११ असार २०८३ बिहीबार
image/svg+xml
खेल

कंगोका अनौठा समर्थक

अनौठो शैलीका कारण विश्वभर चर्चित बनेका कंगोका समर्थक मिकेल लाडिङ्गा अन्ततः फिफा विश्वकपमा देखिएका छन्।  

कंगोका स्वतन्त्रता आन्दोलनका नेता पात्रिस लुमुम्बाको जीवित मूर्तिको रूपमा परिचित मिकेल लाडिङ्गाले इबोलासम्बन्धी क्वारेन्टिन नियमका कारण पोर्चुगलविरुद्धको पहिलो खेल गुमाएका थिए। कोलम्बियाविरुद्धको खेलमा भने पनि उनले देशको साथमा उपस्थित हुने अवसर पाए तर कंगो उक्त खेलमा १–० ले पराजित हुन पुगे। अफ्रिका कप अफ नेसन्सका क्रममा नै उनी अनौठो शैलीका कारण विश्वचर्चित बनेका थिए। ‘लुमुम्बा भेआ’ नामले परिचित उनी खेल सुरु हुनुभन्दा करिब एक घण्टाअगाडि नै स्टेडियो अक्रोनमा आफ्नो सिटमा पुगिसकेका थिए।  रातो कोट र टाइ, पहेंलो सर्ट र नीलो पाइन्ट उनको परिचय नै हो, जसले कंगोको राष्ट्रिय झन्डाको रङ झल्काउँथ्यो।

खेल सुरु भएपछि उनी कंगोको बेन्चपछाडि बनाइएको मञ्चमा उभिए।  दाहिने हात माथि उठाएर उनी मूर्तिजस्तै निश्चल अवस्थामा उभिरहे। दोस्रो हाफ सुरु भएपछि केही मिनेट ढिला फर्किए पनि त्यसपछि खेल समाप्त नभएसम्म र अन्तिम सिटी बजिसकेपछि पनि केही समय त्यही मुद्रामा उभिइरहे। उनले सञ्चारकर्मीहरूलाई अन्तर्वार्ता दिन चाहेनन्।  अन्ततः विश्वकपमा पुग्न सफल भएकोमा खुसी हुनुहुन्छ कि भनेर सोध्दा मुस्कुराउँदै टाउको हल्लाएर प्रतिक्रिया दिए। कंगोले गत साता ह्युस्टनमा भएको आफ्नो पहिलो खेलमा पोर्चुगलसँग १–१ को बराबरी खेलेको थियो।  यस वर्षको विश्वकप प्लेअफ खेल पनि गुमाएका थिए उनले।  जहाँ कंगोले ५२ वर्षपछि विश्वकपमा पुनरागमन सुनिश्चित गरेको थियो।

समयमै भिसा प्राप्त गर्न नसकेपछि उनी उक्त खेल हेर्नबाट वञ्चित भएका हुन्।  भिसा प्राप्त गर्ने प्रयासमा उनी केन्या र त्यसपछि इथियोपियासम्म पुगे तर आवश्यक कागजात समयमै नबन्दा ग्वाडालाजारामै खेलिएको त्यो ऐतिहासिक खेल प्रत्यक्ष हेर्न पाएनन्।  अफ्रिका कप अफ नेसन्सका क्रममा उनी अचानक चर्चामा रहे।  प्रत्येक खेलभर पात्रिस लुमुम्बाको मूर्तिको रूपमा मञ्चमा उभिन्थे उनी।  दाहिने हात माथि उठाएर पूर्ण रूपमा स्थिर रहन्थे।  यही अनौठो शैलीका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेका थिए। पात्रिस लुमुम्बा कंगोको स्वतन्त्रता आन्दोलनका प्रमुख नेता हुन्।

सन् १९६० मा बेल्जियमको औपनिवेशिक शासन अन्त्य गर्न उनले महŒवपूर्ण भूमिका खेलेका थिए।  स्वतन्त्र कंगोका उनी पहिलो प्रधानमन्त्री पनि थिए। उनी अफ्रिकाका सबैभन्दा आशावादी र प्रभावशाली नेतामध्ये एक मानिन्थे।  तर खनिज सम्पदाले सम्पन्न कटांगा क्षेत्रमा बेल्जियम समर्थित पहिचानवादी आन्दोलनसँगको संघर्षका क्रममा स्वतन्त्रता प्राप्त भएको एक वर्ष नबित्दै उनको हत्या गरिएको थियो।  मार्च महिनामा भएको थियो यस घटनासँग सम्बन्धित एउटा महत्त्वपूर्ण कानुनी फैसला।

बेल्जियमको अदालतले ९३ वर्षीय पूर्वकूटनीतिज्ञ एटिएन डाभिन्योनविरुद्ध मुद्दा चलाउन आदेश दिएको थियो।  उनी लुमुम्बाको हत्या प्रकरणमा संलग्न रहेको आशंका गरिएका १० बेल्जियनमध्ये जीवित रहेका अन्तिम व्यक्ति हुन्। उनले विगतमा आफू निर्दोष रहेको दाबी गरेका भए पनि लुमुम्बाको ‘अवैध हिरासत र स्थानान्तरण’ मा भूमिकाका कारण उनीमाथि युद्ध अपराधमा सहभागितासम्बन्धी अभियोग लगाइएको छ।  

प्रकाशित: ११ असार २०८३ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App