१५ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

राष्ट्रपतिको धर्म

कम्युनिस्ट पृष्ठभूमिकी राष्ट्रपति विद्यादेवी भण्डारीले 'राष्ट्र र विश्व कल्याणका लागि' पशुपतिमा विशेष पूजा गर्दा हिन्दुवादीहरू खुसी हुनु स्वाभाविक हो। उहाँले मुलुकमा जारी संकटबाट मुक्ति मिलोस् भनी पञ्चामृत र अभिषेकसहित विशेष पूजा गर्नु अनि हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले 'ईश्वरले चाहेमा केहीदिनमै नाकाबन्दी खुल्छ' भन्नु संयोगमात्र भए पनि त्यसमा सामञ्जस्य छ।राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूलमन्दिरमा भक्तिपूर्वक विशेषपूजा गर्नुभयो। त्यसपछि शेषनारायण, लालगणेश, सूर्यनारायण, गंगामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, शीतलामाई, चतुष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर भट्टहरूद्वारा विशेष पूजा गर्नुभयो। त्यतिमात्र नभई उहाँले आफ्नो पहिलो तलब १ लाख २१ हजार ३ सय ६० रुपियाँ पशुपतिनाथलाई भक्तिपूर्वक अर्पण गर्नुभएछ। राष्ट्रपतिको 'उदारता र दानी हृदय'प्रति हिन्दुवादी राजनीतिक पार्टी, भक्तजन र पुरोहित वर्ग कृतज्ञ हुनु अनौठो भएन।

ईश्वर उपासना
जानकी मन्दिरमा राष्ट्रपतिमाथि भएको आक्रमण र अपमानको प्रतिकारमा नारीवादीहरू हुल बाँधेर वैचारिक आक्रमण गरिरहेका छन्। यो ऐक्यबद्धता प्रशंसनीय छ। एकैछिन ईश्वर उपासनाको पृष्ठभूमि खोतलौँ। भारतको विश्व बुक्सद्वारा प्रकाशित पुस्तक 'क्या ईश्वर है' मा ईश्वरको अवधारणा कसरी बन्यो भन्नेबारे राम्रो व्याख्या छ। आफ्नो अभ्युदयकालमा प्रकृतिको अनेक रूप र विनाशलीला देखेर मानव चकित पर्थ्यो। कहिले वनमा आगो लाग्थ्यो, कहिले हप्तौँ पानी पर्थ्यो, कहिले आँधी चल्थ्यो। यो रहस्य नबु‰दा ऊ रूख, पर्वत, सूर्य, चन्द्रमा, नदी, हावाको रौद्र रूपलाई देवता रिसाएको र सौम्य रूपलाई खुसाएको ठान्न थाल्यो। उपासनाले देवीदेवता खुसी हुन्छन् भन्ने उसलाई लाग्यो। मध्यकालमा राजसत्ता सुरु भयो। राजा यसको केन्द्र भयो। धर्मको उपयोग राजसत्ता मजबुत पार्न प्रयोग हुन थाल्यो। यसरी ज्ञानको उद्गम विश्वासलाई मान्न थालियो। युरोपमा बाइबल र पूर्वमा सनातन धर्मशास्त्रविरोधी चिन्तन निषेध गरियो। धर्माचार्यले आफूलाई ईश्वरका प्रतिनिधि र राजालाई ईश्वरको अंश भनेर प्रचार गरे। तिनले ईश्वरलाई मियो बनाए र त्यसमा भाग्यवादको डोरीले सर्वसाधारणलाई बाँधिदिए। अनि आफूमाथि हुने जस्तोसुकै अत्याचार र शोषणलाई पनि सर्वसाधारण पूर्वजन्मको प्रतिफल ठान्न थाल्यो। उसको दिमागमा कुनै पनि कुरा आफ्नो नियन्त्रणमा छैन, सबै ईश्वरको कृपा हो भन्ने पार्न धर्माचार्यहरू सफल भए। वर्ण व्यवस्था, शोषण र अत्याचार सबै ईश्वरको देनका रूपमा बेलगाम भए।

