डा. शिव रिजाल
कुशल निर्देशकलाई रंगमञ्चमा एउटा सर्वव्यापी तत्व मान्ने गरिन्छ। ऊ स्वरको आरोह र अवरोहलाई तानमा कपडा बुनेजस्तो बुन्दै जान्छ। स्वरको संगति बनाउँछ। आममानिसजस्तै देखिने कलाकार यही निर्देशकले हल्का चलाइदिँदा कल्पनाशील जगत्बाट निस्केको पात्र बन्छन्। निर्देशक आमकलाकारका अनुहार र तिनका शरीरका विभिन्न अंगहरूलाई आगोमा फलाम गालेझैँ गाल्दै लान्छ, मानौँ ऊ विश्वकर्मा बाबा हो। नाटककारसँग उधारो मागेर ल्याएका शब्दहरू ऊ आफ्ना कलाकारका शरीरमा घर्षण गरेर ज्योति निकाल्छ। शब्दलाई कलाकारका शरीरसँग खेलाउन सक्दामात्र ऊ नयाँ स्वरूप कुद्न सक्षम हुन्छ। त्यसैले उसलाई सानो भगवान्को रूपमा पनि हेरिन्छ। मञ्चले चर्चिने एक निश्चित क्षेत्र र त्यसमाथि व्याप्त रहने एउटा सानो आकाश उसले चाहेअनुसार पहाड, खोला, बादल र सूर्य भएर पल्टिँदै जान थाल्छ। उसको निर्देशनमा चल्ने प्रकाश, गुञ्जने संगीत र चल्ने दृश्य विधान र फेरिने परिधानलाई यस सृष्टिको प्रतिबिम्ब पनि मानिन्छ। यही चमत्कार हेर्न दर्शक नाटकघरसम्म धाउँछन्। निर्देशक त्यस अर्थमा गुरु हो। नाट्यशास्त्रलाई त्यसैले पाँचौँ वेद भनिन्छ। रंगमञ्चभित्र असाधारण शक्ति लुकेर बसेको हुन्छ। यही बोध गर्न सक्षम हुँदा निर्देशक एउटा सानो परिवेश र समयभरि सर्वव्यापी भएर बस्छ।
त्यसो त कला समीक्षकहरू निर्देशक तानाशाह हुने गर्छन् भन्ने गुनासो गरिरहन्छन्। उसले चलाउनुपर्ने हैकमले कलाकारलाई स्वतन्त्र ढंगमा काम गर्नबाट वञ्चित गर्छ भन्ने गरिन्छ। त्यसैले निर्देशक सिर्जनात्मक आधारमा पनि प्रजातान्त्रिक स्वभावको हुनुपर्छ । कलाकारभित्रको सकसकलाई वाचाल पार्नु उसको धर्म हो। प्रत्येक कलाकार उसका लागि नयाँ काम गर्ने मौका हो। ऊ शरीर पढ्छ, आवाज छाम्छ। कदमकदममा जीवनको यात्रा हेर्छ। झट्ट हेर्दा निर्देशकमाथि राखिएका यी अपेक्षा कपोकल्पित लाग्न सक्छन्। तर, निर्देशकमा जादु हुन्छ–हुनुपर्छ। सुनील पोखरेलले सुम्सुमाएर वाचाल बनाइदिएको शरीर र आवाज मञ्चमा फूलजस्तो प्रष्ट र सुन्दर देखिएको हाम्रो अनुभव छ। हेर्दा रुखो लाग्ने कलाकारका स्वर र शरीर पोखरेलको जादु चल्दा लोभलाग्दो हुँदै गएको हामी सबैले देखेका छौँ। सौगात मल्ल र राजकुमार पुडासैनी पोखरेलको सामीप्यमा आउनुभन्दा पहिला तिनका शरीर त्यत्ति वाचाल थिएनन्। अनुप बरालले कलाकारहरूका मन र शरीरभित्र लुकेर बसेका गाठागुठुँग्री फुकाइदिँदा मञ्चमा पात्रहरू सुन्दर र सहज ढंगमा अवतरण हुँदै गरेको हामीले अनुभव गरेका छौँ। अशान्त शर्मा र खगेन्द्र लामिछानेजस्ता कलाकारका शरीर र आवाज बरालको सम्पर्कमा आएपछि अझै सिर्जनशील भएका हुन्।
युवापुस्ताका निर्देशकहरूले लिँदै गरेको गति महत्वपुर्ण छ। तिनले गरेका काममा नवीनता हँुदाहुँदै पनि केही अपुग भएको अनुभव हुन्छ। मञ्चमा देखिनुपर्ने सर्वव्यापकतामाथि तिनको साधना अपुग छ भन्ने बोध हुन्छ। कलाकारलाई पात्र बनाउँदै जाँदा संगीतले पनि लेप लगाउनुपर्ने हुन्छ। प्रकाशको हकमा पनि त्यही लागु हुन्छ।
