दुई वर्षअघिको भूकम्पमा धरहरा मात्र ढलेन, नजिकैको केन्द्रीय कारागारको भवन पनि भत्कियो । सबै भागाभाग भएका बेला कैदीबन्दी राखिएको कारागारमा उद्धारतर्फ धेरैको ध्यान गएन । तर, उनी अन्यत्रको उद्धारलाई छाडी कारागार पुगे र भत्किएको भवनका इँटा पन्छाउँदै घाइतेलाई निकाल्न थाले । उनले १६ जनाको शव र ४० जना घाइतेलाई भत्केको कारागारबाट बाहिर निकाल्न मद्दत गरे ।
अरुले कारागारतर्फ ध्यान नदिइरहेका बेला दौडेर उद्धारमा पुग्ने जीवन रायमाझीले एक दशक कारागारमै बिताएका थिए । त्यहीँबाट उनले कारागार सुधारको अभियान अघि बढाए । कारागारबाट बाहिर निस्किएपछि पनि उनी समाज सुधारमा सक्रिय छन् ।
साथीको आग्रहमा सहयोगका लागि पुग्दा उनले कर्तव्य ज्यान मुद्दामा एक दशक कारागारमा बिताउनुपर्यो। तर, उनी अरु कैदीभन्दा फरक बने । कारागारभित्रै सुधारका काम थाले । जेललाई सुधारगृहमा रूपान्तरण गर्न लागिपरे ।
जेलबाट छुटेपछि कतिपयले पुरानै बाटो रोज्छन् र पटक–पटक जेल पर्छन् । जीवनले भने संकल्प गरे– जेललाई सुधारगृह बनाउनुपर्छ र त्यहाँबाट छुटेर आउनेलाई समाजमा पुनस्र्थापित गराउनुपर्छ । अहिले त्यही अभियानमा सक्रिय छन् । उनलाई साथ दिइरहेका छन्– प्रहरी प्रशासन र सामाजिक संघ–संस्थाले समेत ।
मुलुकमा नयाँ संविधान निर्माण हुँदै गर्दा जेलमै थिए उनी । त्यसबेला उनले संविधानमै कैदीबन्दीका लागि अहिलेको जस्तो होइन, सुधार गर्ने खालका व्यवस्था हुनुपर्छ भनेर आवाज उठाए । उनको जेल सुधारको यो अभियान जेलबाट छुटेपछि पनि जारी छ ।
३६ वर्षीय जीवनको वास्तविक नाम केदारकुमार रायमाझी हो । उनलाई सबैले जीवनकै नामले चिन्छन्। समाज सुधारको अभियानकै कारण उनलाई आफूभन्दा पाकाले समेत ‘दाइ’को उपमा दिएका छन् । जेल सुधारका अभियन्ता भएकैले उनलाई मुलुकभरका धेरै कैदीबन्दी र तिनका परिवारले ‘दाइ’कै रूपमा चिन्छन्।
अरु सामाजिक कार्यकर्ताको जस्तो जीवनको छुट्टै संस्था छैन । उनी स्वतन्त्र रूपमा अभियान चलाइरहेका छन् । कहिले सामाजिक संस्थामार्फत सहयोग गर्न पुग्छन् त कहिले प्रहरी प्रशासनमार्फत । उनकै शब्दमा उनले अहिले मानव सेवा र सामाजिक सुधारलाई अघि बढाइरहेका छन् ।
जेल सुधारका लागि जीवनका तीन अजेन्डा छन्– मुलुकभरका कारागारलाई सुधारगृह बनाउने, सजाय कटाएर समाजमा आएका कैदीबन्दीलाई स–सम्मान पुनस्र्थापित गराउने र कैदीबन्दीका परिवारलाई सहयोग गर्ने । ‘जानाजान, अन्जानमै वा परिस्थितिजन्य कारण कारागारमा रहेका कैदी बन्दीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ,’ उनी भन्छन्, ‘दोषीले सजाय पाइसकेपछि पनि समाजले सधैँ अपराधीको व्यवहार गर्दा ऊ फेरि अपराधकै बाटोमा फर्कने सम्भावना हुन्छ ।’
