५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

क्यान्सर उपचारमा नयाँ प्रयोग

संसारमा प्रतिवर्ष १ करोड मानिस अर्बुद रोगका कारण मर्छन्। दशकौँको अन्वेषण अनि रोग निको पार्न खरबौँ अमेरिकी डलर खर्चिँदा पनि क्यान्सरका कारण मृत्यु हुनेको संख्या घट्न सकेको छैन। अर्बुद रोगको जटिलताबारे विज्ञानले भेद पाउन नसकेको यथार्थ क्यान्सर वैज्ञानिक स्वीकार गर्छन्। महारोग पूर्ण बिसेक पार्न असंभव ठान्छन् विज्ञ। अर्बुद रोग निर्मुल पार्न असंभव देखिएपछि अनुसन्धानको पाटो फेरिएको छ।

रोग निको पार्ने दिशामा केन्द्रित हुनुको बदला क्यान्सरका कारण मर्नेको संख्या कसरी घटाउने, अर्बुद रोगीको आयु के गरे बढ्ला, अनि बिरामीले कसरी स्तरीय जीवन व्यतीत गर्न सक्छन् त भन्ने कुरामा अन्वेषणकर्ता घोत्लन थालेका छन्। एउटा क्यान्सरका लागि विकास गरिएको ओखतीले रोगी पिच्छे फरक–फरक नतिजा देखाउने गरेका कारण महारोगको अनुसन्धानमा सबै हिच्किचाउन थाले।

विकसित राष्ट्रहरू नै नतिजा नदिने क्यान्सर अनुसन्धान प्रति उदासीन भए। मुनाफा निश्चित भएमात्र लगानी गर्ने फर्मास्युटिकल कम्पनीहरूसँग प्रतिफलको संभाव्यता थोरै भएको अर्बुद रोगको अनुसन्धानमा धेरै अपेक्षा गर्नुभएन नै। त्यसैले धेरै रकम लगानी गरेर नवीन अन्वेषण गर्नुको बदला विगतमा हासिल भएका वैज्ञानिक उपलब्धिलाई परिमार्जन गरी अर्बुद रोग निदानमा केही राम्रो गर्न सकिन्छ कि भन्ने धारणा आयो। पुरानो औजारलाई परिमार्जन गरी क्यान्सरको निदानमा हासिल भएका तात्कालीन उपलब्धिको चर्चा गर्नु यो लेखको उद्देश्य हो।

क्यान्सर उपचारका लागि रेडिएसन थेरापी अथवा रेडियो थेरापी (विकिरण चिकित्सा) लामो समयदेखि प्रयोगमा छ। बिकिरण चिकित्सामा एक्स रेलगायतका विभिन्न किसिमका रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थ प्रयोग गरिन्छ। विकिरण चिकित्सामा प्रयोग हुने रेडियोधर्मी पदार्थले प्राकृतिकरूपमै शक्तिशाली रेडियो इमिसन (रेडियो उत्सर्जन) पैदा गर्छ।

रेडियो उत्सर्जनको शक्तिका कारण समिपमा रहेका वस्तुहरू क्षतविक्षत हुन्छन्। रेडियो इमिसनको संसर्गमा जीव पर्दा कोस (सेल)का अणुवांसिक पदार्थ (डिएनए) छिन्नभिन्न हुन्छ। अणुवांशिक पदार्थ नास भएपछि कुनै पनि कोस बाँच्न सक्दैन। खरबौँ कोस मिलेर मानव शरीर बन्ने भएकाले रेडियोधर्मी पदार्थको संसर्ग हाम्रा लागि हानिकारक हुन्छ।

अब क्यान्सरको चरित्र हेरौँ। हाम्रो शरीरमा खराब चरित्रका कोसहरूको उत्पत्ति हुनु नै क्यान्सरको मुख्य कारक हो। शरीरमा यसै कारणले अर्बुद रोगका कोसहरू उत्पादन हुन्छ भन्ने सत्य तथ्य विज्ञानसँग हालसम्म उपलब्ध छैन। यद्यपि क्यान्सरका कोसहरू उत्पादन हुन सक्ने हजारौँ मार्गबारे भने वैज्ञानिकहरू सचेत छन्। तर, सबै बाटा थुनेर क्यान्सरको निराकरण संभब छैन। 

धेरै छिटो झांगिने वनमाराले केही समयमै सारा जंगल विनाश गरेझै क्यान्सरजन्य कोसहरूसँग पनि अत्यधिक गतिमा बढ्न सक्ने क्षमता हुने भएकाले शरीरका असल सेललाई खराब कोसले दबाउन थाल्छ। हामीले खाएका खाने कुरा असल कोसले लिन नपाउँदै क्यान्सरजन्य सेलले हडप्न पुग्छ। त्यसका अतिरिक्त क्यान्सरस सेलले हाम्रो शरीरका नियमित बायोलोजिकल पद्धतिलाई हस्तक्षेप गर्छ। जैविक विधिमा प्रहार भएपछि हामी मर्छौँ। तसर्थ, क्यान्सर लागेको मानिसलाई रोगको सास्ती कम गर्न अर्बुद रोगका कोसलाई अविलम्ब विनाश गर्न आवश्यक हुन्छ। क्यान्सर विनाशका लागि बीसौँ शताब्दीको पूर्वाद्र्धमै रेडियो थेरापीको प्रयोग सुरु भयो।

