमनदीबाट ३९ प्रतिशतभन्दा बढी बरफ गुमाएको छ। वैज्ञानिकहरूले हिमनदीहरू कसरी परिवर्तन हुँदैछन् भनेर अनुमान गर्न विभिन्न विधि अवलम्बन गर्ने गर्छन्। स्थलगत मापनदेखि उपग्रहबाट प्राप्त तथ्यांकहरू यसमा समावेश हुन्छन्।

विश्वमा दुई लाखभन्दा बढी हिमनदी भएकाले स्थलगत मापनले धेरैथोरै हिस्सा लिने गर्छ। अध्ययनले जलवायु परिवर्तनलाई सम्बोधन गर्न विश्वव्यापी रूपमा ठोस जलवायु कार्यको तत्काल आवश्यकतामा जोड दिएको छ। हिमनदी पग्लने दरलाई कम गर्न र यसको प्रभावहरूलाई कम गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनु अहिलेको प्रमुख आवश्यकता हो।

 ‘विश्वव्यापी जलवायु लक्ष्यहरू पूरा भए शताब्दी अन्तसम्म विश्वका हिमनदीले एक चौथाइ बरफ गुमाउनेछन् र तापक्रम अनियन्त्रित रूपमा बढ्दै गए लगभग ५० प्रतिशत बरफ गुम्नेछ,’ अध्ययनले भनेको छ। (बिबिसी)

प्रकाशित: १० फाल्गुन २०८१ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App