२१ मंसिर २०७९ बुधबार
विचार

महारानीको महाप्रस्थान

मानवीय धरोहरकी साझा रक्षक एवं सारा बेलायती र कमनवेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ द्वितीय। लन्डनको भीडभाडबाट टाढा रहेर स्कटल्यान्डस्थित बाल्मोरलकाशलमा ग्रिष्मकालीन समय बिताइरहेकी महारानी एलिजाबेथले यति सजिलै यो धराधाम छोड्लिन जस्तो कसैलाई पनि लागेको थिएन। अचानक स्वास्थ्यमा समस्या आएर डाक्टरहरूको निगरानीमै रहेकी महारानीले अन्ततः स्कटल्यान्डस्थित बाल्मोरलकासलमा शान्तिपूर्वक यो नश्वर चोला छाडेर भगवानमा लिन भइन्। यो समाचार भुसको आगोझैँ संसारभरि फैलियो। क्षणभरमै ८ सेप्टेम्बर २०२२ को दिन। विश्वकै महारानी जस्तै अभिभावकीय भूमिकामा रहेकी सात दशकदेखि अभिच्छिन्न राज्यारोहण गरेर संसारका धेरै परिवर्तन साक्षीका रूपमा देखेकी स्वीकारेकी महारानीले आफ्ना पति राजकुमार फिलिप गएको एक वर्ष केही महिनामै उनलाई भेट्ने यात्रामा निस्किइन् सबैलाई रुवाएर।

बेलायत यतिखेर आफ्नी प्यारी महारानीको शोकमा डुबेको छ। बकिङघम प्यालेसको ढोकामा मान्छेको समुन्द्र ओर्लेको छ। फूल र कार्डले भरिएको छ चारैतिर। ग्रिनपार्क, विंसरक्यासल, सान्निग्ह महारानीका सबै दरवार श्रद्धाका फूलले भरिएका छन्। कुनै उर्दी छैन, कुनै औपचारिक बिदा छैन तथापि मानव सागर उर्लेको छ। श्रद्धामा आफ्नी रानीको सम्मानमा। मान्छे डाँको छाडेर रोएका छन्। आफ्नै निकटतम आफन्तको निधनभन्दा बढी सम्झेर। राजतन्त्र पनि यति धेरै सम्मानित हुँदोरहेछ। संसदीय प्रजातन्त्रको जननी मुलुक बेलायत त्यसको साक्षी हो दुनियाँमा।

अन्तिम क्षण

उनीसँगजीवनको त्यो अन्तिम क्षण आफ्ना चारजना सन्तान र उनको उत्तराधिकारी प्रिन्स अफ वेल्ससमेत साथमा थिए। उनका उत्तराधिकारी राजकुमार चाल्र्स तृतीय लाई राजा घोषणा गरिसकिएको छ तर उनको नयाँ भूमिकाको औपचारिक घोषणा शनिबार लन्डन समयअनुसार बिहान १० बजे सेन्टजेम्स प्यालेसमा एक समारोहमा भएको थियो। उनको राज्यकालमा महारानीले १५ जना बृटिस प्रमलाई झेलिन्। अस्तिमात्रै ६ सेप्टेम्बरका दिनमा पन्ध्रौँ प्रम लिज ट्रसलाई पदभार गराएकी थिइन्। ७० वर्ष ७ महिनाअघि राजगद्दीमा आएकी महारानी बेलायतको इतिहासमै सबैभन्दा बढी राज गर्ने महारानी हुन्।

