उत्तरआधुनिककालमा राजनीति भनेको लोकतन्त्रलाई सुसंस्कृत गराउने अभ्यास हो, त्यसैले यो जीवनपद्धति पनि हो। योभन्दा बढी न यसको व्याख्या आवश्यक छ न हुनसक्छ। लोकतन्त्रलाई सुसंस्कृत बनाउन संविधानले नीति, उद्देश्य, संरचना, संयन्त्रको व्यवस्था र भूमिकाको विभाजन गर्ने गर्छ। त्यसैले यो समस्त जनताको साझा अभिव्यक्ति पनि हो। यसबाट घेाषणा गरिएका मूल्य–मान्यतालाई संस्थागत गराउन राजनीतिक प्रणाली क्रियाशील हुने गर्छ। राजनीतिक प्रणाली सभ्य, सुसंस्कृत, उदार र विवेकशील भएमा मात्र समाज र राजनीतिले लोकतन्त्रको अभ्यास गर्छ। सत्तारोहण र शक्तिलिप्साका लागि यसलाई उपयोग गरिएमा राजनीति प्रदूषित हुनेमात्र होइन, समस्त राज्यप्रणालीमा यसको छिटा पर्छ। हुनेखाने र शक्तिलाई प्रभाव पार्ने सामर्थ्य भएकाहरू नै सत्ताको खेलाडी हुने गर्छन्। तर, जनता लोकतन्त्रको नाममा स्वागत, सत्कार, लामलस्कर, समर्थन र स्रोतको सहयोगी भूमिकामा मात्र रहन्छन्। राजनीति गर्नेहरू बोलिदिन्छन्, सरकारमा रहँदा र पार्टीमा रहँदा फरकफरक कुरा बोल्नपर्छ। सत्य त फरक नहुनु पर्ने हो। सत्यको थोरै अंश सत्तामा पुग्नुअघि बोलिन्छ, त्यहाँ पुगेपछि भने त्यति बोल्न पनि जरुरी ठानिँदैन। जे बोल्न र भन्न पनि छुट छ। किनकि, शक्तिमा पुग्नेहरूले बोलेका कुरा प्रेसले छाप्छ, प्रशासनले मान्छ, दूरदर्शनले देखाँउछ। भनिन्छ– झुट पनि सयपटक बोलेपछि सत्य बन्छ। असत्यलाई सयौँपटक बोलेर सत्यमा स्थापित गर्नु राजनीतिमा लागेका अधिकांशको स्वभाव हो। देवकोटा जिउँदै भएका भए थुप्रै मसलाका रुखले कथित सत्य साहित्यमा ओकल्थे होलान्, तर अहिले बूढो घन्टाघरले मौनता साँधेर परम्परागत र नयाँ सत्ता, सडक, जंगल सबैको इतिहास हेरिरहेको छ। धरहरा हेर्न नसकेर गर्लम्म ढल्यो। जनतालाई लोकन्त्रको नयाँ परिभाषा चाहिएको छ, प्रायोगिक अर्थ चाहिएको छ, जसले परिश्रम, पसिना र सुरक्षाको प्रत्याभूति गर्न सकोस्। भविष्यको प्रत्याभूति गर्न सकोस्।
लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्छन्। मोहनदाश निकै दुब्ला, पातला र मरन्च्यासे थिए। बीपी पनि पातला र दुब्ला थिए। डे क्लार्कभन्दा मन्डेला दुब्ला थिए। २०३७ सालतिरको कुरा हो, सहिद दिवस मनाउन खुलामञ्चमा आसीन प्रधानमन्त्री र उनकै छेउमा बसेका युगकवि सिद्धिचरण श्रेष्ठ र जिउँदो सहित रामहरि शर्मालाई देखाउँदै कवि केदारमान ...