क्यान्सर कोसका अणुवांशिक पदार्थलाई रेडियोधर्मी पदार्थले उत्पादन गर्ने शक्तिशाली उत्सर्जनले विनाश गर्ने भएकाले विषाक्त सेलहरू मासिन्छन्। तर क्यान्सरका कोस शरीरका अड्गमा छुट्टै बस्दैनन् बरु असल सेलसँग घुलमिल भएर रहन्छन्। फोक्सो क्यान्सर लागेको खण्डमा विषाक्त र असल कोसहरू सराबरी हिसाबले फोक्सोमा हुन्छन्। क्यान्सर कोसलाई मात्र लक्षित गरी मार्न कठिन हुन्छ। लामो समयदेखि नै क्यान्सरको इलाजमा रेडियो थेरापी प्रयोग गरियो। यो उपचार विधिमा फोक्सोको क्यान्सर लागेको मानिसको छातीबाट रेडियोधर्मी पदार्थले सेकिन्छ। उक्त प्रक्रियामा खराब र असल दुवै किसिमका कोस मर्छन्।

बाहिरबाट रेडियो एक्टिभ पदार्थले प्रशोधन गर्दा अन्धाधुन्ध हिसाबले कोस मरे, बिरामीको शरीर जीर्ण भयो। अनि, पछिल्ला दिनमा रेडियोधर्मी पदार्थ रक्तसञ्चार, खान्कीलगायतका विभिन्न विधिमार्पmत शरीरमा हाल्ने प्रयास थालियो। तर ती विधिले समेत क्यान्सरका कोसलाई छानेर मार्न सकेन। रेडियोधर्मी पदार्थलाई नियन्त्रितरूपले क्यान्सरका कोसलाई मात्र प्रहार गर्न सक्ने गरी शरीरभित्र पठाउन सके क्यान्सर इलाजमा ठूलै सफलता हासिल हुन्थ्यो भन्ने सोच आयो। त्यसै क्रममा धेरै वर्षको अन्वेषणपछि वैज्ञानिकहरूले रेडियो कन्जुगेट उपचार विधि प्रचलनमा ल्याए। यो उपचार विधिले रेडियोधर्मी पदार्थलाई छानेर क्यान्सरजन्य कोसमा पुर्याउने काम गर्ने भएकाले सामान्य कोसलाई बेदाग राखी अर्बुद रोगलाई मात्र मास्ने भएकाले महारोगको इलाजमा नवीन आयाम थपिने आशा गरिएको छ। अब रेडियो कन्जुगेटले कसरी काम गर्छ त?

क्यान्सरका कोसहरू अन्य सामान्य सेल भन्दा फरक चरित्रका हुन्छन्। अर्बुद कोसले विषाक्त एन्टिजिन उत्पादन गर्छ। एन्टिजिन र एन्टिबडीको सम्बन्ध साँचो र ताला जस्तो हुन्छ। एक एन्टिजिनलाई विशेष चरित्रको एन्टिबडीले मात्र चिन्छ, संसर्गमा आउँछन्। हाम्रो शरीरमा प्राकृतिकरूपले नै हजारौँ किसिमका विषाक्त एन्टिजिन अनि असंख्य एन्टिबडी हुन्छन। त्यस्तै अर्बुद रोग लागेको मानिसको शरीरमा फरक चरित्रको क्यान्सरजन्य एन्टिजिन हुन्छ। उदाहरणका लागि फोक्सोको क्यान्सरले उत्पादन गर्ने र कलेजोको क्यान्सरले उत्पादन गर्ने एन्टिजिन फरक फरक हुन्छन् अनि तिनीहरूलाई पहिचान गर्न सक्ने एन्टिबडी पनि फरक भए। 

रेडियो कन्जुगेट उपचार विधिमा एन्टिजिन, एन्टिबडी तथा रेडियोधर्मी पदार्थको चरित्रलाई उत्खनन गरिएको छ। ओखतीको एउटा छेउमा रेडियोधर्मी पदार्थ हुन्छ भने अर्को भागमा क्यान्सर कोसले उत्पादन गर्ने एन्टिजिनलाई चिन्ने चरित्रको एन्टिबडी राखिन्छ। जसै रेडियो कन्जुगेट मेडिसिन रोगीको शरीरमा हालिन्छ एन्टिजिन एन्टिबडीको विशेष संबन्धका कारण ओखती सिधै क्यान्सरजन्य कोसमा गएर टाँसिन्छ।