२१ अप्रिल १९२६ मा जन्मिएकी महारानीले सन् १९५२ मा २६ वर्षको उमेरमा गद्दी सम्हालेकी थिइन्। महारानी एलिजावेथ द्वितीयका तीन छोरा चाल्र्स, एन्ड्रु र एडवार्डका साथै एक छोरी आनसहित जम्मा चार सन्तान छन्। त्यस्तै, उनका जम्मा ८ नाति÷नातिना र १२ पनाति÷पनातिना छन्। नवनियुक्त राजा चाल्र्सले एक वक्तव्य जारी गर्दै महारानीको निधन आफू र सिंगो राजपरिवारका लागि सबैभन्दा ठूलो दुःखद क्षण रहेको उल्लेख गरेका छन्। राजा चाल्र्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि पूर्वरेकर्ड गरिएको भाषणमा राष्ट्रलाई आफ्नो पहिलो सम्बोधनमा भन्नुभयो ‘गहिरो शोक महसुस गर्दै’ आफ्नी आमाको बारेमा बोल्दै उहाँले भन्नुभयो– ‘आफ्नी आमाको माया, मार्गदर्शन, समझदारी र उदाहरणका लागि कुनै पनि परिवारले आमाप्रतिको ठूलो ऋणको मूल्य बुझेको हुन्छ। हामी सबैभन्दा हृदयदेखि यो ममताका लागि ऋणी छौँ। पहिलोपटक टेलिभिजनमा बोल्दै भावपूर्ण शब्दमा भन्नुभयो– म यो भन्न चाहन्छु, धन्यवाद। तपाईँको माया, हाम्रो परिवार र राष्ट्रहरूका परिवारलाई तपाईँले यी सबै लामा वर्षहरू लगनशीलताका साथ सेवा गर्नुभएकोमा धन्यवाद। स्वर्गदूतहरूको उडानले तपाईँलाई तपाईँको विश्रामका लागि गाउँदै स्वर्गमा पुर्‍याउन्।  

राज्याभिषेक

बेलायतको राजपरिवारमा राजा बन्ने रोलक्रममा नभएका उनका बुबालाई तिनताका राजाका रोलक्रमका उत्तराधिकारी उनका काकाले वालिस सिम्पसनसँगविवाह गर्नका लागि १९३६ मा एडवर्ड आठौँले राजगद्दी त्याग गर्दा उनी राजा बने। राजा जर्ज ६ को मृत्युपछि, राजकुमारी एलिजाबेथ अलेक्जान्ड्रामेरी २५ वर्षको उमेरमा फेब्रुअरी ६, १९५२ मा सिंहासनमा आरोहण भइन्। नवनियुक्त रानी एलिजाबेथ द्वितीयको राज्याभिषेक अर्को वर्ष जुन २ मा भएको थियो। यसरी भाग्यले महारानी बन्न पाएकी सानी केटी बेलायती साम्राज्यको सबैभन्दा बढी शासन गर्ने सम्मानित महारानी बनेर यो धर्तीबाट बिदा लिइन्।

ऐतिहासिक भ्रमण

महारानी भएपछि जर्मनीको बोनमा १८ मे, १९६५ मा ऐतिहासिक पहिलो विदेश भ्रमण भएको थियो। विश्वयुद्धले ५० वर्षदेखि बिग्रिएको सम्बधमा त्यो भ्रमण कोशे ढुंगा बन्यो बेलायत र जर्मनलाई जोड्ने। भ्रमणले औपचारिकरूपमा विश्वयुद्धपछि दुई राष्ट्रबीचको मेलमिलापमा सुधार आयो। उनले विश्वका १०० देशमा भ्रमण गरेकी थिइन्। नेपालको भ्रमण दुईपटक गरिन्। नेपालमा राजा महेन्द्र र राजा वीरेन्द्रको निमन्त्रणमा नेपाल आएकी रानी एलिजावेथले नेपालको गणतन्त्रका पहिलो राष्ट्रपति रामवरण यादवलाई बधाई पनि दिएकी थिइन् तर बेलायतका कुनै पनि प्रधानमन्त्री नेपाल आएका छैनन्।

