११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा गर्दै विद्यार्थी

तस्बिर : अनिल भण्डारी/नागरिक

रामेछापको खाडादेवी गाउँपालिका पुछिघाटका सुमन माझी सिन्धुलीको सुनकोशी गाउँपालिका ६ खाल्टेमा रहेको दीर्घप्रदीप माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । उनलाई विद्यालय आवातजावत गर्न सुनकोशी नदी वारपार गर्नुपर्छ ।  

पुछिघाट र चैनपुर जोड्ने गरि सुनकोशी नदीमाथि रहेको झोलुङ्गे पुल गत असोजको बाढीले क्षतिग्रस्त बनाएपछि उनी जोखिम मोलेरै आवातजावत गर्न बाध्य छन् । बाढीले बगाएर बाँकी रहेको पुलको लठ्ठामा बाँधेर राखिएको पाइपमा झुण्डिएर उनी नदी पार गर्दै थिए ।

तस्बिर : अनिल भण्डारी/नागरिक

'डुंगाबाट नदी तर्न अलि माथि जानुपर्छ । विद्यालय जान पनि ढिला हुन्छ घुमेर जाँदा आउँदा रात परिसक्छ त्यसैले दैनिक यहिबाट जोखिम मोलेरै वारपार गर्छौ.' क्षतिग्रस्त पुलमाथि भेटिएका सुमनले भने ।  

सुमनमात्रै होइन बाढीले बगाएर क्षतविक्षत भएको झोलुङ्गे पुलकै सहारामा दर्जनौ विद्यार्थी आवातजावत गर्छन । सुनकोशी ६ मा रहेको दीर्घप्रदीप माध्यमिक विद्यालय खाल्टे र पञ्चकन्या प्राथमिक विद्यालय चैनपुरमा गरी रामेछापबाट सिन्धुलीतर्फ सुनकोशी तरेर २८ जना विद्यार्थी दैनिक आवातजावत गर्छन् । केही विद्यार्थी डुंगामार्फत् आउजाउ गर्छन् भने केहि सोही पुलमा झुण्डिएर आवातजावत गर्छन् ।  

पञ्चकन्या प्राथमिक विद्यालयकी एक छात्रा सुनकोशीमा रहेको डुङ्गा चढ्नुपर्ने भएकाले चिसो मौसममा समेत खुट्टामा जुत्ता लाउन नमिलेको बताउँछिन् । 'यहाँ कोशी भित्रै डुङ्गा हुन्छ त्यहाँसम्म पुग्न खुट्टा भिजाउनै पर्छ अनी हामीलाई दैनिक दुई पटक लगाउन र खोल्न गाह्रो हुन्छ त्यसैले चप्पल लगाएर आवातजावत गर्छौ,' उनले भनिन् ।

तस्बिर : अनिल भण्डारी/नागरिक

बाढी अगाडी पुल हुँदा सहजै आवातजावत भएपनि पुल बगाएपछि विद्यार्थीसहित स्थानियको दैनिकी समस्यामा परेको छ । नदीमाथि भएका झोलुङ्गे पुलहरु बाढीले बगाएपछि सुनकोशी नदी वारपार गर्न विद्यार्थीसहित स्थानीयलाई निकै समस्या भएको हो ।  

बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिका जोड्ने गरि रामेछाप तथा ओखलढुंगाका विभिन्न गाउँ जोडिएका पक्की तथा झोलुङ्गे पुल बगाएको छ । पुल बगाएसँगै विद्यार्थीलाई मात्रै नभएर किसान तथा दैनिक पैदल यात्रा गर्ने यात्रुलाई समेत सुनकोशीतर्न मुस्किल पर्न थालेको छ । किसानलाई धान पराल तार्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।  

तस्बिर : अनिल भण्डारी/नागरिक

सिन्धुलीस्थित सुनकोशी नदीमा आएका बाढीले खुर्कोट मन्थली सडक खण्डस्थित खुर्कोटबाट रामेछापको सेलेघाट जोड्ने पक्की पुल बगाएपछि उक्त स्थानमा नेपाली सेनाले बेलिब्रिज बनाएको छ । भने सुनकोशी १ दुम्जबाट रामेछापको खाडादेवी गाउँपालिका जोड्ने पक्की पुल बगाएको थियो । दुई पक्की पुलसहित १४ वटा झोलुङ्गे पुलमा बाढीले क्षतिग्रस्त भएको छ । क्षति भएको पुल तत्काल बनाएर सहजता दिन सरकार लाग्नुपर्ने स्थानीय बताउँछन् ।  

प्रकाशित: १० पुस २०८१ १९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App