इरानलाई विश्वकपको समूहचरणको अन्तिम खेलअघि तयारीका लागि अमेरिकामा थप समय बस्न अनुमति दिइएको छ। अमेरिकी गृह सुरक्षा विभागले अमेरिका बसाइँमा इरानबारे नियममा परिवर्तन भएको जानकारी दिएको हो।
इरानले जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध समूहको अन्तिम खेल खेल्दै छ। यस खेलका लागि टोलीलाई खेलभन्दा दुई दिनअघि अमेरिकामा प्रवेश गर्न अनुमति दिने भएको छ। यसअघि भएका दुई खेलमा भने टोलीलाई खेल हुनुभन्दा २४ घण्टाअघि मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको थियो। खेल सकिएलगत्तै टोलीले पुनः आफ्नो आधार शिविर रहेको मेक्सिकोको टिजुआनामा फर्किनुपर्ने व्यवस्था भने यथावत् रहनेछ। अमेरिकी सुरक्षा विभागको विज्ञप्तिमा जुन २६ मा सियाटलमा हुने इरानको तेस्रो खेलका लागि टोलीलाई खेलभन्दा दुई दिनअघि अमेरिका प्रवेश गर्न अनुमति दिइएको उल्लेख छ तर खेल सकिएको दिनमै टोलीले अमेरिका छोड्नुपर्नेछ।
‘समग्र सुरक्षा व्यवस्था र प्रोटोकल भने उही रहनेछन्। खेलाडी, प्रशिक्षक, कर्मचारी र समर्थक सबैका लागि सम्भव भएसम्म सुरक्षित प्रतियोगिता आयोजना गर्न हामी प्रतिबद्ध छौं,’ विज्ञप्तिमा उल्लेख छ।
इरानी फुटबल महासंघले अमेरिकामा आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाउँदै फिफामा औपचारिक उजुरी दिने तयारी गरिरहेको केही समयपछि आएको हो। हालसम्म इरानी टोलीलाई भिसाको सर्तअनुसार खेलको अघिल्लो दिन मात्र अमेरिका प्रवेश गर्न र खेलकै दिन फर्किन अनुमति दिइएको थियो। यस व्यवस्थाप्रति इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले असन्तुष्टि व्यक्त गर्दै आफ्नो टोलीलाई विश्वकपकै ‘सबैभन्दा पीडित’ को संज्ञा दिएका थिए।
उनले टोलीको तयारी समय लुटिएको र आवश्यक प्रशिक्षण समयको आधाभन्दा पनि कम समय मात्र उपलब्ध गराइएको बताउँदै आएका छन्। गत साता ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयु जुलियानीले इरानको तेस्रो खेलका लागि लागू गरिएको व्यवस्थामा परिवर्तन गर्ने विषयमा छलफल भइरहेको बताएका थिए। इरानले विश्वकपका दौरान मेक्सिकोलाई आधार शिविर बनाएको छ। पहिलो दुई खेलका लागि लस एन्जलस यात्रा छोटो भएकाले कडा यात्रा प्रतिबन्ध लागू गर्नु व्यावहारिक रहेको जुलियानीको भनाइ छ तर सियाटलसम्मको उडान करिब तीन घण्टासम्म लाग्न सक्ने भएकाले व्यवस्थामा केही परिवर्तन गरिएको हो।
प्रकाशित: ११ असार २०८३ ०७:३० बिहीबार