स्वर्ण जयन्ती

सन् २००२ मा महारानीका रूपमा एलिजाबेथको स्वर्ण जयन्ती धूमधामसँग मनाइयो। स्वर्ण जयन्तीको ५० वर्षका रूपमा चिनाउने उत्सवहरू बकिङ्घम प्यालेसमा १२,००० चियरिङ अतिथिहरूको उपस्थितिमा ताराहरूले भरिएको कन्सर्टसहित सम्पन्न भयो। लन्डन वरपर स्थापित विशाल स्क्रिनहरूमा त्यो भव्य कार्यक्रम अनुमानित १० लाख भन्दा बढीले हेरेका बताइन्छ।

जीवनी

एलिजाबेथ द्वितीय (एलिजाबेथ अलेक्जान्ड्रामेरीको जन्म मे फेयर, लन्डनमा २१ अप्रिल १९२६ मा भएको थियो योर्ककोड्युकरडचेस (पछि राजा जर्ज छैटौँ र रानी एलिजाबेथ) को पहिलो सन्तानका रूपमा। ६ फेब्रुअरी १९५२ देखि २०२२ मा उनको मृत्युसम्म युनाइटेड किंगडम र अन्य राष्ट्रमन्डल क्षेत्रकी रानी थिइन्। उनी आफ्नो जीवनकालमा ३२ सार्वभौम राज्यको रानी थिइन्। उनको मृत्युको समयमा तीमध्ये १५ को रानीका रूपमा सेवा गरेकी थिइन्। एलिजाबेथको जन्म भएको थियो, योर्कको ड्युक र डचेस (पछि राजा जर्ज भिआइ र रानी एलिजाबेथ) को पहिलो सन्तानका रूपमा। उनी घरमा निजीरूपमा शिक्षित थिइन्। दोस्रो विश्वयुद्धको समयमा सहायक क्षेत्रीय सेवामा सेवा गर्दै सार्वजनिक कर्तव्यहरू गर्न थालिन्। नोभेम्बर १९४७ मा, उनले ग्रिस र डेनमार्कका पूर्वराजकुमार फिलिप माउन्ट ब्याटनसँग विवाह गरेर तिनीहरूको विवाह अप्रिल २०२१ मा उनको मृत्यु नभएसम्म ७३ वर्ष टिक्यो। तिनीहरूका चार छोराछोरीथिए: चाल्र्स, एनी, एन्ड्रयु र एडवर्ड।

आयरल्यान्डको यात्रा

मे २०११ मा महारानीले आयरिस गणतन्त्रको भ्रमण गरिन्। आयरिस गणतन्त्रको ब्रिटिस राजतन्त्रसँग शताब्दीयौँसम्मको समस्याग्रस्त सम्बन्ध थियो। मेलमिलापका रूपमा गरिएको त्यो शक्तिशाली भ्रमण एलिजाबेथको शासनकालको सबैभन्दा राजनीतिकरूपमा सुझबुझपूर्ण र ऐतिहासिक यात्राहरूमध्ये एक मानिन्छ। जसले दुई राष्ट्रहरूलाई निकट बनाएको थियो। सबैभन्दा लामो समय बेलायतको रानी बन्ने रेकर्ड ब्रिटिस समय सेप्टेम्बर ९,२०१५ मा साँझको ५ बजेर ३० मिनेट जाँदा एलिजाबेथ दितिय बेलायतको सबैभन्दा लामो समय शासन गर्ने रानी बनिन्। उनले रानी भिक्टोरिया, उनकी जिजु हजुरआमालाई पछि पारिन्। त्यतिबेला एलिजाबेथ ८९ वर्षकी थिइन्। उनले २३ वर्ष, २२६ दिन १६ घण्टा र करिब ३० मिनेट शासन गरेकी थिइन्।

विवाहको ७० औँ वर्षगाँठ

नोभेम्बर २० ,२०१७ मा महारानी र राजकुमार फिलिपले आफ्नो ७०औँ वार्षिकोत्सव मनाएका थिए। शाही इतिहासमा सबैभन्दा लामो विवाहितजोडी बनेर। देश र विश्व दोस्रो विश्वयुद्धको अत्याचारबाट ग्रसित भइरहेका बेला सन् १९४७ मा यी दुईले विवाह गरेका थियो।

