coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एउटै कम्पाउन्डभित्र तीन भाइको बास

–रामकुमार डिसी

बुबा बित्दा उनी लुम्बिनीको कार्यक्रममा थिए ।
आमा बित्दा पार्टीको स्थायी कमिटीको बैठकमा थिए ।
नातिनी जन्मिँदा उनी काठमाडौँबाहिर पार्टीको कार्यक्रममा व्यस्त थिए ।  
‘आमाबुबाको जीवनको अन्तिम घडीमा पनि उहाँहरूको साथमा हुन सकिनँ,’ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल यसो भनिरहँदा अत्यन्त भावुक भएका थिए । चैत पहिलो साता काठमाडौँ, कोटेश्वरस्थित उनको निवास पुगेर हामी उनलाई राजनीतिमा लागेर चुकाएका मूल्यहरूबारे सोधिरहेका थियौँ ।
राजनीतिले उनलाई के–के दियो ? सबैभन्दा ‘कोभेटेड’ चिज  प्रधानमन्त्रीको कुर्सी दियो । अनि, राजनीतिले उनीसँग के–के खोस्यो ? सायद व्यक्तिगत दुःखसुखका यस्तै मूल्यवान् पलहरू खोस्यो । तर, उनलाई कुनै गुनासो छैन । ‘राजनीतिकर्मीलाई व्यक्तिगत गुनासा गर्ने अधिकार कहाँ हुन्छ र ? यस्ता कुराले उसलाई शोभा पनि दिँदैनन् । यसको अर्थ ऊ निष्ठुर हुन्छ भन्ने पनि होइन । यत्ति हो, राजनीतिमा लागेर बृहत्तर हितबारे सोच्ने मान्छेले केही मूल्य अवश्य चुकाउनुपर्छ, व्यक्तिगत तथा पारिवारिक तहमा ।’
एउटै कम्पाउन्डमा तीन भाइका घर
तेह्र वर्षकै उमेरमा उनी राजनीतिमा लागेका थिए । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाउँदा १७ वर्षका मात्रै थिए । राजनीतिक जीवनको अधिकांश समय पार्टीको मुख्य पद र सत्तामा रहेका उनीबाट विगत अढाई दशकदेखि कुनै न कुनै रूपमा नेपालको राजनीति प्रभावित भइरहेको छ ।

 पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधव नेपालका तीन भाइको घर एउटै कम्पाउन्डभित्र छ, काठमाडौँ, कोटेश्वरमा । हरेक चाडबाडमा पारिवारिक जमघट भइरहन्छ ।


नेपाल २००९ सालमा रौतहट जिल्लाको सदरमुकाम गौरको शिक्षित मध्यमवर्गीय परिवारमा जन्मेका हुन् । उनी मंगलकुमार र दुर्गादेवीका जेठा छोरा हुन् । उनका एक दिदी, एक बहिनी र दुई भाइ छन् ।  
गौरमा जग्गाजमिन थुप्रै भए पनि उच्च संस्कृत शिक्षा हासिल गरेका कारण उनका पिता मंगलकुमार शिक्षण पेशामा लागे । ‘बुबाले राम्रो  संस्कृत शिक्षा हासिल गर्नुभयो । व्याकरणाचार्य गर्नुभयो । भारत, बिहारको मुजफ्फरपुर विश्वविद्यालयबाट संस्कृतमा अचार्य गर्नुभयो । साहित्यरत्न हुनुभयो,’ पिताबारे नेपालले भने, ‘हाइस्कुलदेखि पढाउन थाल्नुभएको, क्याम्पस प्रमुखसम्म हुनुभयो ।’
आफ्नो पुर्खाहरूको खास थातथलो भने नुवाकोटको झिल्टुङ भएको उनी बताउँछन् । आफ्ना अग्रज पुस्ता केही समय भारत पनि बसेको उनले बताए । ‘नुवाकोटबाट मेरो बाजेका बुवाहरू भारत, बिहार राज्यको सीतामणि जिल्लामा बसाइ सर्नुभयो,’ उनले भने, ‘पछि हाम्रा बुबाहरू विभिन्न हिसाबले यता पनि जोडिनुभयो र नेपालमै फर्किनुभयो ।’
बुबाले तीन भाइबीच पहिले नै अशंवण्डा गरिदिएको उनले बताए । ‘अहिले तीनै भाइको काठमाडौँमा घर छ । कोटेश्वरमा एउटै कम्पाउन्डभित्र तीन भाइका छुट्टाछुट्टै घर छन् । गेट भने एउटै छ,’ उनले भने ।  
उनको आफ्नै परिवार भने छ जनाको छ । उनकी श्रीमती गायत्री नेपाल, छोरा सौरभ र उनकी श्रीमती, छोरी सुमन र उनकी सानी छोरी छिन् । ‘छोरीले एमडी गरेकी छिन् । अहिले उनी मेडिकल डाक्टर हुन् । छोराले इन्जिनियरिङमा एमई गरेका छन् । उनी अस्ट्रेलियामा छन्,’ नेपालले भने ।
भूमिगत बिहे
माधव–गायत्रीको पे्रम विवाह भएको हो । पार्टीको कामका क्रममा पिरती बसेपछि २०३८ सालमा उनीहरूको बिहे भयो । ‘पार्टीको जिम्मेवारीका लागि म २०३७ सालमा काठमाडौँ आएँ,’ नेपालले सम्झिए, ‘उपत्यका समन्वय कमिटीमा मेरो महिला फाँट हेर्ने र विद्यार्थी संगठनहरूमा अधिवेशन सञ्चालन गर्ने जिम्मेवारी थियो । यसै क्रममा गायत्रीसँग चिनजान भयो । चिनजान हुँदै गर्दा मैलै मन पराएँ । प्रेम प्रस्ताव पनि राखेँ । त्यसपछि पार्टीले गोप्य रूपमा विवाह गराइदियो । यसरी हाम्रो भूमिगत बिहे भयो ।’

