२८ पुस २०८२ सोमबार
image/svg+xml
विचार

संविधानको सूर्योदय

अन्ततः आज (आइतबार) हाम्रो मुलुकमा पनि अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनका शब्द सार्थक हुँदैछन्– जनताद्वारा जनताका निम्ति। नेपाली जनताले आफ्ना निम्ति आफैँ संविधान जारी गरेको यो ऐतिहासिक दिन हुँदैछ।

नेपाल आधुनिक युगमा प्रवेश गरेको भनिएको २००७ पछि करिब सात दशक यो मुलुक अस्थिरतामा रह्यो। प्रत्येक पटक परिवर्तनको आकांक्षा पूरा हुन समय लाग्यो। परिवर्तन भए। फेरि थप परिवर्तनका निम्ति संघर्ष भइरहे। पछिल्लो पटक जनआन्दोलन २०६२/०६३ पछि संविधान सभाको निर्वाचनमार्फत् संविधान निर्माण गर्ने राष्ट्रिय अभियान पूरा गर्नु कम्ती कठिन भएन।

संविधान सभाले बल्ल संविधान जारी गर्न सभाध्यक्ष सुवास नेम्वाङको हस्ताक्षरसहित तयारी अवस्थामा राखेको छ। अपराह्न ५ बजे यस मुलुकमा जनता आफैँले लेखेको संविधान उदाउनेछ। संविधान लेखनको क्रम सुरु भएदेखि जारी हुनेबेलासम्म देखिएका सबै अवरोधहरूमा यो मुलुकले विजय प्राप्त गरेको छ।

हामीले कुनै पनि काम आफूले भनेजसरी कहिल्यै पूरा गर्न पाएनौ। संविधान जारी गर्न ४८ घन्टा बाँकी हुन्जेलसम्म विदेशी दूतले आएर सल्लाह दिएको अनुभवले पनि हामीलाई यो भन्न बाध्य पार्छ। नागरिकमा प्रत्येक पटक परिवर्तनका उत्कट आकांक्षा पलाउँछन्। तिनलाई व्यवस्थापन गर्न दूतहरू सधैँ तम्तयार हुन्छन्।

संविधान मुलुकको राजनीतिक व्यवस्थाको 'सुपर स्ट्रक्चर' हो। यसैका आधारमा भोलिको नेपालको शासन/प्रशासन, प्रगति अघि बढ्छ। यहाँसम्म आइपुग्न मुलुक र मुलुकबासीले असाध्यै असजिलो अवस्था पार गरेका छन्। अत्यासलाग्दो लामो संक्रमणकालले हामीलाई पटकपटक निराश पारेको छ। राजनीति सुधि्रएला कि भनेर नागरिकले ८२ वर्षपछि आएको ठूलो भूकम्पले ल्याएका पीडालाई समेत बिर्सने प्रयास गरेका हुन्।

सभासद्हरूले संविधानका प्रतिमा आफ्ना हस्ताक्षर गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकर यहाँ आए। उनले यहाँ आएर राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल र मधेसी नेताहरूलाई भेट्दा झन्डैझन्डै धम्कीको भाषामा प्रस्तुत भएको अनुभव सबैलाई भयो। खुला समाज र राजनीतिक व्यवस्था भएको हुनाले विदेशी दूतहरूले ल्याउने चासोका विवरणसमेत सजिलै सार्वजनिक हुन्छन्।

धन्य, राजनीतिक दलहरू जसले यसपटक मुलुकलाई साँच्चिकै स्वतन्त्र रहेको पुष्टि गर्ने प्रयास गरेका छन्। हुन् त २०६२/०६३ को जनआन्दोलनलगत्तै त्यसलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्झौतामा टुंग्याउन विदेशीले चर्को दबाब दिएका थिए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा उनलाई मनाउन पुगेका विदेशी राजदूतको लर्कोलाई अहिलेसम्म हामीले बिर्सेका छैनौ।