आफ्नो जीवनसाथीसँगको वियोग

२०२१ अप्रिल ९ मा महारानी एलिजाबेथले आफ्ना पति प्रिन्स फिलिपलाई बिदाइ गर्नुपर्‍यो। कोरोना भाइरसको प्रतिबन्धको बीचमा अन्त्येष्टिमा एक्लै शोक गरिरहेकी रानीको निरास तस्बिरले बेलायतभरि सबै दर्शकको माझ रानीप्रति सबै सहानुभूति खनिएको थियो।

राजकुमारी डायनाको मृत्यु

१९९७ मा डायनाको अन्त्येष्टिअघि एक दुर्लभ टेलिभिजन प्रसारणमा, रानी एलिजाबेथले ३६ वर्षको उमेरमा पेरिसमा कार दुर्घटनामा मर्ने वेल्सकी राजकुमारीलाई ‘एक असाधारण र प्रतिभाशाली मानव’ का रूपमा सम्झनुभयो।

नेपाल भ्रमण राजतन्त्र

उनले दुईपटक नेपाल भ्रमण गरेकी थिइन्। हाम्रो देश भर्खरै राजतन्त्र मासेर गणतन्त्र ल्याउने विश्वका पछिल्ला राष्ट्रमा दरिएका छ। नेपाल नयाँ गणतान्त्रिक राष्ट्रका रूपमा रहेको छ। हाम्रो राजतन्त्र मर्यादित हुन सकेन, यद्यपि हाम्रा राजाहरूले, हाम्रा धेरै नेताहरूले बेलायतबाट शिक्षा लिए, बेलायतलाई नजिकबाट देखे–बुझे तर सिकेनन्। बेलायती राजतन्त्रका मर्यादाको मानक बुझेनन्। संवैधानिक राजतन्त्रको सीमाङ्कन। आफूलाई कानुनभन्दा माथि राख्ने, दुनियाँलाई रैति÷ठान्ने, कर नतिर्ने, व्यापार गर्ने तर बिजुली र पानीको पैसासमेतमा सानो चित्त देखाउँदा आजको दुर्दिन निम्तिएको थियो।

उता २४० वर्षको लामो इतिहासलाई हामीले २४ दिनकै आन्दोलनबाट धपाएको पनि बिसौँ वर्ष भयो। लोकतन्त्र, गणतन्त्रको नयाँ जामा फेरेपछि देशले भोगेको बेथिति हामी सबैले वस्तुनिष्ठ भएर मूल्याङ्कन गर्नेबेला भएको छ।

आफ्नो देशको राजनीतिक फोहोरले पारेको गणतान्त्रिक मोहभंग, बीसौँ वर्षमा बनाउन नसकिएको थिति, अलोकप्रियताका पराकाष्ठामा केही वर्षअघि मिल्काइएको राजतन्त्रका फोहोरी दृश्यहरूले मलाई अमिलो पारिरहे। हजारौँ माइलको यो भौगोलिक दूरतामा पनि म आफ्नो देश खोजिरहेँ। आफ्नो संविधान सम्झिरहेँ।

सबैभन्दा बढी राज्य गर्ने दीर्घजीवी महारानी ७० वर्षलामो आफ्नो अकन्टक राज्यारोहणमा बेलायती महारानीले १५ जना प्रधानमन्त्रीसँग काम गरिन्। विश्वमा यी लामा सत्तरी वर्षमा धेरै परिवर्तनहरू भए। ती सबैकी साझा प्रतिनिधि भएर कमनवेल्थ देशहरू सबैलाई एकतामा बाँध्न सफल एलिजाबेथ अन्ततः यो धराधाम छाडिन्। ढल्यो विश्वकी महारानी सतिसालकी प्रतिमूर्तिको पार्थिव शरीर।

