१३ आश्विन २०७९ बिहीबार
विचार

बहादुर शाहको त्यो बहादुरी

राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म नुवाकोट दरबारमा १८१४ असार ६ गते भएको थियो। २०७९ असार ६ गते महान् योद्धा बहादुर शाहको २६६ औँ जन्मजयन्ती हो। उनी जन्मेको बेला बुबा पृथ्वीनारायण शाह कीर्तिपुर युद्धमा व्यस्त थिए। त्यस युद्धमा आफ्ना विश्वास प्राप्त योद्धा कालु पाण्डेलाई गुमाउनुपरेकाले उनी तनावपूर्ण स्थितिमा थिए। पृथ्वीनारायण शाहलाई समेत खतरा आइलाग्ने अवस्था थियो। त्यहीबेला बहादुर शाहको जन्म भएको थियो। यो खबर सुनेर पृथ्वीनारायण शाहलाई युद्धको तनावको मारमा परेको बेला तनाव भुल्न सक्ने परिस्थिति आएको थियो।  

हिमवत्खण्डका ससाना राज्य कब्जा गरेर एकलौटीरूपमा आफ्नो कब्जामा राख्न इस्ट इन्डिया कम्पनी आक्रमण गर्न बाटो खोजेर बसिरहेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहबाट थुप्रै हिन्दु राज्यको एकीकरण गर्न सम्पूर्ण जाति थरीहरूको सहयोगमा दाम, दाम, दण्ड, भेदको नीति लिएर विशाल नेपालको एकीकरण गरेर विशाल नेपालको सिर्जना हुन सकेको थियो। लगभग एक हजार वर्षसम्म मुसलमान र अंग्रेजको साम्राज्यबाट भारत वर्षका प्राचीन सभ्यता र हिन्दुत्व अधिक्रमणका कारण भारतमा हिन्दु अस्मिता बिटुलो भइसकेको थियो। भारतमा अंग्रेजहरूबाट हिन्दु अस्मितामाथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछूतो हुने स्थिति थिएन। तर गोरखाका राजा पृथ्वीनारायण्को दूरदर्शी र सक्षम नेतृत्वबाट समयमा नैं यस क्षेत्रको सार्वभौम अस्तित्व जोगाएर हिमवत्खण्डका ५४ ससाना हिन्दु राज्य एकीकरण गरेर विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापना गर्न सकेका थिए। यसरी हेर्दा यो भूमि कहिले पनि बिटुलो भएन।  

हिमवत्खण्ड भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभाग हो भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ। हिन्दु अस्मिता बोकेका राष्ट्रहरूमा ‘हिमवत्खण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन्। यी दुवै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो। यो हिमवत्खण्ड नेपाल तथा भारतबीचमा युगौँयुगदेखि गहन तादात्म्यता छ। नेपाल एकीकरणको बेलादेखि नैं विदेशीहरूका अनेकौँ षडयन्त्रबाट पटक पटक अनेकौँ रक्तरञ्जित काण्ड भए तापनि नेपालले आफ्नो स्वाभिमान बचाएरै राख्न सकेको थियो। पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको विशाल नेपालको एकीकरणको अभियानलाई उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए।  

बहादुर शाहले मुलुक मात्र जितेका थिएनन्, उनले मुलुकमा राम्रो बन्दोबस्त पनि मिलाउन सकेका थिए। बहादुर शाहले हिमवत्खण्डका थुप्रै हिन्दु राज्यलाई सकभर लडाइँ नगरी आश्रित राज्य बनाउने नीतिसम्म थियो। यस नीतिको फलस्वरूप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाङ, गढवालसम्म इत्यादि अनेक राज्य नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका र यमुनासम्म साँध भई सिरमोढसँग सन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो। यी सबै सर्त कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छन्। बहादुर शाहले शक्तिबल्लव, वाणीविलास जस्ता विद्वान् पण्डितहरूलाई पे्ररित गरेका र विद्वान्हरूबाट नेपाली भाषामा ग्रन्थ लेखाउने बहादुर शाहकै प्रेरणा थियो। नेपालमा नयाँ नयाँ हतियार र तोप बनाउन बहादुर शाहको ठूलो योगदान छ। बहादुर शाहले आफ्नो नायवीकालमा रामकृष्ण कुवरलगायतका भारदारलाई सन्तुष्ट राखेकाले उनीप्रति भारदार पनि प्रसन्न थिए।  

नेपालको राष्ट्रिय एकीकरणका बेला विभिन्न राज्यसँग भिँड्नुपर्ने स्थितिमा रसदपानीको व्यवस्था मिलाउन बहादुर शाहलाई धेरै कठिन थियो। त्यसबेला राजा रणबहादुर शाह राज्यकोषबाट धेरै खर्च गर्ने गर्थे। उनलाई पैसाको कमी हुन थालेपछि राजा रणबहादुर शाह र बहादुर शाहबीचमा सम्बन्ध चिसिन थालेको थियो। महारानी राजेन्द्रलक्ष्मी पनि पछिका दिनमा बहादुर शाहसँग सन्तुष्ट थिइनन्। वास्तवमा लडाइँमा अथाह सम्पत्ति खर्च हुन्थ्यो। लडाइँको खर्च तुरुन्तै हिसाब बुझाउन संभव थिएन। यस कुराले बिस्तारै राजा रणबहादुर र नायब बहादुर शाहबीच खटपट बढेर आखिरमा रणबहादुर शाहबाटै नजरबन्द गराए।  

