२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
विचार

विभेदविरूद्ध आवाज उठाउँदै मधेशी महिला

सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेदमा परेका मधेशको महोत्तरीका महिला अब सङ्गठित हुँदै सामूहिक आवाजले यी क्षेत्रमा उपस्थिति जनाउँदैछन्। लैङ्गिक विभेद्विरुद्ध सङ्गठन र सामूहिक आवाजले नै उभिन सिकाएको आन्दोलनमा जोडिएका महिलाको अनुभव छ।

महोत्तरीमा महिला सशक्तीकरण अभियानमा रहेका महिलाले विभेद्मा परेकाहरुबीचको आपसी सङ्गठन र सामूहिक आवाजले आन्दोलन सवल बन्दै गएको बताएका छन्। “मेरो मात्र कुरा होइन, हामी दबिएका जोसुकै महिलाका लागि सङ्गठन र सामूहिक आवाज नै शक्ति रहेछ” जीवनमा खाएका हण्डर र त्यसबाट निस्कन गरिएका प्रयत्न सम्झदै महोत्तरीको रामगोपालपुर–९ गोठबनौलीकी बनिहारा (श्रमिक महिला) ४० वर्षीया फुलोदेवी शर्मा भन्छिन्, “समाजमा भोगिएको अपहेलना र पाइलापाइलामा भोगिएको विभेद् सशक्त रुपले उठाउन सङ्गठनले नै सिकायो।”

विभेदविरुद्ध सङ्गठित हुँदै आफ्ना कुरा ठाउँमा पुर्‍याउन थालेपछि समाजले पनि उभिने ठाउँ दिने गरेको शर्माको अनुभव छ।

विगतमा गरिबी, अभाव र महिला भएकै कारण परिवार र समाजबाट जीवनमा भोगिएका दुःखका भारी छन् फुलोसँग। पति काम गर्न बाहिर जान नदिने र घरमा खाने अन्न नभएका ती दुःखका दिन सम्झदै कहाली लागेर आउने उनी सम्झिन्छन्। पूरा नाउँ फुलोदेवी शर्मा भए पनि साथीसँगी र आफूभन्दा ठूलाले उनलाई ‘फुलो’ भनेर बोलाउने गरेका छन्। “नाउँभन्दा सुन्दा त ‘फुलो’ (सुकोमलको भावमा) छ नि  तर जीवनमा भोगिएका हण्डर सम्झदा मान्छे थिएँ कि थिइन झैं हुन्छ”, उनी भन्छन्।

तीन छोरा र एक छोरीसहित चार सन्तान र आफ्नो गुजाराका लागि मजदुरी गर्न पनि सुविस्ता साथ नपाएको उनको विगत छ। ससाना लालाबालालाई बोक्दै, डोर्‍याउँदै इँटाभट्टामा काम गर्न जाँदा जीवन सम्झेर दिक्क लाग्ने गरेको उनी सम्झिन्छन्। “सानो छोरालाई पिठ्यूँमा बोक्थेँ, दुई छोरा र एक छोरी पछि लाग्थे, घरमा खाने अन्न केही नहुँदा मैले दुई पैसाका लागि इँटा भट्टाको काम थालेकी थिएँ” उनी विगत सम्झिदै भन्छिन्, “तर पति र घरका परिवारले ढुक्कसँग मजदुरी गर्न पनि दिँदैनथ्ये।”

यसरी काम गर्न निस्कदा कैयन पटक पतिको कुटाइ र परिवारजनको गाली खाएको उनी सम्झिन्छिन्।

काममा जान घर मात्र असहयोगी नभइ सामाजिक परिवेश नै महिलाका लागि पाइलैपिच्छे काँडै काँडाले भरिएको हुने उनको अनुभव छ। “इँटाभट्टामा काम गर्दा थाहा पाएँ, कामबापतको पारिश्रमिकमा पनि हेला गरिँदोरहेछ”, उनले विगत सम्झदै भनिन्, “उही काम गरी सक्दा पुरुषले पाउने बनी (मजदुरीबापतको पारिश्रमिक) र हामी महिलाले पाउने त धेरै फरक रहेछ।”

यसको विरोध गर्दा कामबाटै निकालिने मालिकको धम्कीले आफूसहितका महिला बाध्य भएर काममा जोतिनुपर्ने विगतको सम्झनाले फुलोको मन अहिले पनि भरङ्ग हुन्छ। “पुरुषले त्यही काम गर्दा ५०० देखि एक हजारसम्म बनी लिन्थे, महिलाले भने त्यसको आँधीमै चित्त बुझाउन पर्थ्याे ”उनी विगत सम्झदै भन्छिन्।