व्यथित'ले भनेका थिए– नेपालमा उल्टो भो, जिउँदो सहिद र उनीहरूका कविता लेख्नेहरू खबटे गाला र फू गर्दैमा ढल्लान्जस्ता छन्, तर मुलुकको चिन्ता लिएर दुब्लाउनुपर्ने प्रधानमन्त्रीका गाला भने त्यसै रगत चुहिएला जस्तो तातो जुलेबी स्वरूपमा! सहिद दिवस मनाउन आएकाहरू एकछिन अकमक भएका थिए भने कविता वाचन गर्न बसेका युवा कवि सहिदको अपमान सम्भि्कएर कविता वाचन नै नगरी फर्किन खोजेका थिए। कवि 'व्यथित' को अभिव्यक्ति प्रतीकमात्र थियो राजनीति गर्नेहरूप्रति। वास्तविकता के हो भने जनताका खातिर चिन्ता लिनेहरू जनतासँगै मोटाउने र जनता दुब्लाउँदा झिनो देखिन्छन्। जनता झुमि्रँदा टल्किनु र जनता दुब्लाउँदा मोटाउनुको सोझो माने व्यवस्था सञ्चालकहरू जनताको मन जित्न, जनताप्रति चिन्ता गर्न सक्षम छैनन् भन्ने हो। जनताका विषयमा सोच्ने मन र दिमाग दुब्लाउने र शरीर मोटाउने क्रम सत्तासयरको परिचायक हो भनेर भनिरहनु परोइन। 'प्लेजर इनर्सिया' ले मनलाई विकृत पार्छ, मस्तिष्कलाई क्षीण तर यसको क्षतिपूर्ति शरीरमा पर्छ, शरीरचाहिँ भीमकाय बन्छ। मोटो नेता यही इनर्सियाको उपज हो।
नीतिशास्त्रीहरू राज्यलाई नैतिक संस्था भन्न रूचाउँछन्। राजनीतिशास्त्रीहरू यसलाई आदर्श संस्था भन्छन्। आदर्श यस अर्थमा भन्न खोजिएको हो कि, आमजनताको भलो इच्छालाई राज्यले समेट्नुपर्छ। सबैको भलो हुने कार्य नै आदर्श हो। नैतिक भनेको चाहिँ भलो मूल्यसिर्जना गर्ने स्वभाव वा प्रवृत्ति हो। कुनै संस्था नैतिक वा आदर्श बन्न त्यसका सञ्चालकहरू आदर्श, सक्षम र उदाहरणीय बन्नुपर्छ भन्ने मान्यता प्लेटो र कौटिल्य हुँदै आजसम्म पनि स्थापित छ। नेतृत्वको अर्को नाम उदाहरणीयता हो। सबैखाले संस्था र यसका सञ्चालक मनोकेन्द्रित भए भने राज्यलाई वैध भन्ने आधार भेट्न सकिँदैन। योग्यहरू अनैतिक हुँदा इमानदार सर्वसाधारणको कुनै अर्थ रहँदैन र देश, समाज तथा समयले थुप्रै लागत चुकाउनुपरेको उदाहरण छ। अयोग्यहरूले चलाउने सत्तारूपी जेट यसमा यात्रा गर्नेको मात्र सयर हो, अरुको लागि भने त्यो लागतमात्र हो।
राजनेताहरू स्वच्छ हुने गर्छन् वा स्वच्छता नेतृत्वको आधार सर्त हो। तेस्रो विश्वमा यसको आत्मपरक व्याख्या हुँदै आएको छ। आर्थिक मामिला त्यो पनि अरुहरूले प्रमाण देखाउन नसक्ने हदमा नै यसलाई लिइँदै आएको छ। निगरानी निकायले गरेको कारबाहीका हदमा मात्र यसलाई सीमित गरिँदैछ। जब नेताहरू आफूलाई वास्तवमै उदाहरणीय देखाउन सक्तैनन्, त्यतिबेला तर्क र प्रमाणको सहारा खोज्न पुग्छन्। नैतिक साहस गुमेको अवस्थामा सबै प्रकारका परम्परागत वा आर्जित शक्ति प्रयोग गर्ने पदाधिकारीहरू मैलो स्वरूपमा आफ्नै अनुहार हेरिरहेका छन्। उनीहरू सबैलाई थाहा छ, हिजोको आफूहरूको अवस्था र वर्तमानको जीवनशैली। आफ्ना विषयमा सबैभन्दा जानकार स्वयं आफू नै हुन्छ। के साँच्चैमा दुःख र जिम्मेवारीको भारी बोक्ने मानिसको जीवनशैली एक्कासी आकासिन्छ? के यसरी विलाशिताको व्यवसाय गर्न नेताहरूको नैतिक र व्यावसायिक आचरणले दिन्छ? चार्वाकवादी दर्शन भोग्नेहरूले आफू स्वच्छ छु भन्ने आलाप अलाप्दैमा त्यसको पुष्टि हुन्छ? यी अनुत्तरित प्रश्नको उत्तर कहिले पाइने ?
प्रकाशित: १० चैत्र २०७२ २१:४९ बुधबार

