अनन्त वाग्ले
सानी छोरी फुरुक्क परेकी थिई। सन्तान सुख एक बेग्लै सुख हो सायद। छोराछोरीको मुहारमा छचल्किने खुसीमै आमा–बाबु आनन्दित हुन्छन्। मातृत्व–पितृत्वको अनुभव जीवनको एक भव्य अनुभव हो। मान्छे पाको होस् वा बच्चा तिनको खुसीका लागि खासै ठूला कारण चाहिन्न। त्यो दिन बिदा थियो। म उसलाई घुमाउन लैजाँदै थिएँ। बस् यत्ति नै थियो उसको खुसीको मूल कारण। खाना खाने टेबुलवरिपरि पनि उ नाच्तै थिई। बिहानैदेखि तम्तयार थिई ऊ घुम्न जान।
सहर रापिलो बन्दै थियो। वस्तीमा ऋतुराज वसन्तको पदार्पण भइसकेको थियो। सडक पेटी र खुला ठाउँमा फुलेको नीलो शिरीषले सहर निलिमामय देखिन्थ्यो। नीलो रापमा छोरी डोर्याउँदै थिएँ म रत्नपार्कमा। बिदाको दिन भए पनि यो साँघुरो सहरमा सबारीको चापाचाप नै थियो। फुटपाथ व्यापारीको मग्नको दिन थियो त्यो। नगर रक्षकको किचकिचबाट मुक्त महसुस गर्दै निस्पि्कक्री सामान फिँजारिरहेथे तिनले। सुक्दै गरेको रानीपोखरीको डिलमा गणेशमानको फुस्रो सालिक गणतन्त्रका नागरिकको चहलपहल नियाल्दै थियो।
मैले 'स्टोरी गार्डेन' म्यागेजिनमा भर्खरै पढेको 'बेगार मास्टर' कथाको नायक सम्भि्कएँ। जसमा बालबालिका र अबोधहरूलाई बेपत्ता पारिन्छ। अन्ध–अपांग बनाइन्छ। अनि सडकमा माग्न राखिन्छ। उनीहरूले मागेको पैसा हरेक साँझ मास्टर बेगारले जम्मा गर्छ। ती सबैको कमाइको मालिक बनेर मास्टर बेगारले ठूलो धनराशि जम्मा गर्छ। ऊ राजनीतिमा लाग्छ। अनि सहरको गिनेचुनेको नेतामा दरिन्छ।
छोरीलाई घुमाउन भृकुटीमन्डप उपयुक्त हुन्थ्यो। तर, म आइपुगेको थिएँ रत्नपार्क। छोरी नयाँ धरहरा बन्यो कि बनेन भनेर हेर्न खोज्दैथी। मैले 'सुरु नै भएको छैन' भनेर सोझै रत्नपार्क ल्याइपुर्याएको थिएँ। उसले पुरानो धरहरा कतिपटक चढ्नु भयो भनेर प्रश्न गरी। मैले भनेँ– 'चार पटक।' उसले 'को–कोसँग' भनेर फेरि सोधी। केटाकेटीका प्रश्नको जवाफ नदिँदा या झर्कोफर्को गर्दा उनीहरू चित्त दुखाउँछन्। त्यसैले म प्रायः तिनका प्रश्नको जवाफ दिइरहन्छु। मैले सम्झँदैसम्झँदै भनेँ– 'एक पटक तिम्रो मम्मीसँग। एक पटक दादालाई लिएर। एक पटक कृष्ण अंकलसँग। अनि अर्को एक पटक एकजना आन्टीसँग।'
'को आन्टी?' छोरीका प्रश्नको शृंखला सकिएला जस्तो लागेन।
'तिमीले नचिनेको आन्टी क्या।' मैले जवाफ दिएँ। अब त अर्को प्रश्न नआउला भन्ने मेरो आशाविपरीत छोरी धाराप्रवाह पो गई, 'नचिनेको आन्टी भनेको को?'
'नचिनेको मान्छेसँग पनि हिँड्नु हुन्छ त? गर्लफ्रेन्ड हो तपाईंको? मम्मीलाई भन्दिन्छु म त!'