जब ओखती अर्बुद कोसको समिपमा पुग्छ मेडिसिनको अर्को छेउमा रहेको रेडियोधर्मी पदार्थले उत्सर्जन विधिमामार्फत क्यान्सर सेलको अणुवांसिक पदार्थलाई नास पार्छ। डिएनएमा क्षति पुगेपछि क्यान्सर सेलहरू मर्छन्। यसरी रेडियो कन्जुगेट विधिमार्फत क्यान्सरको उपचार गर्दा असल कोसलाई कुनै आघात नपुर्याइकन बिरामीलाई अर्बुद रोगबाट मुक्ति दिन सकिन्छ।

प्रकृतिमा धेरै किसिमका रेडियोधर्मी पदार्थ छन्। भिन्न रेडियोधर्मी पदार्थले फरक चरित्रको विकीरण पैदा गर्छन्। कुनै रेडियो एक्टिभ पदार्थले बेटा अनि कुनैले अल्फा नामको विकिरण उत्पादन गर्छ। बेटा र अल्फा रेडिएसनको ऊर्जा शक्ति फरक हुन्छ। बेटा रेडिएसन उत्पादन गर्ने रेडियोधर्मी पदार्थ प्रयोग भएको रेडियोकन्जुगेटले ठूलो संख्यामा कोसहरू मार्छ भने अल्फा उत्पादन गर्ने मेडिसिनले सानो संख्यामा कोसहरू विनाश गर्छ। कस्तो किसिमको क्यान्सरको इलाज गर्ने हो त्यसै हिसाबले विकिरणको छनोट गरिन्छ। तुलनात्मकरूपमा सानो भागमा फैलिएको आँखाको क्यान्सरको इलाजमा अल्फा विकिरण लाभप्रद् हुन्छ भने शरीरको ठूलो हिस्सामा फैलिएको छालाको क्यान्सरको इलाजमा बेटा रेडिएसन प्रभावकारी हुने देखियो।

संयुक्त राज्यको औषधि अनुगमन निकाय फुड एन्ड ड्रग्स एडमिन्सट्रेसनले हालैका दिनमा रेडियो कन्जुगेट विधिमा आधारित दुई ओखती लुटाथेरा र पल्भिक्टो क्यान्सरको इलाजमा प्रयोग गर्ने स्वीकृति दियो। सीमित रोगीमा गरिएको परीक्षणले रेडियो कन्जुगेट विधिमा आधारित ओखतीले सामान्य कोसमा कुनै प्रतिकूल असर नपारी क्यान्सरजन्य सेललाई विनाश गरेको देखियो। प्रारम्भिक चरणमा आएका नतिजा आशालाग्दो देखिए पनि रेडियो कन्जुगेट ओखतीले के सबै किसिमको क्यान्सरलाई काम गर्ला त भन्ने प्रश्नको उत्तर सहज छैन। 

सयौँ किसिमका क्यान्सरले मानिस समाजलाई संक्रमण गरेको देखियो। प्रत्येक क्यान्सरले फरक फरक किसिमको एन्टिजिन उत्पादन गर्छन्। तसर्थ, प्रत्येक क्यान्सरको इलाजका लागि फरक फरक एन्टिबडी भएको रेडियो कन्जुगेट ओखती बनाउनुपर्ने हुन्छ। अझ त्यो भन्दा पनि जटिल कुरा त एउटै क्यान्सरका कोसहरूले समेत कहिलेकाहीँ फरक–फरक किसिमको एन्टिजिन उत्पादन गरेको देखियो। उदाहरणका लागि फोक्सोको क्यान्सर लागेको बिरामीको अर्बुदजन्य कोसको परीक्षण गर्दा तिनीहरूले विभिन्न किसिमका एन्टिजिन उत्पादन गरेको देखियो।

त्यस्तो अवस्थामा एउटा एन्टिजिनलाई मात्र लक्ष गरी ओखती परीक्षण गर्दा सीमित संख्यामा मात्र क्यान्सरका कोसहरू मर्छन्। परिणाम त बिरामीलाई केही सन्चो भए जस्तो देखिए पनि रोगबाट मुक्ति पाउन गाह्रो हुने देखियो। यद्यपि एकै किसिमको एन्टिजिन मात्र उत्पादन गर्ने चरित्रको क्यान्सरको उपचारमा भने रेडियो कन्जुगेट विधि लाभप्रद् हुने देखियो।

क्यान्सरलाई पूर्णरूपमा नियन्त्रण गर्न सकिन्छ भन्ने आशा खासै छैन। अहिलेको अपेक्षा भनेको क्यान्सरका रोगीलाई स्तरीय जीवनसहित अलिकति आयु थप्नु नै हो। रेडियो कन्जुगेट विधिले केमोथेरापी तथा रेडियोथेरापी जस्तो असल कोसलाई दख्खल नदिइकन विषाक्त अर्बुद कोसलाई मात्र प्रहार गर्ने भएकाले यो उपचारका क्रममा बिरामीले प्रतिकूल स्वास्थ्य समस्या खेप्नुपर्दैन। यो उपचार विधिमा केमोथेरापीपछि कपाल झर्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिँदैन। रेडियो कन्जुगेट उपचार पद्धतिले क्यासर उपचारमा नया आयाम थप्ने संभावना देखिएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App