५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

गाउँ पर्यटनका नायक

गाउँ पर्यटनको इतिहासमा सिरुबारीको नाउँ सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी देश÷विदेशमा प्रख्यात छ । स्याङजा जिल्ला पञ्चमुल गाविस– ४ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ । जहाँ गुरुङका ३९ घर छन् ।


गाउँका १७ घरमा होमस्टे सुविधा छ । पर्यटकलाई होटल तथा लजमा होइन, गाउँलेकै भान्छामा खुवाएर उनीहरुकैमा सुताउने सुविधा नै होमस्टे (घरबास) हो । परिवारकै सदस्य भएर बस्छन् पाहुना । यत्ति हो कि उनीहरुले खाना र बासको मुल्य तिर्नु पर्छ । तर, निकै सस्तो ।

शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार पाइन्छ होमस्टेमा जुन होटल वा रिर्सोटमा पाइन्न ।

आज देशभर होमस्टेको लहर चलेको छ । कैलालीको भादा, बर्दियाको डल्ला, लमजुङका घलेगाउँ तथा काउलेपानी, गोरखाको बारपाक, कास्कीको ल्वाङघलेल, पाल्पाको बौघागुम्हा, मकवानपुरको चित्लाङ, चितवनको मेघौली, इलामको अन्तु, तनहुँको तनहुँसुर, धनकुटाको ध्वजेडाँडा, कञ्चनपुरको शुक्लाफाँटा आदि गाउँ होमस्टेकै कारण चम्केका छन्।होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाट भएको हो । त्यसकै सिको गरेका हुन् अरु गाउँले । र, नेपालमा होमस्टे सृुविधासहित गाउँ पर्यटन अवधारणा भिœयाउने अनि त्यसलाई व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् । विसं २०५४ असोजदेखि सिरुबारीमा होमस्टे थालिएको ।

सुरुमा गाउँका सबै ४३ घरमै होमस्टे गराइन्थ्यो । बसाइँ–सराइँ लगायत कारणले घट्दै गएर आज १७ घरमा होमस्टे सुविधा छ । होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन् । पाहुनालाई बाँडेर गाउँलेका घर–घरमा राख्दा सबैलाई फाइदा पुग्छ । सबैले कमाई गर्ने अबसर पाउँदा समाजमा शान्ति हुन्छ ।

जनबोलीमा रुद्रमानलाई 'क्याप्टेनसाप्' भनिन्थ्यो । पश्चिमतिर सेना वा प्रहरीका रिटायर्डहरुलाई उनीहरु बहाल हुँदाको पदले नै सम्बोधन गर्ने चलन छ । जस्तो कि हल्दारसाप्, जमदारसाप्, करसाप् आदि । रुद्रमान भारतीय सेनाका रिटायर्ड क्याप्टेनसाप् ।

दुःखको कुरा गाउँ पर्यटनका हाम्रा अगुवा क्याप्टेन रुद्रमान अब हामी माझ छैनन् । १५ फागुन ०७२ का दिन काठमाडौंको हिमाल अस्पतालमा उनको निधन भयो । उनी ८६ वर्षका थिए । लामो समयदेखि युरिक एसिड, व्लड प्रेसर र सुगरका बिरामी । केही वर्षदेखि सिरुबारीमा होइन, पोखरामा बसेर उपचार गराउँदै थिए । तर, उनको मन हरपल सिरुबारीको फन्को मारिरहन्थ्यो ।

तिनै क्याप्टेनसाप्ले खनेको होमस्टेको गोरेटो राजमार्ग बनिसकेको छ । सरकारले विसं २०६७ मा होमस्टे निर्देशिका जारी ग¥यो । सन् १९९८ मा नेपाल भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष पनि मनाइयो । तर, राज्यले गाउँ पर्यटनका एक्टरलाई कहिल्यै सम्झेन । राज्यका तर्फबाट रुद्रमानले सम्मान पाउनु पथ्र्यो । नपाई उनी परलोक भए ।

