हरेक क्षेत्रमा, हरेक पेशामा रहेका मानिसले आआफ्ना जीवनमा, आआफ्ना वृत्तिविकासका क्रममा थरिथरिका दुर्घटना वा दुर्घटनाका प्रभाव बेहोर्नुपरिरहेको हुन्छ । कहिले यात्रुको भूमिकामा, कहिले सारथीको भूमिकामा यस्ता दुर्घटना भोगिरहेका हुन्छन् मानिस । त्यस्तो बेलामा तिनले लिने निर्णयले तिनको चरित्रलाई उजागर गर्ने काम गर्छ । जो मानिस आत्मकेन्द्रित हुन्छ, यथार्थमा ऊ आफ्नो विवेकअनुसार निर्णय गर्न सकिरहेको हुँदैन । वरिपरिको परिस्थितिको तथ्यगत मूल्यांकनभन्दा बढी आफ्नो 'म'बाट परिचालित भइरहेको हुन्छ । तत्क्षणको यथार्थलाई देख्न सक्दैन । जे देख्छ, त्यसका बारेमा मनोगत प्रतिक्रिया जनाइरहेको हुन्छ । र, यस्ता मनोगत प्रतिक्रियाहरू सचेत, जाग्रत अवस्थामा विवेक र बुद्धिका आधारमा 'गरिने' हुँदैनन् । लामो समयदेखि मनमा बनेको निश्चित ढाँचाका आधारमा स्वचालितझैँ 'हुने' गर्छन् ।
दुर्घटना सधैँ पालैपालो एकएक गरेरमात्रै हुँदैन । कुनै बेला अनेक दुर्घटनाको सिलसिला चलिरहेको हुन्छ । एकमाथि अर्को सिलसिला खात लाग्न थाल्छ । यस्तो बेलामा निहित स्वार्थ र व्यक्तिगत चरित्रका कारण 'स्वचालित' रूपमा 'हुने' मानिसका थरिथरिका निर्णयका कारण अचम्मको अराजकता, कोलाहल, विशृंखलता देखिन थाल्छ समाजमा । कोही पनि होसमा देखिँदैनन् । कसैले कसैको कुरा सुनिरहेको हुँदैन । श्रवणक्षमता हराएका मानिसको भीडमात्र देखिन्छ जताततै ।
देश यतिबेला यस्तै विभिन्न दुर्घटनाको सिलसिलाको चपेटामा छ । दुर्घटनाको यो योगप्रति राज्यको मात्र हैन, नागरिकका प्रतिक्रियाहरू पनि त्यस्तै लयविहीन र अराजक बनेका छन् । राजनीतिक पार्टीहरू सुनिर्दिष्ट दिशाबोध र सुस्पष्ट मिसन भएका मानिसको सुसंगठित समूह हैन, आआफ्ना रहर, निजी आवश्यकता र स्वार्थ बोकेर प्रवेश गर्ने मानिसका क्लबजस्ता भएका छन् । आआफ्ना बीचमा समानताको खोजी गरेर 'हामी'को निर्माण गर्ने यज्ञ त असम्भव नै प्रतीत हुन्छ, एकार्काबीच रहेको भिन्नतालाई नै अझ ठूलो बनाएर 'म'लाई झन्झन् मोटो बनाउने खेल लोकप्रिय भइरहेको छ । यो खेलमा अरुलाई जति पछार्न सक्यो, 'म'को पक्षमा त्यत्ति नै बढी 'स्कोर' थपिँदै जान्छ ! दुर्भाग्य, खेलको अन्त्यमा जति ज्यादा 'स्कोर' बन्छ, मानिसको जीवन त्यत्ति नै सस्तो, खोक्रो, निरुद्देश्य बनिरहेको हुन्छ ।
दुर्भाग्यबस हामीकहाँ अहिले त्यस्तै भइरहेको छ ।
मानिसबीच, संघ–संस्था वा पार्टीहरूबीच, समुदायहरूबीच अनेक भिन्नता हुनु स्वाभाविक हो । तर, त्यो भिन्नताबीच समानताको खोजी गरेर इन्द्रेणी बनाउने कि त्यसलाई असमानता, अन्याय, उत्पीडन ठड्याउने जग बनाउने ? विविधतालाई सभ्यता र संस्कृति निर्माणको ढुंगा, माटो, पानी र ऊर्जा बनाउने कि एकअर्काप्रतिको द्वेष, आशंका, अविश्वास, घृणाको खेती गर्ने जमिन बनाउने ? भिन्नतालाई एकअर्काको पूरक बनाएर निरन्तर पूर्णताको दिशामा अघि बढ्ने कि फुटको बीउ बनाउने ? जाग्रत, सचेत भएर सोच्दा यी प्रश्नको उत्तर सहज हुन्छ । तर, जाग्रत रहनु गाह्रो छ, सचेत रहनु गाह्रो छ । हानिकारक भावहरूबाट वशिभूत भएर कुरा गर्न भने कुनै मेहनत गर्नुपर्दैन ।
भिन्नताको जरा वर्तमानमा भन्दा बढी विगतमा गाडिएका हुन्छन् । त्यस्तो भिन्नताका जगमा जबर्जस्ती उठाइएका समस्याको समाधानका निम्ति विगतमा फर्केर जान सकिँदैन । तर, विगतका निम्ति वर्तमानलाई दण्डित गर्ने, अघिल्लो पुस्ताका पापका निम्ति अहिलेको पुस्तालाई दण्डित गर्ने, हिजोको मौनताको क्षतिपूर्तिका रूपमा आज आक्रोश व्यक्त गर्ने, अर्थात् मृत विगतका निम्ति वर्तमानमा अनेक कदम चाल्ने खेल भने सहज प्रतीत हुन्छ । यसले दण्डप्रियताको कुचक्रलाई पोस्ने काम गर्छ ।