 यिनै दुःखका दिनमै आफ्नो बस्तीमा महिला सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेपछि आँखा खुलेको उनको सम्झनामा छ। “बस्तीबस्तीमा महिलामाथि हुने थिचोमिचोका घटना समाचार बन्न थाले, विभिन्न सामाजिक संस्थाका कार्यकर्ताले बस्तीका महिलालाई सरकारले महिलाका लागि बनाएका विशेष कानुनबारे जानकारी दिंदै सङ्गठित हुन र सामाजिक विभेद्काविरुद्ध ठाउँठाउँमा सामूहिक आवाज उठाउन उत्प्रेरित गरे” उनी भन्छिन्, “हाम्रो बस्तीमा पहिले रतौली युवा क्लबले ‘स्थानीय अधिकार कार्यक्रम’ बाट महिलालाई समूह बनाएर सङ्गठित हुन सिकायो, यो अभियानले महिलाहरूमा हौसला जगायो, हामीले सरकारी अड्डा र स्थानीय तहसहितका ठाउँठाउँमा महिलाप्रति हुने विभेद्विरुद्ध समूहकै तर्फबाट ज्ञापनपत्र दिन थाल्यौँ।”

यस क्रममा ती ठाउँबाट पाइने वास्ता र चासोले आफूविरुद्धका विभेदसँग सामूहिक रूपमा प्रतिवाद गर्ने र सङ्गठित हुन सिकाएको उनको अनुभव छ। पछिपछि परिवार पनि सकारात्मक हुँदै गएपछि काममा सहज हुँदै गएको उनी बताउँछिन्।

अहिले रामगोपालपुर नगर क्षेत्रमै बनिहारा (श्रमिक) महिलाका मात्रै आठ समूह क्रियाशील छन्। अहिले १९७ महिला सङ्गठित भएका यी समूहले बस्तीबस्तीका महिलालाई महिलाका लागि राज्यप्रदत्त विशेष सुविधाका व्यवस्थाबारे जानकारी दिँदै यिनको उपयोगका लागि सङ्गठित हुन प्रेरित गर्ने गरेको उनी बताउँछिन्।

यी समूहमा महिला अधिकारका विषयमा छलफल गरिने र राज्यका विभिन्न निकायमा ती व्यवस्थाको कार्यान्वयनका लागि दबाब बढाइने गरेको समूहका महिला बताउँछन्। “हामी आफ्नै बस्तीका महिला मिलेर समूह बनाएर हरेक समस्यामा छलफल गर्ने गरेका छौँ” रामगोपालपुर–१ लक्ष्मीपुरकी ४५ वर्षीया राधादेवी मण्डल भन्छिन्, “महिलाका लागि राज्यले गरेका विशेष सुविधा एवं संविधान र कानुनमा महिलाका लागि भएको व्यवस्था कार्यान्वयनकै लागि पनि आवाज नै उठाउन पर्दोरहेछ, हामीले धेरैपछि यो कुरा बुझ्यौँ।”

रामगोपालपुरका महिलाजस्तै जिल्लाका अन्य भेगका महिलाले पनि विभेद्विरुद्ध उभिन सङ्गठन नै मुख्य हुने अनुभव सँगालेका छन्। “हामी महिला एकजुट भएर कार्यालयमा पुगेपछि केही सुनवाइ हुने गरेको छ” भङ्गाहा–४ रामनगरकी सामाजिक अगुवा ५५ वर्षीया दीपमायाँ श्रेष्ठ भन्छिन्, “यसका लागि समूह (सङ्गठन) मुख्य ताकत रहेछ।”

अचेल सामाजिक र राजनीतिक अवसरका लागि बल्ल महिलाको खोजी हुन थालेको श्रेष्ठ बताउँछिन्। जिल्लाका विभिन्न स्थानीयतहका बस्तीमा किशोरीहरूले छुट्टै समूह बनाएर आफूहरूका चासोबारे विभिन्न निकायको ध्यानाकर्षण गराउने क्रम पनि अब बाक्लिएको छ।

“हामीले किशोरी अवस्थाको स्वास्थ्य सचेतना, शिक्षाको अवसर, बालविवाहविरुद्ध सचेतना र आर्जनका अवसरका लागि स्थानीय तहलाई घचघच्याइ रहेका हुन्छौँ” रामगोपालपुर–९ कै दलित बस्तीकी १६ वर्षीया किशोरी बिना चमार भन्छिन्, “सङ्गठित भएर सामूहिक रूपमा अघि बढ्दा हाम्रा कुराले वास्ता पाएका छन्।”