गायत्रीको पनि राजनीतिक पृष्ठभूमि बलियो छ । ताप्लेजुङमा जन्मेकी हुन् उनी । पछि परिवार झापा बसाइँ स¥यो । उनले त्यहीँबाट एसएलसी गरिन् । अनि, धरानबाट इन्टरमिडियट गरिन् । त्यसपछि काठमाडौँ आएर  शंकरदेव क्याम्पसबाट स्नातक गरिन् । २०३६ सालमा शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएकी उनी अनेरास्ववियुको छैटौँ अधिवेशनबाट केन्द्रीय सचिवालय सदस्य पनि निर्वाचित भइन् । अहिले पार्टीको केन्द्रीय विभाग सदस्य रहेकी उनी विभिन्न सामाजिक संगठनमा पनि सक्रिय छिन् ।
बिहेपछि भने गायत्रीको राजनीतिक यात्रा अलिक मत्थर भयो । राजनीतिक सक्रियतालाई कम गर्दै घरबार चलाउन उनी जागिरमा लागेको नेपाल बताउँछन् । उनले विद्युत प्राधिकरण र ‘न्यू इरा’ भन्ने संस्थामा काम गरिन् । त्यस्तै, काभ्रे र  धादिङको स्कुलमा पढाइन् । पढाउँदै गर्दा राष्ट्रिय वाणिज्य बैंकमा नाम निस्कियो । बैंकमा दशौँ तहसम्म बढुवा भएर वरिष्ठ अधिकृत भइन् । उनी पोहोर मात्रै रिटार्यड भएकी हुन् । ‘म प्रधानमन्त्री भएको बेला पनि उनी अफिस जाने गर्थिन्,’ नेपालले भने ।
गायत्रीको आड–भरोसा   
दिदी, बहिनी र भाइहरूको परिवार पनि काठमाडौँमै भएकाले प्रायः पारिवारिक जमघट भइरहन्छ । ‘काठमाडौँमा हामी तीन दाजुभाइको घर एउटै कम्पाउन्डभित्र छ । सानातिना पर्वमा पनि हाम्रो परिवारको जमघट भइहाल्छ,’ नेपालले भने, ‘जमघटका बेला राजनीतिलगायत विभिन्न विषयमा गफगाफ चल्छ ।’

घरपरिवारको व्यवस्थापन गायत्रीको काँधमा छ । ‘मेरो राजनीतिक पाटोबाहेक सबै उनको जिम्मामा  हुन्छ,’ नेपालले भने, ‘मैले समय दिन नसक्दा घरपरिवारको सबै जिम्मा उनकोे काँधमा गयो । श्रीमतीको जागिर भएकाले मैलै आर्थिक जिम्मा लिन परेन । उनको कमाइले घर व्यवस्थापन गर्न पुग्थ्यो ।’
नेपाललाई घरपरिवार, छोराछोरीप्रति अलिक संवेदनशील भइनँ कि जस्तो लाग्छ । ‘काम प¥यो भने खाना छोडेर भए पनि हिँडिदिने मेरो बानी छ,’ उनले भने, ‘दुई मिनेट ढिला हुन्छ भने पनि म खान छोडेर हिँड्छु । पार्टी मात्रै सोच्ने, घरपरिवारलाई समय नदिने समस्या थियो । छोराछोरी जन्मिँदा, उनीहरूलाई हुर्काउँदा मैलै अलि संवेदनशीलता देखाइनँ कि भन्ने पनि लाग्छ अहिले ।’  

‘मेरो राजनीतिक पाटोबाहेक सबै कुरा गायत्रीको जिम्मामा  हुन्छ । मैले समय दिन नसक्दा घरपरिवारको सबै जिम्मेवारी उनकोे काँधमा गयो । उनको जागिर भएकाले मैलै घर चलाउने चिन्ता लिनु परेन ।’


