भक्तपुर नगरपालिकाको आयोजनामा ‘भक्तपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु भएको छ।
पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको दरबार क्षेत्रमा उद्घाटन गरेका हुन्।
सो अवसरमा अध्यक्ष बिजुक्छेले भक्तपुरको कला संस्कृति तथा सम्पदाहरू संरक्षण र प्रवर्द्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्यको रुपमा बोध गर्दै आएको बताए।
भक्तपुर महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर भक्तपुर पुरै महोत्सवमय देखिने दाबी गरेका छन्। उनका अनुसार महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महत्वपूर्ण गतिविधि सञ्चालन हुनेछन्।
महोत्सव सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रङ्गाउने, कुमारी प्रदर्शनी, दिपङ्कर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी प्रमुख आकर्षणहरू हुन्।
प्रकाशित: २८ मंसिर २०८१ १६:४३ शुक्रबार