३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

प्रहरी हवल्दारमाथि सशस्त्र प्रहरीको लाठी चार्ज

दाङ– घोराहीमा जारी महोत्सवमा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप भएको छ।


मेलामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम स्थलमा प्रहरीबीच झडप भएपछि मेला हेर्न पुगेका सर्वसाधारणहरुमा भागाभाग मच्चिएको थियो। सादा पोशाकमा मेला प्रवेश गरेका नेपाल प्रहरीका  हवल्दार चन्द्रलाल गिरीले नाचगानका क्रममा होहल्ला गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाश शर्माले नागरिकन्यूजलाई जानकारी दिए।

ती हवल्दार होहल्ला गर्दै उफ्रिन थालेपछि अन्य सर्वसाधारणमाथि पनि हातपात भएको थियो। सशस्त्र प्रहरीले रोक्न खोजेको बताइएको छ। तर, ती हवल्दारले झनै उग्रता देखाएपछि सशस्त्र प्रहरीका जवानले उनीमाथि लाठी चार्ज गरेका थिए। सशस्त्र प्रहरीले ती हवल्दारलाई कुटेपछि त्यहाँ सुरक्षार्थ खटिएका अन्य नेपाल प्रहरीका जवानहरु सशस्त्र प्रहरीबिरुद्ध जाइलागेका थिए।

केहीबेर दुबै पक्षबीच झडप भएको थियो। झडपमा हवल्दार गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ। दुई प्रहरी संगठनबीच हानाहान भएपछि सर्वसाधारणहरु भागाभाग भएका थिए। तर, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कुबेर कडायतले भने दुईपक्षीय झडप नभई अन्यले छुटाउन मात्रै खोजेको बताए।

‘दुईपक्षीय झडप भएको होइन, हाम्रो एकजना हवल्दारमाथि मात्रै लाठी प्रहार भएको हो,’ उनले भने, ‘अन्यले छुटाउन खोजेको बेला हानाहान भएको जस्तो देखिएको मात्रै हो।’ उनले झडप भएपछि सर्वसाधारणहरुको भागदौडमा केही नागरिक घाइते भएको हुन सक्ने बताए।

‘अरु प्रहरी कसैलाई पनि केही भएको छैन, छुटाउने बेला सामान्य लाठी लाग्नु स्वाभाविकै हो,’ उनले भने, ‘तर भागदौडका क्रममा सर्वसाधारणहरुलाई चोटपटक लागेको हुन सक्छ।’  झडप सांस्कृतिक कार्यक्रमको अन्तयतिर बेलुका पख भएको थियो।

प्रकाशित: २९ फाल्गुन २०७२ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App