यसपल्ट मैले हाँसेरै सबै प्रश्नको जवाफी कारबाही चलाएँ। यो नौ वर्षे उमेरमा उसको चेतनाप्रवाह देखेर म आश्चर्यचकित हुँदै आएको छु। हुन त जन्मनासाथ ग्याजेटसँग खेल्दै हुर्कने यो पुस्ताको चेतनास्तर यत्तिको हुनु अस्वभाविक पनि त हैन। खाली खुट्टा घन्टौँ हिँडेर स्कुल गएको, गाउँमा टेलिभिजनमा रामायण हेर्न बच्चु काकाको घरमा गाउँलेको भीडमा छिरेको जस्ता यावत् घटनाले पछ्याइरहन्छन् मलाई।
छोरीले चित्त बुझाइ कि नाइँ! तर, उसले गणेशमानको सालिकमुनि बगैँचाको कुर्सीमा मलाई डोर्याउँदै लगी। अनि ह्याङ्कीले धुलो पुछ्दैै आसन ग्रहण गरी। मलाई सँगै बसाइ र चारैतिर हेर्न थाली।
छोरी आफ्नै तालमा यताउता गर्दै थिई। म आफ्नै सुरमा मानिसको चहलपहल नियाल्दै थिएँ। यो महानगरमा देखिने अनेक अनुहार, अनेक मान्छे, तिनका अनेक रंग! हरेकका आआफ्नै भावभंगिमा। आआफ्नै हिँडाइ अनि बोलाइ। आवाल, वृद्ध, वनिता। माग्ने, पाकेटमार, हकर। पागल, प्रेमी, चटकी।
'बाबा ˜ ˜ ˜!', एकैछिनमा छोरीको अप्रत्यासित आवाज सुनियो। आँखा बायाँ घुमाएँ। एउटी अधबैँसेले छोरीलाई समातिरहेकी थिइन्। पहिले त ठानेँ, पागल आइमाई होली। अब बित्यास पार्ने
भई।
नजिकै गएँ। आइमाई पागलजस्तो लागेन। भलै उसले लगाएका लुगा केही अर्धाना थिए। कपाल नकोरिएको र छिरलिएको थियो। अनुहारमा गहिरो पीडाका धर्सा देखिन्थे। पसिनाले लतपत अनुहारमा ऊ हाँसो ल्याउन करबलले कोसिस गर्दै थिई।
'नानी! नानी! म माया गर्छु। म केही गर्दिनँ। लाऊ जुस खाउ, लाऊ।' आइमाईले एक हातले मेरी छोरीको पाखुरी समातेकी थिई। अर्को हातले फ्रुटीको पाकेट दिइरहेकी थिई। आफै क्लान्त, थकित र पसिनाले भिजेकी यस आइमाईलाई चिन्नु न जान्नु अर्काको बच्चालाई किन फ्रुटी खुवाउनु पर्या हो! मेरो बोधो दिमाग पनि तात्न खोजिरहेको थियो।
मैले 'स्टोरी गार्डेन' म्यागेजिनमा भर्खरै पढेको 'बेगार मास्टर' कथाको नायक सम्भि्कएँ। जसमा बालबालिका र अबोधहरूलाई बेपत्ता पारिन्छ। अनि तिनका मिर्गौला झिकिन्छ। अन्ध–अपांग बनाइन्छ। अनि सडकमा माग्न राखिन्छ। उनीहरूले मागेको पैसा हरेक साँझ मास्टर बेगारले जम्मा गर्छ। उसको अधीनमा भारतीय सहरमा धेरै माग्नेहरू हुन्छन्। ती सबैको कमाइको मालिक बनेर मास्टर बेगारले ठूलो धनराशि जम्मा गर्छ। ऊ राजनीतिमा लाग्छ। अनि सहरको गिनेचुनेको नेतामा दरिन्छ। आफैलाई दरिलो बनाउँदै सोचेँ– 'यो आइमाई यस सहरकी बेगार मास्टर त पक्कै नहोली नि!'
'भैगो दिदी भैगो। छाड्दिनुस्।' तैपनि दिमाग तातेको संकेतसम्म पनि नदिनेगरी मैले भनेँ– 'यो नानी बैगुनी छे। माया गरेको पनि बु‰िदन, बद्मास! यस्तो गर्मी भइराछ, आफै खाइदिनुस् दिदी यो फ्रुटी।'
'बाबु! तपाईंकी छोरी हुन् यी?' त्यो आइमाईले मतिर गम्भीर ढंगमा हेर्दै प्रश्न सोधी– 'मलाई तपाईंकी छोरी मन पर्यो। कस्ती राम्री छोरी यो! मलाई छोरी मान्छेको असाध्यै माया लाग्छ।'
यति भनेर आइमाई अस्वाभाविक हाँसो हाँस्न थाली।
'छोरी, यो मेरी छोरी। मसँग नमान्ने छोरी। मैले देको जुस नखाने छोरी। जाऊ, जाऊ। तिम्रै बाबासँग जाऊ।' ऊ करुण दृष्टिले मेरी छोरीलाई नै हेरेर फत्फताइरहेकी थिई। मेरी बैगुनी छोरी भने दुवै हातले मलाई समातेर मेरो जिउमा लेपास्सिएकी थिई।
म पनि अप्ठेरो महसुस गरिरहेको थिएँ। छोरीमात्र कहाँ र म पनि त संकोची स्वभावकै मनुवा हुँ नि! छोरीले पनि मेरै गुण त लिएकी होली।
'अँ आफैले भन्नुभको होइन नचिनेको मानिसले दिएको चिज नखानु भनेर? अनि किन मलाई बैगुनी भन्या? बद्मास भन्या? म रोइदिउँ?' छोरी लाडे पल्टँदै पिल्पिलाउन पो थाली!