जे हुनु भैसक्यो, इतिहासबाट हामीले पाठ सिक्नु पर्छ । सिरुबारीलाई होमस्टे सुविधासहित नेपालको पहिलो पर्यटन गाउँ बनाउने अभियानका नायकको जीवन कथा अब पर्यटनको पाठ्यक्रममा समाबेश हुनु पर्छ, तब मात्रै गाउँ पर्यटनका यी अगुवाप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।

क्याप्टेनसाप्लाई चार पटक भेट्ने औसर पाएँ मैले । म पोखरामा बसेर पत्रकारिता गर्थें । पर्यटन कार्यालय पोखराका प्रमुख पद्म केसीको अगुवाइमा ०५७ चैतमा मिलेनियम टे«लका गाउँलेहरुसँग म पहिलोपटक सिरुबारी पुगेको थिएँ । टोलीमा भुगोलविद् डा. कृष्ण केसी र पर्यटनकर्मी बिरु बम्जन, ढोरफिर्दि गाविस तनहुँका अध्यक्ष श्यामराजा महत लगायत थिए ।

स्याङजाको अर्जुन चौपारी हुँदै हिँडेर हामी सिरुबारी पुगेका । त्यसको एक दशकपछि ०५८ मा प्रकृतिप्रेमी समूहको टोलीसँग पोखराबाट गाडिमा सिरुबारीसम्मै पुग्यौं । टोलीको नेतृत्व समूहका संस्थापक डा. उमेश श्रेष्ठले गरेका थिए । तेस्रो पटक ०७१ फागुनमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल पश्चिमाञ्चलका अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा पुगेको थिएँ ।

सिरुबारीमै भेटेको हुँ क्याप्टेन्साप्लाई मैले । हाम्रो समूहलाई फुलमालाले स्वागत गरेपछि गुम्बाको आँगनमा उनले हामीलाई गाउँको 'ब्रिफिङ' गरेका थिए । भारतीय सेनाबाट ०३५ सालमा रिटायर्ड भएर गाउँ फर्केका क्याप्टेनसाप्ले २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देखेका रहेछन् ।

'भर्तिमा छँदा स्विजरल्याण्डको पर्यटन सम्बन्धि किताब पढेको थिएँ', उनले हामीलाई सुनाएका थिए, 'पहाडै पहाड भएको स्विजरल्याण्डमा पर्यटन हुन्छ भने हाम्रो गाउँमा किन हुँदैन भन्ने लाग्यो ।'

तर, धेरै समय लाग्यो पर्यटनको बिउ रोप्न । सुरुका दिनमा कसैले पत्याएन । पत्याउनु पनि कसरी ! बिजुली, सडक, टेलिफोन केही नपुगेको अनकन्टार गाउँलाई पर्यटन केन्द्र बनाउने कुरा । यतिसम्म कि काठमाडौंको पर्यटन विभागमा 'गाउँ पर्यटन' सुरु गर्ने भिजन लिएर जाँदा त्यहाँका हाकिमले हाँसेर उडाइदिएको नमिठो घटना सुनाउँथे उनी ।

थाकेनन् रुद्रमान । एउटा यस्तो समय आयो, ०४८ सालदेखि उनले पूर्वाधार विकासमा जोड दिए । र, ०५४ असोजमा सिरुबारीलाई नेपालको पहिलो पर्यटन गाउँ घोषणा गरे । हरेक घरमा सफा भान्छा, शौचालय, बाथरुमको व्यवस्था मिलाए ।

मुलुक माओवादी द्वन्दले थिलथिलो भएका बेला सुरु गरिएको पर्यटन अभियानमा सोचेजति पर्यटक आएनन् । जति आए, सबै गाउँलेको आत्मियताबाट प्रभावित भए । नेपाली पनि आउन थाले । ०६२÷०६७ को गणतान्त्रिक आन्दोलन पछि भने राम्रै पाहुना आउन थाले । त्यसपछि नेपालका थुप्रै गाउँहरु होमस्टे सिक्न सिरुबारी आए । हेर्दाहेर्दै सिरुबारी होमस्टे पाठशाला बन्यो ।

