१२ पुस २०८२ शनिबार
image/svg+xml
विचार

नेपाली हुनुछ भने !

देश सामान्य अवस्थामा छैन । कसैले यसलाई विषम परिस्थिति भनेका छन् भने कसैले अप्ठेरो । मधेसमा आन्दोलन भएको २ महिना हुन लाग्दा पनि कता गएर त्यो टुंगिने हो ठेगान छैन । त्यसको कुनै विकल्पसमेत अगाडि देखिएका छैनन् ।भारतले बिनाकारण नाकाबन्दी गरेको पनि २ साता नाघिसकेको छ, यो पनि सजिलै खुल्ने कुनै संकेत देखिएको छैन । बजारमा इन्धनको चरम अभाव छ । अन्य अत्यावश्यक वस्तुको अभाव पनि बढ्दो छ । आँगनमै आइसकेको दसैँको जोस र जाँगर कतै देखिन्न । सरकार अहिलेसम्म जनतालाई परेको मर्कामा सहानुभूतिका स्वरसमेत निकाल्न सकिरहेको छैन । तर पनि हामी नेपाली खुसीसाथ इनधन किन्न लाइनमा बसेकै छौँ । यस्तो लाग्छ, हामी भविष्यका अप्ठेरा दिनको स्वागत गर्न आतुर छौँ, किनकि त्योभन्दा बढी हामीले गर्न सक्ने केही छैन ।

केही महिनाअघिसम्म घोकेर कण्ठ पारेका भूकम्प, राहत, टेन्ट, पुनर्निमाण, प्रिफ्याब, बारपाकजस्ता शब्द अब हाम्रो मानसपटलबाट हराइसकेको छ । त्यो स्थानमा अहिले पेट्रोल, ग्यास, भारत, मधेस आन्दोलन, संविधान, सहमति, धोकाजस्ता शब्द आइसकेको छ । दसैँमा घर जानुपर्छ, घटस्थापना गर्नुपर्छ, पूजापाठ गर्नुपर्छ अनि ठूलाबाट आशिर्वाद थाप्नुपर्छ भन्ने कुराको हेक्का पनि हाम्रो दिमागमा आउन भ्याएको छैन । हामी सपनामा पनि भारत, इन्धन र मधेस देख्न थालेका छौँ । यो सबै सही हो, किनकि हाम्रा तत्कालीन आवश्यकता पुनर्निमाण र दसैँभन्दा ग्यास र पेट्रोल हुन पुगेको छ अनि मधेस आन्दोलन सामान्य र भारत त्यसको मुख्य कारण ।

हामीमध्ये अधिकांश यो परिस्थितिको जिम्मेवार नेतालाई देखिरहेका छौँ, कोही मधेस आन्दोलनलाई परिस्थितिको कारण मानिरहेका छन् । कोही भारतलाई मुख्य कर्ता मानिरहेका छन् । परिस्थितिको मूल्यांकन गर्दै जाँदा धेरथोर जिम्मेवारी माथिका सबैले लिनै पर्ला, तर यदि कोही नेपालीले भारतलाई यसको ठूलो जिम्मेवार पक्ष देख्दैन भने त्यो मानिस नेपाली हैन, नेपाली नागरिकमात्रै हो । जिल्ला प्रशासन कार्यालयले उमेर पुगेपछि जारी गर्ने नागरिकताले मानिसको शरीरलाई नेपाली बनाउँछ । र, उसको व्यवहारले उसको मन नेपाली बनाउँछ । जबसम्म मन नेपाली हुँदैन, तबसम्म ऊ पूर्ण नेपाली भैसकेको हुन्न ।

