६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

मालाका कमाल व्यंग्य विनोदमा महकिए

विमोचनको बिगबिगी व्यंग्य निबन्ध संग्रहभित्रका अन्तिम ३०औँ निबन्ध ‘मालाका कमाल’ व्यंग्यवाणमूलक अभिव्यञ्जना रहेको छ । व्यंग्य उपहासजनक अभिव्यक्तिको घोचक वाणको धारिलो प्रहार रहे–बनेको हुन्छ । घोचक अभिव्यक्ति रोचक पनि हुन सक्छ । घोचक प्रहारलाई रोचक बनाउन अभिव्यञ्जना सीप चाहिएको हुन्छ । त्यस्तो सीपको स्वरूप अनेक थरीका हुन सक्छन् । स्वरूप शब्दले लेखकीय व्यक्तित्वलाई इंगित गर्छ । लेखकीय व्यक्तित्वले स्वयं लेखकको आफ्नै सोच, विचार, अभिव्यक्ति मूलक मनसाय÷मनोवृत्ति क्षमता, आदि पक्षका अनेक आग्रहलाई अँगाल्छ, समेटिएको हुन्छ । व्यंग्यकार नरेन्द्रराज पौडेल केन्द्रीय नेपाली प्रशासन अन्तर्गत स्थानीय÷जिल्ला प्रशासन यन्त्रको प्रमुख जिल्ला अधिकारीको पदीय हैसियत सम्हाली निवृत्त भएका लेखक रहेका छन्।

पदीय दायित्व आफैँमा जिम्मेवार व्यक्तिको चरित्र निर्धारक संयन्त्र बनेको हुन्छ । जहाँ पदीय दायित्वबोधक संस्कार बन्न÷बनाउन सकिरहेको हुन्छ, त्यहाँ नै शिष्ट, सभ्य र मर्यादित साहित्यिक, सांस्कृतिक अथवा परिष्कृत अभिव्यक्ति सीप मौलाउन सकिरहेको हुन्छ । मर्यादित संस्कारकै कारण कुनै पनि तख्ताका व्यक्तिको व्यक्तित्व निर्मित भएको हुन्छ । ‘मालाका कमाल’ व्यंग्यवाण पढ्दै यो विचार प्रवाह सँगाल्न सक्ने बनेको अनुभूति प्रिय पाठक सामु पस्कन उद्यत छु।

‘मालाका कमाल’ व्यंग्यवाण निबन्धमा लेखन परिवेश÷क्लाइमेट सेटिङबाट भएको छ । परिवेश उजागर गर्दो व्याक्यांशहरू हुन्, ‘गोदावरी, सयपत्रीका पत्रैपत्रे पहेँलपुर माला । बेगनबेली, लालुपातेका राताम्मे माला । बेली, चमेली, नीलकमलका मगमगाउँदा बास्नादार माला । कहिल्यै नओइलिने दुबो, मखमली र रुद्राक्षका अजम्बरी माला।’ 

यी हरफले परिवेशसूचक मुक्तकको छनक छचल्काउँछन् । यी छचल्काइलाई मालैमालाका गोदाम अभिव्यक्तिले व्यंग्यवाण साबित गरेको छ । त्यसमा अझै बल पु¥याउँछ, पिलिकपिलिक आँखा घुमाइरहेको, मुख चलाइरहेको अनौठो थलचर, शब्द विन्यासले व्यंग्यवाणलाई धारिलो पारेको छ । व्यक्तिलाई थलचर भन्दा प्रक्षेपण गर्दो अभिप्राय नितान्त मार्मिक व्यंग्यवाणका प्रहार बन्न पुगेको छ । प्रहारात्मक अनौठो थलचर शब्द विन्यासमा तीक्त कटुताभास पाइन्न । प्रखर व्यंग्यवाणमा तीक्त कटुताभास नपार्नु व्यंग्यकारका सिपालु सीप मानिन्छ, मान्नु उपयुक्त हुन्छ । व्यंग्यमा तीक्त कटुताभास झल्कन पुग्दा असहिष्णु मनसाय बुझाउँछ । व्यंग्यभाव असहिष्णु मनस्थिति सिर्जना गर्ने नभई सुधारात्मक प्रवृत्तिमूलक अभिव्यञ्जना बनाइएको हुन्छ।

