८ वैशाख २०८१ शनिबार
अन्य

गृहमन्त्री ज्यू! तपाइँको मन्त्रालयबारे जनताका धेरै गुनासा छन् (भिडियो)

हेलो सरकारमा अाउने गुनासा मन्त्रालयअनुसार।

काठमाडौं – जनार्दन शर्मा कहिले सुटुक्क त्रिभुवन विमानस्थल पुग्छन् त अाफ्नो कार्यकाल प्रभावशाली देखाउन ट्राफिक नियम परिवर्तनका लागि निर्देशन दिन्छन्। दाहाल सरकारका पालमा उर्जामन्त्री भएर लोडसेडिङ अन्त्य गरेको श्रेय पाएका उनी अहिले गृहमन्त्री छन्।

गृहमन्त्रीको रुपमा पनि अाफूलाई सफल पार्न योजना र अवधारणा सार्वजनिक बनाइरहँदा सरकारकै गुनासो सुन्ने निकाय हेलो सरकारमा सबैभन्दा धेरै गुनासो गृहसँग सम्बन्धित भएर अाएको देखिएको हो। गृहसँग सम्बन्धित १० हजार ८४५ गुनासाहरु हेलो सरकारमा दर्ता भएका हुन्। (माथि ग्राफ हेर्नुहोस्)

कसरी काम गर्छ हेलो सरकारले

सरकारी कार्यलयहरु रहेको सिंहदरवार सामाजिक सञ्जाल निषेधित क्षेत्र हो। प्रधानमन्त्री कार्यलयको भवनमा रहेको १६ जनाको टोलीलाई भने ट्विटर, फेसबुक चलाउन छुट छ। अझ उनीहरुको कामको जिम्मेवारी भनेकै हेलो सरकारमा आउने जनताका गुनासा सम्बोधन गर्नु हो।

उपसचिव प्रद्युम्न उपाध्यायको नेतृत्वमा रहेका कर्मचारीहरु दुई सिफ्टमा काम गर्छन्। ६ जनाको टोली बिहान ७ बजेदेखि अपरान्ह दुई बजेसम्म र अर्को टोली २ देखि राति नौ बजेसम्म। ‘हेलो सरकार’को सामाजिक संञ्जाल, टोली फ्रि, इमेल र फ्याक्स लगायतमार्फत गुनासो लिएर सम्बन्धित निकायलाई पठाउन व्यस्त रहन्छन्।

विभिन्न निकायहरुको लापरवाही भोगिरहँदा समाधानका खोज्न हेलो सरकार जनताको दुःख बिसाउने एउटा निकायको रुपमा स्थापित भएको छ।

‘प्राप्त गुनासोहरु टिपेर सम्बन्धित ४२ वटा मन्त्रालयमार्फत समाधानको पहलमा जुट् छौं। मन्त्रालयले विभिन्न विभागमार्फत समाधान सम्बोधन गर्छन्,’हेलो सरकारका शाखा अधिकृत हरिभक्त महतार भन्छन्।

हालसम्म हेलो सरकारले ६२ हजार दुई सय २१ वटा गुनासोहरु विभिन्न ४२ मन्त्रालयमा पठाइसकेको छ। जसमध्ये ५५ हजार ९ सय ३ वटा गुनासोहरु समाधान भइसकेका छन्। ७ हजार तीन सय १८ वटा गुनासोहरु समाधन हुन बाँकी छन्।

भिडियो

हेलो सरकारमा सबैभन्दा बढी गुनासो गृह मन्त्रालय मातहातका कार्यालयहरुमा लागि आउने गरेको छ। शिक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र स्वास्थ्य मन्त्रालयका लागि आउने गरेका छन्। यसमध्ये गृह मन्त्रालय, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास र नेपाल विद्युत प्राधिकरण लगायतले भने अधिकांश गुनासोहरु समाधान गरेका छन्।

हेलो सरकारले गुनासो टिपाउन ११११ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ। यसमा गुनासो गरेको पैसा तिर्नुपर्दैैन।

हेलो सरकारले सुरुमा सामाजिक फेसबुक र ट्वीटरमार्फत गुनासोहरु टिप्न सुन्न थालेको थियो। पछि विभिन्न मन्त्रालयको ट्विटर अकाउन्ट बनाउन निर्देशन दिएर अहिले ट्विटरबाटै पनि निर्देशन दिन सुरु गरिएको छ। हेलो सरकार बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ सालमा सुरु भएको हो।

‘प्रधानमन्त्रीको सिधा निर्देशनमा सुरुसुरुमा ७ घण्टामा ९० वटासम्म गुनासो टिपेर समाधान गरेका थियौं। सरकार परिवर्तन हुँदै गएपछि अहिले उपसचिवको नेतृत्वमा काम भइरहेको छ’, उनले भने। भट्टराईले हेलो सरकारलाई आफू मातहात राखेर गुनासाहरु हेर्ने गरेका थिए।

गुनासाहरुको वर्गीकरण
हेलो सरकारले गुनासा सम्बोधन गर्न गुनासाहरुको वर्गीकरण गर्ने गर्छ। २४ घण्टाभित्र समाधान गर्नुपर्ने गुनासालाई उच्च प्रथामकिता, तीन दिनभित्र समाधान हुनेलाई प्राथमिकता र सात दिनभित्र समाधान गरिनेलाई साधारण गुनासोको रुपमा लिइन्छ।  

हाल हेलो सरकारले महिनामा ४० हाराहानीमा उच्च प्राथमिकतामा परेका गुनासोहरु समाधान गरिहेको छ। ‘हामीले मौजुदा कानुनलाई आधार मानेर गुनासो समाधान गरिरहेका छौं। अरोप प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने हुँदा जटिलता थपिँदै गएका छन्,’उनले भने, ‘कर्मचारीलाई सामाजिक सञ्जाल उपयोग र सरकारी तहबाट यसको परिचालनका व्यापक आयमबारे प्रशिक्षणको खाँचो छ। ठ्याक्कै त्यही ढंगले प्रयोग गर्न सकेको जस्तो लाग्दैन।’

हेलो सरकारका रमाइला जवाफ किन?
हेलो सरकारमा निरन्तर आइरहेको गुनासोमा गुनासोकर्ताहरुले पुरानो विषयलाई जोडेर लेखेको खण्डमा भने कर्मचारीहरुले रमाइलो शैलीमा उत्तर दिने गरेको उनले स्वीकारे। ‘निरन्तर आएको विषयमा कोहीले पुरानो कुरा जोडेर लेख्यो भने हामीले बल्ल त्यहाँ इन्टरटेनमेन्ट गर्छौं। हामीले कसैलाई असर नपुर्‍याइकन रमाइलो शैलीले उत्तर दिने गरेका छौं।’ त्यस्ता रमाइला जवाफहरुको चर्चा सामाजिक सञ्जालमा हुने गरेको विषयप्रति हेलो सरकार टोली जानकार छ।

प्रायः गाडी जाम, प्रदूर्षण, बाटो खाल्डो, पानी, औषधी लगायत गुनासोहरु प्राथमिकतामा राखिएको छन्। गुनासोकर्ताले फेसबुक, ट्विटर, एसएमएस, इमेल, फ्याक्स, कुरिअर र, हुलाक र व्यक्ति आएर गुनासो राख्न पाउँछन्।

विभिन्न निकायहरुको लापरवाही भोगिरहँदा समाधानका खोज्न हेलो सरकार जनताको दुःख बिसाउने एउटा निकायको रुपमा स्थापित भएको छ।

हेलो सरकार सञ्चालन गर्ने टोली (तल)। फोटो/भिडियो/ग्राफिक्सः प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App