संसारमा सपना देख्नेहरु नै सफल हुन्छन् । रुद्रमानले सपना देखे । कर्म गरे । फुल फुल्यो । र, फल फल्यो । त्यो फल सिंगो गाउँलेले चाख्न पाए । सिरुबारीको कथा देशभर फैलियो । अरु गाउँले पनि त्यसको सिको गरे । सर्बत्र होमस्टे पर्यटनको लहर चल्यो ।

पहिलोपटक सिरुबारी जाँदा क्याप्टेनसाप्ले नै हामीलाई गाउँ घुमाएका थिए । बिहान बस्ती मास्तिर गोरुजुरे डाँडा डुलाएका थिए । साँझ उनीसँगै हामी गुम्बाको आँगनमा नाचेका थियौं ।

जुनसुकै होमस्टेमा पहिल्यै खबर गरेर जानु पर्छ । सिरुबारी प्याकेज गज्जबै छ । म देशका धेरै होमस्टे गाउँ घुमिसकेको छु । मलाई सिरुबारी प्याकेज औधि मन पर्छ । सिरुबारी शैली फरक छ । गाउँ पुगेपछि प्रबेशद्वारबाटै पञ्चैबाजा र फुलमालाले स्वागत गर्छन गाउँले । स्वागतपछि गुम्बामा लगिन्छ । बुद्धको दर्शन गराएर हल्का खाजा खुवाइन्छ । कति दिनको बसाइ हो त्यहि अनुसार घुमफिर योजना बनाइन्छ । अनि पाहुनालाई गाउँलेका घर–घरमा बाँडिन्छ । पर्यटन समितिले आलोपालो गरेर पर्यटक राख्छ । यसो गर्दा सबै घरमा आम्दानी बाँडिन्छ ।

साँझको खाना पछि साँस्कृतिक कार्यक्रम गरिन्छ । गुम्बाको आँगनमा राती ८ बजेदेखि डेढ घन्टा नाचगान चल्छ । त्यसपछि बास । बिहान व्युँझँदा गुम्बाबाट ओम मणि पद्ये हुँ सुनिन्छ । चिया पिएर झिसमिसेमै डाँडातिर घुमाइन्छ । त्यहिँ चिया÷खाजा खुवाइन्छ । थर्मसमा चिया बोकेर डाँडामै पु¥याउँछन् गाउँले ।

बस्तीबाट डेढ घन्टा माथि गोरु जुरे डाँडा छ । जहाँबाट धौलागिरी, माछापुच्छे« र अन्नपूर्ण लगायत हिमालको लर्कन देखिन्छ । सबैभन्दा अग्लो डाँडो थुम्रो जुरो (२,०२३ मिटर) बाट राम्रो भ्यू देखिन्छ ।

हिमाल दर्शन पछि डहरा ऋषिले तपस्या गरेको आश्रम घुमेर ओरालो झरिन्छ । घरमा पुगेर खाना खुवाइन्छ । खानापछि गाउँ भ्रमण । साँझ फेरि नाचगान । गाउँमा ऊनी टोपी कोसेली किन्न पाइन्छ ।

बिदा हुने बेला गुम्बाकै आँगनमा आमा बाबाले फुलमाला लगाइदिँदै भन्छन्, 'फेरि आउनुस् है ।'

पर्यटनविद् झलक थापाका शब्दमा दिगो पर्यटन मन्त्र हुन्, 'आँखामा आत्मियता, व्यवहारमा हार्दिकता र इमान्दारी ।' सिरुबारीका गाउँलेले यो मन्त्र रटेको मात्र होइन, व्यवहारमै उतारेको अनुभव हुन्छ ।

सिरुबारी भारतीय र बेलायती सेनाको जागिरबाट निबृत्त भएकाहरुको गाउँ हो । बिशेषतः बुढापाका बस्छन् । युवा जति बाहिर छन् । पर्यटन अभियानले लोक संस्कृति संरक्षण, सरसफाइ र केही आय आर्जन समेत भएको छ ।

म जति पटक सिरुबारी गएँ, त्यतिपटक रुद्रमानलाई भेटें । दोस्रोपटक सिरुबारीमा उनी भेटिएनन् । बिरामी भएकाले पोखरामा बसेर उपचार गराउँदै रहेछन् । सिरुबारीबाट फर्केपछि पृथ्वीचोक पोखराका होटल व्यवसायी मित्र बिष्णु थापा र मैले उनलाई घरमै पुगेर भेट्यौं । पर्यटनका कुरा ग¥यौं ।

