२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विकास व्यवस्थापन

पछिल्लो दशक दु्रततर विकासको भरपर्दो संस्थागत/संरचनागत सुधारको अनिवार्य शर्त 'शासकीय विकेन्द्रीकरण' नै हो त भन्ने सवाल विकास–विज्ञमाझ बहसको विषय बनेको छ। क्यालिफोर्निया र बोस्टन विश्वविद्यालयसम्बद्ध अर्थशास्त्रका प्राध्यापक तथा अर्थविद्द्वय प्रणव बर्धन र दिलिप मुखर्जीद्वारा सम्पादित 'डिसेन्ट्रलाइजेसन एन्ड लोकल गभर्नेन्स् इन डेभलपिङ कन्ट्रिज' पुस्तकमा पछिल्ला ३० वर्षयता विकासशील राष्ट्रले राजनीतिक/आर्थिक अधिकारलाई स्थानीयकरण गरेर कसरी विकासको उचाइ प्राप्त गर्न सके भन्ने तथ्य समेटिएको छ। यसमा रहेका विभिन्न देशका 'केस स्टडी'ले विकासमाथिको आयामिक बहसलाई अघि सारेको छ।दक्षिण अफ्रिकाले लोकतान्त्रिक संविधानमार्फत् अपनाएको विकेन्द्रीकृत शासकीय स्वरूपले त्यहाँको विकासलाई गतिलो मलजल गरेको नजिर हामीमाझ छ। बोलिभिया, ब्राजिल, इन्डोनेसियाजस्ता मुलुक पनि केन्द्रीकृत संरचना त्यागेर विकेन्द्रीकरणजन्य विकास औजार अपनाएपछि ह्वात्तै समृद्धितर्फ उकालिएका हुन्। बलियो स्थानीय शासन व्यवस्था भनेको सहभागितामूलक लोकतन्त्रको एउटा बलियो औजार हो भन्ने तथ्यलाई बल प्रदान गर्दै 'लन्डन स्कुल अफ इकोनमिक्स्'मा आवद्ध अर्थ–विकास–विद्वान् तथा प्राध्यापकहरूको एउटा टोलीले 'आर्थिक विकासको भरपर्दो आधार भनेकै स्थानीय शासनको अधिक सवलीकरण नै हो' भन्ने मत अघि सारेको छ।

त्यसो त अधिकार प्रत्यायोजनको अब्बल ढाँचा अपनाउनुमात्रै पनि विकासको मार्ग फराकिलो बनाउनु होइन। त्यसका लागि स्थानीय तहसम्म आर्थिकलगायतका अधिकारको प्रत्यायोजन र सार्वजनिक उत्तरदायित्व समेत प्रत्यायोजित हुनु जरुरी छ। जसबाट स्थानीयस्तरको साधनस्रोतको उचित र सही परिचालनमा बढोत्तरी तथा मजबुतीकरण हुन पुग्छ। समानुपातिक क्षेत्रीय विकास हुन नसकेको नेपालजस्तो मुलुकको हकमा विकेन्द्रीकरणको लागि पश्चिमा देशमा अभ्यास गरिएका भन्दा भिन्न ढाँचा अपनाउनु श्रेयष्कर हुन्छ। हुन त नयाँ संविधानले संरचनागतरूपमा स्थानीय तहको विकासको लागि गाउँपालिका र नगरपालिकाको स्वरूपको प्रत्याभूत गरेको छ।

नेपालको परिप्रेक्ष्यमा आर्थिक साधनस्रोतको चुस्त विकेन्द्रीकरण गर्नका लागि केन्द्रीय तहबाटै नीतिगत पहलकदमी हुनु आवश्यक छ। किनभने, कुनै पनि विकासलाई लयबद्ध गर्नको लागि स्थानीय निकायमार्फत् राज्यसंयन्त्र स्थानीय तहका जनताको घरदैलोमै पुगेर उनीहरूको अपेक्षालाई सेवा प्रवाहसँग अन्तर्घुलन गर्नुपर्ने हुन्छ। नेपालमा झन्डै ६ दशक भयो केन्द्र निर्मित नीति र योजनालाई तल्लो तहमा लाद्ने कामको अभ्यास भएको। स्थानीय संस्थाहरूको प्रभावकारिता बढाउनका लागि आर्थिक योजना र विकासेखाका उनीहरूकै रेखदेखमा तय गर्न सकेमात्रै विकासले लय पक्रन सक्छ। तर, नेपालमा लामो समयदेखि स्थानीय निकाय जनप्रतिनीधिविहीन छन्।

आर्थिक विकासविद् बर्ट हफ्म्यानले भनेका छन्– अल्पविकासको चरणमा रहेका तथा राजनीतिक वा आर्थिक संक्रमणबाट गुजि्रएका मुलुकको विकासको सबैभन्दा बाधक भनेको भ्रष्टाचार र सुशासनको अभाव नै हो। त्यस्ता मुलुकमा आर्थिक विकासका मुद्दाले कम महŒव र राजनीतिले बढी स्थान पाउने गरेका छन्। योजनाबद्ध विकास पद्धति अवलम्बन गर्न थालिएको २०१३ सालबाट हो, तर पनि अपेक्षकृत विकास व्यवस्थापन हुन सकेको छैन।

श्ाासन व्यवस्था संघीयतामा गए पनि यहाँको खास समस्या भनेकै एकात्मकताजन्य केन्द्रिकृत संरचनागत मानसिकता र यसैको नीतिगत/संस्थागत अभ्यास हो। केही अनुसन्धान नतिजाले आर्थिक विकासको समस्याको कारक भनेकै विकेन्द्रीकरणको ढाँचा वा स्थानीयकरणको 'कोर'मा रहेको देखाएका छन्। नेपालको विकासलाई लयबद्ध गर्नका निम्ति विविधखाले अग्रगामी योजना निर्माणका लागि एकात्मकताको अभ्यासले बाधा पारेको छ। सैद्धान्तिक कोणबाट हेर्ने हो भने 'परिपूरणको सिद्धान्त'कै सेरोफेरोमा स्थानीय तहको विकासमा राज्यले पहल गरेको भए पनि आमस्थानीय नागरिकको समीपमा रहेर विकास कार्यलाई सफलीभूत पार्न भने राष्ट्र चुेकेको छ। किनभने, प्रशासनिक र राजनीतिक–आर्थिक अधिकारको निक्षेपणबाहेक मुलुकको विकासको लागि आर्थिक आयामलाई शीरोधार्य गर्न सकिएन। राणाकालीन नेपाल १२ जिल्ला र २३वटा तहशीलमा विभक्त थियो। जसले विकेन्द्रित शासन प्रणालीको सिको गर्न खोजेको छनक पाइन्छ। खासगरी, २००९ सालपछि 'त्रिभुवन ग्राम विकास कार्यक्रम'जस्ता विकेन्द्रीकरणका औजारजन्य अवधारणालाई नेपालको विविधखाले विकासका ढाँचामा समाविष्ट गर्न थालिएको पाइन्छ। भलै, नीतिगत निरन्तरताको अभावमा देशले आजसम्म पनि विकासको अपेक्षकृत स्वरूप पाउनबाट भने चुकेको छ।

प्रकाशित: ५ फाल्गुन २०७२ २१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App