‘मालाका कमाल’ व्यंग्य निबन्ध झन्डै एकांकी रूपकसरि रचिएका छन् । बाहिरी मुलुकका पर्यटक विदेश भ्रमणबाट विमानस्थलमा स्वागत सत्कारमा लिप्त कुनै वर्तमान कथित नेताका जिउ ढाकिने माला पहिरनबीच ट्वाल्ल चम्कने दुई आँखा त्यसप्रति आश्चर्यचकित विदेशी पर्यटकका जिज्ञासा अनि विमानस्थलका अधिकृतको व्याख्यान ‘इन्टरप्रिटेसन’ वरिपरि ‘मालाका कमाल’ संरचित छ । व्यंग्य निबन्धकारितामा एकांकी रूपकता व्यंग्यकारको कलाकारिता ठहर्छ । यो व्यंग्य निबन्धकारी शिल्प ठान्छु । वर्तमान साहित्यिक फाँटमा उघ्रन थालिरहेका कथावस्तुबाट नाटकीय पहलकारिता, औपन्यासिक छनक आदिका समाहितीकरणले गर्दा हाम्रो नेपाली वाङ्मय साहित्य÷साहित्यिक वाङ्मय उत्तरआधुनिक दिशा उन्मुख रहेको हाम्रै ऐतिहासिक प्रतिष्ठाका प्रतिस्थापन मान्न सकिन्छ ।
विदेशी पर्यटक जो हवाई यानबाट अवतरण गरेर आगमन कक्ष प्रवेश गर्दै छन्, उनकै कण्ठबाट ‘मिस्टर नेपाल’ सम्बोधित गराएर आम नेपाली र नेपालकै प्रति तीव्र उपहास भाव दर्शाइएको छ, ‘फूलको गोदामभित्र छोपिएर एकातार आँखा घुमाउँदै मुख चलाइरहने के नाम गरेको जीवात हो ? यसले केही काम पनि गर्छ कि देख्नको दाल खानको काल मात्रै हो ?’ जिज्ञासा राख्न लगाएर मालैमालाका गोदामभित्र छोपिएर मुख चलाइरहने जीवात मूर्ति बेकम्मा साबिती मूल्यांकन गराउनु प्रयोगात्मक व्यंग्य विनोदभन्दा वाणै ठहर्छ । उनै पर्यटकले तिनलाई के त उनी प्र्रेतात्मा हुन् अकाल मृत्युमा परेका ? र, उनका देशमा अक्टोबरमा चाइना, सिंगापुर, सेप्टेम्बरमा पितृमेला लाग्ने प्रसंग तरंग्याएर अकर्मण्य नेताहरूप्रति धज्जी उडाएका छन् । व्यंग्यवाणलाई तिखार्दै पौडेलका व्यंग्यकारी पौरख पसार्छन्, ‘यो नि होइन त्यो नि होइन । त के समुद्रभित्र उम्रने, बढ्ने, आधा जनावर र आधा वनस्पति जस्तो जमिनी जेलीफिस हुन् ?’ 
विदेशी पर्यटक र एयरपोर्ट अधिकृतबीच तीक्ष्ण व्यंग्यवाण प्रहारात्मक प्रस्तुति नरेन्द्र पौडेलको पौडेत्याइँ बन्छ । ‘मिस्टर नेपाल’ सम्बोधन गराएर व्यंग्यकारले एकल मालाधारी नेता पदवीधारी व्यक्तिको माध्यमबाट आम नेपालीप्रतिको नकारात्मक सोच धारणा प्रतिविम्बित गराएका छन् । नोलले हान्दा नदुख्ने रौँले हिर्काउँदा दुख्ने विशेष प्रहार यसमा अन्तर्निहित छ । यस्ता शैली विन्यासमा उनका पूर्व पदीय दायित्वले उनलाई बोध गराएको आचरण बोध ठान्छ मेरा पाठकीय चेत।

