१८ पुस २०८२ शुक्रबार
image/svg+xml
विचार

समय सुविधा

बाइराेडकाे बाटाेमा

हामी यतिबेला छनोटपूर्ण समयमा छौं। हामीलाई जो मन पर्छ त्यो मन पर्छ। हामीलाई जो मन पर्दैन त्यो मन पर्दैन। यति हो - हामीलाई केही नेता मन पर्छन्। ती असाध्यै मन पर्छन् किनकि तिनलाई हामी मन पराउँछौं। हामीलाई केही नेता मन पर्दैनन्। तिनले जति राम्रो कुरा गरे पनि मन पर्दैन किनभने हामी तिनलाई मन पराउँदैनौं। कसैलाई मन पराउन पनि हामीसँग कारण हुन्छ, कसैलाई मन नपराउन पनि हामीसँग कारण हुन्छ। खासमा हामी युवल नोहा हरारीले भनेजस्तै कथा बनाउन सिपालु छौं। त्यसैका आधारमा हामी अगाडि बढेका छौं।

समय र सुविधाले हामीलाई छनोटपूर्ण हुने अवसर दिएको छ। हालै एउटा भिडियो सामाजिक सञ्जालमा देखियो। एकजना मुस्लिम धर्मालम्बी पशुपति मन्दिर नजिकै प्रार्थना गर्दैछन्। धेरै मानिसले उनको प्रशंसा गरेका छन्। कैयनले आफ्नो आस्था जहाँ बसेर प्रकट गर्न पनि मिल्ने प्रतिक्रिया दिएका छन्। यस्ता प्रतिक्रिया देख्दा हाम्रो समाज असाध्यै उदार भएको अनुभव हुन्छ। यही काम विभजित समाजमा गर्न सकिँदैन।

यसरी नै हामीले गुण र दोषका आधारमा टिप्पणी गर्ने बानी गर्‍यौं भने समाज धेरै अगाडि जान्छ। यसै पनि हामीले कसैको पनि अति आलोचना गर्ने गरेका छैनौं। सबैलाई हामीले सम्मान गर्दै आएका छौं। यथार्थमै ‘सर्वधर्म समभाव’ हाम्रो रगतमै रहेको अनुभव हुन्छ। तैपनि यदाकदा हामी बहकिन्छौं। अरूले हाम्रो धर्म, संस्कृति, समाज आदिलाई विकृत तुल्याइदिए भन्ने पनि लाग्न सक्छ।

त्यसै गरी केहीअघिसम्म हामी कुनै खास मुलुकका अति विरोधी र कसैका खास पक्षपाती पनि देखिने गरेका हौं। हालै गायिका मेनुका पौडेलले ‘जय हिन्द’ भनेको भनेर समाचार आएका छन्। त्यसमा आएका टिप्पणी पनि उत्तिकै घतलाग्दा छन्। धेरैले उनीप्रति सकारात्मक टिप्पणी गरेका छन्।

आफूलाई जहाँ सहज हुन्छ त्यहाँ बस्ने हो भन्ने धारणाले हाम्रो समाजमा अरूप्रति सहन गर्न सक्ने क्षमता विकास भएको अनुभव हुन्छ। र, बिस्तारै हामी विश्व मानव बन्ने बाटोमा लागिरहेको सन्देश पनि हो। आजको दिनमा संसारमा जहाँ बसेर प्रगति गरे पनि हुन्छ भन्ने भाव यहाँ छ।

हामी यसरी सबैलाई स्वीकार गर्न सक्ने अवस्थामा पुग्नु राम्रो पक्ष हो। कुनै बेला यस्तो पनि थियो, जतिबेला सामान्य हल्लाका भरमा समेत कैयनलाई नराम्रो असर पर्ने घटना भएका छन्। कुनै बेला ऋतिक रोशनले नेपालप्रति नकारात्मक टिप्पणी गरेभन्दा कति ठुलो आन्दोलन भएको थियो। मानिसको मृत्युसम्म हुन पुगेको थियो। एक जना नायिका काठमाडौं आएका बेला गरेको टिप्पणीले हामीलाई क्षुब्ध बनाएको थियो। अहिले आएर यस्ता घटना कमै हुन थालेका छन्।

