गायिका एलिना चौहानले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा दिएको निवेदनलाई ठूलो रूपमा नलिनका लागि आग्रह गरेकी छन्। शनिबार (आज) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडिओ पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन्।
'अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन, तर यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,' उनले भनेकी छन्।
उनले श्रीमान्लाई गाली नगर्नसमेत भनेकी छन्। 'जति गाली गर्न मन छ, मलाई गर्नुहोला। तर, उहाँलाई नगर्नुहोला। सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,' उनले भनेकी छन्, 'कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन। सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त।'
यो पनि पढ्नुहोस्
अंश हकदाबी छाडेर एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दाउनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन्। बिहे हतारमा गरेको स्वीकार्दै उनले भनेकी छन्, 'बिहे गर्नु हतारको डिसिजन भयो। प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो। तर, सहन्छु भनेरै बिहे गरेँ। तर, समय बित्दै जाँदा सहन सकिनँ। उहाँले सोचेजस्तो पनि भएन।'
उनले आफूलाई विभिन्न नम्बरहरूबाट तारान्तार फोन आइरहेकोसमेत बताएकी छन्। त्यसले आफूलाई थप टर्चर दिइरहेको भन्दै उनले फोन नगर्न भनेकी छन्।
चौहानले सम्बन्धविच्छेदका लागि शुक्रबार काठमाडौं जिल्ला अदालत एक निवेदन दिएकी छन्।
प्रकाशित: १९ माघ २०८१ १३:३९ शनिबार