२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
विचार

विकासशील देशका विकल्प

विकासशील देशले आर्थिक विकासका लागि उत्पादनमुखी वा सेवामुखी मोडलमध्ये कुन रोज्ने भन्ने बहसमा एउटा महत्त्वपूर्ण पक्ष ओझेलमा परेको छ - कृत्रिम बुद्धिमत्ता (एआई)। यसले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको उत्पादकत्वलाई समेत उल्लेखनीय रूपमा बढाउन सक्ने सम्भावना बोकेको छ। यदि सरकारले यस्ता प्रविधिमा व्यापक पहुँच सुनिश्चित गर्न सके भने अब विकासका दुई रणनीतिमध्ये एउटा मात्र रोज्नुपर्ने बाध्यता रहने छैन।

विश्वका प्रमुख व्यापार तथा विकास अर्थशास्त्रीहरूमध्ये एक ड्यानी रोड्रिकले हालैको एक टिप्पणीमा किन आफू ‘उत्पादन उद्योगप्रति सन्देहवादी’ रहेको बताएका छन्। दशकौंसम्म औद्योगिक उत्पादनलाई आर्थिक विकासको मुख्य इन्जिन मानेका रोड्रिकको निष्कर्ष के हो भने परम्परागत उत्पादन उद्योगले विश्वविद्यालयको शिक्षा नलिएका र अन्तर्राष्ट्रिय व्यापार वा आउटसोर्सिङसँग नजोडिएका १.५ अर्ब श्रमिकलाई समेट्न सक्दैन। त्यसैले खुद्रा व्यापार, आतिथ्य सेवा र खाद्य सेवाजस्ता क्षेत्रलाई विस्तार गर्दै सेवामुखी विकासलाई प्राथमिकता दिनुपर्ने तर्क उनको छ।

यस विश्लेषणमा एआईद्वारा सशक्त बनाइएको मानव उत्पादकत्व वृद्धिको सम्भावनालाई पर्याप्त रूपमा समेटिएको छैन। विश्वभर हेर्दा एआईले विश्वविद्यालयीय शिक्षा आवश्यक नपर्ने श्रमप्रधान सेवाक्षेत्रमा समेत चुपचाप उत्पादकत्व बढाइरहेको देखिन्छ। यो प्रवृत्ति विशेष गरी भारतमा स्पष्ट छ, जसले उत्पादन उद्योगप्रतिको सन्देह र अफ्रिका तथा दक्षिण/दक्षिणपूर्वी एसियाका नीति निर्माताहरूको औद्योगिकीकरणप्रतिको चाहनाबिच पुल निर्माण गर्ने सम्भावना देखाएको छ।

भारतको सेवामुखी विकास केवल खुद्रा र आतिथ्य क्षेत्रको विस्तारको परिणाम होइन। एल्गोरिदमिक उपकरणहरूले भण्डारण व्यवस्थापन, गतिशील मूल्य निर्धारण, मागको पूर्वानुमान र आपूर्ति शृंखला समन्वयमा आमूल परिवर्तन ल्याएका छन्। आजको बैगलोर वा मुम्बईको एउटा औपचारिक खुद्रा पसल १९९० को दशकको पसलभन्दा फरक छ, कर्मचारीहरू बढी शिक्षित भएकाले होइन तर एल्गोरिदमहरूले उनीहरूलाई बढी उत्पादक बनाएको हो।

यही प्रवृत्ति सडक व्यापारी र सूक्ष्म उद्यमहरूमा समेत देख्न सकिन्छ। फ्लिपकार्ट बिटुबी र जियोमार्टजस्ता प्लेटफर्महरूले एआई–आधारित माग पूर्वानुमान तथा खरिद व्यवस्थापनका उपकरण उपलब्ध गराएपछि केवल मोबाइल फोन भएका तरकारी व्यापारीले पनि ग्राहकको आवश्यकता अनुमान गर्न, त्यसअनुसार सामान राख्न र पहिले सम्भव नभएको आम्दानी बढाउन सकेका छन्।