नेता भनिएकाहरूका रूपरंगमाथि तीव्र व्यंग्यवाण छाड्दै पर्यटकको कण्ठबाट भन्नु नभन्नु आक्षेप गराउनु लेखकका आफ्नै पहल बन्छ । ‘के मालाका भारी बोकेर बसेको खसी, उँट केही हो त त्यो ? भारवाहक भाँडो या भरिया जनावरको रूपमा प्रख्यात टाँगन घोडा, राँगो, गधा, खच्चरमध्ये केही हो त ?’ नेपालका नेतामाथि पर्यटकको ओँठबाट त्यसरी खुलस्त व्यंग्य तिखार्न लाउनु नरेन्द्रको आफ्नोपन बनेको छ व्यंग्य प्रहारशैली जगत्मा । एयरपोर्ट अधिकृतले पर्यटकलाई ‘ती त दुई खुट्टा टेकेका नेतालाई नकारात्मक सम्मान गर्दै उभिसे’का, उभिबक्सेका’ शब्द प्रयोग गरेका छन् । उभिसे’का, बोलिसे’का, बोलिबक्सेका उच्च पराकाष्ठाजन्य शब्द प्रयोग आफैँमा तीव्र व्यंग्य छनकधारी छन् । यी शब्द प्रयोगहरू नरेन्द्रले पर्यटकको मुखबाट चुहाउन लगाएको ‘देख्नमा दाल खानमा काल’ जन्य अभिव्यक्ति बनेका छन् । ‘निकै सम्मानजनक शब्द बोल्यौ तिमीले त, के तिम्रो देशका कोही भिआइपी हुन् कि क्या हो ?’ शान्त बनेर पर्यटकले सोधेको मौका छोपी अधिकृतले चस्काउँदै भन्न थालेको बोली घुस्याहा प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ सीधै, ‘सुरक्षाका कारणले भनिहाल्न त मिल्दैन तर तिमी अहिल्यै जानकारी लिन चाहन्छौँ भने थोरै फिस लाग्छ । रसिद मिल्दैन, ओके ?’ सिलेवार परिवेश बनाएर रसिद नमिल्ने फिस घुसभन्दा अरु के ? यी र यस्ता अनेक अभिव्यञ्जनाले नेपाल एयरपोेर्टदेखि नै रसिद नमिल्ने फिसमा बन्धकी बनेको छायांकन गरिएको छ।

व्यंग्य निबन्धभरि कित्ताकित्ताका रूपक अलंकार छ्यापछ्याप्ती नै प्रयुक्त छन् । विदेश गएर उनका भृत्य÷नोकर चाकर, अनुचर, परिचरहरूले सकपकाएका हातपाउ पसारेर मालैमालाले सारा शरीर नै छोपिदिएको विवरणले अनुयायीहरूको कोटि झल्काएको छ । नेताका अनुयायीहरूलाई महादेवका आधिभौतिक नन्दीभृंगी हरगणमा रूपान्तरण गरिएको चोटिलो शब्द प्रहार भरपुर भयानक छ । विदेश यात्राको सफल वर्णन कार्यकर्ता माझ पस्काउँदै गरेको अवस्थाका पुलकित आँखा चितुवा पाराको हिंस्रक कोटिको रूपक अलंकार बन्छ । उनको नेतौले जिब्रो चलाइलाई अजिंगरको शैलीमा रूपान्तरण गरिएको छ । देशका उत्तमपुरुष कहलिएका नेतालाई माला ओढी, ओछ्याई लुक्ने चालामालाको उत्तमपुरुषको धज्जी उडाएर नेतागिरी तख्तालाई उदांग्याउनु पौडेलको स्वहस्तसिद्ध शैलीझैँ लाग्छ । उदांग्याइमा शिष्ट र बांगो छेडछाड् व्यंग्य साहित्य संरचनाको सिद्धि समृद्धि बनाउनु सौम्य रस प्लावनसहितको शिष्ट सिद्धिले ओज दिँदो हुन्छ।

