यतिमात्र हैन, उद्योगी, व्यापारी, रिक्सा चालक, मजदुर, किसानलगायतको दैनिकी जर्जर भएको छ । इन्धन तथा ग्यास अभावले चुलो चौको बन्द हुने अवस्था छ । अन्ततः बन्दले जनधनको चौतर्फी नोक्सानी तराई मधेसमै गराइरहेको छ । तराई मधेस विगतभन्दा धेरै पछाडि परेको भन्नै पर्छ । तथापि यस क्षेत्रका हरेक जनता पीडित भए पनि बन्दको विरोध गरेका छैनन् । ऐक्यबद्धता नै जनाएका छन् । जुन आन्दोलनको मुख्य उपलब्धि हो । बन्दबाट आहत एवं पीडित भएका उद्योगी व्यापारी आमजनताको यस समर्थनलाई सरकारले बहुत गम्भीरपूर्वक लिई माग सम्बोधन गर्नुपर्नेमा त्यसो भइरहेको छैन । सरकार आफनै जनतालाई सम्झाई बुझाई नाका खुलाउनुपर्नेमा छिमेकीलाई दोष लगाई सदियौँको सम्बन्धमात्र बिगारिरहेको छैन, मुलुकको भविष्य नै अँध्यारोमा पारिरहेको छ ।
आन्दोलनबाट यत्रो नोक्सानी हँुदा पनि सरकारले आन्दोलनप्रति महत्व दिएको छैन । यसबाट सरकार आफँै आन्दोलन लामो होस् भन्ने चाहन्छ भन्ने देखिएको छ । यता आन्दोलनकारी पनि 'अभी नही तो कभी नही' को नारा लगाउँदैछन् । यस अवस्थामा आन्दोलनले विराम लिने अवस्था देखिन्न । यसर्थ आन्दोलनको भार मुलुक र जनताले कहिलेसम्म खेप्ने भन्नेबारे अब स्वयं आन्दोलनकारीले नै सोच्नुपर्ने बेला आएको छ । आन्दोलनले के लाभ दियो र के बेफाइदा ग¥यो ? भविष्यको अवस्था कस्तो सिर्जना गर्दैछ ? सुक्ष्म विश्लेषण गरेर रणनीति तय गर्न जरुरी छ ।
लगभग ६० दिन लामो आन्दोलनमा आन्दोलनकारीबाट बढी हिंसा नहुनु, अहिलेसम्म साम्प्रदायिक हिंसा नहुनु र अखण्डताविरुद्ध आवाज नउठ्नु सबैभन्दा लाभदायक एवं महत्वपूर्ण पक्ष हो । यसलाई जोगाइरहनु सबैको पहिलो कर्तव्य बन्छ । अर्कोतर्फ छिमेकीको आलोचना बन्द गराउनेतर्फ पनि सोच्ने बेला आएको छ । उत्तरतर्फका केही बौद्धिक वर्गले त अब अन्ततः मधेस छुट्टिनेसम्मको शंका व्यक्त गर्दैछन् जुन घातक हो । किनभने अहिलेसम्म जनताले अलग हुने चाहना राखेका छैनन् । घरघरमा पुगेको आन्दोलन नेताको नियन्त्रणमा छैन । त्यसैले यस आक्रोशले अकल्पनीय रूप लिन सक्ने जोखिम एवं सम्भावना छ जसलाई आन्दोलनकारीले गम्भीरपूर्वक लिनुपर्छ । आन्दोलन सरकारलाई पीडा पु¥याउने उद्देश्यले गरिन्छ यहाँ त आन्दोलनले आमजनतालाई मात्र पीडा पुगेको छ । आमजनतामा पीडा पुगेपछि जनताबीच विभाजनको संकेत आउँछ जसले आन्दोलनलाई नोक्सान पार्छ । यसर्थ आन्दोलनको मोडालिटी परिवर्तन गर्नेतर्फ विचार गर्न आवश्यक छ ।
छिमेकीको सकारात्मक सहयोगलाई राजधानीलगायतका नेसनल मिडिया र नेपाल भारत मैत्री संघले बुझाउने भूमिका खेल्न आवश्यक छ । यही यथार्थ सम्प्रेषण नगरेको भन्दै तराई मधेसमा राष्ट्रिय पत्रिकामा बन्देज लगाएको सुनिन्छ । यो निकै दुःखद् पक्ष हो । जनताको सूचनाको हकमा प्रतिबन्ध हो । सञ्चार जगत निष्पक्ष एवं सबैको बन्न सक्नुपर्छ । आन्तरिक मामिलामा कुनै पनि विदेशीको सहयोग लिनु वा नाकाबन्दी गर्न उक्साउनु अनुचित हो ।
जनताको दैनिकीमा असर पार्नेखालको कुनै पनि कार्य मानवता विरोधी हुन्छ । अहिले सीमा अवरोधले आमनागरिक, बिरामीलगायतले बढी पीडा बेहोर्नुपरेकाले समीक्षा जरुरी छ । बदलाको भावना सबैभन्दा खतरानाक हुन्छ । महान् उही हुन्छ जो माफी दिन्छ । यसको अर्थ यत्रो आन्दोलनको बलिदान सखाप हुने गरी बन्द हड्ताल फिर्ता लिई चूप लागेर बस्ने होइन । सरकारमाथि दबाब पर्ने तर जनतालाई सास्ती नहुने विधि आन्दोलनको विधि अपनाउनुपर्छ ।
वीरगञ्जस्थित अधिवक्ता
प्रकाशित: २४ आश्विन २०७२ २३:१८ आइतबार

