
काठमाडौँ, वैशाख ३ (नागरिक)- प्रधानमन्त्री एवम् नेपाल ललितकला प्रतिष्ठानका संरक्षक माधवकुमार नेपालले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज बिहान आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति किरण मानन्धरलाई कुलपति पदको पद तथा गोपनीयताको सपथ गराए।
सोही समारोहमा कुलपति मानन्धरले प्रतिष्ठानका उपकुलपति एवम् सदस्यहरूलाई पनि पद तथा गोपनीयताको सपथ गराए।
सो प्रतिष्ठानका उपकुलपतिमा ठाकुरप्रसाद मैनाली, सदस्यसचिवमा के.के. कर्माचार्य र सदस्यहरूमा कर्ण मास्के, रविनकुमार कोइराला, ओम खत्री, शारदा चित्रकार, शान्तकुमार राई र रागिनी उपाध्याय छन्।
सपथग्रहण समारोहमा सदस्य रागिनी भने अनुपस्थित थिइन्।
कलाकार रागिनी उपाध्यायले नवगठित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञपरिषद तथा प्राज्ञसभाबाट राजीनामा दिएको घोषणा गरेकी छिन्।
अन्तरिम संविधानले गरेको महिलाको समानुपातिक सहभागिताको सुनिश्चिततालाई प्रतिष्ठानको गठनमा बेवास्ता गरिएको रागिनीले बताइन्। 'महिला प्राज्ञलाई निर्णायक तहमा नराखी राजनीतिक र पार्टी भागबन्डाको आधारमा चयन गरिएको छ,' बुधबार प्रेस वक्तव्यमार्फत् उनले भनिन्, 'महिला कलाकारको उपस्थिति नगन्य रहेकोले कुनै योगदान गर्न नसकिने देखी राजीनामा दिएकी हुँ।'
प्रधानमन्त्रीले गत चैत ३१ गते संस्कृतिमन्त्री डा मीनेन्द्र रिजाल संयोजक रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई नियुक्त गरेका हुन्।
प्रकाशित: २ वैशाख २०६७ २३:५२ बिहीबार





