नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन तथा नियमलाई कार्यान्वयन नगर्ने तीन वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंकलाई कारबाही गरेको हो । नियामक निकायको निर्देशक उलंघन गरेको कारण राष्ट्र बैंक सञ्चालक समितिको बैठकले तीन वटा बैंकलाई सचेत गराउने निर्णय गरेको छ ।
राष्ट्र बैंकले एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको जनाएको छ ।
एनआईसी एसिया बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बर्द्धन संस्थालाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्ध संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकामा राष्ट्र बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने भनेको छ ।
राष्ट्र बैंकबाट एनआईसी एशिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना गरेको नपाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (ग) अनुरुप एनआईसी एसिया बकैंलाई देहायबमोजिमको लिखित आदेश जारी गरेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य÷निर्णय नगर्न तथा नगराउन र यस बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न÷गराउन एवं सुधारको कार्ययोजना बनाई लागू गर्न समेत राष्ट्र बैंकले एनआईसी एसियालाई निर्देशन दिएको छ । निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुरुप हुने गरी जोखिम भार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन राष्ट्र बैंकलाई नियमित उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागू गर्न एनआईसी एसियालाई भनेको छ ।
प्रभु बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२को दोस्रो त्रैमासमा जारी गरेको कारबाहीको सूचनामा यस्तो उल्लेख छ । क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम प्रभुले नघटाएको जनाएको छ ।
त्यसैगरी, बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएको। साथै, निजलाई सञ्चालक पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिइएको जनाएको छ । स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरी देखिएको तथा निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत समयमै सुधार गर्न प्रभु बैंक अग्रसर रहेको नदेखिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्था पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ ।
प्रकाशित: ८ माघ २०८१ १६:१८ मंगलबार