यो मुलुकको हित हुन्छ भन्ने आधारमा विदेशीहरूले दिएका सुझावलाई हामीले कुनै न कुनै रूपमा स्वीकार गरेका छौँ। हाम्रा परिवर्तनका आकांक्षामा उनीहरू बेलाबेलामा जोडिन आइपुग्छन्। विडम्बना, प्रजातन्त्रका निम्ति यस मुलुकका नागरिक पञ्चायतको ३० वर्षसम्म लड्दा कहिल्यै पनि विदेशीको साथ र सहयोग प्राप्त भएन।

बल्ल ठूलो आन्दोलन उठेपछि मात्र २०४६ सालमा हामीले प्रजातन्त्रको फल चाख्न पायौँ। तर, त्यसलाई लामो समयसम्म टिक्न नदिने मुख्य कारक तत्कालीन दरबारिया तत्व नै थियो। तिनले निरन्तर प्रजातन्त्रविरुद्धमा घात गरिरहे। हामीले त्यसलाई बुझ्न सकेनौ। त्यही वक्रदृष्टिको परिणामस्वरूप नेपाल अधिराज्यको संविधान, २०४७ को अवसान हुन पुग्यो।

प्रजातान्त्रिक शासन व्यवस्थालाई हुर्कन र काम गर्न दिएको भए हामी अहिले निकै अगाडि पुगिसकेका हुने थियौँ। फेरि हामीले अर्को ठूलो जनआन्दोलनमार्फत् राजतन्त्रकै अन्त्यका निम्ति संघर्ष गर्नुपर्ने थिएन।

नयाँ संविधान जारी हुने यस क्षणमा २०४७ को संविधानले हामीलाई लगाएको गुन बिर्सन सकिन्न। हामीलाई अहिलेको अवस्थामा उभिन सक्ने बनाउनुमा त्यसको ठूलो योगदान छ। नेपाली समाजलाई उदार राजनीतिक परिपाटीतर्फ लैजान त्यसले महत्वपूर्ण योगदान गरेको छ। संचारमाध्यम, निजी क्षेत्र र व्यक्ति स्वयंलाई पनि त्यसले सशक्तीकरण गर्यो ।

प्रजातन्त्रविरुद्धको षड्यन्त्रले अन्ततः नेपालबाट राजतन्त्रलाई समेत समाप्त पार्यो्। खुला राजनीतिक वातावरणलाई प्रोत्साहित गरेको भए त्यसको अन्त्य पनि हुने थिएन। तर, त्यसले हाम्रो मुलुकलाई उत्कृष्टतातर्फ लग्यो। राष्ट्रिय एकताको प्रतीक जनता हुन् भन्ने पुष्टि पनि यसले गरायो।

पत्रकारितामा सक्रिय भएबापत यी यावत् वर्षहरूलाई साक्षीभावले हेर्ने अवसर प्राप्त भयो। त्यतिमात्र होइन हाम्रो निर्णय क्षमतालाई सीमित गर्न कसरी प्रयास हुने रहेछन् भन्ने अवलोकन पनि गर्न पाइयो। संविधान जारी हुने बेलामा विभिन्न शक्ति केन्द्रहरूको छटपटी पनि हेर्न लायकको रह्यो। यी पंक्ति कोरिरहेका बेला ती सबै घटनाक्रमहरू सिनेमाको रिल झैँ घुमिरहेका छन्।

खासमा संविधान पहिलो संविधान सभाले नै बनाउन सक्ने रहेछ। तर, त्यो बन्न नदिने र यो मुलुकलाई अस्थिरतामा राखिराख्न चाहने शक्तिहरूका बारेमा दलहरूले बुझ्नै सकेनन्। कतिपय जानेर वा कतिपय नजानेर पनि मुलुकलाई अस्थिरताको जाँतोमा घुमाउन सक्रिय थिए।

त्यो बेला हामीले संविधान बनाउन नसक्ने हाम्रालाई मात्र चिनेका थियौं। तर, यो बेला आएर यो मुलुकलाई अस्थिर बनाउन चाहने वाह्य तत्वलाई पनि राम्ररी चिन्न पायौँ। र, ती तत्वहरूका गोटी हाम्रा आफ्नै मानिसहरू कसरी हुन्छन् भन्ने पनि देखियो।