वीरेन्द्र हमालका मापनमा चलेका कलाकारका कदम र तिनका कदमले लिने गतिले हामीलाई निकै पटक छोएर गएका छन्। धन्न नाचघरको अप्ठ्यारो परिवेशमा पनि यी हमाल आफ्नो कर्म गरेर बसिरहेका छन्। समकालीन नेपाली रंगमञ्चमा यी निर्देशकहरूले आआफ्ना आरन चलाएर बनाएको आकार, आवाज र अनुभूति मैले २० वर्षदेखि हेर्दै आएको सबैभन्दा महत्वपुर्ण पक्ष हुन्। अशान्त, सौगात, राजकुमार, दयाहाङ राई, सुदाम छत्कुली, जयदेव पन्तजस्ता कुशल कलाकारका शरीर र आवाजमाथि यी निर्देशकले निकै मेहनत र लगानी गरेका छन्। नेपाली रंगमञ्चमा बलिया निर्देशकहरूको संख्या निकै कम छ। तर, जति छन् तिनको सम्मान छ। हरिप्रसाद रिमाल, प्रचण्ड मल्ल, हरिहर शर्मा, सुनील पोखरेल र अनुप बरालका नाम लिँदा हामी यी निर्देशकले सिर्जना गरेका गति, लय र रंग सम्झन्छौँ। यिनले गरेका कामका आधारमा आधुनिक नेपाली रंगमञ्चले लिएको मोड नापिन्छ। मिथिला नाट्य संस्कृतिमा महेन्द्र मलंगिया र रमेशरञ्जन झालाई पनि त्यसैगरी सम्भि्कइन्छ।
तर, दुई वर्षयता काठमाडाँैलाई केन्द्र बनाएर फैलिँदै गएको नेपाली रंगमञ्च यिनै दाइ निर्देशकहरूका चेलाचेली कलाकारको गतिविधिको अर्को नाम भएको छ। राजनीतिक र सांस्कृतिक परिवर्तनसँगै नेपाली रंगमञ्च पनि परिवर्तित हुँदै छ। रंगमञ्चमा मधेसमूलका युवापुस्ताका कलाकारहरूको संख्या बढेको छ। रविन्द्र झा, प्रियंका झा, रोशन मेहता, सरिता साह, नासिर हुसेन, प्रदीप चौधरी र प्रमोद अग्रहरि अभिनयको हिसाबले बलिया कलाकार बनेका छन्। पछिल्लो सयम मधेस आन्दोलनपछि नेपाली रंगमञ्चमा देखिएको यो लहरको निकै महत्व छ। नेपाली साहित्यमा देखिएको किराँती लेखकहरूको वर्चश्व नेपाली रंगमञ्चमा रहला कि नरहला, तर दयाहाङ, सिर्जना सुब्बा, पशुपति राई अनिल सुब्बालगायतमाथि विश्वास राख्ने निकै बलिया आधार छन्।
नेपाली समाज अग्रगमनको दिशामा छ भन्ने आधार युवा पुस्ताका कलाकार पनि हुन्। एक दर्जनभन्दा बढी तन्नेरी पुस्ताका रंगकर्मी निर्देशनको क्षेत्रमा काम गर्न लागेको अवस्था छ। यी युवापुस्ताका निर्देशकहरूमा विश्वविद्यालयस्तरको अध्ययन गरेका कलाकारको संख्या आधा दर्जनभन्दा बढी छ। केहीले पहिलो पटक निर्देशन गर्दैछन् भने कोही अनुभवका आधारमा निर्देशनमा खारिँदै जाँदैछन्। महिला निर्देशकको संख्या पनि आशालाग्दो बन्दैछ। निशा शर्मा, समुना केसी, पशुपति राई र सिर्जना लिम्बु इतिहास बनाउने क्रममा छन्। यो लेख तयार गरिरहँदा शिल्पीको गोठाले नाटकघरमा टंक चौलागाईंको माधवी प्रदर्शन भइरहेको छ। यो उनको पहिलो निर्देशन हो। शंकर रिजालको निर्देशन रहेको एकलव्यको अन्तिम टेप थिएटर मलमा चलिरहेको छ। यो उनको दोस्रो निर्देशन हो। समुना केसी, सिर्जना सुब्बा, गंगा तिवारी, प्रवीण खतिवडा, पशुपति राई, दिलीप रायमाझी, सोम घिमिरे, साजन थापा, केदार श्रेष्ठ, घनश्याम श्रेष्ठ, राम केसी, दीपेश पौडेललगायतका निर्देशनमा तयार भएका नाटक हेरेको हाम्रो ताजा अनुभव छ। घिमिरे युवराज, विमल सुवेदी, राजन खतिवडा, दयाहाङ र अशान्त शर्मालाई सुनील पोखरेल, अनुप बरालपछि राम्रो निर्देशन गर्न सक्ने भनी दर्शकले मूल्यांकन गरिरहेका छन्।
