३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

मनको स्पर्श

बिएन जोशी

सन् २०१६ डिसेम्बर ३० । नयाँ वर्ष आउन दुई दिन मात्रै बाँकी थियो । त्यही दिन बिहान म एक जनाको सिफारिस बोकेर हतारहतार पुल्चोकस्थित नेपाल इन्भेस्टमेन्ट बैंक शाखा कार्यालयको मुद्रा सटही काउन्टरमा पुगें।

त्यहाँ एक महिला गमक्क परेर बसेकी थिइन्, जो अर्को सिफारिसबाटै आएकी युवतीको कागजपत्र नियाल्दै थिइन् । आडैमा रहेको खाली कुर्चीमा नसोधी म फटाक बसिदिएँ । कुर्सीमा बस्न नपाउँदै ती कर्मचारी महिलाले मतिर हेरेर कटाक्ष गरिन्– ‘केका लागि हो तपाईँ ?’

भन्न त मन लागेको थियो– बैंकमा के कामले आउँछ र ? तर, आफ्नो काम जो निम्ट्याउनु छ । त्यसैले मैले सम्हालिएर जवाफ फर्काएँ– ‘मलाई युएस डलर चाहिएको छ ।’ ती कर्मचारीले भनिन्– ‘डलर त छैन ।’यो हरेक बैंकबाट पाउने नर्मल जवाफ हो । सर्वसाधारण जुन बैंकमा गए पनि यस्तै जवाफ पाउँछन् ।

यो हाम्रो देशको सत्यकथा हो, जहाँ भनसुन र सिफारिसविना कुनै काम बन्दैन ।
यहाँ डाक्टरधारी गभर्नरहरू नेत्रहिन छन्, योजना आयोगका उपाध्यक्षहरू योजनाविहिन छन् । कागजका खेस्रामा डाक्टर झुन्ड्याएको भरमा उनीहरू आफूलाई मसिहा ठान्छन्।मलाई सुरेन्द्रजीले पठाउनु भएको भनेपछि उनले टेबल माथिको फोन कानमा झुन्ड्याइन् । माथिबाट के मर्जी भो थाहा भएन । त्यसपछि उनले एक हजार युएस डलर मात्र दिन मिल्ने उद्घोष गरिन् । मसँग स्वीकार्नु सिवाय अरु विकल्प थिएन।

मलाई लाग्छ, जो कोही भिसा भएको आम मानिसले विदेश यात्रा गर्नुअगाडि २५ सय युएस डलर सहज रूपले पाउनुपर्ने हो । तर, मसिहा साँढेहरू मध्य सडकमा कुम्भकर्ण बनेपछि कस्को के लाग्छ र ! काउन्टरमा बसेकी महिलाको रवाफ देख्दा त यस्तो लाग्छ यो बैंक उसको आफ्नै पेवा हो।मेरो पासपोर्ट र टिकट नियालेपछि उनी भन्दै थिइन्, यो सिचुवान एयरलाइन्स कहाँको हो, यो पनि नेपालमा आउँछ र ? कस्तो नामै नसुनेको एयरलाइन्स । उफ् !अब म के गरुँ ? त्यो मेरो कमजोरी थिएन ।

नाम मात्रको सेवामुलक क्षेत्र, सरकारी अड्डाहरूमा जस्तै समय कटाएर अल्मलाउने मेलो देखिन्छ । समय व्यतित गरी पर्खनुसिवाय अरु विकल्प थिएन मसँग । मानिसको जीवनमा पलपलको समय महत्वपूर्ण हुन्छ । तर, हाम्रो देशका अधिक कर्मचारीहरूमा जिम्मेवारीबोध देखिँदैन । म त यो सबै देखेर यसै ट्वाँ परिरहन्छु ।

डिसेम्बर ३० कै साँझ । एकाबिहानैदेखि बाक्लिएको हुस्सुले काठमाडौं खाल्डोलाई खर्लप्पै निलेको छ । त्रिभुवन विमानस्थल भित्रको अध्यागमन डेस्क पार गरेपछि भने मेरो अनुमान सही साबित भयो।