बहादुर शाहको नीति विशाल नेपालमा सरिक भएको र चीनप्रति नजिक हुन लागेकामा अंग्रेजहरू सन्तुष्ट थिएनन्। इस्ट इन्डिया कम्पनी भारतबाट नेपाल ताथ तिब्बतसँग व्यापार बढाउन उत्सुक थियो। हेटौँडाको बाटो हुँदै भोटमा अंग्रेजी माल सामग्रीहरू प्रवेश गराउन पाए भोटको ठूलै भागमा बिस्तार पाउने थियो भन्ने मनसायमा थियो। बहादुर शाहको वीरता देखेर अवधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएको थियो। चीनसँग सम्बन्ध कायम भएपछि अंग्रेज पनि नेपालसँग दच्किन लागेको थियो। त्योबेला अंग्रेज मौका हेरेर पर्खिबसेकामा बहादुर शाहविरुद्ध नेपालका कुरौटे, भरौटे भाइभारदारलाई अनेकौँ तिकडम गर्न पछि परेनन्। अनेकौँ षडयन्त्रबाट नेपालका सपुत बहादुर शाह विक्रम संवत् १८५४ साल असार १४ गते ४० वर्षकै उमेरमा स्वर्गीय भएका थिए। नेपालको दुर्भाग्य नैं हो कि बहादुर शाह जस्ता महान् सपुतको त्यो कलिलो उमेरमा नै षडयन्त्रपूर्वक हत्या गरियो। नेपालको एकीकरणमा कुमाउँ गढवालदेखि गंगासम्म नेपाललाई फैलाउन सक्षम नेतृत्व गरेका राजकुमार बहादुर शाहलाई नेपालको विभूतिका रूपमा अहिलेसम्म राखिएको छैन।

नेपाललाई चीनको सम्भावित आक्रमणबाट बचाउन बहादुर शाहले तत्कालीन गभर्नर जलरल लार्ड कार्नवालिसलाई सहायतको अनुरोध गरेको थिए। तर इस्ट इन्डिया कम्पनीले नेपाललाई सहायता गर्दा भोटसँगको व्यापारमा धक्का पुग्ने देखेर अंग्रेजले नेपाल सरकारलाई सहायता दिन चाहेनन्। तर यो मौका पनि चुकाउन अंगे्रजले नदिएर आफ्ना बनारसस्थित रेजिमेन्ट जोनाथन डंकनमार्फत नेपाल र कंपनीका राज्यहरूबाट आयात निर्यात हुने व्यवसायिक मालसमानहरूउपर सवा दुई प्रतिशतले भन्सार लिने कुरामा सहमत भएर भविष्यमा अंग्रेजसँग सैनिक सहायत प्राप्त हुन सक्ने आशाले बहादुर शाहले नेपाल सरकारतर्फबाट त्यो सन्धिमा हस्ताक्षर गरेका थिए। त्यो बेला इस्ट इन्डिया कम्पनीले अंग्रेजी दूत कर्कपेट्रिकको प्रतिनिधिमण्डल नेपाल सरकारसँग सहमति कायम गर्न सन् १७९३ मार्चमा आएका थिए। तर यसको केही दिनअगाडि नै नेपाल चीनबीच सन्धि भइसकेकाले त्योबेला अंग्रेजको कूटनीति असफल हुन गएको थियो। तर नेपाल तथा तिब्बत र चीनसँग समझदारी बढिरहेको अवस्थामा इस्ट इन्डिया कम्पनी सन्तुष्ट थिएन।  

तिब्बतलाई त्यसबेला भोट भनेर चिनिन्थ्यो। नेपाललाई थाहा थियो कि तिब्बतको आड चीन नै थियो। भोटसँग चीनको प्रभाव राम्रो रहेकाले चीनलाई मध्यस्थ बनाउन बहादुर शाहको चाहना थियो। तर भोटको बाटो चीनमा चिठी पुग्न पाएन। त्यसबेला दलाइ लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए। त्योबेला काठमाडौँबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडाइँमा नेपालको जीत भयो। त्योबेला सिक्किमले नेपालको आधिपत्य स्वीकार्यो। सिक्किममा आफ्नो हार भएपछि दलाइ लामा टसी लामाले चीनसँग सहायता मागे। चीनबाट सात हजार सेना भोटको सहायताको लागि आयो। नेपालको राजधानी काठमाडौँ दखल गर्ने सोचमा चिनियाँ फौज सक्रिय भयो। विक्रम संवत् १८४९ असारमा चिनिया फौजसँग घमासान लडाइँ भयो। दुई सय चिनिया र तीन सय नेपालीले वीर गति प्राप्त गरे। केरुडमा चीनको दखल हुन पुग्यो। नेपाली फौज रसुवाको धुन्चेमा थियो। चिनियाँसँग भिड्न बहादुर शाह राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिइ धुन्चे पुगे। चिनियाँसँग मुठभेट भई घमासान लडाइँ भयो। चिनिया फौज १५०० मरे र अरू भागे। त्यसपछि चिनिया पक्षले सन्धिको कुरा उठाए। त्योबेला नेपाली फौज ५०० हताहत भएका थिए।

प्रकाशित: ६ असार २०७९ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App