आफ्नो नगर क्षेत्रमा किशोरी सरोकारकै क्षेत्रमा सचेतना बढाउने अभियानमा सङ्गठित रूपले लागेका यस उमेर समूह (१३ वर्षदेखि १९ वर्ष सम्मका) २०० बढी अभियानी रहेका रामगोपालपुर–१ की १७ वर्षीया सङ्गीता मण्डल बताउँछिन्।

“विभेदविरुद्ध होस् कि अधिकार प्राप्तिका लागि होस्, सङ्गठन अपरिहार्य रहेछ” मण्डल भन्छिन्, “हाम्रा किशोरी समूहले उठाएका विषयले राज्यका निकायमा महत्त्व  पाउन थालेपछि सङ्गठित हुने क्रम बढेको छ।”

पाँचछ वर्षअघिसम्म बालविवाह यहाँको आम कुरा रहेको बताउँदै मण्डलले भनिन्, “अब भने कानुनको डर सचेतना अभियानले बढाउँदा बालविवाहका घटना निकै पातलिएका छन्।”

जिल्लाका ग्रामीण बस्तीमा अझै आम महिला आफ्ना समस्या भन्नसक्ने अवस्थामा छैनन्। यिनलाई पनि विभिन्न सामाजिक संस्था र समूहमा आबद्ध गराउँदै अधिकार प्राप्तिका लागि आवाज उठाउन उत्प्रेरित गर्न आवश्यक रहेको राजनीतिक क्षेत्रका सक्रिय महिला बताउँछन्। “मुख्य कुरा महिलालाई सङ्गठित हुन प्रेरित गर्नुपर्छ, यसले अधिकार र कर्तव्यबारे जिज्ञासु बनाउने र त्यसको प्राप्तिका लागि आवाज उठाउन सक्ने बनाउँछ” बर्दिबास–३ की बासिन्दा नेकपा (एमाले) को मधेश प्रदेश कमिटी सदस्य सरस्वती चौधरी भन्छिन्, “यसले राजनीतिक उपलब्धिको रक्षामा सचेत गर्नसँगै अवसरका लागि उत्सुक बनाउँछ।”

ग्रामीण बस्तीमा गठन भएका सामाजिक र आर्थिक गतिविधिका विभिन्न समूहमा महिला आबद्धता बढेपछि यसले राजनीतिक चेतना अभिवृद्धिमा पनि सघाउ पुर्‍याएको चौधरीको अनुभव छ। “घरको कामकाज र बुहार्तन महिलाकै जिम्मामा भए पनि आर्थिक स्रोतमा भने पहुँच अझै निकै कम छ, बस्तीबस्तीमा विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा आयआर्जनका सीप र काममा महिला लागेपछि यिनले पनि आफ्नो थैलीमा केही पैसा राख्न सक्ने भएका छन्” चौधरी भन्छिन्, “यो आर्थिक उपार्जनले परिवारमा महिलाको स्थान सम्मानीत बनाउँदै लगेको पाइन्छ।” 

यस्ता सामाजिक सङ्घसंस्था र समूहमा आबद्ध महिला राजनीतिक रुपमा पनि जागरुक हुँदै गएका चौधरीको मूल्याङ्कन छ।  

चौधरीजस्तै नेपाली कांग्रेसका नेता तथा भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारु पनि महिला अधिकारको प्राप्ति र संविधानमा भएका विशेष व्यवस्थाको कार्यान्वयनका लागि सङ्गठनको आवाज सहयोगी मात्र नभइ कतिपय सन्दर्भमा निर्णायक भएको बताउँछिन्। पछिल्ला केही दशकयता महिला अधिकारका क्षेत्रमा उल्लेख्य सुधार र उपलब्धि पनि महिलाको सङ्गठित आवाजकै प्रतिफल भएको सिंहको भनाइ छ।

महिलाप्रतिको विभेदकाे अवस्था चिर्न उनीहरूलाई सङ्गठित हुन अभिप्रेरित गर्नसँगै सहभागितामूलक राजनीतिक अवसरमा पहुँच बढाउन आवश्यक रहेको विभेद्विरुद्धको अभियानमा सक्रिय रहेका महिला बताउँछन्।

राजनीतिक दलहरूले अवसरमा लाने महिला योग्यभन्दा आफ्ना आज्ञाकारी छान्ने परिपाटी रहेको आम गुनासो छ। यो गुनासोको सम्बोधन गर्दै दलहरूले पहलकदमी लिएमा कम समयमा बढी उपलब्धि हासिल हुने बर्दिबास–३ गौरीडाँडाकी सामाजिक अभियानी डोमा शाही विष्ट बताउँछिन्।

प्रकाशित: २५ मंसिर २०८२ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App