५ वैशाख २०८१ बुधबार
अन्य

अविस्मरणीय अन्वेषक

नेपाली साहित्यका एक सशक्त अनुसन्धानकर्ता र संस्मरणकारिताका कुशल शिल्पकार कमलमणि दीक्षितको १३ पुुस, २०७३) को राति निधन भएको छ । कालावधि पुगेपछि जीवनको पटाक्षेप हुने गर्छ, यो सृष्टिको चाक्रिक गति हो । तर, जाने गए पनि बाँचेकाहरूका मनमा शोकानुभूतिका साथ रिक्तताको बोध पनि गराएर जान्छन् । उनको निधनले नेपाली साहित्यका स्रष्टा र पाठकका मन शोकाकुल भएका छन् । सतासी वर्ष लामो जीवनकाल भोगेर देहावसान भएका उनले नेपाली जगत्लाई साहित्य, भाषा र मुद्रण क्षेत्रको इतिहास खोतल्नमा र उन्नयनमा बिर्सिनसक्नु गुन लगाएका छन् । उनले खोज–अनुसन्धानको क्षेत्रमा प्रवेश गर्दा नेपाली साहित्यको यो क्षेत्र अव्यवस्थित र अन्योलपूर्ण थियो ।

त्यस्तो क्षेत्रलाई व्यवस्थित गर्दै अनेक अनुसन्धानात्मक लेख–निबन्ध उनले नेपाली साहित्य जगत्लाई दिए र पछिसम्म कायम रहने वैचारिक उद्वेलन पैदा गरे । साहित्यको इतिहासलाई सहयोग पुग्ने उनका अनुसन्धानले पुराना र अज्ञातमा गायब लेखक र तिनका रचनाहरूलाई नेपाली साहित्य जगत्मा स्थापित गर्ने कार्य ग¥यो । उसै पनि प्रतिफलशून्य  अनुसन्धान क्षेत्रलाई निस्वार्थताका साथ सबलीवृmत गर्दै उनले खोज–अनुसन्धानका उपलब्धिपूर्ण ग्रन्थहरू दिएर गएका छन् । उनी साहित्यसँग सम्बन्ध राख्ने जुनसुकै अनुसन्धानलाई पनि रमाइलोका साथ सम्पन्न गर्थे । उनका अनुसन्धानात्मक लेखरचनामा यो सहजता प्रतिबिम्बित छ । उनको सुरुको खोज–अनुसन्धानमूलक कृति ‘बुइँगल’ले नेपाली साहित्यमा धेरै पछिसम्म बहस र विमर्श चलाइदिएको स्मरणीय छ । त्यसपछि नै क्रमशः अनुसन्धाताहरू बाक्लिँदै आएका पनि हुन् । साहित्यको इतिहासको अनुसन्धान गरिने काम संलग्नतापूर्ण तपस्या हो भन्ने उनले स्थापित गरे ।

कमलमणिसित संस्मरणको भण्डार नै थियो । त्यो भण्डार त अब उनीसँगै गयो । उनले संस्मरणलाई कसरी रोचक बनाउन सकिन्छ भन्ने कलाकारिता वा रोचकता सिर्जना गर्ने लेखनको सिद्धि पाएका थिए । देख्नमा अभिजात दीक्षितीय प्रखर विद्वत्ता झल्किने उनको अनुहार सधैँ हँसिलो र रापिलो देखिन्थ्यो । उनीभित्र नेपाली साहित्यको संग्रहण र संरक्षणको जुन उत्साह थियो, त्यो नेपाली साहित्यमा अब लुप्तप्रायः छ । नेपाली भाषालाई अकारण बाधकका रूपमा लिने र देख्नेहरूको कट्टर जमात यता आएर बढेको छ । नेपाली भाषालाई बेमाख पारेर अर्को कुन भाषा स्थापित गर्ने हो त्यसको खाका उनीहरूसँग पनि छैन । त्यतिमात्र होइन, आफ्नै भाषाको साहित्यलाई अघि बढाउने क्षमता पनि तिनमा छैन । यताको समयमा भाषाद्वेषको यो प्रवृत्तिले कमलमणिलाई केही खिन्न पारे पनि निरुत्साहित भने गर्नै सकेन ।

उनी नेपाली भाषाप्रति समर्पित एक विनम्र भाषासेवक थिए । उनले नेपाली साहित्यका प्रतिभाहरूलाई वार्षिक दिइने मदन पुरस्कार मात्र स्थापना गरेनन्, भाषाको क्षेत्रमा समेत दीर्घ सेवा गर्नेहरूका लागि जगदम्बाश्री पुरस्कार स्थापना गरे । यी दुवै पुरस्कार नेपाली भाषामा लेख्ने वा नेपालीभाषीइतरका प्रतिभा हुन् उनले समान रूपमा मूल्यांकन गरे । गैरमातृभाषाका नेपालीहरूलाई बिनाभेदभाव नेपाली भाषामा सिर्जना गरिएका तिनका उत्कृष्ट रचना र भाषा प्रचारक तथा सेवकलाई प्रदान गर्ने परम्परा पुरस्कारको स्थापनाकालदेखि नै कायम रहँदै आएको  छ । समयअनुसार भाषिक द्वेषलाई छाडेर आआफ्नो भाषाको विकासमा सबैले संलग्न रहनुपर्ने समय हाम्रा अघिल्तिर आएर बसेको छ ।