पिलपिल गरिरहेकी छोरीलाई डोर्याउँदै म भोटाहिटीतिर लागेँ। हिँडेपछि भोक लागिहाल्ने छोरीको बानी छँदै थियो। त्यसमाथि अहिले ऊ पिल्पिलाउन पनि थालेकी थिई। मलाई पनि त भोक लागेको थियो। म एउटा मिठाइ पसलमा छिरेँ। दुई ठाउँमा जेरी, पुरी अर्डर गरेर एउटा टेबुल ओगटेँ। बाबु—छोरी टुसुक्क बसेका के थियौँ, त्यही आइमाई हाँस्दै ठिङ्ग उभिन आइपुगी सामुन्नेमा। छोरी फेरि मलाई समातेर लेपास्सिई।
'बस्नुस् न दिदी।' मैले औपचारिकता देखाएँ। भित्रभित्रै उसका बारे अनेक प्रश्न सल्बलाइरहेका थिए। किन उसले पछ्याएकी होली भन्ने लागे पनि उसको अवस्थाप्रति दया नै थियो। धुस्रीफुस्री अति सामान्य पहिरनकी यी गाउँले महिलाको मुहार हल्का पोतोले भरिएको र दुब्लो थियो। खासै आकर्षण नभएकी यी महिला बौलाही होइन, तर उसमा केही असामान्य अवस्था पक्कै छ भन्ने मलाई लागिरहेथ्यो।
ऊ अन्कनाउँदै बसी। तर, मेरी छोरीलाई ऊ सामुन्ने बसेको मन परिरहेको थिएन। मैले अर्को एक ठाउँमा पनि जेरी पुरी थप्न बियरालाई सुझाएँ।
'मलाई पर्दैन बाबु, म खान्नँ। म त यो नानीसँग एकछिन बस्न मात्र आएकी। माफ गर्नुस् बाबु। तपाईं कुनै अप्ठेरो पनि नमान्नु।' महिलाले एकै सासमा भनी। यसले मलाई झन् आत्मीय बनायो। भावनामा चल्ने मनुवा न परेँ! मैले खानुस् न भनेर कर गरेँ।
छोरी, म र महिलाले जेरी, पुरी, तरकारी खायौँ। मलाई महिलाबारे उत्ुसकता शान्त गर्नु थियो। महिलालाई पनि कुरा सुनाउनु थियो सायद। ऊ नै बोल्नमा पहिला भई।
'बाबुलाई यो त पछिपछि पो आइछे भन्ने लाग्या होला। अनि यो कस्ती खालकी आइमाई होला भन्ने लागिरको होला। होइन बाबु?' उसले भनी।
म मुस्कुराइदिएँ मात्रै।
'बाबु म बौलाही होइन। म खराब मानिस पनि होइन। तपाईंकी नानीलाई समातेँ। के ठान्नुभो होला! नानी त तर्किहालिन्। कसले समायो हगि छोरी?' महिलाले फेरि छोरीतिर हेरी। छोरी झनै मतिर लेपास्सिई।
'अनि दिदीको नाम के हो? घर कता हो? यहाँ के गर्नु हुन्छ?' मैले एकै पटक प्रश्नको पेटारो खोलेँ।
महिलाले उदास भएर आकाशतिर हेरी। उसले केही सम्झेझैँ गरी। केही बिर्सेझैँ गरी। अनि मतिर हेरी र फत्फताउन थाली :
'हुन त यहाँ कसलाई कसको कुरा सुन्ने फुर्सद छ र? र पनि बाबुले सोध्नुभयो। बताएर पनि नबताएर पनि केही हुने त होइन। मनको वह पोखे हल्का हुन्छ भन्छन् भन्न त।'
'भन्नुस् न भन्नुस्। मन त हल्का पारेकै राम्रो नि।' मैले पनि उनलाई बोल्न प्रोत्साहित गरेँ। महिलाले फेरि निकेबैर आकाशतिर हेरी। अनि मेरी छोरीतिर हेरी। उसका आँखा आँसुले डबडबाउँदै थिए। पछ्यौरीको छेउले दुवै आँखा पुछी र भनी :
'घर पश्चिमतिर हो बाबु। पर्वत जिल्ला। गाउँ फलेबास। हामी खेती–किसानी गर्थ्यौं। दुई बच्चा थिए। पहिलेको छोरो। अनि छोरी। छोरी यही नानीकी उमेरकी थिई। दस वर्षकी। दुःखजिलो गर्दै थियौँ। तर, खोइ भगवान् हामीसित रिसाएछन्। हामीले कसैको कुभलो त गरेका थिएनौँ...!'