आजको चर्चाको विषय यही हो, कसको शरीरमात्रै नेपाली र कसको मन र शरीर दुवै नेपाली । शरीर नागरिक हुनेबित्तिकै सबैको कानुनी अधिकार बराबर होलान्, तर जबसम्म मन नेपाली हुँदैन तबसम्म त्यो मानिस सामाजिक र व्यावहारिकरूपमा नेपाली हुनै सक्दैन । हुन त जसरी ढुंगा, इँटा, माटो, काठ अनि सिमेन्टले बनाएर कोही नबसेको निर्माणलाई पनि घर नै भनिन्छ तर व्यवहारमा त्यो घर हुनको लागि त्यहाँ परिवार हुनुपर्छ, आफन्त जन्मँदाको खुसी हुुनुपर्छ, मर्दाको दुःख हुनुपर्छ । धेरै माया, प्रेम र कहिलेकाहीँ झगडा पनि हुन सक्छ । त्यो निर्माण घर हुनको लागि त्यहाँ चाडबाड मनाइनुपर्छ, बत्ती बल्नुपर्छ, अनि त्यहाँ पानी चुहिँदा वा घामले त्यसको रंग उप्किँदा घरका सबैको मन दुख्नुपर्छ । त्यसो हुँदैन भने त्यो कुनै हालतमा घर हुनै सक्दैन ।

यो देश पनि एउटा ठूलो घर हो, हामी नेपालीका लागि । यहाँका हरेक राम्रा पक्षमा हरेक नेपाली खुसी हुन्छन् र देश दुःखमा पर्दा दुःखी । जुम्लामा मोटरबाटो पुग्दा ताप्लेजुङका नेपाली खुसी हुन्छन् भने पुवाखोलामा विद्युत् आयोजना बन्दा बैतडीका । गोरखामा भूकम्प जाँदा डोटी रोयो भने महाकालीमा बाढी आउँदा सिराहालाई दुख्यो । सप्तरीमा आगोले सयौँ घर डढाउँदा त्यसको तापले काठमाडौँलाई पोल्यो भने जोमसोममा बाढी आउँदा बर्दियाको मन रोयो । यही नै हो नेपाली मन । यही नै हो नेपाली तन । यसमा कसैलाई समस्या छ भने त्यो नेपाली, नेपाली हैन नागरिकमात्रै हो ।

नेपाल भनेको अंकजन्य क्षेत्रफलमात्रै हैन, यो त महाकालीपारिका चाँदनी दोधारा र त्यहाँ उत्पादन हुने परबल, कन्चरपुरको सतिसालको गिलास अनि डोटीको शैलेश्वरीको मन्दिर पनि हो, नेपालगन्जको रावडी अनि सुर्खेतको लाटीकोइली पनि हो । लुम्बिनी र जनकपुरमात्रै हैन, नारायणी नदीका जलकपुर माछा र जुम्लाको स्याउ पनि नेपाल हो । पाल्पाको करुवा, रिडीको ऋषिकेशको मूर्ति, मुक्तिनाथ अनि शालिग्रामको उत्पत्ति स्थल दामोदर कुण्डमात्रै नेपाल होइन, पोखराको फेवाताल र माछापुच्छे्र अनि गोरखा दरवार पनि नेपाल हो । कसैले काठमाडौँ अनि यहाँका चाडबाडलाई मात्रै नेपाल देख्छन् भने त्यो उसको दृष्टिदोष हो । जति महŒव उपत्यकामा मनाइने गाइजात्रा, बिस्केट जात्रा र मच्छिन्द्रनाथको जात्राको छ, त्योभन्दा कम महŒव डोटीको १२ वर्षे मेला, गढीमाईको ५ वर्षे मेला र जानकी मन्दिरको रामजानकी विवाहको छैन । अझ नुवाकोटको भैरवी जात्रा र मुस्ताङको चौरी जात्रा त हाम्रा परिचय नै हुन् । हिमालको फापरको ढिँडो, उपत्यकाको गुन्द्रुक–मस्यौरा अनि तराईको दालचामलले नै हाम्रा खाना पूरा हुन्छन् । यी एकअर्काका परिपूरक हुन्, हाम्रा चिनारी हुन् । यसमा एउटामात्रै निकाल्दा पनि हामी अपूर्ण हुन्छौँ ।