यो भिन्नताको बीचमा समानता खोज्ने काम भने वर्तमानमै मात्र सम्भव हुन्छ । तर, वर्तमानमा अवस्थित हुनु सहज छैन । यो कठिन हुन्छ । यसले मेहनतको माग गर्छ । साँच्चै वर्तमानमा अवस्थित हुन त ऊर्जा खर्चिनुपर्ने हुन्छ । त्यसैले, धेरैका लागि त्यो असहज, अप्रिय र निरर्थक यत्नजस्तो हुन्छ । बरु विगतको अनुभवका आधारमा भविष्यको प्रक्षेपण गर्न हामीलाई मजा लाग्छ, सजिलो लाग्छ । हामी त्यो स्वैरकल्पनाभित्र कि अतृप्त तृष्णा मेटाउन खोज्छौँ कि अज्ञात भविष्यको त्रासमा डुब्छौँ । वर्तमानको यथार्थलाई आत्मसात गर्नुभन्दा मृत विगत वा अझै नजन्मिएको भविष्य हामीलाई नजिकको लाग्छ ।
दुर्घटनाहरूको सिलसिलामा डुब्दै गरेको यो देशका नागरिक हामी यस्तै स्वैरकल्पनामा हराएका छौँ । छिनभरमै हामी भविष्यमा पुग्छौँ । अनि कि देश टुक्रिएको देख्छौँ, कि त अर्को समुदायलाई दण्डित गरेर आफू स्वतन्त्र र आनन्दित भएको देख्छौँ । छिनभरमै हामी विगतमा पुग्छौँ अनि मरिसकेका पलहरूलाई बोलाएर आफूलाई वर्तमानमा व्याकुल, आक्रोशित र दुःखी बनाउन निम्तो दिन्छौँ । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नारा लगाउँछौँ, उनले भनेका केही मान्दैनौँ । कृष्णको नाममा अनेक नाटक गर्छौं, उनले भनेका दैवी हैन खोजीखोजी आसुरी गुण हुर्काउँछौँ । जिससलाई पनि मागी खाने वा मान्छे किन्ने साधन बनाइदिन्छौँ अनि सैतानको पछि लाग्छौँ । बबुरा माक्र्सको त के कुरा भो र ! राजनीतिको वृहत् क्यासिनोमा लोगो बनाएर झुन्ड्याइदिएका छौँ हामीले माक्र्सलाई !
दण्डप्रियता र दण्डविहीनता उत्तिकै हानिकारक छन् । हामी जति दण्डप्रिय भइरहेका छौँ, दण्डविहीनता उत्तिकै बढ्दो छ । क्षमा र दण्डविहीनतालाई एउटै मान्ने हाम्रो बानी परेको छ । तर, यी नितान्त फरक कुरा हुन् । 'दण्डविहीनता'को नाता जहिले पनि निहित स्वार्थ, भय, लोभजस्ता अन्धकार भावसँग जोडिएको हुन्छ । तर, 'क्षमा' मानिसको पूर्णतातर्फको यात्रासँग, मानिसभित्र मानवताको हुर्काइसँग जोडिएको हुन्छ । 'दण्ड'को उद्देश्य हिंसा वा प्रतिहिंसा हैन, बरु मानिसलाई पहिलेभन्दा असल र उपयोगी बनाउने हो भने त्यो भूमिका 'क्षमा'ले मात्र निर्वाह गर्न सक्छ । क्षमासँग जोडेर सार्थक दण्डको अभ्यास केही हदसम्म दक्षिण अफ्रिकामा जातीय विभेदको अन्त्यका बेला भएको थियो । यो असम्भव छैन । तर, कठिन भने छ– हामीभित्रकै अन्धकारका कारण ।
अनेक घटना भइरहेका छन् । उही र उस्तै घटनाका बारेमा विश्लेषणहरू भने फरकफरक छन् । तिनलाई हेर्ने दृष्टिकोण फरक छन् । भइसकेको एउटै घटनालाई हेर्ने दृष्टिकोण फरक छ भन्नुको अर्थ नै के हो भने विविधताबीच समानता खोज्ने अभ्यास हामीले सिक्नै सकेका छेनौँ ।
अनगिन्ती मानिसले अनगिन्ती शैलीमा अभिव्यक्त गरिसकेका छन्– यो देश सम्भावनाहरूले भरिएको देश हो । तर, ती सम्भावनाका ढोकालाई छेकेर बसेका थोरै प्रमुख तŒव छन् । तीमध्येकै केही हुन्– विविधताका बीच समानताको खोजी गर्न नसक्नु, अन्धकारमा उज्यालाका बीउ देख्न नसक्नु, वर्तमानमा रहेर 'यथाभूत ज्ञानदर्शन'को मर्म बुझ्न नसक्नु । पुरानोबाट नयाँ नेपालमा पस्न कुनै दुस्साहस चाहिँदैन। केवल यी तगारालाई हटाए पुग्छ ।
चलिरहेका दुर्घटनाको सिलसिलाले सवार र सारथिको भूमिकामा रहेका धेरैको चरित्रलाई उजागर गरिदिएको छ । अरुलाई कुरीकुरी भन्नुअघि केहीले आफैलाई ऐनामा हेर्ने साहसको विकास गर्न सक्यौँ मात्र भने पनि, धेरै कुरा सप्रिनेछ । त्यसका निम्ति सकेको यत्न गरौँ । हामी सबैको मंगल होस् !
प्रकाशित: १६ वैशाख २०७३ २२:२५ बिहीबार

