नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई अनुशासनहीन व्यवहारका कारण कारबाही गरेको जनाएको छ।
जय ट्रफी एलिट कपका क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमा टिप्पणी गरेपछि क्यानले उनलाई कारबाहीको दायरामा ल्याइएको क्यानका प्रवक्ता छुम्बी लामाले नागरिकन्यूजलाई जानकारी दिए।
उनका अनुसार सन्दीपले खेलाडी आचारसंहिताको उल्लंघन गरेकाले उनलाई एक खेलका लागि निलम्बन गरिएको छ। साथै, उक्त घटनाबारे स्पष्टिकरण दिन पनि भनिएको छ।
प्रवक्ता लामाले भने, ‘जय ट्रफीका दौरान अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेका कारण उनले क्यानको नियमावलीको धारा २.७ उल्लंघन गरेका छन्। त्यसैले उनलाई अनुशासनको कारबाहीस्वरूप एक खेलमा प्रतिबन्ध लगाइएको हो।’
क्यानले गरेको निर्णयअनुसार सन्दीपले अब संघको आयोजनामा हुने कुनै एक खेल खेल्न पाउने छैनन्। साथै, यो विषयमा उनको औपचारिक स्पष्टीकरण माग गरिएको छ।
सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपाली अम्पायरको स्तर सुधार्न आवश्यक रहेको उल्लेख गरेका थिए। उनले अम्पायरको निर्णय राम्रो नभएर त्यसले धेरै खेलाडीको प्रदर्शनमा नकारात्मक प्रभाव पार्न सक्ने बताएका थिए।
प्रकाशित: ८ माघ २०८१ १६:१८ मंगलबार