७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

वैवाहिक कार्यक्रममा प्रहरीले गोली चलायो, दुई घाइते

जनकपुर–धनुषाको सबैला –८ गोविन्दपुरमा वैवाहिक कार्यक्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। प्रहरीको गोली लागेर स्थानीय कमलेश मण्डल र विमल मण्डल घाइेत भएका हुन्।उनीहरुलाई तत्कालै जनकपुर अञ्चल अस्पताल ल्याइएपनि थप उपचारको लागि भन्दै धरानस्थित बीपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। कमलेशको कमरमा र विमलको घुँडामुनि गोली लागेको हो। उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

गोविन्दपुरका दीपनारायण यादवको छोरीको विवाहको लागि शनिबार राति करिब दश बजे मटकोर कार्यक्रम हुँदै थियो । उक्त अवसरमा बजाइएको डिजे साउन्डमा युवा युवतीहरु नाचगान गरिरहेका थिए। सोही क्रममा दुई पक्षबीच विवाद भएपछि घटनास्थल नजिकै रहेको इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी हवल्दारले गोली चलाउँदा दुई जना घाइते भएको स्थानीय रोशन यादवले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले घटनाको पुष्टी गर्दै वैवाहिक कार्यक्रममा स्थानीय दुई समूहबीच झगडा हुँदा छुट्याउन पुगेका प्रहरी हवल्दारमाथि नै जाइलागेपछि आत्मरक्षाको लागि गोली चलाएको बताए। 'केही युवाहरु रक्सी खाएर मातेका थिए। उनीहरु आफैमा लड्न थालेपछि नजिकै रहेको इलाकाबाट हवल्दा र एकजना सिपाही पुगेर झगडा छुट्याउने प्रयास गरे। तर, नसाले मातेका केही युवाहरु प्रहरीमाथि नै जाइलागेपछि आत्मरक्षाको लागि एक फायर गरेको हो', एसपी जोशीले भने ।

एकजनाको कमरको समान्य छाला छेडेको र अर्काको घुँडामुनि गोली लागेकोले एकै गोलीबाट पनि दुवैलाई लागेको हुनसक्ने अनुमान जोशीको छ । तर, यो अनुमान मात्रै भएको भन्दै उनले घटनावारे थप अनुसन्धानको लागि तत्कालै डिएसपी नकुल पोखरेलको नेतृत्वमा एउटा टोली खटाएको जानकारी दिए ।

प्रकाशित: १६ फाल्गुन २०७२ ००:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App