कतिपय ठूला विमानहरू मौसमका कारण अवतरण गर्न नसकेर अन्तै डाइभर्ट भएछन् । त्यसमा म लगायतले प्रतीक्षा गरिरहेको सिचुवान एयरलाइन्स समेत परेछ । यसकारण विमानस्थलमा कुर्ची भरिएका थिए । अधिकांश यात्रु भुइँमै हाते लगेजलाई सिरानी बनाएर हाइ काट्दै पल्टिरहेका थिए । यसले ढिलासुस्तीले गाँजेको हाम्रो कर्मचारीतन्त्रलाई मौसमले समेत साथ दिएको छनक देखिएको मलाई भान भइरहेको थियो।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्रको बेथितिबारे थप उल्लेख गरिरहनु पर्दैन । हामी सबै धेरथोर जानकार नै छौं । सामान्यरूपमै सुधार गर्न सकिने उपाय समेत अवलम्बन नगरेको देख्दा ‘बडाहाकीम’हरूको ‘औकात’ प्रष्टै देखिन्छ । उडानले तीन घन्टापश्चात् बल्ल पूर्णता पायो।

बेथितिले भरिएको नाम मात्रको महानगरबाट ढिलो उडान गर्दा सिचुवानको छेन्दुबाट मेरो अर्को गन्तव्य चचियाडको प्रान्तीय राजधानी हान्झाउसम्मको उडान झन्डै छुटेको थियो । लाग्थ्यो, मेरोजस्तै अरु कतिको कनेक्टिङ फ्लाइट हुँदो हो । हेर्दा सामान्य जस्तो लाग्ने लापर्वाहीले मानिसलाई कति तनाव र समस्या हुन्छ भन्ने कुरा विमानस्थलका कर्मचारीहरूले मनन गर्नु जरुरी छ।

काठमाडौंबाट उडेको एक सय ५८ सिटे एयरबसले छेन्दुमा विश्राम लियो । त्यसपछि चार सय सिटको डोमेस्टिक बोइङभित्र छिर्दा मलाई अर्कै संसारमा छिरेको अनुभूति भयो । सायद, नेपाली म एक्लो थिएँ । तर, चाइनिजहरूको कल्याङ बल्याङ र सल्याङ बल्याङले म अवाक् बनिरहेँ त्यसक्षण ।एक्लै यात्रा गर्दा मलाई जे जस्तो समस्या आइपरे पनि खासै बोझ लाग्दैन । नौलोपनको अनुभूति हुन्छ । त्यसैमा एक प्रकारको आनन्द महसुस गर्छु।

लगभग तीन घन्टाको हवाइ यात्रापश्चात् शून्य रातमा हान्झाउको भव्य विमानस्थलभित्र छिर्दा मेरो मगजले कल्पिन्छ, यस्ता विमानस्थल चीनमा कति होलान् ? चीनको जुनै भागमा पुग्छु, त्यहाँको विमानस्थल फरक र भव्य देखिन्छ । अनि तुलना गर्छु हाम्रो देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलसँग, जो घिटीघिटी भएर बाँचिरहेको छ । व्यर्थको कल्पना गर्दा विमानस्थलमा शून्य रातसम्म मलाई पर्खिबसेका मित्र जगदीश भेटवालको साथमा चिसोलाई छल्दै हतारहतार होटलभित्र घुस्रिन पुग्यौं।

लामो भलाकुसारी पछिको अबेर सुताइले बिहान होटलबाहिर निस्कनासाथ नौलो मौसम सहितको नरम घामले निधारमा चुम्न आइपुग्छ । सोही होटलमा बास बसेका दक्षिण कोरियाली दुई युवा पनि हामीसँगै घुम्न जान निस्किए ।२०१६ को अन्तिम दिन नयाँ ठाउँको भ्रमणले अविस्मरणीय बन्ने छनक देखिँदै थियो । होटलले व्यवस्था गरिदिएको गाडीमा हामी दुई देशका चार नागरिक चीनकै प्रसिद्द सी हु (ताल) वेस्ट लेकतिर लाग्यौं।