पहाडको कछाड र गुन्यु चोलो, काठमाडौँको हाकुपटासी र दौरासुरुवाल अनि तराईको धोतीकुर्ता र घाँघरमा जसले भेद देख्छ त्यो कसरी नेपाली हुन सक्छ ? दसैँ होस् वा छठ, माघी होस् वा उभौली यी सबै नेपाली हुन्, हाम्रा हुन् । यसमा फरक देख्ने नेपाली हैनन्–हुनै सक्दैनन् । जोमसोमको स्याउ झापामा खाँदा के गुलियो हुन्न र ? सप्तरी बरमझियाको बाजेको पेडाको नामले मात्रै पनि कसको मुख रसाउँदैन र ? यी सबै नेपाली हुन् र हामी नेपाली । जति कोशी हाम्रो हो त्यति नै वाग्मती अनि नारायणी पनि । हामीलाई सगरमाथाको उचाईंले सधैँ माथि जाने प्रेरणा दिन्छ भने सप्तरीको दक्षिणमा रहेको छिन्नमस्ता माताको मन्दिरको आशिर्वादले अटल रहने प्रेरणा । यीमध्धे कसैले एउटा मेरो हो अर्को हैन भन्छ भने त्यो कसरी नेपाली ? के प्लास्टिकको खोलमा राखिएको करिब ५ इन्चको कागज नै नेपाली हुन पर्याप्त छ ?

आजको दिनमा भारतले हामीमाथि लगाएको नाकाबन्दी मानवताविरोधी हो । हामीलाई साना भनेर हेपिएको हो, जघन्य पाप हो । भारतजस्तो संसारको सबैभन्दा ठूलो लोकतन्त्र भनेर आफूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा चिनाउने मुलुकको यो कार्य कानुनी, व्यावहारिक र मानवीय संवेदनाका हिसाबले पनि गलत छ । नीतिशास्त्रमा यसलाई गलत भनिन्छ भने धर्मशास्त्रमा पाप । यसलाई माथि भनिएका ५ इन्चको प्लास्टिकभित्र फोटो टाँसिएका नेपालीले अरु केही देख्छन् र हाम्रा आन्तरिक कारणको उपज हो भन्छन् भने ती जुनसुकै ओहोदामा भए पनि, तिनीहरूसँग जतिसुकै पैसा भए पनि ती कुनै हालतमा नेपाली हैनन् । नेपालमा व्यापार गरेर कमाएको पैसाको अत्यन्त सानो हिस्सा भूकम्प वा बाढी जाँदा प्रधान मन्त्री कोषमा जम्मा गर्ने अनि फोटो खिचाएर कार्यालयमा सजाउँदैमा कोही नेपाली हुँदैन । नेपाली हुन मन पनि नेपाली चाहिन्छ, शरीरमात्रै नेपाली भएर पुग्दैन । अब सबैले आफैसँग प्रश्न गरौँ र उत्तर पनि आफूभित्रै खोजौँ– म नेपाली हो कि हैन ?

अहिले भारतले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै नेपालको सामान सीमामा रोकको छ । मानवीय संवेदना उसका लागि डिक्सनरीको एउटा शब्दमात्र भएको छ । गत बैशाखमा नेपालमा भूकम्प जाँदा त्यसको ६ घन्टाभित्र राहत सामान लिएर नेपाल आइ संसारमै मानवताको उत्कृष्ट उदाहरण पेश गर्ने भारतको त्यही मानवता, भूकम्पको पीडाबाट भर्खरै तंग्रन लागेका नेपालीमाथि यसरी प्रहार गर्दा कहाँ गयो ? के मानवताको परिभाषा पनि अर्को देशको एउटा नेता वा कुनै एउटा परिवर्तनशील संविधान चित्त नबुझ्दैमा अलग हुन्छ ? एउटा देशको नियमकानुन र नेता अर्को देशलाई मन नपर्ने भन्ने पनि हुन्छ र ! के हाम्रो संविधानले कुनै अन्तर्राष्ट्रिय कानुन मिचेको छ ? मानवीय मूल्यमान्यताको अर्थ तब बलियो हुन्छ जब हरेक परिस्थितिमा त्यो एउटै हुन्छ । अझ यो बेलामा पनि भारतको नाकाबन्दीकै समर्थन गर्ने वा विरोध नगर्ने हामी के साँच्चै नेपाली हौँ ? हामीले आफूलाई नेपाली भन्न सुहाउँछ ? आफै सोचौँ । हामी अहिले पनि भारत सरकारको व्यवहारको विरोध गर्दैछौँ, भारतीय जनताको हैन । तर, उनीहरू २ देशबीचका नेताको जुँगाको लडाईंमा जनतालाई दुःख दिने काम गर्दैछन् । के यो जायज हो ?