नेपाली साहित्यलाई प्रगाढ रूपमा माया गर्थे उनी । उनको अर्को विशेषता भनेको नेपाली भाषाको संरक्षणका लागि जागरुक भगीरथ प्रयास पनि हो । उनले गरेको नेपाली साहित्य र भाषाको संरक्षणका धैर्य र प्रयासलाई प्रेरक मान्दै निर्वाह गर्ने क्षमता हालको पुस्तामा पाउन सकिँदैन । तर, उनले नेपाली साहित्य र भाषाको निधि मानिने मदन पुरस्कार पुस्तकालय आउँदो अनुसन्धान उत्साही पुस्ताका लागि छाडेर गएका छन् । यो उनको अमूल्य देन हो ।  

कमलमणि नेपाली साहित्यका विविध पक्षको निरन्तर परिचय पाउन तम्तयार रहन्थे । उनलाई भेट्दा अभिजातीय उदासीनता र औपचारिकता निर्वाहको आडम्बर देखिँदैनथ्यो । उनीसँग सहमत हौँ वा नहौँ विचारको आदानप्रदान अत्यन्त सरलताका साथ गर्न सकिन्थ्यो । नेपाली भाषामा लेख्नेहरूको विचार उनी बरोबर आमन्त्रण गर्थे । यसको उदाहरण उनले जग बसालेको ‘नेपाली’ नामक त्रैमासिक पत्रिकाले दिन्छ । त्यसमा प्रकाशित लेखरचना वा निबन्धहरूको एउटा गहकिलै संग्रह हुन सक्छ । त्यस पत्रिकाले नेपाली साहित्यको निरन्तरता र यसको नवीनतालाई पनि पाठकसमक्ष ल्याइदिने काम गरेको छ । यसो गर्न उनी बरोबर सचेष्ट पनि थिए । उनको शेषपछि यो कार्य कसरी अघि बढ्छ भन्ने प्रतीक्षाको विषय बन्न पुगेको छ ।

कमलमणिलाई देख्नेहरूले उनको टाउकोमा सदैव शोभायमान सफा र चिटिक्कको टोपीसहितको उज्ज्वल अनुहार र छवि बिर्सन सकोइनन् । उनको स्मृतिको उज्ज्वलतालाई शब्दका माध्यमबाट व्यक्त गर्न असम्भव पनि छ । व्यक्ति आफूमा केही न केही वैचारिक मुद्दाहरू लिएर बाँचेको हुन्छ । कमलमणि यस्ता व्यक्ति थिए जो साहित्यक विवादतिर धेरै संलग्न रहन चाहन्नथे । तर, यसको अर्थ यो थिएन, उनी मौन रहेर सबै विवादलाई सहमति दिन्थे । उनी आफ्नो साहित्यक विचारको पक्षलाई निबन्ध वा संस्मरणका रूपमा प्रस्तुत गर्थे । उनमा पुराना र अज्ञात लेखकहरूबारे ठूलो जिज्ञासा थियो ।

नेपाली साहित्यमा जब अनुसन्धानको कमी थियो र पुराना लेखकहरूको लेखनकार्यको खोजी हुन सकिरहेको थिएन त्यसबेला कमलमणिको कलमले रोचकाता साथ धेरै कुरा अघि ल्यायो । यो परम्परालाई उनले पछिसम्म जारी राखे ।

साहित्य भनेको एक दिन वा एक रातको उपलब्धि होइन र हुन पनि सक्दैन । नेपाली साहित्यको जग बसाल्नमा पुरानो साहित्यको योगदान प्रचुर छ । यो कुरा उनी त्यस समय लेखिएका रचनाका पाठहरू र लेखकको जीवनीसमेत दिएर सिद्ध गर्थे । नेपाली साहित्यलाई उनको कलमले देशविदेशमा छरिएर हराउन लागेका कतिपय पुराना लेखकहरूको परिचय दियो । ती लेखक देख्नमा मामुली भए पनि तिनले लेखेको साहित्यिक योगदानका कृतिहरूबारे नेपाली पाठकले उनकै कलमबाट कृतज्ञतापूर्वक परिचय पाएको छ । आजको दिनसम्म आइपुग्दा मदन पुरस्कार पुस्तकालयमा संग्रह गरिएका पुस्तक–पत्रिकाहरू हेरेपछि यो थाहा पाइन्छ ।

यसका अतिरिक्त मुद्रणको क्षेत्रमा नेपाली प्रकाशन जगत्ले कस्तो अपूर्व प्रगति गरेको छ त्यो विषय पनि मदन पुरस्कार पुस्तकालयमा संग्रह गरिएका पुस्तकहरू हेरेर थाहा पाइन्छ । मुद्रण क्षेत्रमा पनि कमलमणिको रूचि थियो । उनी आधुनिक मुद्रणसम्बन्धी कार्यको बरोबर अध्ययन गर्थे । मुद्रणको तीव्र प्राविधिक विकासलाई अत्यन्त रूचिका साथ हेर्नेमात्र होइन त्यो प्रविधि भिœयाउन लालायित पनि रहन्थे । उनले नेपाली मुद्रण जगत्को विकासका लागि अनेक सहयोगी काम गरेका छन् ।

आज हामीबीच उनी छैनन् । उनको निधनको समाचार सुनेर स्तब्ध नहुने कमै होलान् । आफ्ना असल कार्यहरूद्वारा अविस्मरणीय व्यक्तित्व बनाएका उनको महाप्रस्थानले शून्यता पैदा गरिदिएको छ । तर, सबै भौतिक देहको एउटा कालसीमा त हुन्छ नै । कमलमणिले देह त्यागेर गए पनि उनका दीर्घजीवी कार्यले नेपाली साहित्यक सधैँ उनीप्रति ऋणी रहने छ र सदा श्रद्धाका साथ स्मरण गरिरहने छ । उनले हाम्रा लागि साहित्यका क्षेत्रमा धेरै असल कामको बिरासत छाडेर गएका छन् ।   
 

प्रकाशित: २३ पुस २०७३ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App