वर्ण व्यवस्थाको उल्लेख सर्वप्रथम ऋग्वेदको पुरुषसूक्तमा भयो। त्यसको एक स्तुतिअनुसार आदिपुरुष प्रजापति ब्रह्माको उत्पत्ति सृष्टिपूर्व नै भइसकेको थियो। उनका सन्तान देवताहरूले उनलाई 'दैविक बलि' चढाए। फलस्वरूप ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, जाँघबाट वैश्य र खुट्टाबाट शूद्र उत्पत्ति भए। त्यसैगरी, मुखबाटै इन्द्र र अग्नि, मस्तिष्कबाट चन्द्रमा, आँखाबाट सूर्य, श्वासबाट हावा, नाभीबाट वायु अनि यही 'दैविक बल' बाट 'पवित्र सिद्धान्त' उत्पत्ति भयो। भारतीय दलित विद्वान् विजयकुमार त्रिशरणका अनुसार मानव शरीरमा मुख सर्वोत्तम अंग मानिने हुनाले यसबाट उत्पन्न ब्राह्मण सर्वश्रेष्ठ मानियो। अनि वर्णको तुलना मानव अंगको स्थानअनुसार गरेर त्यसको असमानता जन्मजात एवं चिरस्थायी बनाउने काम भयो। पुरुषसूक्तको मन्त्र संख्या ११ र १२ मा चार वर्णको उत्पत्ति ईश्वरले नै गरेको उल्लेख छ। यसैलाई यजुर्वेद र अथर्ववेदमा पनि उल्लेख गरियो। उत्तरवैदिक हिन्दु धर्मग्रन्थहरूले वर्णलाई चार सामाजिक वर्गको प्रतिनिधिका रूपमा व्याख्या गरे।

ब्राह्मणवाद र वेदप्रति असहमति राखेर विद्रोह गर्ने पहिलो व्यक्ति बुद्ध थिए। उनले आफ्नो संघमा उपाली, सुनीत, स्वास्तीलगायत शूद्रलाई विशेष प्राथमिकता दिएर वर्ण व्यवस्थालाई धुलो चटाइदिए। त्यसकै प्रतिरक्षाका रूपमा ब्राह्मण राजा पुष्यमित्रको कालमा मनुले ईपू १५० मा 'मनुस्मृति' लेखे। यसमा चार वर्णको विस्तारित व्याख्या र विशेष वर्णन गरियो। यसलाई हिन्दु समाजको दण्ड विधानका रूपमा व्याख्या गरी पहिलोपल्ट संस्थागत गर्ने काम भयो। यसमै पहिलोपल्ट शूद्रमाथि सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक तथा राजनीतिक निषेधको व्यवस्था गरियो। अर्कातिर ब्राह्मणलाई हरेक प्रकारले विशेषाधिकार दिई सर्वोच्च पदमा स्थापित गरियो। ब्राह्मणको काम धर्मग्रन्थ पाठ गरी पुरोहित्याइँ गर्नु, क्षत्रीयको काम लडाइँ, वैश्यको काम व्यापार र शूद्रको काम यी तीन समुदायको सेवा गर्नु तोकियो। यसलाई एक कदम अघि बढेर नवौँ शताब्दीको पूर्वार्द्धमा शंकराचार्यले हिन्दु धर्मको आधारशिला खडा गरे। उनको यो कदम त्यतिखेर ज्ञानमार्गका रूपमा प्रख्यात र व्यापक भएको बुद्ध दर्शनको प्रतिरक्षामा आएको थियो। त्यसक्रममा उनले भेटेसम्मका बौद्ध दर्शन र साहित्यलाई खरानी बनाइदिए। नेपालमा मानदेव, जयस्थिति मल्ल, पृथ्वीनारायण शाह, जंगबहादुर, राजा महेन्द्र हुँदै अहिलेका राप्रपा नेपाल र विभिन्न हिन्दुवादी संघसंगठन यसैलाई निरन्तरता दिइरहेका छन्।

ज्ञानको उद्गम सन्देह

उर्दूका महाकवि गालिबको एउटा प्रसिद्ध सेर छ–
योँ तो मालुम है जन्नत की हकिकत लेकिन,
दिल बहलाने को गालिब यह खयाल अच्छा है।