यी युवापुस्ताका निर्देशकहरूले लिँदै गरेको गति महत्वपुर्ण छ। तिनले गरेका काममा नवीनता हँुदाहुँदै पनि केही अपुग भएको अनुभव हुन्छ। मञ्चमा देखिनुपर्ने सर्वव्यापकतामाथि तिनको साधना अपुग छ भन्ने बोध हुन्छ। कलाकारलाई पात्र बनाउँदै जाँदा संगीतले पनि लेप लगाउनुपर्ने हुन्छ। प्रकाशको हकमा पनि त्यही लागु हुन्छ। मुख्य कुरा एउटा पक्षमाथि पकड जमाउन सक्षम हुँदा मञ्चले माग्ने अन्य पक्षमाथि पनि उत्तिकै बलियो ढंगले पकड बनाउनुपर्ने हुन्छ। मञ्चको एउटा कुना वाचाल भएर प्रस्तुत हुँदा अन्य कुना निर्जीव लाग्न हुँदैन। निर्देशक त्यसअर्थमा मञ्चको कणकणमा व्याप्त भएर बस्नुपर्ने हुन्छ। प्रत्येक कलाकारको भावभंगिमा र स्वरमा व्याप्त भएर देखिनुपर्छ। अधिकांश प्रस्तुतिमा यी तन्नेरी पुस्ताका निर्देशकहरू सहज लाग्ने ठाउँमा मात्र प्रष्ट देखिन्छन्। कठपुतली नचाएझैँ सम्पूर्ण मञ्चलाई नचाउन सक्षम भइसकेका छैनन्। यसका कारण छन्। अधिकांश तन्नेरी निर्देशकसँग रंगमञ्च सिर्जना गर्न चाहिने भौतिक साधन छैनन्। अध्ययन र अनुसन्धानका लागि वातावरण छैन। यिनका लागि भनेर नाटक लेखिदिने लेखकको संख्या न्यून छ। तर, यिनै युवापुस्ताका निर्देशक सबल नभई समकालीन नेपाली रंगमञ्चले अग्रगति लिन सक्दैन।
मलाई लाग्छ, सुनील र अनुपजत्तिको बलिया निर्देशक तिनका चेलाचेली भइसकेका छैनन्। म आफैलाई निर्देशक भनी मान्दिनँ, तर मलाई के विश्वास छ भने मञ्चको सज्जा र विधानसँगै एउटा कुशल निर्देशकले प्रत्येक कलाकारको अनुहार र शरीरलाई मञ्चजस्तै प्रयोग गर्नुपर्छ। आफ्नो निर्देशनमा काम गर्ने कलाकारको मुखबाट स्वर निकाल्दा उसका आँखादेखि अरु अँग पनि त्यसैगरी चलायमान हुनुपर्छ। निर्देशकले यो सम्भव बनाउन सक्नुपर्छ। बलियो निर्देशकसँग काम गर्ने रंगकर्मीको स्वर वा बोलीले अनुहारमा हलचल आउँछ। लुसुक्क निस्कने आवाज, अनुहारको कुनै कुनामा पनि कम्पन र तरंग ननिकाली कतै पनि आकार र आभास नदिई रचिने बोली रंगमञ्चमा निरीह देखिन्छ। हामीले केही वर्षयता हेर्दै आएका युवापुस्ताका निर्देशकहरू यही अवस्थामा पछारिएको देखेका छौँ। तर, तरंग र कम्पन ल्याउने लोभमा सम्पूर्ण अंग चलायमान गरेर, चाहिनेभन्दा ज्यादा आकार र आभास देखाउनु वा व्यक्त गर्नु पनि उत्तिकै कमजोर रचना हो। पोखरेल र बरालका काम यसअर्थमा अनुशासित छन्। उच्छृंखल स्वभावको अभिनय दर्शकका लागि बिस्तारै बोझिल हुन थाल्छन्। निर्देशकले छाम्न नसकेको कुना, प्रयोगमा ल्याइने प्रप्सहरू निर्जीव हुन्छन्। दर्शकले यो सहजै देख्छन् र बुझ्छन्। आमदर्शकका आँखाले त्यस्ता निर्जीव वस्तु र भावभंगिमालाई थुतेर स्मृतिको दलदलमा कतै मिल्काइदिन्छन्। युवापुस्ताका निर्देशक भाइबहिनीले सुनील दाइ र अनुपदाइसँगको कामलाई निरन्तरता दिनुपर्छ। सहकार्य र व्यक्तिगत खोजका लागि आफैले वातावरण बनाउन सक्नुपर्छ।
युवापुस्ताका भाइबहिनीमा एउटा निर्देशकको शक्ति प्राप्त हुनुपर्छ, हामी यसका निम्ति कामना गरौँ। यिनले साधना गरेर प्राप्त गर्न सक्ने सर्वव्यापकताले मात्र समकालीन नेपाली रंगमञ्चलाई नयाँ गति र उचाई दिन सक्छ। यात्रा सहज छैन, तर जसले गर्न सक्छ, उसले नै इतिहास बनाउँछ।
प्रकाशित: २९ श्रावण २०७३ ०५:१० शनिबार