विगतका कतिपय अवस्थामा सबैप्रति सद्भाव राख्न सकेको देखिएको छैन। अहिले आएर देशविदेश जानु वा उतै बस्नुलाई लिएर धेरै आलोचना गरिरहनु उचित हुँदैन। कैयन व्यक्ति अन्तर्राष्ट्रिय स्तरमा सफल भएपछि त्यहींका नागरिक भएका पनि छन्। तिनले नेपालको नागरिकता छाडेभन्दा दुःख लागे पनि त्यो तिनको जीवन हो, जे सहज हुन्छ त्यो गर्न दिनुपर्छ भन्ने सोच आउनु स्वाभाविक हो। कुनै अतिवादी प्रतिक्रिया व्यक्त नगर्दा नै समाजमा उदारता बढ्न थाल्छ।

तेन्जिङ नोर्गे शेर्पाले एडमन्ड हिलारीसँगै सगरमाथा आरोहण गरे। उनी विश्वकै पहिलो व्यक्ति बने जसका पाइला सगरमाथा शिखरमा पुगे। पछि उनी भारतीय भएभन्दा धेरैको मन खिस्रिक्क हुन्छ तर उनी तिब्बती, नेपाली वा भारतीय जे भने पनि खासै फरक पर्दैन। उनलाई जहाँ सहज लाग्यो त्यहीं बसे। उनले आफ्नो जीवनमा कति धेरै मेहनत गरे जसले उनलाई त्यो हदसम्मको सफलता प्रदान गर्‍यो भन्ने पक्ष प्रमुख हो। उनी नेपाली भएर सगरमाथा आरोहण गरे; त्यो हाम्रो गौरवपूर्ण इतिहास हो।

कुनै पनि समाज अरूप्रति कति सहज बन्छ भन्ने पक्ष आफैंमा महत्त्वपूर्ण हुन्छ। नेपाल आउने कैयन विदेशीले यहाँ अन्यत्रभन्दा कमै सुविधा पाउँछन् तर आइसकेपछि तिनीहरू पटक–पटक यहाँ फर्कने बाचा गर्छन्।

यसको अर्थ हो - हामीमा त्यस्तो केही विशेष खुबी छ, जसले अरूलाई यहाँ ल्याइरहन्छ। नेपाली प्रकृति भनेकै अरूलाई वास्ता गर्ने, अरूका समस्यामा आफू पनि समभाव राख्ने र जस्तै अप्ठ्यारोमा पनि उत्थानशील हुने हो। हो, यही गुण विदेशीहरूले मनपराएको पाइन्छ।

नेपाल आउने जो जो विदेशी छन्, तिनले आफ्नो देश र संकृतिमा भएका कैयन पक्ष यहाँ महसुस गर्न पाउँछन्। त्यसैकारण पनि उनीहरूका निम्ति नेपाल आत्मीय लाग्छ। यही विशेषता हामीले जोगाइराख्न सक्नुपर्छ भन्ने हो। आजकल सामाजिक सञ्जालमा जसरी एकअर्का विरुद्ध सामग्री राखेर समाजलाई ध्रुवीकरण गरिँदैछ, त्यो भने आफैंमा चिन्ताको विषय हो। मन परे भगवान् मन नपरे सैतान बनाउने प्रवृत्ति खतरनाक हुन्छ।

खासगरी राजनीतिक आस्थाका कारण धेरै मानिस यहाँ विभाजित छन्। आफूलाई मन पर्ने दल भयो भने त्यसका नेताले भनेको जे पनि समर्थन गर्छन्। आफूभन्दा अलग दल र नेता छन् भने तिनलाई पटक्कै मन पर्दैन। कतिपयका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो अहिलेका बेलामा जान्ने कुनै नेता छैन तर सामाजिक सञ्जाल हेर्‍यो भने उनी जति आलोचित पात्र अर्को भेटिँदैन। यस्तो गराउन सबैजसो दल, प्रभावशाली संगठन र अन्यले सञ्जालमा सक्रिय हुने ‘साइबर सेना’ तयार पारेका छन्। तिनैले अचेल समाजलाई चाहिनेभन्दा बढी भ्रमित गरिरहेका छन्। यस्तो भ्रमबाट सर्वसाधारणलाई जोगाउन ढिला भइसकेको छ।  