मधेस आन्दोलनका कतिपय मागमा मेरो पनि समर्थन छ, तर मधेस आन्दोलनको बहानामा भारतको व्यवहारको भने जति भत्र्सना गरे पनि कम हुन्छ । बेदव्यासका अधिकांश रचनाका प्रत्येक शब्दको अर्थ निकाल्ने मेरा लागि पनि भारतले नेपालीलाई यो परिस्थितिमा दिएको दुःखको आलोचनाका लागि शब्द कम भइरहेको छ । तर, यही व्यवहारलाई हामी आफूलाई नेपाली नागरिक भन्नेहरू औपचारिकरूपमै र सार्वजनिक कार्यक्रममै भारतलाई आलोचनाबाट बाहिर राख्नुपर्छ भनिरहेका छौँ ! अब के को डर ? मेरो मूल प्रश्न यही हो, के यही हो हाम्रो राष्ट्रियता ? के हामीले नदिए पनि हाम्रा सन्ततिले यसको जवाफ दिनु नपर्ला ? मेरो विनम्र आग्रह छ,सन्ततिले समाजलाई उत्तर दिनुपर्ने प्रश्न र उनीहरूले तिर्नपर्ने गरी ऋण बाबुआमाले छाडेर नमरौँ ।

जब देशभित्रै नेपाली चाडबाडमा रमाउन सकिन्छ, जब जहाँ बसे पनि नेपालको दुःखमा रुन सकिन्छ, जब नेपालका समस्याका समाधान नेपालमै खोज्न थालिन्छ तब भइन्छ नेपाली । व्यापार, जागिर वा अरु कुनै पनि पेशा गरे पनि नेपालकै लागि गर्दा जब आनन्द हुन्छ तब भइन्छ नेपाली । कहिले सफलतामा वाह्वाह् कमाइएला कहिले गल्तीमा जेल जानुपर्ला । ती दुवै नेपालमै भोग्ने नै सच्चा नेपाली हो । वाह्वाह् नेपालमा खाने र जेल पर्न लाग्दा भाग्ने कसरी नेपाली हुन्छ र ?

कोही सच्चा नेपाली हो भने उसले पशुपतिनाथ र कमलादी गणेश मेरा देवता हुन्, तर मरुगणेश र दक्षिणकाली मेरा हैनन् भनेर कहिल्यै भन्दैन । एउटा नेपालीले घन्टाघरको जामे मस्जिदमा मनाइने इद, स्वयम्भूको बुद्धजयन्ती अनि नौरथाको पलाञ्चोक भगवतीको पूजालाई आआफ्नो आस्थाअनुसार एउटै देख्छ । जसले यिनीहरूमा भेद देख्छ त्यसले नेपाली हुन अझै धेरै समय कुर्नुपर्छ ।

यो अप्ठेरो समयमा सबै नेपालीको स्वर एकै हुनुपर्छ । बिनाकारण, बिनागल्ती छिमेकीले हेप्दा उसकै पक्षमा बोल्ने बानी अहिल्यै रोक्नुपर्छ र बोलिसकेका व्यक्तिले सार्वजनिक माफी माग्नुपर्छ । यति गर्न सकेमात्र हामीलाई दुःख सहन सजिलो हुनेछ । अन्यथा माथि भनेजस्तो यो कुराको जवाफ हाम्रा सन्ततिले दिनुपर्नेछ ।

@rajunepal

प्रकाशित: २४ आश्विन २०७२ २३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App