व्यवस्थित र सुन्दर सडकमा हुइँकिँदै गर्दा दायाँबायाँ देखिएका ठूला डिजिटल बोर्डले एकाध महिनाअघि मात्र यही हान्झाउमा भएको भव्य जी ट्वान्टी सम्मेलनको बेतोड संकेत गर्दै थियो । भौतिक संरचना र सरसफाइको मामलामा त हान्झाउ सहर नमुना नै रहेछ । घाम टाउकोमाथि नआउँदै व्यस्त सहरसँगै जोडिएको सुव्यवस्थित ताल वरपर मानिसहरूको लर्को देखिन्थ्यो । यो दृष्य देख्दा हाम्रो देशका तालहरू त फिका लाग्थे।

हेर्दा मन्दिर जस्ता लाग्ने एक प्रकारको पानी जहाज, बीचको आइल्यान्डसम्म जान आउनका लागि छिनछिनमा छुटिरहन्थ्यो । सानो नै सही, सुन्दर पानी जहाजमा पहिलो यात्राले प्रकृतिसँग रस्वादन गर्न तल्लिन रहे । कस्तो सभ्य मानिसहरू, अनि समय अनुकूल चल्ने फरक किसिमका नाउहरू । १५ मिनेटको जलयात्रामा मनमा अनेकथरि कुरा खेले । कास हामीले पनि नेपालका तालहरूमा यस्तै सुविधासम्पन्न पानीजहाज दौडाउन पाए एकैचोटी सयौं मानिसहरूलाई सुरक्षित जलयात्रा गराउन सक्थ्यौं । लाग्थ्यो, के मात्रको सुविधा नहोला यस सी हुमा।

नजरले छोप्न नसकिने विशाल सी हुको मध्यभागमा रहेको जंगल र त्यसभित्रका संरचनाहरू आफैमा एक म्युजियम रहेछ । प्रकृति आफैमा सुन्दर छिन् । तर, उसलाई सम्हाल्दा अनुपम नमुना बन्ने रहेछ भन्ने लाग्यो यहाँका प्रत्येक वस्तुहरू नियाल्दा । चचियाङ प्र्रान्तका तीन सहरमध्ये हान्झाउ सम्पन्नताले भरिपूर्ण देखिन्थ्यो भने योड खाड पुरानो, ऐतिहासिक कला र संस्कृतिले सुसज्जित थियो । अर्काे सहर यी यु चै टे«डिङमा उम्दा रूपले अगाडि बढिरहेको देखिन्थ्यो । एउटै प्रान्तमा भएर पनि यी तीन सहरका फरक विशेषता थिए ।

लगभग दुई हप्ते बसाईलाई बिट मारेर पुनः हान्झाउ विमानस्थलमा प्रवेश गरेपछि भने परिस्थितिले फरक मोड लियो । यात्रा थाल्नुअघि आत्मिय मित्र अमल इरामुकले उपहार दिएको पारिजातको कथा संग्रह पुस्तक हेर्दै जब म फुक्काफाल बनेर वेटिड रूममा विश्राम गर्दै थिएँ, एक सुन्दर युवती मेरो सामुन्ने बसिन् । नजरले धोका खाएको थिएन । म अनायासै सतर्क बने।

उनी केही खाँदै थिइन् । मेरो अध्ययन क्रमभंग भयो । किताबले मलाई पो पढ्दै थियो कि जस्तो लाग्यो । अन्दाज गर्दा मजत्तिकै झन्डै छ फिट अग्ली थिइन् उनी । लामो रातो ज्याकेट र कालो मिडी अनि कालै बुट सहितको पहिरनले सर्लक्क परेको जिउडाललाई खँदिलो बनाएको देखिन्थ्यो।

सामुन्ने भएकाले आँखा ठोक्किँदै गर्दा मन्द मुस्कान यसै निस्कने रहेछ । उनी घरीघरी अनुहार हेर्न मोबाइललाई ऐनाकारूपमा प्रयोग गर्थिन् । कपाल मिलाउँथिन् । यसले मेरो ध्यान पारिजातका कथाबाट बाहिर ल्याएर तिनै ‘परी’मा सीमित बन्यो । मनमा उकुसमुकुस भइरहेको थियो । तर, पनि शान्त तलाउजत्तिकै अडिक बनेको थिएँ।अब भने उनी मतिर नजर फाल्दै सेल्फीमा मस्किँदै थिइन् । चित्त बुझेनछ क्यारे, नि हाओ (हेल्लो) भन्दै मेरो नजिकै आइन्।