विकसित मुलुकमा सजाय काटेर आएको व्यक्तिलाई समाजमा पुनस्र्थापित हुन सजिलो हुन्छ । समाजमा पुनस्र्थापित हुन सहज हुँदा उनीहरू फेरि अपराधकै दुनियाँमा फर्कने सम्भावना पनि कम हुन्छ । उनी नेपाली समाजलाई पनि त्यसैगरी रूपान्तरण गर्न चाहन्छन् । ‘देशको कानुनले दिएको दण्ड–सजाय काटेर आएको मान्छेलाई समाजले पनि सम्मानित स्थान दिन सक्नुपर्छ, दृष्टिकोण फेरिए जघन्य र संगठित अपराधमा कमी आउन सक्छ,’ उनले भने ।
उनले जेल सुधारको अभियान मात्र थालेका छैनन्, घरघरमा हुने हिंसा समाधानका लागि सामाजिक र सामुदायिक सञ्जाल बनाउने अभियान पनि चलाएका छन् । बेचिएका चेलीबेटीलाई फिर्ता ल्याउने अभियानमा पनि उनको सक्रियता छ ।
‘मुम्बईमा कति रोगी र असहाय नेपाली चेलीबेटी रहेछन्,’ केही समयअघि मात्र मुम्बई पुगेर फर्केका उनले भने, ‘उनीहरूलाई दैनिक हातमुख जोर्ने समस्या छ, जीवनको अन्तिम क्षणमै भए पनि उनीहरूलाई सम्मानसाथ आफ्नै मुलुक फर्काउनुपर्छ ।’ चेलीबेटी उद्धारमा धेरै संस्था सक्रिय भए पनि त्यसमा कमी देखेका छन् उनले ।
जीवन आफूलाई सामाजिक कामको कुनै सीमामा बाँधेर राख्न चाहँदैनन् । उनी हरेक क्षेत्रका समस्या समाधानमा सक्रिय हुन्छन् । केही महिनाअघि टौखेलस्थित पुष्पाञ्जली स्कुलनजिकको पर्खाल भत्कियो । त्यसै क्षेत्रमा बसोबास गर्ने उनले खबर सुन्नेबित्तिकै घाइतेको उद्धार गरे । अवैध रूपमा बनाइएको पर्खाल ढलेर बालबालिका पीडित भएका थिए । त्यसविरुद्ध न्यायिक लडाइँमा समेत उनले साथ दिए ।
उपत्यका र बाहिरका प्रहरीले बेवारिसे महिला तथा बालबालिका भेटे सहयोगका लागि उनलाई खोजी गर्छन्। उनले धेरै बेवारिसे बालकबालिका, गर्भवती महिला र मानसिक रोगीलाई सडकबाट उचित स्याहारसुसार हुने स्थानमा पुर्याइसकेका छन् ।
‘मेलै पाएको दोस्रो जीवन ईश्वरको देन हो, मेरो यात्राको लक्ष्य मानव सेवा हो,’ जीवन भन्छन्, ‘यसका स्वरूप, प्रक्रिया र प्रसंग फरक भइरहन्छन् ।’ दोस्रो जनआन्दोलनका बेला नख्खु कारागारका कैदीबन्दीलाई एकजुट पारेर गणतन्त्रका लागि लडेका जीवन अहिले कारागार सुधारका लागि लडिरहेका छन् । ‘सबैले सकेको गर्ने हो, म मेरो ठाउँबाट गरिरहेको छु,’ जीवन भन्छन्, ‘सबैको साथ पाए समाज सुधार गर्न अप्ठेरो छैन ।’
प्रकाशित: ३० असार २०७४ १३:५४ शुक्रबार