यसलाई औद्योगिक इतिहासको अर्को चरणसँग तुलना गर्न सकिन्छ। सन् १९६० को दशकमा दक्षिण कोरियाको एक कपडा मजदुरले भारतीय समकक्षीभन्दा झन्डै ५० गुणा बढी कपडा उत्पादन गथ्र्यो। कारण उसको क्षमता बढी भएकाले होइन, उसले प्रयोग गर्ने मेसिन राम्रो भएकाले थियो। आज एआईले सडक व्यापारी, खुद्रा कर्मचारी र साना किसानका लागि त्यही भूमिका खेलिरहेको छ। फरक यति मात्र हो कि एआई उपकरणहरू कारखानाभन्दा धेरै सुलभ छन्। ती विद्यमान अनौपचारिक संरचनामै प्रयोग गर्न सकिन्छ, यसका लागि ठुला औद्योगिक पुनर्संरचना आवश्यक पर्दैन।

यसको अर्थ विश्वका १.५ अर्ब श्रमिक कम सिप आवश्यक पर्ने, अन्तर्राष्ट्रिय व्यापारसँग नजोडिएका पेसामै रहे पनि उत्पादकत्व बढ्न सक्छ। पूर्वी अफ्रिका वा दक्षिण एसियाका किसानहरूले डिजिटल कृषि सल्लाहकारको प्रयोगबाट थप जमिन वा औपचारिक शिक्षाबिना नै औसत ३० प्रतिशत उत्पादन वृद्धि हासिल गरिरहेका छन्।

त्यस्तै, भण्डारण र मूल्य व्यवस्थापनका लागि साधारण एआई उपकरण प्रयोग गर्ने तरकारी व्यापारीले १८ महिनाभित्र आफ्नो आम्दानी दोब्बर बनाउन सक्छिन्।

यद्यपि मुख्य चुनौती प्राविधिक होइन, संस्थागत हो। नयाँ उपकरण श्रमिकसम्म पुर्‍याउन स्थानीय भाषामा अनुकूलन, न्यून डिजिटल साक्षरतामै प्रयोग गर्न सकिने पहुँच, सानो नाफामा टिक्न सक्ने व्यावसायिक मोडल र अनौपचारिक वित्तीय प्रणालीसँग एकीकरण आवश्यक पर्छ।

त्यसैगरी नीतिनिर्माताहरूले यी प्रणालीहरू समावेशी र खुला पहुँचमा आधारित बनाउन  सुनिश्चित गर्नुपर्छ। प्रमुख ई–कमर्स प्लेटफर्महरूले अत्यधिक शुल्कमार्फत एआईबाट सिर्जित अतिरिक्त मूल्य आफूले मात्र लिने हो भने सडक व्यापारीले कमाएको लाभ अन्ततः ठुला कम्पनीकै खातामा पुग्नेछ। यो देख्दा चुनौतीपूर्ण भए पनि सम्भव काम हो।

यस्तै निष्कर्ष उत्पादन क्षेत्रमा पनि लागु हुन्छ। आधुनिक विश्वव्यापी उत्पादन शृंखलामा प्रतिस्पर्धा गर्न उच्च सिप आवश्यक भए पनि एआईले यो समीकरण परिवर्तन गरिरहेको छ। अब एउटा कपडा कारखानालाई ५०० बहुसिपयुक्त श्रमिक होइन, कम्प्युटर–भिजन गुणस्तर नियन्त्रण, माग अनुसार उत्पादन योजना र ढुवानी अनुकूलन प्रणालीद्वारा सशक्त बनाइएका ५० श्रमिक मात्र पर्याप्त हुन सक्छन्। यस्ता उदाहरणहरू बंगलादेश र भियतनाममा देखिन थालेका छन्।

आलोचकहरूले बाँकी ४५० श्रमिक विस्थापित हुने तर्क गर्न सक्छन्। तर, अधिक उत्पादक कारखानाले उत्पादन बढाउँदै लागत घटाउँदा आपूर्ति शृंखला, वितरण र सहायक सेवाहरूमा नयाँ रोजगारी सिर्जना हुने तथ्यलाई बेवास्ता गर्न मिल्दैन।

रोड्रिकले औंल्याएको उत्पादकत्वको विरोधाभास अर्थात् उत्पादन क्षेत्रमा रोजगारी बढे पनि उत्पादकत्व समान अनुपातमा नबढ्ने अवस्था, वास्तविक हो तर यो समाधानविहीन छैन। यदि साना तथा अनौपचारिक उत्पादकहरूले एआई–आधारित गुणस्तर नियन्त्रण, आपूर्ति व्यवस्थापन र ‘जस्ट–इन–टाइम’ योजना प्रणालीमा पहुँच पाए भने उनीहरूले ठुला कारखानाको स्तरको उत्पादकत्व हासिल गर्न सक्छन्।