संसदीय परम्पराको जननी मुलुक

बेलायत विगत ३३४ वर्षदेखि १६८८ को गौरवशाली क्रान्तिदेखिको संवैधानिक राजतन्त्र भएको मुलुक हो। जसका कारण रानी÷राजाको गुणगान गाउन जनतालाई संकोच छैन। यो सम्मानमा ओठेभक्ति कम र हृदयको सम्मान बढी मुखरित भएको तथ्य महारानीको महाप्रस्थानमा बेलायतीहरूले देखाएको स्वस्फूर्त सम्मानले देखाउँछ।

अबका राजा चाल्र्ससँग विगतमा डायनाको पारपाचुके अनि डायनाको दुर्घटनामा भएको असामायिक मृत्यु, नाति ह्यारिस र उनकी पत्नी मेगनले गरेको शाही पदवीको परित्याग आदिबाट बेलायतको राजतन्त्र र महारानी विवादित भए पनि बेलायतले पहिला राज गरेका मुलुकसँगको कूटनीतिको सफलतादेखि धेरैबेला यति जनताको राजतन्त्रप्रतिको आस्था र सद्भाव कायम गराउनमा उनको ठूलो देन छ। नेपाली रहेका बेलायतको गोर्खा सेनासँग त उनको विशेष सम्बन्ध थियो नै।

हरेक पत्रिकाले केही दिनअघिदेखि नै आफ्ना प्रकाशनहरूमा महारानीको अभूतपूर्व जीवनी विशेष स्तम्भका रूपमा पस्केका छन्। महारानीको दीर्घ शासनको गरिमामय इतिहासलाई सुन्दर आवरणमा सजाएका छन्। यद्यपि यसमा कसैलाई करकाप छैन। कसैलाई उर्दी र बाध्यता छैन। स्वस्फूर्त यो मानव–सागर आफ्नी महारानीको सुखद् अन्त्येष्टि र बेलायतको स्वाभिमानका लागि, राष्ट्रिय स्वाधीनताको जगेर्नाका लागि उनले गरेका गरिमामय दिनहरूको संस्मरण दिलैदेखि गर्न कम्मर कसेर लागिपरेका देखिन्छन्। संवैधानिक राजतन्त्रको यो अनुपम नमुना–मुलुक बेलायत यतिखेर फेरि महारानीको दुःखद अन्त्यसँगै चर्चाको शिखरमा छ।

सन् १९९६ मा राजकुमार चाल्र्स र डायनाबीच १५ वर्षमै वैवाहिक सम्बन्ध विच्छेदले शाही परिवारप्रति तीव्र आलोचना बढ्न थाल्यो। त्यसलगत्तै डायनाको पेरिस कार दुर्घटनामा निधन भएपछि त झन् मानिस नकारात्मक बन्दै गए। यो नकारात्मकता दुई वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरेपछि झन् बढ्यो। छोरा एन्ड्रयुलाई यौन दुव्र्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो र ठूलो धनराशि क्षतिपूर्ति गर्नुपर्‍यो। महारानीले गत वर्ष आफ्ना पति गुमाइन्।

यी सबै घटनाले ९६ वर्षकी महारानीलाई पीर परेको थियो नै। राजकुमार विलियम र ह्यारीको बिग्रेको सम्बन्धलाई शाही शोकले एक ठाउँमा ल्याएको छ। दुई दाजुभाइ र उनका पत्नीहरूसँगै देखिएका छन् यो पारिवारिक दुःखमा। उनको अन्त्येष्टि धूमधामसँग सेप्टेम्बर १९ मा हुँदैछ। विश्वभरिका राजनेताहरू फेरि एकपटक बेलायत आउनेछन् उनको अन्त्येष्टिमा सामेल हुन। उनको परलोक यात्रा सहज बनोस्। शान्तिपूर्वक बितोस्।

प्रकाशित: २७ भाद्र २०७९ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App