१६ चैत्र २०८० शुक्रबार
अन्य

ब्राह्मण गाउँमा होमस्टे

उत्तरतिर हिमालहरु नाकैमा ठोक्किएलान् झैँ गरी लहरै सेताम्य ठडिएका छन् । दक्षिणतिर नागबेगी हुँदै बगेको घट्टेखोला । धानको बाला लहलह गर्दै गरेको हेम्जा बस्ती । अलि टाढा पोखरा सहरको दृश्य निकै रमाइलो देखिन्छ । चारैतिर हराभरा जंगल । हावा पनि सिरिरिरी चल्छ । हेम्जा नजिकैको मेलबोटबाट साढे एक घण्टाको उकालो नापेपछि पुगिन्छ सुन्दर बस्ती मानिने कास्की धितालको अस्ताम गाउँ । उकालोमा चिट्चिट् पसिना काड्दै चराहरुको चिरबिरसँगै हिँड्दा मनै हलुङ्गो हुन्छ । हिमाल दृश्यावलोकनदेखि जंगली जनावर, अनेक थरिका सुनगाभा अनि लोप हुँदै गएका गिद्धहरु हेर्न अस्ताम गाउँ उपयुक्त गन्तव्य बन्न थालेको छ ।

पोखराबाट नजिकै पर्ने अस्ताम जान निकै सजिलो छ । पोखरादेखि उत्तरतिर झण्डै १८ किलोमिटर माथि रहेको कास्कीको धिताल गाविसमा जाने दुई वटा बाटा छन् । पोखराको जुन कुनै स्थानबाट भूपिशेरचन राजमार्ग अन्र्तगत हेम्जा पुगेपछि दायाँतिर उत्तर केही मिनेट हिँडेपछि मेलबोट आउँछ । त्यहाँबाट कतै ठाडै त कतै तरपायाँ तरपायाँ अस्ताम पुग्न सकिन्छ । अर्को बाटो हेम्जाभन्दा अलिकति अगाडि सुईखेतबाट पनि ठाडै उकालो लाग्न सकिन्छ । हिँड्न अल्छी लाग्छ भने साना जिप र मोटरसाइकल मेलबोटबाट गाउँमै पुग्छन् । गाउँमा पुग्ने पर्यटकलाई अत्यन्तै आत्मिय रुपमा सत्कार गर्छन् स्थानीय । उनीहरुले खादा, माला र अबिर लगाएर स्वागत गर्नुका साथै सिजन अनुसारका खानेकुरा दिन्छन् । उकालो नापेपछि गर्मीले हैरान बनाएका बेला मोही र मूलको चिसो पानी आत्मिय रुपमा दिएपछि मर हररर्र हुन्छ ।
यो गाउँमा भुजेल, कामी, दमाई केही मात्रामा भए पनि पूर्णतया यो ब्राह्मण गाउँ हो । नेपालको सन्र्दभमा ब्राह्मणहरुले घरको भान्छामा सकभर अन्य जातिलाई सजिलै भित्र पस्न दिँदैनन् । परम्परागत मान्यता र संस्कृतिमा अडिग उनीहरु अन्य जातिलाई चुलोचौकामा लैजानु निकै गाह्रो मान्छन् । तर, ब्राह्मण समुदायको बाहुल्य रहेको कास्कीको धिताल गाविसको अस्ताम गाउँमा भने फरक दृश्य देख्न सकिन्छ । हामीले पनि पहिलो पटक गत शुक्रबार र शनिबार अचम्मित हुने दृश्य देख्यौं ।

सामान्यतः कास्की, स्याङ्जा, तनहुँ र लमजुङका गुरुङ र मगर बस्तीमा बढी मात्रामा रहेको होमस्टेको चलन आएपछि ब्राह्मण बाहुल्य रहेको कास्कीको अस्ताममा समेत पहिलो पटक होमस्टे सुरुवात गरिँदाको दृश्य थियो यो । त्यति मात्रै हैन अझ अनौठोलाग्दो दृश्य पनि देख्न पाइयो । कुखुरा पाल्न त के छुन पनि आफ्नो परम्परा र धर्मविपरीत मान्ने ब्राह्मणहरुले घरघरमा लोकल कुकुरा काटेर पाहुनालाई पस्किने मात्र हैन, गाउँमै कोदाको मदिरा बनाएर पाहुनालाई खुवाए । केही ब्राह्मणहरुले पाहुनासँगै मदिराको चुस्की लिँदै गानाबजाना पनि गर्न भ्याए । अस्तामलाई पर्यटकीय गाउँ बनाउन यतिबेला अस्ताम पर्यटन पूर्वाधार विकास समिति गठन गरेर स्थानीयबासी लागिपरेका छन् । उनीहरुले ‘पाहुनालाई स्वागत गर्न पाउँदा निकै खुुसी छौं, फेरि पनि यसरी नै हाम्रो गाउँमा आउनुहुन्छ भन्ने आशा राखेका छौं’ अस्ताम पर्यटन पूर्वाधार विकास समितिकी अध्यक्ष विष्णुमाया अधिकारी भन्दै थिइन् ।