नाफ्टाअन्तर्गत मेक्सिकोको कमजोर आर्थिक प्रदर्शनले पनि यही संकेत गर्छ। समस्या त्यहाँका उत्पादकहरूले प्रतिस्पर्धा गर्न नसकेको होइन, प्रविधिको लाभ साना र अनौपचारिक उद्यमसम्म नपुगेकाले भएको हो। कारखानाहरू विस्तार भए तर कामदारहरू न्यून नाफाको जडान–कार्यमा मात्र सीमित रहे।

एआई प्रविधिको विकासले अन्य क्षेत्रमा पनि मानव पुँजीको आवश्यकता घटाइरहेको छ। भारतको सेवामुखी सफलतामा अंग्रेजी बोल्ने जनशक्ति र प्रारम्भिक सूचना–प्रविधि पूर्वाधारको योगदान थियो तर अब अम्हारिक, स्वाहिली वा तेलुगु भाषी क्षेत्रहरूमा पनि अंग्रेजी जान्ने इन्जिनियरबिना डिजिटल कृषि उपकरण प्रयोग गर्न सकिने अवस्था बनिरहेको छ।

त्यसैले गरिब देशका लागि सेवामुखी विकास बढी सम्भव छ कि औद्योगिकीकरण भन्ने बहस मूल विषय होइन। मुख्य कुरा उत्पादकत्व बढाउने साधन उपलब्ध हुनु हो। २०औं शताब्दीमा यसको अर्थ औद्योगिक मेसिनरीमा पहुँच थियो। आज यसको अर्थ स्थानीय भाषामा चल्ने, अफलाइन काम गर्न सक्ने र अत्यन्त सस्तो एआई उपकरणमा पहुँच हो।

निःसन्देह यस्ता उपकरणको व्यापक प्रयोग स्वतः हुने छैन। अहिले अधिकांश एआई लगानी उच्च सिप र उच्च आय भएका देशहरूमा केन्द्रित छ तर यो कुनै आर्थिक नियमको परिणाम होइन, यो नीतिगत छनोटको परिणाम हो। प्रश्न यति मात्र हो– नीतिनिर्माताहरूले स्थानीयकृत र सुलभ एआईलाई ग्रामीण विद्युतीकरण वा राजमार्गजस्तै पूर्वाधारका रूपमा लिन्छन् कि धनी वर्गका लागि विलासिताको वस्तुका रूपमा लिन्छन्?

विकासशील देशहरूले एआई र डिजिटल उपकरणमा व्यापक पहुँच सुनिश्चित गर्न लगानी गरे भने उत्पादन र सेवामुखी विकास एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक बन्न सक्छन्। एआईको सहयोगमार्फत किसानले कृषिपेसा छोड्नै नपरीकन मध्यम वर्गीय आम्दानी हासिल गर्न सक्छन् र सडक व्यापारीले पनि ठुलो कम्पनीमा आबद्ध नभई उही स्तरको जीवनस्तर प्राप्त गर्न सक्छन्।

त्यसैले अब उत्पादन उद्योग एक्लो विकास इन्जिन हुन कुनै आवश्यक छैन, यसले एआई–सशक्त औपचारिक र अनौपचारिक सेवासँग सहअस्तित्वमा रहन सक्छ। पूर्वी एसियाको औद्योगिकीकरण कथाजस्तो रोमाञ्चक नदेखिए पनि यो दृष्टिकोणको सबैभन्दा ठुलो विशेषता के हो भने यसलाई अहिले नै कार्यान्वयन गर्न सकिन्छ। चुनौती केवल यति हो– समावेशी एआई पूर्वाधार निर्माणका लागि स्पष्ट र दूरदर्शी नीति अपनाउन आवश्यक छ। यी १.५ अर्ब मानिसलाई माथि उठाउने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरू जहाँ छन्, त्यहीं पुगेर अवसर उपलब्ध गराउनु हो।

–बैंकटेसन ‘ग्लोबल इनर्जी एलायन्स फर पिपुल एन्ड प्लानेट’का अध्यक्ष हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २९ जेष्ठ २०८३ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %