अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले आज आयोजित एक समारोहका बीच लुम्बिनी विकास कोष र पुरातत्त्व विभागका प्रतिनिधिहरूका साथमा लुम्बिनी सङ्ग्रहालय संरक्षण परियोजनाको उद्घाटन गरेका छन् ।
सो सङ्ग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य सङ्ग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ । उक्त अनुदानले एउटा अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ, जससँगै पुरातात्त्विक संरक्षणको एउटा क्षेत्रीय हबको सृजना हुनेछ ।
'यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक अग्रगामी कदम हो जसले लुम्बिनीलाई पुरातात्त्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ,' सार्वजनिक मामिला प्रमुख हार्करले भने, 'यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरहरूको सृजना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ ।'
इसा पूर्वको छैटौँ शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका ३०० भन्दा बढी कलाकृतिहरू रहेको लुम्बिनी सङ्ग्रहालयमा लुम्बिनीको पवित्र स्थलमा उत्खनन गरिएका पक्की माटोका प्रतिमा, ढुङ्गाका मूर्ति, सिक्का र अन्य अवशेषहरू सङ्ग्रहित छन् ।
यस परियोजना यी सांस्कृतिक निधिको संरक्षणमा एउटा रूपान्तरणकारी कदम हुनेछ । संरक्षण स्थलको सीमितताका कारण हाल यी कलाकृतिमध्ये धेरै वटा काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालयमा भण्डारण गरिएका छन् ।
यस पहलले लुम्बिनी प्रदेशको पहिलो र नेपालकै सुरुवातीमध्ये एक आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरी लुम्बिनी र यस वरपरका पुरातात्त्विक स्थलमा रहेका कलाकृतिको अध्ययन, संरक्षण र सुरक्षित भण्डारणलाई सम्भव बनाउनेछ । त्यसका साथै, एक बृहत् प्रशिक्षण कार्यक्रमले पुरातात्त्विक संरक्षणमा स्थानीय क्षमता निर्माण गरी भावी पुस्ताका निम्ति नेपालको समृद्ध सांस्कृतिक सम्पदाको अभिलेखन तथा संरक्षण गर्न पेसाकर्मी तथा विद्यार्थीहरूको सशक्तीकरण गर्नेछ ।
एएफसीपीले विकासोन्मुख देशहरूमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग प्रदान गर्छ । नेपाल एएफसीपी अनुदानका विश्वकै शीर्ष प्राप्तिकर्तामध्ये एक हो । विगतका दुई दशकमा काठमाडौँस्थित अमेरिकी दूतावासले नेपालमा २८ वटा सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूका लागि ६१ करोड रुपैयाँभन्दा बढीको कोष प्रदान गरेको छ ।
लुम्बिनी सङ्ग्रहालयबारे
बुद्धको जन्मस्थलमा अवस्थित लुम्बिनी सङ्ग्रहालयले विश्वका सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक स्थलमध्ये एक अर्थात् लुम्बिनीमा रहेका प्राचीन कलाकृतिको संरक्षण तथा प्रदर्शन गर्दछ ।
यहाँ उपलब्ध सङ्ग्रहले लुम्बिनीको गहिरो इतिहास र बौद्ध संस्कृतिको केन्द्रका रूपमा यसको चिरस्थायी भूमिकाको एक झलक पनि प्रदान गर्छ ।
प्रकाशित: २६ मंसिर २०८१ १८:५९ बुधबार