‘मालाका कमाल’ का थरीथरीका उदाहरण सहितका घटना प्रस्तुत व्यंग्य विनोदका सरजाम बनेका छन् । नेतृत्व लिनेहरू आफ्ना अनुचर परिचरहरूलाई तन्दुरुस्त राख्न आवधिक अनुशिक्षण, पुनर्ताजगी–प्रशिक्षण गरिरहनु अनिवार्य छ । यसका अनेक आायाम छन् । खुलस्त रूपमा दलगत सिद्धान्त र तिनका व्यावहारिक रूप पक्षहरूका खुलासा, अन्य  प्रतिस्पर्धी दलले लिएका मोड र पहुँचहरू प्रति सजगता जुर्मुराइराख्नु अनुशिक्षणको एक आयाम बन्छ । राजनीति मात्र दलीय परिप्रेक्ष्यमूलक रहन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश र परिप्रेक्ष्यमा पनि अनुपोषित रहनुपर्दो हुन्छ । यिनलाई स्पष्ट उल्लेख नगरी अनुचर परिचर– तहतहका कार्यकर्ता, स्थानीय नेतृत्वबाहेक पिँढीलाई भेटघाट दिएर आफ्नो वर्चस्व नडगमगाई राख्न यस्ता कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दो हुन्छ । प्रसंगवश व्यंग्यकार नरेन्द्र नेता मनोविज्ञानमूलक प्रवृत्तिलाई छेडपेच लाउन शक्तिशाली नै रहेका छन् ।

मालाप्रतिको मोह र माला पहिरनका ज्ञान देखाइका एउटा घटना प्रस्तुत गर्छन् । दिउँसोको अनुशिक्षण कार्यमा माला पहिरिन नपाएर धुनमुनिएका नेताज्यू रातको झिसमिसे वातावरणमा शयन कक्षको भित्तामा झुन्ड्याइराखेको घर–बुहारीको पोते माला पहिरेर मात्र निदाउन सकेको घटना विवरण रोचक व्यंग्यविनोद लाग्छ ! एकपटक उद्धरण साथ जस्ताको तस्तै ः ‘एक दिन अनुचर परिचरहरूलाई प्रशिक्षण दिने प्रयोजन बोकेर सुदूरपहाडी गाउँतिर लाग्नुभएछ । अनुयायीहरूको त्यहाँ पनि दिनभरि धेरैथरी कार्यक्रमहरू भए । तर, फूलका गुच्छासम्म मिले पनि मालै भने कतै मिलेन । बेलुकी कार्यकर्ताको घरमा बास बस्नुभएछ । अनि त्यहाँ आफू सुत्ने व्यवस्था भएको बार्तलीको भित्तामा केही चिज झुन्डिएको अस्पष्ट वृत्ताकार देखेर खुसीले गद्गद् बन्नुभएछ । बिजुली बत्ती नपुगेको ठाउँ हो कि लोडसेडिङको समय परेको हो त्यति ख्याल गर्नुभएनछ ।

बेलुकी खानपिन गरेर सुते पनि माला नमिल्नुको दिनभरिको औडाहा शान्त पार्न राति नै भित्तातिर लम्किएर त्यही वृत्ताकार पदार्थमाथि धावा बोल्नुभएछ । अनि अलिक सानो आकारको गेडागेडा परेको चिजलाई गलामा छिराउनुभएछ । अँध्यारो रातमा ठम्याउन नसक्ता माला सम्झिएर गलामा भिरिदिनुभएछ । अनि रातभरि आनन्दमा मधुरो निद्रा पनि घुरिलिनुभएछ । सन्तोषपूर्ण रात बिताएर बिहान बिउँझिदा त घरकी कान्छी बुहारी पोते खोज्दै आइपुगेकी । विस्तारपूर्वक खुलासा गर्दै गए अधिकृत ।’

प्रकाशित: ८ पुस २०७४ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App