उनीहरुले पाहुनालाई मही, दही, दूध, घिउ, मकै, ढिँडो, साग, काँक्रो, सेलरोटी, कोदो रोटीजस्ता स्थानीय उत्पादन खुवाए । सात सय रुपैयाँ तिरेपछि एक रात बस्न र लोकल कुखुराको मासुसँगै खाना पाइन्छ । त्यसबाहेक कोदाको लोकल मदिरा खान चाहनेले छुट्टै रकम तिर्नुपर्छ । अस्ताम गाउँका दर्जनौँ घरमध्ये अहिले झण्डै २१ घरमा होमस्टेको अवधारणा अघि सारिएको छ । ती घरमा पाहुना राख्न सफासुग्घर कोठा छन् । स्थानीय युवा एवं इको भिलेजका संचालकसमेत रहेका विश्व अधिकारीले अस्ताम गाउँ लोपोन्मुख गिद्ध, जंगली जनावर, पुतली र सुनगाभाका विभिन्न प्रजातिका लागि पनि प्रसिद्ध रहेको बताउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्रको नजिकै भए पनि यो गाउँ एक्यापभित्र पर्दैन । त्यसैले विदेशी पर्यटकले यो गाउँ भ्रमणका लागि कुनै शुल्क तिर्नु पर्दैन । एक्यापमा पर्ने हो भने दुई हजार तिर्नुपर्ने थियो । गाउँमा होमस्टे र पर्यटन व्यवसाय सुरु भएपछि विदेश गएका युवाहरु पनि फर्कने आशामा छन् स्थानीय । अहिले रोजगार र अन्य कारणले सहर पसेका युवाहरु पनि फर्कने तयारीमा छन् ।

अस्ताम पोनी ट्रेक, साइक्लिङ, माउन्टेन बाइकिङ, ग्रामीण पर्यटन, धार्मिक पर्यटन, सूर्योदय र हिमश्रृङ्खलाको दृश्यावलोकन, वनभोज र क्याम्पिङ, चिसो मौसम र सुन्दर हिमाली दृश्यका लागि समेत प्रख्यात छ । धौलागिरि, अन्नपूर्ण, माछापुछे,हिउँचुली, मनास्लु, लमजुङ र गोरखाका केही हिमश्रृङ्खलाको दृश्यावलोकन गर्ने उपयुक्त ठाउँ बनेको छ अस्ताम ।  

स्वागतम अस्ताममा
विश्व अधिकारी
इको भिलेज संचालक

पोखराबाट निकै नजिक पर्ने पर्यटकीय ठाउँ हो अस्ताम । यहाँबाट हिमालका दृश्यहरु निकै नजिकबाट हेर्न सकिन्छ । यहाँ लोपोन्मुख गिद्ध, जंगली जनावर, पुतली र सुनगाभाका विभिन्न प्रजाति हेर्न पाइन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नपरेकोले विदेशी पर्यटकले यो गाउँ भ्रमणका लागि कुनै शुल्क तिर्नु पर्दैन । विदेशी पाहुना त यहाँ बेला–बेला आइरहन्छन् । हामी स्वदेशी पाहुनालाई स्वागत गर्न आतुर छौं । होमस्टेसमेत सुरु भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरु यहाँ पारिवारिक वातावरणमा बस्न सक्छन् ।

सम्पर्कस: विश्व अधिकारी, इको भिलजे संचालक
फोन नं. : ९८५६०२८८२९
सम्पर्क : विष्णुमाया अधिकारी अस्ताम पर्यटन पूर्वाधार विकास समिति
फोन नं. : ९८०६५४४०५८

प्रकाशित: ७ कार्तिक २०७४ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App