बेलाबेलामा देशमा राजनीतिक उतारचढाव हुँदा आफूसँगै परिवारले पनि दुःख खेप्नुपरेको नेता नेपालले बताए । ‘मलाई तीन महिना आफ्नै घरमा बन्दी बनाइयो,’ उनले भने, ‘अर्को तीन महिना ककनीमा नजरबन्दमा राखे । तर, यस्ता राजनीतिक दुःख त उठाउनैपर्छ । गायत्रीको पनि राजनीतिक पृष्ठभूमि भएकाले अलिक सजिलो चाहिँ भयो । मैले जीवनभरि उनको आड–भरोसा पाएँ ।’
नेपाल आफ्नो सफलताको सम्पूर्ण श्रेय श्रीमती गायत्रीलाई दिन्छन् । ‘मेरो सफलताको पछाडि गायत्रीको अमूल्य योगदान छ,’ उनले भने, ‘उनीविना म यसरी अगाडि बढ्न कदापि सक्दिनथेँ ।’

सपरिवार घुम्न जाने फुर्सद पाउनै कठिन हुने नेपाल बताउँछन् । ‘कोसिस गर्छु तर मेरो टाइम नै मिल्दैन,’ उनले भने, ‘कहिलेकाहीँ परिवारका अरू सदस्य मात्रै घुम्न जान्छन् । तर, कहिलेकाहीँ भने गायत्री र म विदेश जान्छौँ । अस्ति भर्खर अमेरिका गएका थियौँ । चीन पनि गएका थियौँ । देशभित्रका कार्यक्रममा बेलाबेला श्रीमतीलाई लैजाने गरेको उनले बताए ।
नेपाल दम्पतीमा पनि कहिलेकाहीँ ठाकठुक पर्छ । ‘पतिपत्नीबीच ठाकठुक हुनु कुन ठूलो कुरो हो र ?’ नेपालले भने, ‘कार्यक्रममा भाग लिने कुरामा, समय व्यवस्थापन गर्ने कुरामा, छोराछोरीलाई हेरविचार गर्ने कुरामा समय दिन नसक्दा हल्का ठाकठुक भैहाल्छ ।’
गायत्रीको स्वभाव शान्छ । ‘मलाई कहिलेकाहीँ रिस उठ्छ,’ नेपालले भने, ‘ बाल्यकालमा म धेरै रिसाउने मान्छे हुँ । स्वभावले पनि म कडा मान्छे हुँ । त्यो कडापन अहिले चाहिँ छैन ।’  
सरल परिवार, सामान्य खर्च
नेता नेपाललाई अध्ययनमा गहिरो रुचि छ । ‘सबैभन्दा बढी समय पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘मलाई विदेश गएको बेला किताब किन्नैपर्छ । गायत्रीलाई उपन्यासमा रुचि छ । मलाई ‘यो पढ्नुस्’ भनेर किनेर ल्याइदिन्छिन् । जेलमा बस्दा धेरै किताब पढेँ । एसएलसी दिएपछि  जासुसी उपन्यास खूब पढियो ।’

‘काम पर्यो भने खाना छोडेर भए पनि हिँडिदिने मेरो बानी छ । पार्टी मात्रै सोच्ने, घरपरिवारलाई समय नदिने समस्या थियो । छोराछोरी जन्मिँदा, उनीहरूलाई हुर्काउँदा मैलै अलि संवेदनशीलता देखाइनँ कि भन्ने लाग्छ ।’  


लाउने–खाने कुरामा आफ्नो परिवारको रुचि सरल र सामान्य भएको नेता नेपाल बताउँछन् । ‘आमाबुबाकै पालादेखि हाम्रो स्वात्विक परिवार हो,’ उनले भने, ‘एसएलसीसम्म म पनि माछामासु खान्नथेँ । पछि आफन्त, नातेदारका करले मासु खान थालियो । सामान्य खानामा हाम्रो बानी बसिसकेको छ । सागपात, स्वास्थ्यवद्र्धक र थोरै खानामा हाम्रो जोड हुन्छ । हाम्रो खर्च पनि सामान्य छ ।’
परिवार अनिवार्य
नेता नेपाललाई एकअर्काबीच समझदारी र सम्मान भए श्रीमान– श्रीमतीको सम्बन्ध बलियो हुन्छ भन्ने लाग्छ । ‘समझदारी चाहिन्छ,’ उनले भने, ‘एकअर्कालाई बुझ्नुपर्ने आवश्यकता हुन्छ । एकले अर्कालाई सम्मान गनुपर्छ । सम्मान गरियो, समझदारी भयो भने सम्बन्ध बलियो हुन्छ ।’
नेपाललाई परिवार अनिवार्य संरचना लाग्छ । ‘परिवार, पारिवारिक एकता भनेको पूर्वीय दर्शन र संस्कृतिको ठूलो विशेषता हो,’ उनले भने, ‘परिवारले सामाजिक भावना पैदा गर्छ । माया, प्रेम, स्नेहजस्ता मानवीय भवनाको उजागर गर्छ ।’

(नागरिक परिवारबाट)

प्रकाशित: १८ वैशाख २०७४ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App