महिला भावुकमात्र बनिनन्, डाँको छोडुँलाझैँ गर्न थालिन्। छोरी उदासिएर महिलालाई हेर्दै थिई र मसँग लेपास्सिएकै थिई।
'भन्नुस् न भन्नुस्। आफ्नै भाइ सम्झनुस् मलाई। कुरो के हो?' मैले महिलालाई बोल्न प्रोत्साहित गरेँ।
'यस्तै गर्मीको एक दिन। छोरी हातमा सयको नोट लिएर कताबाट आई। यत्रो नोट हामीले कहिल्यै उसलाई दिएका थिएनौँ। घरमा पनि उसले पाउने ठाउँमा राख्दैनथ्यौँ। उसले भेटेको त हो नि भन्दै थिई। उसले त्यो हामीलाई पनि दिइन। छोराछोरी बिग्रे कि भनेर शंका पनि त हुन्छ। कहाँबाट चोरेर ल्याकी हो। त्यो खुरुक्क बुझाएर आ। नत्र तलाईं पख्। यस्तैयस्तै गाली गरेँ। गाली के भनुँ माया नै बढी थियो। तर, बाबु कोही दिनको सानो बचन पनि कस्तो हुँदोरहेछ।'
महिला बलिन्द्र धारा आँसु झार्न थालिन्। उनका हात थर्थराइरहेका थिए। थर्थराउँदा हातले उनले थैली निकालिन्। त्यसलाई खोलिन्। थैलीबाट मैलो सयको नोट र धर्का भएको सानो कापीको पाना निकालिन्। पट्याइएको त्यो कापीको पाना मलाई थमाइन्। मैले त्यसलाई खोलेँ। लर्बरिएको सिकारु अक्षरमा लेखिएको थियो :
'प्यारी आमा, प्यारो बुबा। म असल हुन सकिनछु। मैले भेट्टाएर ल्याएको पैसालाई बारबार चोरेको आरोप लगाउनुभो। यसले मलाई धेरै दुःख लाग्यो। तपाईंहरू एउटी साँच्चै असल बैनी पाउनु होला। आनन्दले बस्नु होला। अर्को जन्ममा म तपाईंहरूकी असल छोरी हुन सकुँ। बिदा!'
सानी नानीको त्यो सनकले भावविह्वल बनायो। त्यो चिर्कटो उनकी त्यही सानी बुलबुलको 'सुसाइड नोट' पो रहेछ। मैले त्यो घातक चिर्कटो महिलालाई फिर्त्याउँदा मेरा हात थर्थरी थिए। ओठ सुक्खा र जिब्रो थुकबिहीन। अनि मुटु हुत्तिएर मभन्दा अगाडि नै रत्नपार्क पुँगुलाजस्तो भइरहेथ्यो। महिला त्यो आफै थिलथिलो भएको र सधैँभरि मुटु कट्कटी खाइदिने कागजको खोस्टो फेरि थैलीमा घुसार्दै बोलिरहेकी थिई :
अनि गाउँमा बस्न पनि मन भएन। हुन त हामी द्वन्द्वपीडित होइनौँ। तर, मनको द्वन्द्वका सख्त घाइते हौँ हामी। छोरो पढाउँदैछौँ। बूढो घर बनाउने ठाउँमा काम गर्छन्। म भाँडा मा‰ने, लुगा धुने काम गर्छु। फुर्सदमा रत्नपार्क आउँछु। छोरी फुत्त देखिइहाल्छे जस्तो लागिरन्छ...।
महिला असनतिर लागी। छोरी डोर्याउँदै खै कतातिर लागेँ म! शिरीष फूलेको सहरको नीलो राप सोहोरिएर मेरो छाती भतभती पोल्दै थियो।
प्रकाशित: ९ पुस २०७३ ०६:३१ शनिबार