गालिबको यो आशय उहीबेला बुद्धले व्यक्त गरिसकेका थिए। सनातन धर्म–दर्शनले पुरोहितवादलाई चुरो ठान्छ। यसले भन्ने चुरो कुरा 'जसोजसो पुरोहित उसोउसो स्वाहा' हो। त्यसमाथि शंका गर्नु पाप हो। यसकै प्रतिकारमा बुद्धले सत्यबोध (रियलाइजेसन) मा जोड दिए। उनले गुरुले भनेको, धर्मशास्त्रमा लेखिएको, महान् व्यक्तिले ठीक ठहर्या।एको र उनी स्वयंले भनेको कुरासमेत आँखा चिम्लेर नमान्न आग्रह गरे। उनको प्रसिद्ध वाणी नै थियो, कुनै पनि कुरा मान्नुअघि आफै जान। यसरी बुद्धले सन्देहलाई नै ज्ञानको जननी बनाए। आधुनिक कालको उद्गम बिन्दु राजनीतिक क्षेत्रमा रुसो र चिन्तनका क्षेत्रमा डेकार्टको दर्शनलाई मानिन्छ। रुसोले राजतन्त्रको प्रतिस्थापनामा लोकतन्त्रको अवधारणा ल्याए। डेकार्टले भने बुद्धले उही युगमा भनेको 'ज्ञानको उद्गम संशय हो' भन्ने अवधारणा फैलाए। यसले गर्दा सामन्ततन्त्रका ठाउँमा लोकतन्त्र र विचारका क्षेत्रमा तर्कसहितको चिन्तनको युग आरम्भ भयो। यसले गर्दा बिस्तारै मध्ययुगमा व्याप्त धर्मको प्रपञ्च असफल हुँदै गयो। संशयको चिन्तन र खोज बन्द गरी ईश्वर उपासनामात्र गरिएको भए आज विज्ञानको उन्नतिसँगै चिकित्सा र भौतिक विज्ञानमा संसारलाई नै आश्चर्यचकित पार्ने आविष्कार हुने थिएनन्।

राष्ट्रपतिद्वारा पूजा

राष्ट्रपतिलाई धेरैले मार्क्सवादको पाठ पढाउन खोज्छन्। त्यो राम्रो नहोला। तर, उहाँ धर्मनिरपेक्ष राज्यको राष्ट्रपति हुनुहुन्छ। धर्मनिरपेक्षताको अर्थ राज्यको आफ्नै कुनै धर्म नहुनु हो। त्यसो भएपछि राज्यका अध्यक्षका रूपमा उहाँको पनि धर्म हुँदैन। भण्डारीको धर्म हुनु बेग्लै कुरा हो। यसकारण राष्ट्रपति रहुन्जेल उहाँ कुनै पनि धार्मिक सभा, सम्मेलनमा सहभागी नहुनु बेस होला। राजतन्त्रकालीन परम्परालाई गणतन्त्रका राज्याध्यक्षले धान्ने होइन, तोड्नु राम्रो हुन्छ। आगामी दिनमा दलित, इस्लाम वा मुसलमान पनि राष्ट्रपति बन्न सक्छन्। के सबैलाई पशुपति वा जानकी मन्दिर खुला गरिएला? यसलाई व्यक्तिगत मानवअधिकार भनेर तर्क गर्ने हो भने उहाँले राष्ट्रपतिको राजकीय स्वरूपमा नभई अनौपचारिकरूपमा मात्र सहभागी हुँदा राम्रो होला।

अन्त्यमा, राष्ट्रपति भण्डारीको पृष्ठभूमि भौतिकवादमा विश्वास गर्ने कम्युनिज्म भएकाले बुद्धको एउटा प्रसंग स्मरण गराउनु उचित होला। शास्त्रार्थका क्रममा एकपल्ट ईश्वरवादी गया काश्यपले बुद्धलाई सोधे, 'गौतम, तपाईं भन्नुहुन्छ, ध्यान–साधनाको अभ्यास र सबै पदार्थप्रति सचेत दृष्टि राखेरै मुक्ति पाइन्छ। के यज्ञ, भक्ति, साधना र प्रार्थनाहरू व्यर्थ हुन् त?' नैरञ्जना नदीको अर्को किनारातर्फ संकेत गर्दै बुद्धले भने, 'काश्यपजी, यस नदीको अर्को किनारामा जानुपर्‍यो भने तपाईं के गर्नुहुन्छ?'

'पानी कम छ भने हिँडेरै पुग्न सकिन्छ। अन्यथा, पौडेर वा डुंगाद्वारा जानुपर्ने हुन्छ।'

'कुनै मान्छे पैदल, पौडी र डुंगाजस्ता माध्यम नअपनाई पारि पुग्न पाऊँ भनेर यज्ञ, पूजा, भक्ति, प्रार्थना गर्न थाल्यो भने ऊ नदीको पारि पुग्न सक्छ र?' यस तर्कबाट प्रभावित भएर तत्काल काश्यपले आफूलाई शिष्य स्वीकार्न बुद्धसँग आग्रह गरे।

प्रकाशित: १६ पुस २०७२ २१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App