तर, संविधान जारी भइसकेपछि अब हामी हिजो के भयो भन्नेमा अडिन सक्दैनौ। उदार प्रजातान्त्रिक व्यवस्थामा सबै अटाउँछन्। झन् संघीय गणतान्त्रिक प्रजातन्त्रमा प्रवेश गरेको यो मुलुकले चाह्यो भने निकै चाँडै उन्नति गर्न सक्छ। हामी सबैलाई यो मुलुकको उन्नतिका निम्ति योगदान गर्ने अवसर आएको छ।

गरिब मुलुक हुनुको दुःख भनेको प्रजातान्त्रिक ढंगले निर्वाचन सम्पन्न गरी ९० प्रतिशतभन्दा बढीको मतबाट गरिएका निर्णयमा समेत विदेशीले औंला उठाउँदा रहेछन् भन्ने अनुभव यसपटक भयो। खुला, पारदर्शी र प्रजातान्त्रिक सरकारले नागरिकका आवाजलाई सुन्ने भए पनि त्यसकै विरुद्धमा सशस्त्र आक्रमण पनि गरिँदो रहेछ। शान्तिपूर्ण विरोध प्रर्दशनको अवसर हुँदाहुँदै पनि अत्यधिक शक्ति प्रयोग गर्न बाध्य पार्ने काम हुने रहेछ।

यी यावत चुनौतीका अगाडि हामी उभिएका छौँ। अहिलेसम्म राजतन्त्र फर्काउन सकिन्छ भन्ने आशा राखेर बसेकाहरूका निम्ति पनि बाटो टुंगिएको छ। धर्म, जाति, सम्प्रदाय आदिलाई भड्काएर यो मुलुकलाई थप कमजोर बनाउने प्रयास पनि असफल भएका छन्। तर, सबै चुनौतीबाट मुलुक पार भइसकेको छैन। त्यसका निम्ति एउटै उपाय छ– त्यो हो आर्थिक उन्नति।

अब हाम्रो मुलुकको मुख्य ध्यान आर्थिक उन्नतिमा हुनुपर्छ। हाम्रा प्राकृतिक स्रोतमा धेरैका आँखा गडेका छन्। तिनलाई हामी आफैंले उपयोग गर्नुपर्ने छ। तर, त्यसमा पनि हाम्रा चुनौती धेरै छन्। मुलुक संघीयतामा प्रवेश गरे पनि सीमा, साधनस्रोतको बाँडफाट, राज्यका नाम, अन्य आकांक्षाहरू उठिरहने छन्।

मुलुकको दक्षिण मैदानी भागमा असन्तोष उब्जिएका छन्। तिनको सही व्यवस्थापन पनि उत्तिकै आवश्यक छन्। यी सबै चुनौतीको सामना गर्न भने अहिले संविधान निर्माणमा उभिएका सबै शक्तिहरू अबको एक दशक सँगै उभिनु पर्छ। आपसी प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ। र, बाँकी अहिले संविधान जारी गर्ने क्रममा नसमेटिएकाहरूलाई मूलधारमा ल्याउनु पर्छ।

उदार चित्त बनाएरै अहिलेको राजनीतिक नेतृत्वले काम गर्न सक्नु पर्छ। संविधान जारी गर्ने बेलासम्ममा असन्तुष्ट भइसकेका शक्तिहरूले फेरि पनि मुलुकको अस्थिरताका निम्ति षड्यन्त्र गर्नेछन्। त्यसलाई परास्त गर्ने एउटै उपाय भनेको सरकारलाई सशक्त र प्रभावकारीरुपमा संचालन गर्ने हो। संविधानको सूर्योदय भएको यो दिन भावी संवृद्ध नेपालको प्रस्थान विन्दु हो।

आऊ मिलाऔं हाम्रा हातहरू!

प्रकाशित: २ आश्विन २०७२ २३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App