होमस्टे आफैंमा खुला पाठशाला हो । ज्ञानको भण्डार । रैथाने खाना, संस्कृति र प्रकृतिको अध्ययनस्थल । त्यसैले होमस्टे भिलेज अध्ययन गर्न जाँदा कम्तिमा दुई रात छुट्टयाउनै पर्छ ।

मलाई क्याप्टेनसाप् वितेको खबर सुनाउने साथी तीर्थ न्यौपाने र अनन्तकुमार श्रेष्ठले 'ग्रामिण पर्यटनका नायक' नामक जीवनी लेखिसकेका छन् । क्याप्टेनसाप् छँदै त्यो पुस्तक समपर्ण गर्ने योजना भने अधुरै भयो ।

सिरुबारीको कुरा गर्दा बेलायती नागरिक टोनी पारलाई बिर्सनु हुँदैन । उनले ठूलै गुन लगाएका छन् । टोनीलाई सिरुबारी पु¥याएर चिनापर्चि गराइदिएथे पर्यटनविज्ञ पद्म केसीले । ग्रामिण पर्यटनको अबधारणा रुद्रमानको । उनले पर्यटन अभियान सुरु गरे । अनि टोनीले विदेशीलाई सिरुबारी ल्याउन हातेमालो गरे ।

पर्यटनका अगुवा भनेर मात्र रुद्रमानको चिनारी पुरा हुँदैन । उनी गाउँका सामाजिक काममा उत्तिकै सक्रिय थिए । गाउँका अभिभावक थिए । त्यतिमात्र होइन, १६ वर्षको उमेरमा भारतीय सेनामा भर्ति भए । बिदामा आएर गाउँमा पढाउँथे । चेतनाको दियो बाल्थे ।

सन् १९६२ मा भारत र चीनबीच भएको लडाइँ लडे । त्यतिबेला भारतीय सेनाका धेरै हताहत भए । कमाण्डरसहित धेरैलाई चिनिया"ले बाँधेर लगे । पछि उनले लाहोरको लडाइँ पनि लडे । जवानबाट सेनामा प्रवेश गरेका उनी ०३५ सालमा रिटायर्ड हुँदा क्याप्टेन भैसकेका थिए ।

पूर्व सांसद समेत हुन् रुद्रमान । काँग्रेस राजनीति गरे उनले । ०३६ सालमा पाल्पामा नेपाली काँग्रेसको गोष्ठिमा पुगेछन् उनी । त्यहाँ उनले भने, 'बीपी बाबु तपाइँ गणेशमान जत्तिकै गाउ"–गाउ" जाने हो भने देशमा प्रजातन्त्र छिट्टै आउ"छ भन्छन् नी जनताले ।' बीपीलाई उनका कुरा घत प¥यो । कार्यक्रम सकिएपछि एकान्तमा उनीसँग भलाकुसारी गरे बीपीले । त्यतिबेलैदेखि काँग्रेस राजनीतिमा सक्रिय भए । ०४२ सालको सत्याग्रहमा जेल परे । पटक पटक गरेर पञ्चायतकालमा ६ महिना कारागार जीवन विताउनु प¥यो ।

बीपी र गिरिजाप्रसादका प्रिय थिए उनी । ०४८ सालको चुनावमा स्याङजा क्षेत्र नं २ बाट सभासद् बने । ०५६ को आम निर्वाचनमा पनि गिरिजाबाबुले उठ्न आग्रह गरे । तर, उनले नाइँ भने । ०६४ सालको संविधान सभा निर्वाचनमा पनि प्रस्ताव गरे । त्यतिबेला पक्षघातबाट पिडित भएकाले हिँडडुल गर्नै गारो थियो उनलाई । चुनाव लड्ने कुरै भएन । गिरिजाबाबुले फेरि जोड दिए, 'त्यसो भए समानुपातिकमा बस्नुस् । सैनिकका कोटा पनि छन् ।'