यसको अर्थ हिजो नै राम्रो थियो, आज केही भएन भन्ने पनि होइन। त्यसैगरी प्रधानमन्त्री ओलीले शुक्रबार लहानमा गएर भाषण गरेजस्तो हिजो केही थिएन, आज आएको हो भन्ने पनि होइन। स्वाभाविक हो, हिजो कैयन पक्षमा विकास भएको थिएन। आज समयले यी विषयहरू ल्याएको छ। समयले परिवर्तन र चेतना पनि ल्याएको छ। समय र आविष्कारले ल्याएको चेतनामा आफूले गरेको परिवर्तनझैं भाषण गर्नु पनि आवश्यक छैन। बरु यस्ता वस्तु उपलब्ध गराउनतिर लाग्नु उचित हुन्छ। दल, नेता, व्यक्तिलाई अनुहार हेरेर होइन व्यवहारबाट छनोट गर्ने बानी लाभदायक हुन्छ।

कैयन समस्या प्रविधि र आविष्कारले पनि समाधान गरेको इतिहास छ। हिजोका दिनमा राम्ररी खाने र लाउने वस्तु पाइँदैनथे। जुत्ताचप्पल लगाउनु भनेको विलासिताजस्तो थियो। अमेरिकाको न्युयोर्क सहरभरिको घोडाको लिदी सफा गर्न नसकिएको समय पनि थियो। कालान्तरमा त्यहाँ अटोमोबाइल आएपछि घोडा हटे। सहर सफा भयो। जब कि कुनै बेला त्यहाँ ‘टाउन हल मिटिङ’ हुँदा कुनै समाधान निस्किएको थिएन। यही अवस्था हाम्रै नेपालगञ्ज सहरको थियो। अहिले त्यहाँ टाँगा हराए। त्यहाँ अटोरिक्सा आएका छन्। भाषण पनि यसरी नगर्नू सबै हामीले ल्याएका हौं भनेर। कतिपय सफाइ प्रविधिको विकासले पनि गर्छ भन्ने उदाहरण न्यूयोर्कको सफाइ नै हो।

हामीले केही गर्दै नगरे पनि समयसँगै धेरै पक्ष परिवर्तन हुन्छन्। हिजो टाइपिङ सेन्टरमा गएर टाइप सिक्नुपथ्र्यो, आज कम्प्युटर चलाउन कसैले पनि टाइपिङ पाठशाला खोज्नु पर्दैन। यस्ता प्रविधि र मेसिन हाम्रा छेउमा आएपछि आफैं सिकिन्छ। हाम्रा यति प्रतिशत युवाले ल्यापटप वा कम्प्युटर चलाउँछन् भन्नेमा गर्व गर्नुभन्दा त्यस्ता वस्तु निर्माणमा योगदान गर्न सक्ने बनाउनुपर्छ। समय र प्रविधिलाई दुरूपयोग गर्दै हाम्रो समाजको उदार पक्षलाई नखल्बल्याउनु राम्रो हो।

विशेष गरी आजको प्रविधिले हामीलाई एकोहोरो बनाउने खतरा छ। आफूलाई मन पर्ने विचार मात्र सुन्ने र हेर्ने हो भने ‘अल्गोरिदम’ को महाजालमा फस्ने खतरा छ। त्यसले हाम्रो आलोचनात्मक चेतनालाई खतम पार्छ र आफूलाई मनपर्ने विचार मात्र सुन्ने र त्यसैमा अलमलिने बनाउन सक्छ। हाम्रो समाजमा रहेको सबैप्रतिको समभावपूर्ण व्यवहार समाप्त नगर्दा बढ्ता उपयोगी हुन्छ।

प्रकाशित: १ भाद्र २०८२ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App