देशका विभिन्न स्थानमा भएका दुर्घटनामा दश जनाको मृत्यु भएको छ।
प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको बेलबारी नगरपालिका–४, बेतनास्थित सडकमा को.१ ज ३३९९ नम्बरको म्याजिक भ्यानको ठक्करबाट ६५ वर्षीय लक्षुराम राईको शुक्रबार बेलुकी मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा कोशी अस्पताल, विराटनगरमा मृत्यु भएको हो। साथै, घाइते एक जना पैदलयात्रीलाई आर्या न्यूरो अस्पताल, विराटनगर रिफर गरिएको छ। म्याजिक भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटस्थित सडकमा सुदूरपश्चिम प्रदेश.१–००१ ज १३८५ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा ४५ वर्षीय रविन कुमार श्रीसको मृत्यु भएको छ।
गाडीमा सवार रहेका ५ जनामध्ये ३ जनालाई लुम्बिनी मेडिकल कलेज, पाल्पा र २ जनालाई बुटवल प्रालि अस्पताल, बुटवल रिफर गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका श्रीसको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हो।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–५, तिनाउ पुलस्थित सडकमा लु.३ च २४८० नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ३२ वर्षीय हरी न्यौपाने, जिपमा सवार ७१ वर्षीय तिलक राम खनाल र ६७ वर्षीया गोरी खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बागलुङको गलकोट नगरपालिका–३, भैसेको पुलस्थित सडकमा ध.१ त १९२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा चालक २४ वर्षीय टेक बहादुर विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल, गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुलीको दुधौली नगरपालिका–१, कुर्थौलीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट ३ वर्षीय आयुष माझीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका आयुषको केएमसी अस्पताल, सिनामंगल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक हाल फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ।
रामेछापको खाडाँदेवी गाउँपालिका–६, माकादुमस्थित सडकमा ना.६ त ७८२४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक ३७ वर्षीय खिल बहादुर भुजेलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मन्थलीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–९ स्वाठी बस्ने २३ वर्षीय प्रदिप चौधरीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ। सोही नगरपालिका–१२ त्रिनेत्र टोलस्थित बिजुलीको पोलमा स्मार्ट वाइफाइको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।
धनुषाको कमला नगरपालिका–७ हथमुण्डास्थित कमला खोलामा डुबेर सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार महतोको शनिबार बिहान मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २९ मंसिर २०८१ १७:४१ शनिबार