१० पुस २०८१ बुधबार
image/svg+xml
अन्य

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

फाइल तस्विर

पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए। माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनको भनाई रहेको छ।  

लामिछानेका अनुसार आज (मंगलबार) दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जानेछ। उनले अहिले वर्षा भने नभइसकेको जानकारी दिए। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनको भनाई छ।  

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ।  

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ।  

चिसो बढ्न सुरु  

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ। गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकोमा सोमबारदेखि पुनः चिसो बढ्न थालेको मौसमविद् लामिछाने बताउँछन्।  

विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ। यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो।

यस्तै सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो। अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस 

प्रकाशित: ९ पुस २०८१ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App