जवाफमा रुद्रमानले भनेछन्, 'म प्यारालाइसिस भएकालाई साँसद बनाएर कसरी देश चल्छ । अरु सक्नेहरुलाई बनाउनुस् ।'

उनकी श्रीमति .....पोखरामा छिन् । छोरा मेहन्द्र जापानमा व्यवसाय गर्छन । दुइटी छोरी पनि विवाह पछि विदेशमै छन् ।

उनको योगदान पनि पर्यटन इतिहासमा सुनौलो अक्षरले लेखिइसकेको छ । जिल्ला पर्यटन विकास समिति स्याङ्जाले २०६७ मंसिरमा काठमाडौंमा उनलाई 'ग्रामीण पर्यटनका नायक' उपाधीले सम्मान ग¥यो । सभामुख सुबासचन्द्र नेम्वाङका हातबाट सम्मान पत्र थापेपछि उनले हर्षका आँसु चुहाए । उनको ०६९ माघमा चौरासी पुजा गरियो । पूजाका दिन विभिन्न विद्यालयमा उनले अक्षय कोष राखिदिएका छन् ।

लाहुरे भैकन पनि उनी सादा जीवन उच्च विचारका थिए । लाहुरबाट फर्केपछि इष्टमित्रले पोखरा वा काठमाडौ बस्न सुझाए । तर, उनी गाउँमै रमे । बिरामीले थलिएपछि मात्र उपचार गराउन पोखरा बस्न थालेका थिए ।

रुद्रमानले यो धर्ति छाड्दा गाउँ पर्यटनमा चासो राख्ने धेरैका आँखा रसाएका छन् । सिरुबारीले अभिभावक गुमाएको छ । 'क्याप्टेनसाप्को सम्झनामा हामी सिरुबारीमा केही न केही काम गर्छौं', पर्यटन विकास समिति सिरुबारीका संयोजक जुम गुरुङले भने । तत्कालै गाउँमा उनको सालिक बनाउन पर्यटन बोर्ड, सरकार, जिविस लगायतले गाउँलेसँग सहकार्य गर्नु पर्ने देखिन्छ ।

सिरुबारी जाँदा खट्केको कुरा गुरुङ संग्रहालय र कोसेली घर हो । क्याप्टेनसापका नाउँमा यी दुई चिज खोल्न सकिन्छ । उनले प्रयोग गरेका सामान, पढेका किताव आदि समेटेर एउटा छुट्टै संग्रहालय पनि बनाउन जरुरी छ । त्यसमा जुम दाईहरुले पहल गर्नु पर्छ ।

सिरुबारी अन्तर्राष्ट्रिय गाउँ बनिसकेको छ । जसले सन् २००१ मा पाटा गोल्ड अवार्ड पाएको थियो । म त तीन पटक घुमिसकें सिरुबारी । फेरि जानेछु त्यहाँ, क्याप्टेनसाप्सँगका सम्झनाहरु मनभरि बोकेर । उकालो चढ्ने छु । होमस्टेमा बस्नेछु । साँझ नाच्ने छु ।

आउनुहोस् हामी सबै एक पटक सिरुबारी घुमेर क्याप्टेन रुद्रमानको सम्मान गरौं ।

ख्याल गरौं है, होमस्टेमा घाम नडुब्दै जानु पर्छ । परिवारको सदस्य भएर बस्नु पर्छ । राती अबेरसम्म हो–हल्ला गर्नु हुँदैन । पोखराबाट सिरुबारीसम्म गाडि चल्छ । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि छ । पोखराको पृथ्वीचोकबाट बस छुट्छन् । तिनले ५ घन्टामा पु¥याउँछन् ।

वर्ष दिन भएछ उनलाई पछिल्लो पटक भेटेको । फेरी पेटभरि कुरा गरौंला भनेर फोन गरेको थिएँ । तर, त्यो दिन आएन, हामीलाई छाडेर गए उनी । मनभरि सम्झना छाडेर । गाउँ पर्यटनको बिरुवा हुर्काएर ।

अल् बिदा क्याप्टेनसाप् ।

प्रकाशित: २१ फाल्गुन २०७२ २१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App