र, पछिल्तिरको सिन आउने गरी फोटो खिचिदिन आग्रह गरिन् । उनी आफै त्यसरी बोल्न आउँदा हृदयभित्र बेस्कन हुन्डरी मच्चियो । अनि त नकार्ने कुरै भएन । तीन–चार पोज कामुक देखिँदै खुलिन् । म नतमस्तक बनेँ । उनी अंग्रेजी बोल्ने कोसिस गर्दै थिइन् । तर, सकिनन् । उनको हातमा मोबाइल थमाउँदै गर्दा मतिर मन्द मुस्कान दिइन् । र, ‘सिए सिए’ अर्थात् धन्यवाद भनिन् ।मलाई जति चाइनिज बोल्न आउथ्यो, उनलाई त्यति पनि अंग्रेजी बोल्न नआउँदा मनका कुरा मनैमा गुम्सिएर रहे।

बोर्डिङ समयको संकेतसँगै लामबद्ध भइरहँदासमेत हामी दुईबीच कनीकुथी वार्तालाप भइरह्यो । म बुझ्न सक्थें–उनको मनोविचार । र, लाग्थ्यो– उसले पनि बुझेकै होलिन् । उनको अनुहारको स्वरूपले धेरै कुरा भन्न खोजेको थाहा हुन्थ्यो । तर, मातृभाषाले पाइलापाइलामा अवरोध गरिरह्यो । बडेमानको विमानभित्र छिर्दै गर्दा समेत मैले उनको हातमा रहेको बोर्डिङलाई नियालेको थिइनँ।

मलाई लाग्यो– आजसम्म कसैले नदेखेको भगवानले हामी दुईको मनको भावना बुझेछ क्यारे ! सँगै सिट पारिदिएछ । उनको अनुहार झनै खुलेको पाएँ, अनि मेरो मन पनि उस्तै । सायद खुसी भनेको यही हुनुपर्छ । जतिबेला मैले नजानिँदो अनुभव गरें । मेरो मनले ठान्यो– अब कम्तीमा पनि तीन घन्टा हाम्रो भौतिक शरीर साथमा हुनेछ।

सिटमा बसेपछि बिस्तारै उही कनिकुथी बात मार्न थाल्यौं । जसले गर्दा आत्मीय हुनमा थप मद्दत गर्‍यो । लिसा चेन उनको नाम रहेछ । मोबाइलमा उनका तस्बिरहरू हेरेपछि उनी मोडलिङ एजेन्सीमा काम गर्ने थाहा भयो । मैले पनि आफ्नो मोबाइलमा कैद रहेका नेपालका केही सुन्दर दृश्यहरू देखाएर प्रष्ट्याउन खोजेँ । त्यो उनले निकै चाख मानेर सोधखोज गर्दै हेरिन्।

सुखद घडीमा यात्रा समेत कत्ति चाँडो बित्ने रहेछ । पत्तै नपाइने । आज मेरो अनुभवले यस्तै बतायो । झन्डै तीन घन्टाको उडान बिट मारेर जहाजले जमिनलाई कतिखेर स्पर्श गरिसकेछ हामी अनभिज्ञ रहयौँ । अरुले सिटबेल्ट खोलेर उठ्न थालेपछि बल्ल हामी यथास्थितिमा पुग्यौँ।

छेन्दु विमानस्थलबाट लगेज घिसार्दै मलिन अनुहार लिएर लिसा चेन मसँग बिदा भएर आफ्नो गन्तव्यतर्फ लागिन् । मसँग यतिबेला चाइचियान (बाइ) भन्नुसिवाय अरु कुनै शब्द थिएन । छोटो समयको संयोग भेट जुरेर पनि कहिलेकाहीँ जीवनको लामो अन्तरालसम्म ती क्षणले सँगसँगै यात्रा गरिरहने रहेछ । खैर, तत्कालका लागि आ–आफ्नो गन्तव्यले दिशा लिए पनि मलाई लाग्छ– हामी दुईको मनको स्पर्श उस्तै थियो ।

 

 

 

 

 


 

प्रकाशित: २४ चैत्र २०७४ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App