१ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

जोड विकासमा

बितेका समयमा नेपाल राजनीतिक प्रयोगशाला जस्तै बन्यो। अनेक राजनीतिक आरोह/अवरोह भइरहे। यस चरणमा आमजनताले समय समयमा असीम कष्ट खेप्न बाध्य भए। जहाँनिया राणा काल, निरङ्कुश पञ्चायत, माओवादीको भीषण सशस्त्र युद्ध, राजाको प्रतिगमनलगायत हालै भएको मधेस आन्दोलन, नाकाबन्दी आदिले जनजीवन निरिह र कष्टपूर्ण बन्न पुग्यो।अहिले सहिदको बलिदान र वीर विरङ्गनाको कठोर तपस्याले देशमा संसारकै उत्कृष्ट ठहरिएको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। जनता देशका मालिक भएका छन्। जनतामा स्वतन्त्रताको स्वर्णिम मार्ग खुलेको छ। तर पनि देश हाँक्ने चालकहरुले कहिलेकाहीँ मादक पदार्थ सेवन गरेझैं गर्दा देशमा अन्योल छाएको भान हुन्छ। अब संविधानको कार्यान्वयन अति महत्वपूर्ण पक्ष बनेको छ। सहकार्य, सहिष्णुता, विवेक र न्याय जस्ता दिव्य तत्वहरु अवलम्बन गरेर यो कार्य हल गर्न सकिन्छ। अबको बेला राजनीतिको जालोमा फसेर तनाव सिर्जना गर्ने होइन। अब त हामी सारा मिलेर देशको विकास र जनताको समृद्धितर्फ अग्रसर हुनुपर्छ। गरिबी, अभाव र परनिर्भरताको प्रहारले घाउ नै घाउ भएको नेपाललाई समृद्धिको मलमपट्टी आवश्यक छ। अब आर्थिक क्रान्ति र प्रगतिपथ देशको मूल दिशा हुनुपर्छ।

अझै पनि देशमा एक तिहाई जनता बेरोजगारीको कठोर वज्रले रन्थनिएका छन्। लाखौं ऊर्वर जनता रोजीरोटीका लागि विदेशिन बाध्य छन्। मुटुमाथि ढुंगा राखेर भन्ने हो भने केटाकेटी, वृद्ध, अपांग र रोगी मानिस मात्र विदेश जाने सपना राख्दैनन् नत्र ऊर्वर जनशक्ति आफ्नो उज्ज्वल भविष्यका लागि देशमा अवसर नदेखेर विदेश जान लालायित हुन्छन्। यो परिवेश नेपालको कहालीलाग्दो यथार्थ हो। यस तथ्यलाई नेतृत्व वर्गले शान्त मनले सोच्नुपर्ने हुन्छ। सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा विकास र रोजगारीका प्रशस्त सम्भावना छन् तर राजनीतिको जालोमा जेलिएर देशले प्रगतिपथमा जाने मौका आजसम्म पाएन। अब भने त्यस्तो हुनुहुन्न। अब राष्ट्रका सारा निकाय विकासकेन्दि्रत बन्नुपर्छ। देशमा बलियो र दिगो राजनीतिक स्थिरता स्थापना भएर रोजगारीका अवसर अपाररूपमा सिर्जना हुनुपर्छ।

जलस्रोत नेपाललाई समृद्ध बनाउन सक्ने मुख्य आधार हो तर विडम्बना, ठूलो क्षमताको जलविद्युत् उत्पादन गर्न सक्ने जलस्रोत नेपालमा उपलब्ध भए पनि हालसम्म मात्र ८ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भएको छ। राजनीतिक इच्छाशक्ति भएमा केही वर्षभित्रमा नै अपार विद्युत् उत्पादन गरेर सारा नेपाललाई झिलिमिली गराई विदेशमा निर्यातसमेत गर्न सकिन्छ। कृषि र पर्यटन पनि नेपालको अर्थतन्त्रका आधारस्तम्भ हुन तर विडम्बना नेपालका थुप्रै ठाउँमा अझै पनि नेपाली भोकमरीले ग्रस्त छन्। कृषिप्रधान भनिएको देशले अहिले अरबौंका कृषिजन्य सामान आयात गर्नु परिरहेको छ। कति जमिन सिँचाइ अभावमा बाँझा छन्। भौगोलिक विविधता भएकाले नेपालमा पर्यटन उद्योगको अपार सम्भावना छ। यसका लागि राजनीतिक स्थिरता र शान्ति अनिवार्य छ। नेपालको जडीबुटी आयात गरेर लाने र त्यही जडीबुटीले औषधि बनाएर नेपालमा नै निर्यात गर्ने पीडादायी अवस्था छ। यसको अन्त्यका लागि जडीबुटीको उपयोग वा प्रशोधन नेपालमा नै हुनुपर्छ।

अझै पनि नेपालका दुई जिल्लामा मोटरबाटो नपुगेको अवस्था छ। यातायातको विकासका लागि दुर्गम स्थानमा भएका बाटोको स्तरोन्नति गर्ने र नयाँ बाटा, पुल निर्माण गर्न आवश्यक छ। विकट क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, यातायात आदि कुराको विकास गरे मानिस सहरमा बसाइ सर्न निरुत्साहित हुन्छन् जसबाट अव्यवस्थित सहरीकरणको समस्या समाधान हुन्छ। नेपालमा उद्योगको अवस्था जर्जर छ। विविध उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्न राज्य संवेदनशील हुनुपर्छ। उचित वैदेशिक लगानीलाई प्रोत्साहित गरिनुपर्छ। वनजंगल फँडानी तीव्र भएको बेलामा वातावरण जोगाउन र वनबाट फाइदा लिन प्रभावकारी नीति ल्याइनुपर्छ। विदेशिएका जनशक्तिलाई नेपालमा नै आएर आफ्नो श्रम सिप उपयोग गर्ने अवस्था सिर्जना गर्न सकियो भने केही वर्षभित्रमा नै नेपाल विकासको तीव्र गतिमा अगाडि बढ्नेछ। नेपाल आत्मनिर्भरताको स्वर्णिम अवस्थामा पुग्नेछ।

प्रकाशित: ३ चैत्र २०७२ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App