९ माघ २०८१ बुधबार
image/svg+xml
समाज

चुरे फेदीका बासिन्दालाई शुद्ध खानेपानीको राहत

लहान नगरपालिका अन्तर्गत चुरे फेदीका बासिन्दाको वर्षौंदेखिको शुद्ध खानेपानीको लालसा अब पूरा हुने भएको छ।

नगरपालिकाले वडा नम्बर-१६ र १७ का स्थानीयवासीलाई दैलोमै खानेपानी सुविधा पुर्‍याउने योजनाअन्तर्गत बोरिङ जडान सुरु गरेपछि यहाँका बासिन्दामा खुसी छाएको छ।

आइतबारदेखि सुरु भएको बोरिङ जडानसँगै खानेपानी अभावबाट गुज्रिएका स्थानीयको समस्या समाधानको बाटो खुलेको हो।

लहान नगरपालिकाका मेयर महेश चौधरीले उक्त खानेपानी योजनाको शिलान्यास गर्दै स्थानीयलाई अब पिउने पानीकै लागि चिन्ता गर्न नपर्ने विश्वास दिलाए।

यो योजना लहान नगरपालिका, वाटर एड, खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लबको सहकार्यमा सञ्चालित ‘द विकन परियोजना’ अन्तर्गत करिब ६० लाख रुपैयाँको लागतमा सञ्चालन भइरहेको छ।

परियोजनाको सर्वेक्षण अनुसार १ हजार ४१ घरधुरीमा खानेपानीको धारा जडान भएपछि ८ हजार ३९४ स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। २ लाख २५ लिटर पानी भण्डारण गर्न सक्ने क्षमताको ट्याङ्क निर्माण भइसकेको छ भने पाइपलाइन बिछ्याउने काम पनि तीव्र गतिमा भइरहेको छ।

दुई ठाउँमा बोरहोल खन्ने प्रयास असफल भएपछि हाल १ किलोमिटर टाढा अर्को स्थानमा बोरिङको काम भइरहेको हो। बोरहोलको सुरुवातमा नजिकैको पोखरीको पानी देखा परे पनि पछि पोखरी सुक्दा काम रोकिएको थियो।

वडा नम्बर-१६ का अध्यक्ष गडुलबहादुर जर्घामगरले भने, ‘हाम्रो समस्या बुझेर मेयर महेश चौधरीले खानेपानीको काम अघि बढाउनुभएको छ। उहाँकै पहलले यहाँका बासिन्दाको खानेपानी समस्या समाधान हुँदैछ।’

प्रकाशित: ८ माघ २०८१ १६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App